Thursday, February 25, 2016
कांग्रेस महाधिवेशनमा भित्तेलेखन र पोस्टर प्रयोग नगरिने
१३ फागुनफ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको प्रचारप्रसारका लागि पार्टीले भित्तेलेखन र पोस्टर प्रयोग नगर्ने भएको छ ।
फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि सहर बजारलाई कुरुप र फोहर बनाउने खालका प्रचारका उपाया नअपनाउने निर्णय गरिएको कांग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचार समितिका सदस्य बद्री पाण्डेले जानकारी दिए ।
दलहरुले गर्ने भित्तेलेखन र पोस्टरिङले सार्वजनिकस्थल फोहर र प्रदूषित देखिने निष्कर्ष निकाल्दै कांग्रेसले देशभरका मुख्य मुख्य ठाउँलाई रङ्गीचङ्गी बनाउने खालका प्रचारका उपाय अपनाउने तयारी गरेको छ । साथै विद्युतीय प्रचारलाई बढी जोड दिने तयारी छ ।
समितिले महाधिवेशनको सूचना सञ्चारमाध्यमलाई सहज र शीघ्र तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र सूचना केन्द्रलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने तयारी समेत गरिरहको छ ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतलाई अधिकतम सदुपयोग गरिने महाधिवेशन प्रचार समितिका प्रमुख डा. मीनेन्द्र रिजालले जानकारी दिए । “भित्तेलेखन र पोस्टरिङको विकल्पमा मुख्य चोकमा सूचनापाटी, स्वागतद्वार, फ्लेक्स आदि प्रयोग गरिनेछ”– डा रिजालले भने, “रेडियो, टेलिभिजन र अनलाइनको पनि सहयोग लिने भएका छौँ ।”
महाधिवेशनको उद्घाटनसत्र, बन्दसत्र र घोषणासभाका मुख्य प्रसङ्गको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिने बताइएको छ ।
कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि बनाएको छ । प्रचारप्रसारका क्रममा कांग्रेसले महाधिवेशनको मूल नाराका रुपमा छुट्टै नारा पनि बनाएको छ ।
महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौं संविधानः समृद्ध राष्ट्रनिर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गरिएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment