Saturday, December 5, 2015
भारतलाई प्रधान शत्रु बनाउन दाहाललाई एमाओवादी नेताको सुझाव
लडाकु शिविर र सम्पति छानवीन आयोगका दोषी माथि कार्वाही गरी पार्टी रुपान्तरण गर्न आग्रह
काठमाडौं: भारतलाई प्रधान शत्रु बनाएर संघर्षलाई केन्द्रित गर्न अध्यक्ष पुष्पकमल दाहाललाई एमाओवादीका नेताले सुझाव दिएका छन । केन्द्रीय सदस्य हेमराज भण्डारीले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन माथि फरक मत राख्दै त्यस्तो सुझाव दिएका हुन ।
एक नेताका अनुसार बाबुराम भट्टराई पक्षधरका रुपमा चिनिएका भण्डारीले पार्टी छोडेर नजानुको औचित्य सावित गर्न पनि अध्यक्ष दाहालको प्रतिवेदन माथि फरक मत राखेका हुन ।
भण्डारीले दरवार हत्याकाण्ड र राजतन्त्रको अन्त्यपछि नारायणहिटीको सर्वोच्चता दिल्लीमा सरेको उल्लेख गर्दै समाजवाद,समृद्धि र राष्ट्रिय स्वाधिनताको बाधकको रुपमा भारतलाई प्रष्ट रुपमा किटान गरेर अगाडि बढनु पर्ने मत राखेका हुन ।
‘अन्तरबिरोध नोकरसँग होइन मालिकसँग हुन्छ । त्यसैले भारतीय विस्तारवादलाई प्रधान अन्तरबिरोधको रुपमा किटान गर्नुपर्छ’भण्डारीले भने । दाहालको प्रतिवेदनमा भारत प्रति नरम भाव देखाइएको भण्डारीको तर्क छन ।
‘दलाल नोकरशाह, पुँजीपति र सीमान्तकृत सामन्त वर्ग र आम जनताका बीच मजदूर र पुँजीपति वर्गका बीच, समाजवादी राजनैतिक धारा र पुजीवादी राजनैतिक धाराका बीच, साम्राज्यवाद–विस्तारवाद र नेपाली जनताका बीच, सामन्त जमिन्दार र किसानहरुका बीच, आधारभूत अन्तरविरोध रहेको स्पष्ट हुन्छ’दाहालको प्रतिवेदनमा भनिएको छ ‘भारतीय एकाधिकार पुँजीवादद्वारा पालित पोषित र संरक्षित दलाल, नोकरशाही पुँजीपति र सामन्तवर्गक विरुद्ध आम नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोधका रुपमा रहेको छ ।’
आफनो सात बुँदे फरक मतमा भण्डारीले पार्टी रुपान्तरणका सन्दर्भमा दाहालको प्रतिवेदन माथि कडा टिप्पणी गरेका छन । ‘क्यान्सरको औषधीका रुपमा अध्यक्षले सिटामोल ल्याउनु भएको छ । अप्रेसन गर्न नसकिएपनि क्योमो त गर्नुपर्छ ’ भण्डारीले भने । रगतमा सामान्तवाद र दिमागमा समाजवाद र साम्यवाद बोकेर गन्तव्यमा नपुगिने तर्क पनि भण्डारीले गरेका छन ।
बैठकमा केन्द्रीय सदस्य हरि अधिकारीले दबाब र प्रभावमा परेर पार्टी रुपान्तरण नहुने बताए । ‘एक जना कार्यकर्ता उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटन जानु भएछ, उहाँले अध्यक्ष प्रचण्डलाई फटाहाको पनि फटाहा हो भन्नु भएछ । यसरी दबाब र प्रभावमा परेर कसरी पार्टी बन्छ ? ’ अधिकारीका तर्क थिए । केन्दीय सदस्य ध्रुव पराजुलीले लडाकु शिविर र सम्पति छानवीन आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने हिम्मत अध्यक्ष दाहालसम्म रहेमा पार्टी रुपान्तरण हुने अन्यथा नहुने तर्क गरेका थिए ।
केन्द्रीय सदस्य मानबहादुर बुढाले एक बर्ष अघि दाहालले कम्युनिष्ट आन्दोलनका बारेमा सिक्न आफू भट्टराई र श्रेष्ठलाई लिएर बिश्वभ्रमण गर्न चाहेको बताएको स्मरण गराए । ‘बाबुराम त बिश्वभ्रमण गर्न निस्किहाल्नु भयो,अध्यक्ष र उपाध्यक्ष चाहि कहिले जानुहुन्छ ? मलाई पनि सँगै लिएर जानुहुन्छ कि तपाईहरु मात्रै जानुहुन्छ ? ’बुढाले प्रश्न गरेका थिए ।
केन्द्रीय सदस्य गजेन्द्र महतले नेतृत्वले नै पार्टीलाई क्षत बिक्षत बनाएको आरोप लगाए । ‘हामी हनुमान भएर तल काम गर्छौ,नेताहरु माथिबाट बन्चरो लिएर हान्नुहुन्छ,अनि कसरी बन्छ पार्टी ? मोहन बैद्यले बन्चरो हान्नुभयो,बाबुरामले बन्चरो हान्नुभयो,अव नारायणकाजीले पनि बन्चरो हान्ने चर्चा छ,कहिले हान्ने हो ? ’महतले प्रश्न गरे ।
स्थायी समिति सदस्य गोपाल किराँतीले जातीय क्षेत्रीय मोर्चा अध्यक्ष दाहालको दिमागबाट हराएको टिप्पणी गर्दै स्वायत्त गणराज्य पुनर्गठन थाल्नु पर्ने बताए । ‘हामी आफूलाई हेप्ने भारतका बिरुद्ध त लडिराछौ,हामी आफैले हेपेकाहरु प्रति चाहि चुप लागिराछौ’ किरातले भनेका थिए । उनले भट्टराई पार्टीमा रहुन्जेल मात्रै नेतृत्व हस्तान्तरणको प्रस्ताव ल्याउने हो कि अव पनि त्यस्तो प्रस्ताव आउँछ भनेर प्रश्न गरेका थिए ।
केन्द्रीय सदस्य लिलाबहादुर थापाले अध्यक्ष दाहालको प्रतिवेदन बाँयातिर फर्किएको भएपनि दायाँतिर हाक्ने हो कि भन्ने चिन्ता व्यक्त गरे भने केन्द्रीय सदस्य बलराम तिमिल्सिनाले निराश कार्यकर्तालाई कालो अनुहार,पार्टी भित्रका भ्रष्टाचारीहरुलाई कालो धन र लोकेन्द्र बिष्ट मगरलाई कालो धनको रुपमा रोमाञ्चक बिश्लेषण सुनाएका थिए । केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपानेले अध्यक्ष दाहाल प्रति काँग्रेस एमाले भित्र सकारात्मक धारणा र आफनै पार्टी भित्र नकारात्मक धारणा रहेको बताएका थिए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment