Monday, February 8, 2016

रक्सौल डिपोले दियो ३ लाख ६८ हजार लिटर तेल, वीरगञ्जबाट भित्रिँदै

२५ माघ, काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी) ले आजदेखि रक्सौल डिपोबाट तेल दिन थालेको छ । आईओसीले आज मात्र ३ लाख ६८ हजार लिटर तेलको लोडिङ दिएको नेपाल आयल निगमले जानकारी दिएको छ । झण्डै २ दर्जन भन्दा बढी ट्याकंरले आज रक्सौलबाटै तेल लोड पाएका हुन् । रक्सौलबाट आईओसीले १ लाख ८ हजार लिटर पेट्रोल, १ लाख ४० हजार लिटर डिजेल र १ लाख २० हजार लिटर हवाइ इन्धन दिएको निगम प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखरबलाई जानकारी दिए । लोड भएका ट्यांकर वीरगञ्ज नाकाबाट भित्रिन सुरु गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । रक्सौलमा लोड भएका सबै ट्याकंर आजै वीरगञ्ज प्रवेश गर्नेछन् । नाकाबन्दीपछि रक्सौल डिपोले तेल दिन छाडेको थियो । केहीदिन सातादेखि हवाइ इन्धन र मटि्टतेल मात्रै दिइरहेको डिपोले साढे ४ महिनापछि पेट्रोल र डिजेल दिएको हो । आईओसीको केन्द्रीय कार्यालयले आज नै आफू मातहतको रक्सौल डिपोलाई आयल निगमको मागअनुसार तेल दिन निर्देशन दिएको थियो । आईओसीले सोमबार रक्सौल डिपोलाई पठाएको निर्देशनसहितको पत्रको बोधार्थ आयल निगमलाई पनि पठाएको थियो । त्यसैअनुसार आज आयल निगमले रक्सौल डिपोसँग ९ सय किलोलिटर तेलको मागेको थियो । रक्सौल डिपोका अधिकारीले दैनिक रुपमा लोडिङ बढाउँदै लैजाने बताएका आयल निगमले जनाएको छ ।

No comments:

Post a Comment