Friday, February 19, 2016

मातेको मान्छेको गोजीबाट पैसा निकालेको आरोपमा एक प्रहरी पक्राउ

७ फागुन, काठमाडौं । मादक पदार्थ सेवन ‘मापसे’ को कार्वाहीमा पक्राउ परेका व्यक्तिको गोजीमा रहेको पैसा चोरेको आरोपमा काठमाडौं नयाँ बसपार्कका प्रहरी नायव निरीक्षक (सई) निर्मल ज्ञवाली पक्राउ परेका छन् । बिहीबार राति बसपार्क क्षेत्रबाट मापसे कार्वाहीमा पक्राउ परेर थुनामा लगिएका व्यक्तिको गोजीमा रहेको करिब १ लाख रुपैयाँ सई ज्ञवालीले चोरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो । मापसेमा पक्राउ परेका व्यक्तिले शुक्रबार बिहान काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रम थापालाई भेटेर आफ्नो गोजीमा भएको एक लाख रुपैयाँ प्रहरीले चोरी गरेको भन्दै उजुरी गरेका थिए । पीडितले गुनासो गरेलगतै एसएसपी थापाले बिहान सई ज्ञवालीलाई पक्राउ गर्न काठमाडौं परिसरबाट टोली पठाएका थिए । पक्राउ परेका ज्ञवालीमाथि अनुसन्धान भैरहेको एसएसपी थापाले बताए । उनले भने- थुनामा परेका व्यक्तिको सबै समानहरुको सुरक्षा प्रहरीले लिनुपर्छ, बहुमुल्य सामानहरु छन् भने त्यसलाई सुरक्षित राखिदिनु प्रहरीको कर्तव्य हो । आफू मातहत रहेका सईले गलत शैलीबाट पैसा असुलेको समेत थाहा नपाएको भन्दै बसपार्क प्रभागका इन्पेक्टर मदन बस्नेतलाई पनि कारवाहीस्वरुप सरुवा गरिएको थापाले बताए । करिब चार वर्ष वीरगञ्जमा बसेका ज्ञवाली केही महिनाअघि मात्रै बसपार्कमा सरुवा भएका थिए । पछिल्लो समय प्रहरीका हाकिमहरु नै रंगेहात अख्तियारको फन्दामा पर्न थालेपछि आइजीपी उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी मातहतका सबै इञ्चार्जहरुलाई बोलाएर घुस खाने प्रहरीको हाकिमलाई कार्वाही गर्ने चेतावनी दिएका थिए ।

No comments:

Post a Comment