Friday, December 4, 2015

तीन दलको शीर्ष बैठकपछि निर्णायक वार्ता

काठमाडौं : मधेसी मोर्चासँग निर्णायक वार्तामा बस्नुअघि सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवटारमा अपरान्ह पाँच बजे सुरु भएको छ। कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु मोर्चाले राखेका माग सम्बोधनका लागि साझा धारणा बनाउन छलफलमा बसेका हुन्। मधेसी मोर्चाले राखेका जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गरिनुपर्ने, राज्यका निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने र सीमांकनमा पुनरावलोकन गरिनुपर्ने मागबारे तीन दलको बैठकमा छलफल हुँदैछ। अहिले जारी बैठकमा प्रमुख दलहरुले साझा धारणालाई अन्तिम रुप दिने भएका छन् । तीन दलले साझा धारणा बनाएपछि मधेसी मोर्चासँग बेलुका हुने वार्तालाई निर्णायक बनाउने निचोडमा शीर्ष नेताहरु रहेका छन् । बालुवाटारमा जारी बैठकमा कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह सहभागी छन् । एमालेबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष भीम रावल पनि सहभागी छन् । त्यसैगरी एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित सहभागी छन् ।

No comments:

Post a Comment