Friday, December 4, 2015

पहाडी र मधेसी समुदाय मितेरी साइनोमा गाँसिदै

वीरगन्ज : वीरगन्ज घर भएका मधेसी समुदायका सुन्दर कुर्मी र पोखरा बस्ने पहाडी समुदायका शेखर गौतम शुक्रबारदेखि मित भएका छन् । यस्तै पहाडी समुदायकै अमृत ढकाल र मधेसी समुदायका आशीष पटेलले एक आपसमा मितेरीको साइनो जोडेका छन् । पोखराबाट शुक्रबार वीरगन्ज आइपुगेका गौतमले कुर्मीसँग र ढकालले पटेलसँग मितको साइनो लगाएका हुन् । वीरगन्जको श्रीपुरमा एमालेको भातृ संगठन अनेरास्ववियुले शुक्रबार आयोजना गरेको कार्यक्रममा सरिक भएका उनीहरुले एक आपसमा मितको साइनो लगाएका हुन् । कार्यक्रममा पहाडी समुदायका गौतम र ढकालले दौरा सुर्वाल र ढाका टोपी , कुर्मी र पटेललाइ उपहार दिए । त्यस्तै कुर्मी र पटेलले पनि धोती र कुर्ता , गौतम र ढकाललाइ उपहार दिए । त्यसपछि दुवै मित जोडीले एक अर्कालाइ टिका लगाएर अंकमाल पनि गरे । मधेसमा आन्दोलन चलिरहेका बेला मधेसी र पहाडी समुदायबीचको भाइरचाराको सम्बन्ध चिसिएको छ । सामाजिक सन्जालहरुमा एकले अर्काे समुदायप्रति लक्षित गरेर अनेक नकारात्मक र असह्य टिप्पणी गर्ने क्रम बढेकाले सामाजिक सदभाव बचाइराख्न मितेरी अभियान थालिएको हो । मधेसी र पहाडी समुदायबीच पछिल्लो समय चिसिएको सम्बन्ध सुदृढ बनाउन र सामाजिक सदभाव बचाइराख्नका लागि अनेरास्ववियु कास्कीले शुक्रबार वीरगन्जमा आयोजना गरेको मितेरी साइनो अभियानमा कुर्मी र पटेलले गौतम र ढकालसँग मितेरी साइनो जोडेका हुन् । अनेरास्ववियु कास्कीले ‘हिमाल पहाड, तराई कोही छैन पराइ’, ‘राष्ट्रिय एकताका लागि अनेरास्ववियुको मितेरी साइनो’ नारासहित अभियान चलाएको हो । अभियानको थालनी शुक्रबार वीरगन्जबाट गरिएको हो । राष्ट्रिय एकता अझ मजबुत बनाउन र पछिल्लो समय मधेसी–पहाडी समुदायबीच चिसिएको सम्बन्ध सुदृढ बनाउनका लागि आफनो संगठनले मधेसमा मितेरी साइनो अभियान चलाएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । ‘पहाडतिर अहिले मधेसी भन्ने बित्तिक्कै भारतीय हुन् भन्ने गलत भ्रम फैलाइएको छ । त्यसैलाई निमिट्यान्न पार्न हामीले यो अभियान चलाएका हौं’, उनले भने, ‘यो अभियान बारा र रौतहट लगायत मधेस आन्दोलन चलिरहेका अन्य जिल्लाहरुमा पनि चलाउँछौं ।’ ‘पहिला हामी नेपाली हौं , अनि त्यसपछि मात्रै हामी मधेसी वा पहाडी हौं’, शुक्रबारको कार्यक्रममा सहभागी अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य उमेश गुप्ताले भने, ‘अनेरास्ववियुको यो अभियानले मधेसी पहाडी बिचको सदभाव अझ मजबुत बनाउँछ ।’ अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवको अध्यक्षता एवम् एमाले केन्द्रिय सदस्य दिनेश राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय सदस्य प्रहलाद गिरी, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य शिवजी गुप्ता, पुर्व केन्द्रिय सदस्य उमेश गुप्ता, अनेरास्ववियु कास्कीका सचिव अमृत ढकाल र अरुण यादव लगायत उपस्थित थिए ।

No comments:

Post a Comment