Tuesday, February 16, 2016

हवाइ इन्धनको मूल्य घट्यो, पेट्रोलको घटाउन छलफल नै भएन

४ फागुन, काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । अपरान्ह बसेको आयल निगमको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर ५५ रुपैयाँ घटाएको हो । यसअघि आन्तरिक उडानतर्फ १ सय ६४ रुपैयाँ ८८ पैसा रहेको हवाइ इन्धनको मूल्य अब १ सय ९ रुपैयाँमा झरेको छ । तर, पेट्रोल डिजेल र मटि्टतेल लगायतका इन्धनको मूल्य घटाउनेबारे बैठकमा कुनै छलफल नभएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेलेे अनलाइनखबरलाई जानकारी दिए । नाकाबन्दीको समयमा भारतबाट पेट्रोलिमेक्सले ल्याएको हवाइ इन्धन महंगो किन्नु परेको भन्दै अघिल्लोपटक निगमले हवाइ इन्धनको मूल्य सामान्य मात्र घटाएको थियो । यसैगरी आयल निगमले बाह्य बिमान कम्पनीहरुका लागि इन्धनको मूल्य प्रति किलोलिटर ९ सय ८१ डलर कायम गरेको छ । यसअघि १५३० डलर रहेको बाह्य तर्फको मूल्य समायोजन गर्दा ५ सय ४९ डलर घटेको छ । आयल निगमले बाह्य बिमान कम्पनीका लागि सोमबारदेखि हवाइ इन्धन बेच्न थालेको थियो । प्रवक्ता घिमिरेले पेट्रोल डिजेल र मटि्टतेलको मूल्य समायोजन गर्न तत्काल कुनै तयारी नगरिएको बताए । दुईसाताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सस्तोमा किनेर महंगोमा तेल नबेच्न र अन्तर्राटि्रय मूल्य अनुसार नै मूल्य समायोजन गर्न निर्देशन दिएका थिए । तर, आयल निगमले कुल सञ्चित नोक्सानीको भरपाई गर्ने गरी किनेको भन्दा नकै महंगो मूल्य राखेर तेल बेचिरहेको छ । वाषिर्क रुपमा ठूलो नाफामा रहेको निगमले त्यसैबाट कर्मचारीलाई बोनस खुवाउन रकम भने छुट्याएको छ ।

No comments:

Post a Comment