Monday, February 22, 2016
महाराजगञ्जमा डाक्टरको ज्यान लिएकाे दुर्घटनाबारे जनस्तरमा छानबिन हुने
१० फागुन, काठमाडौं । माइक्रो बसको ठक्करबाट महाराजगञ्ज शिक्षण अस्पतालका दुई चिकित्सक विद्यार्थीहरुको मृत्यु भएको घटनाको ‘जनस्तरमा पनि छानबिन’ हुने भएको छ ।
कान्ति बाल अस्पताल पछाडिको ओरालो सडकमा आइतबार विद्यार्थी सवार हरियो प्लेटको बा १ प ४३ नम्बरको माइक्रो बसको ठक्करबाट डाक्टरद्वय प्युठान बिजुवार ७ का डा. सन्जीब सुवेदी र भारत बिहारका डा. सनी आनन्दको मृत्यु भएको थियो ।
दुर्घटनाबारे छलफल गर्न सोमबार चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा बसेको सरोकारवालाहरुको संयुक्त बैठकमा ६ बुँदे निर्णय गरेको छ । निर्णयको पहिलो बुँदामा ‘घटनाको जनस्तरमा पनि छानबिन गर्ने’ उल्लेख छ ।
यसैगरी कान्ति बाल अस्पतालबाट रिङरोड तर्फ जाने बाटोलाई ‘सन्जीब-सनी’ मार्ग नामाकरण गर्ने र भबिष्यमा यस्ता दुर्घटना नहोउन् भनेर कान्ती बाल अस्पतालदेखि रिङरोडसम्म बाइपास रोड निकाल्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय पनि भएको छ ।
डाक्टरद्वयको मृत्युमा जिम्मेवार चालकबिरुद्ध कानुनी कारबाही गर्ने, ठक्कर दिने माइक्रो बसको स्वामित्वमा रहेको चेल्सी बिद्यालयलाई समेत कानुनी र सामाजिक दायित्व तोक्ने निर्णय भएको छ ।
यसका लागि ७ सदस्यीय अनुगमन समिति बनाइएको छ । समितिको संयोजकमा डा. राजेश भुर्तेल छन् ।
सदस्यहरुमा नेपाल चिकित्सक संघका महासचिव डा. मुक्ति श्रेष्ठ, प्रवेश विक्रम सिंह, डा. सुरज घिमिरे, डा. विकास पौडेल, नवराज सुवेदी र कृष्णध्वज खड्का छन् । सुवेदी र खड्का मृतक परिवारका नातेदार हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment