Tuesday, February 9, 2016

सुशील कोइरालाको निधन रहस्यमय ! भाञ्जा र निजी चिकित्सकको बयान बाझियो

काठमाण्डौ । गम्भीर बिरामी परेका खबर पनि नसुनिएको, हिँड्न, डूल्नसक्ने अवस्थाका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधनको खबरले अहिले सबैलाई शोकभन्दा बढी आश्चर्यमा पारेको छ । कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको बयान सुन्ने हो भने धेरैले अनुमान लगाउन सक्छन, कोइरालाको निधन जति आश्चर्यमिश्रित बन्यो, उति नै रहस्यमय पनि । अझ कोइरालाको शवको फोटो जसरी सामाजिक सञ्जालमा भाइरल बन्यो र उनको टाउकोमा चोट लागेको र सिरकमा रगत देखियो, त्यसपछि अहिले सामाजिक सञ्जालमा कोइरालाको अप्रत्यासित निधनको बिषयमा अनेकन शंका र टिकाटिप्पणी सुरु भएको छ । अशोक नामका एक व्यक्तिले सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाको शवको तस्विर पोष्ट गर्दै सिरकमा रगत लागेको र निधारमा समेत चोट देखिएको बिषयमा गम्भीर प्रश्न उठाए । त्यसपछि उनलाई समर्थन गर्दै शंका गर्नेहरु निकै धेरै निस्किए । सामाजिक सञ्जालमा उठेका तर्क वितर्क र शंका उपशंकाहरुलाई हेर्ने हो भने सुशील कोइरालाको अचानकको मृत्युको खबरलाई कसैले सहजै स्वीकार नगरेका देखिन्छ । अहिले सबैको मनमा उस्तै उस्तै प्रश्नहरु उठेका छन्–‘मृत्युकै मुखमा पुग्ने गरी गम्भीर हुँदा समेत सुशील कोइरालालाई किन अस्पताल लगिएन ? केही दिनदेखि निमोनियाबाट साच्चिकै ग्रसित थिए भने उनलाई राम्रो हेरचाह किन भएन ? उनले ओडेको सिरकमा कसरी रगतको ताजा टाटा देखियो ? निधारमा कसरी चोट लाग्यो ?’ स्मरणीय छ, उनका निजी चिकित्सक, परिवारजन तथा भा ञ्जाले रगतको टाटा र निधारको चोटको बिषयमा कुनै पनि कुरा बाहिर ल्याएका छैनन् । अचेत भएर शौचालय जाने क्रममा लडेर चोट लागेको हो भने पनि त्यो बिषय समेत भनिएको छैन । एक चर्चित अनलाइनसँग प्रतिक्रिया दिने क्रममा कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले शनिवारदेखि बढेको चिसोले कोइरालालाई समस्यामा पारेको र त्यस दिनदेखि उनले खाना नै नखाएको बताएका छन् । उनले सोमबार भने बिहान र दिउँसो मज्जाले खाना खाए पनि राति चाहि खान नमानेको बताएका छन् । तर सोही अनलाइनमा कोइरालाका भाञ्जा रमेशले चाहि ‘कोइरालाले सोमबार राति ९ बजेतिर जाउलो खाएका, राति १२ बजेतिर पानी पिएका र सँगै रहेको आफूलाई समेत चिया पिउन भनेको’ बताएका छन् । डा. कविरनाथ योगी भन्छन–‘ बेलुकासम्म उहाँ सामान्यरुपमै कुराकानी गरिरहनुभएको थियो । राति साढे ११ बजेसम्म राम्रो होसमा हुनुहुन्थ्यो । साढे ११ बजे उहाँले पिशाब गर्नुभयो । त्यसपछि ‘दिशा गर्छु’ भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम आवाज त्यहि थियो । उहाँले दिशा गर्नुभयो र पल्टिनुभयो । त्यसपछि १२ बजेतिर अचानक खकार वा थूक अड्केको जस्तो ख्वाक्क गर्नुभयो र एकाएक अचेत हुनुभयो । अनि पो हामी सबै आत्तियौं ।’ भाञ्जा रमेशले चाहि ‘१२ बजे मामा(सुशील)ले पानी पिएको’ भनेका छन् । तर चिकित्सकले चाहि १२ बजे नै कोइराला खकार वा थुक अड्केजस्तो गरी एकाएक अचेत भएको कुरा गरेका छन् । भाञ्जा रमेशलाई उद्धृत गर्दै लेखिएको छ–‘कोइरालाले सोमबार राति ९ बजेतिर जाउलो खाएका थिए । राति १२ बजेतिर उनले पानी पिए । सँगै रहेका रमेशलाई चिया खान भने । तर, कोइरालालाई गाह्रो भइसकेको थियो । उनको उपचार घरमै भइरहेको थियो । उनले अक्सिजन दिएको, इन्जेक्सन लगाएको देख्दा मलाई के गरेको भनेका थिए । तपाईलाई गाह्रो भयो, त्यसैले भनेपछि पूर्व प्रधानमन्त्री कोइरालाले केही बोलेनन् । परिवारले अस्पताल लैजान चाहेको थियो । तर, गाडीमा अक्सिजन नभएकाले एम्बुलेन्स बोलाउने तयारी भइरहेको थियो । सँगै रहेका भान्जा रमेशका अनुसार अन्तिम सास लिनुभन्दा केही अघि उनी निदाए जस्तो गरे । त्यसपछि उनले सदाका लागि विदा लिए ।’ निजी चिकित्सले कोइरालालाई ‘पाँच दिनदेखि अक्सिजनमा राखिएको’ भनेका छन् । अक्सिजनमा राखिएको पूर्व प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिजस्तो प्रतिष्ठित व्यक्तिको स्वास्थ्य ५ दिनदेखि नै बिग्रिएको हो र उनलाई अक्सिजनमा राखिएको थियो भने त्यो कुराको बिषयमा कार्यकर्ता र सर्वसाधारणलाई किन जानकारी दिइएन ? यो पनि रहस्यमय बिषय बनेको छ । अर्कोतर्फ अक्सिजनमा राखिएको व्यक्तिको स्वास्थ्य जुनसुकै बेला खराब हुनसक्ने सामान्य अनुमान सबैलाई हुन्छ । भाञ्जा रमेशले मामाको अवस्था नाजुक बनेपछि अस्पतालतर्फ लैजान खोज्दा अक्सिजनसहितको एम्बूलेन्स नपाइएको बताएका छन् । निवर्तमान प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिको स्वास्थ्य बिग्रदा अक्सिजनसहितको एम्बूलेन्स पाइएन भन्ने रमेशको बयान आफैंमा रहस्यमय र हास्यास्पद छ । सभापति कोइरालाको अप्रत्यासित निधनको खबरप्रति अपराध बिटमा काम गर्ने राष्ट्रिय दैनिकका पत्रकारहरुले समेत शंका गरेका छन् । अन्नपूर्णपोष्टमा लामो समयदेखि अपराध बिटमा कार्यरत सुवास गोतामेले फेसबुक स्टाटस पोस्ट गर्दै लेखेका छन्–‘कुरो खोजको विषय छ । पुर्व प्रधानमन्त्री सुशील कोइरालाको राति मृत्यु भयो । उनलाई किन अस्पताल लगिएन ? कि उनको रेखदेख पुगेन । कि अस्पताल लैजान आवश्यक ठानिएन। बिरामी थिए भने किन समयमा अस्पताल पुर्याइएन? यो खोजिको अनुसन्धानको बिषय छ। अकस्मात भित्र कुनै षड्यन्त्र त छैन? शंका गर्न सबैलाई छुट छ ।’

No comments:

Post a Comment