Tuesday, February 16, 2016

जनताकै पैसाले धरहरा बन्ने, प्रथम दाता बने प्रधानमन्त्री

४ फागुन, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पले भत्काएको ऐतिहासिक धरहरा नेपाली जनताबाट रकम उठाएर बनाइने भएको छ । यसरी बनाइने धरहरा अहिलेको भन्दा अग्लो बनाइनेछ भने यसमा भूकम्पमा ज्यान गुमाएकाहरुको नाम समेत राखिने भएको छ । मंगलबार धरहराको भग्नावशेषमाथि कार्यक्रम गरेर ऐतिहासिक धरोहर पुनर्निर्माणका लागि राष्ट्रिय संकल्प गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीको पैसाले धरहरा बनाउने बताए । यसो भन्दै प्रधानमन्त्री आफैंले एक महिनाको तलब दिने घोषणा कार्यक्रमबाटै गरे । वैशाख १२ को भूकम्पले धरहरा भत्किएपछि कसरी पुनर्निर्माण गर्ने भन्ने बहस गरेको थियो । तर, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले नेपालीहरुको पैसामा नै बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । उसो त एक निजी कम्पनीले पनि आफ्नो लगानीमा धराहरा बनाइदिने घोषणा गरेको थियो । तर, सरकार र पुनर्निर्माण प्राधिकरणले अब नेपाली जनताबाट रकम उठाएर धरहरा बनाउने योजना अघि सारेको छ । सबै नेपालीले ‘मैले बनाएको धरहरा’ भन्ने पाउने गरी बनाइने प्रधानमन्त्रीले बताए । उनले भने-धरहरा नेपालीको पहिचान हो । स्वेदश र विदेशमा रहेका नेपालीहरु सबै मिलेर धरहरा निर्माण गर्ने संकल्प गरौं ।’ धरहराका लागि रकम संकलनका लागि छुट्टै बैंक खाता खोल्न पुनर्निर्माण प्राधिकरण र पुरातत्व बिभागलाई निर्देशन दिए । आफ्नो एक महिनाको तलब राखेर बैंक खाता खोलिने उनले बताए । कस्तो बन्नेछ धराहरा ? अब बन्ने धरहराको बाहिरी स्वरुप पुरानो जस्तै हुनेछ । तर, भूकम्प प्रतिरोधी र केही अग्लो हुनेछ । १९९० सालको भूकम्पले भत्किनु अघि २५० फिट अग्लो थियो । भूकम्पले भत्किएपछि २०३ फिट अग्लो थियो । अब बन्ने धरहरा यो भन्दा केही अग्लो र फराकिलो हुने प्रधानमन्त्री ओलीले जानकारी दिए । तर, कति भन्ने खुलाएनन् । ‘हेर्दा उस्तै देखिन्छ, भूइचाँलाले नढल्ने बलियो बनाइन्छ’ प्रधानमन्त्री ओलीले भने । धरहरा पुनर्निर्माण गर्दा जमिन मुनि तीन तला पार्किङ हुनेछ । बाहिर स्मारक बनाउने र त्यसमा भूकम्पमा ज्यान गुमाएकाहरुको नामावली पनि राखिनेछ । र, भूकम्पको श्राद्ध प्रधानमन्त्री ओलीले वैशाख १२-२९ भूकम्पको श्राद्ध दिवस बनाउने प्रस्ताव समेत गरेका छन् । उनले भने, वैशाख १२/२९ लाई श्राद्ध दिवस अथवा स्मृति दिवसका रुपमा मनाउने प्रचलन पनि सुरु गर्ने सोचमा छौं ।’

No comments:

Post a Comment