Monday, February 8, 2016

सुशीलका भाइ भन्छन्- दाजुलाई पसिना आएको थियो, अस्पताल लैजानु भनेँ

२६ माघ नेपालगञ्ज । सुर्खेतरोडस्थित कोइरालानिवासमा सोमबार मध्य राति फोनको घन्टी बजेको बज्यै गर्‍यो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाका कान्छाभाइ विजय कोइरालालाई लाग्यो, अलार्म बज्दै छ, अब मर्निङवाकमा जानुपर्ला । लगातार घन्टी बजेपछि उनी उठ्न बाध्य भए । फोन उठाउँदा काठमाडौंमा दाजु सुशीललाई पसिना आएको र बिसञ्चो भएको खबर आयो । भाइ विजयले अस्पताल लैजानू भने र उनी बाथरुमतिर गए । तर, बाथरुमबाट फर्केर आउँदा रिसिभ गरेको दोस्रो घन्टीमा उनले दाजुको निधनको खबर सुन्नुपर्‍यो । ‘पटक-पटक फोनको घन्टी बजेपछि उठाउँदा उहाँको स्वास्थ्य अवस्था बिगि्रएको जानकारी पाएँ,’ उनले भने, ‘पसिना आएको भन्ने खबर आयो, अस्पताल लैजानू भनेर बाथरुम गएँ, फर्केर आउँदा फेरि फोन आयो, त्यो फोनमा हामीलाई छाडेको दुःखद खबर आयो, रातको १ बजेको रहेछ, म बिहान भयो होला भनेर मर्निङवाकमा जाने सोच्दै थिएँ ।’ सुशील कोइराला नेपालगञ्ज आउँदा कान्छाभाइ विजय कोइरालाकै घरको माथिल्लो तलाको दाहिने कोठामा बस्ने गर्थे । सुशीलको आफ्नो निजी घर छैन । दाजुको निधनबाट आफूले मात्रै नभई राज्यले नै अभिभावक गुमाएको विजयले प्रतिक्रिया दिएका छन् । बुहारी भन्छिन्- कुरा गर्न पाइनँ सुशीलका अर्का भाइ स्व. डा. अरुण कोइरालाकी पत्नी तथा बाँके सभापतिकी उम्मेदवार किरण कोइराला निर्वाचनको चटारोमा व्यस्त थिइन् । सभापतिमा पदका लागि मंगलबार पुनर्निर्वाचनको तयारी हुँदै थियो । चुनावको यही व्यस्तताले गर्दा जेठाजुसँग कुरा हुन नपाएको किरणले दुःखमनाउ गरिन् । उनले भनिन्, ‘साँझ एक-दुईपटक फोन सम्पर्क गरेकी थिएँ, सम्पर्क हुन सकेन । मैले बिहान ४ बजेतिर मात्रै घटना थाहा पाएँ । सुशीलको निधनबाट आफ्नो मात्रै होइन, देशकै अभिभावक गुमेको महसुस भइरहेको किरणले बताइन् ।’ कोइरालाको निधनले गृहजिल्ला बाँके शोकमा डुबेको छ । उनको मृत्युको खबरसँगै नेपालगञ्जको सुर्खेत रोडमा रहेको कोइराला निवासमा कार्यकर्ता तथा शुभचिन्तकको बाक्लो उपस्थिति देखिएको छ । सुशील गृहजिल्ला आउँदा आफ्ना विश्वासपात्र लक्ष्मीनारायण साहको ग १ च ३३९५ नम्बरको कालो गाडीमा चढ्ने गर्थे । साह शनिबार बिहान कोइराला निवासबाहिर सुर्खेतरोडमा शोकमग्न अवस्थामा उभिएका थिए ।

No comments:

Post a Comment