Friday, December 4, 2015

भूकम्प पीडित चेपाङलाई २६ घर



मंसिर १९, २०७२- मकवानपुरको नामटार गाविसमा भूकम्प पीडित २६ चेपाङ परिवारलाई घर हस्तान्तरण गरिएको छ । ९८ वर्षीय धनमाया चेपाङलाई घर प्रवेश गराएर घर हस्तान्तरण गरिएको हो ।
सांसद राजाराम स्याङतान र राष्ट्रिय स्वयमसेवक कार्यक्रमका संयोजक प्रदीप खतिवडाले संयुक्तरुपमा हस्तान्तण गरेको भित्र फूलमाला लगाएर वृद्धा चेपाङलाई घर प्रवेश गराएका थिए ।
वैशाख १२ गते गएको भूकम्पले उनको घर भत्केको थियो । त्रिपालमुनि उनीसँगै ७ वर्षको नाति र ९ वर्षकी नातिनी कष्टकर जीवनयापन गर्दै आएका थिए । राष्ट्रिय योजना आयोगद्वारा सञ्चालित राष्ट्रिय स्वयमसेवक कार्यक्रम, हिमालयन क्लाइमेट इन्सियटिभ र सामुदायिक विकास तथा सचेतना कार्यक्रमद्वारा नामटार गाविस ९ गोपीराङ र धाधरका भूकम्प पीडित तथा विपन्न परिवारका निम्ति निर्माण  गरिएका २६ वटा सुरक्षित घरहरु हस्तान्तरण गरिएकहो हो । घर पाएर खुशी भएका पीडितले बिहीबार रातभर भोज खाएर नाचगान पनि गरेका थिए ।
जस्तापाताको छाना भएको २ कोठे भवन बनाउन राष्ट्रिय स्वयम्सेवक कार्यक्रम र हिमालयन क्लाईमेटले जस्तापाता, फलामका सवै सामानहरु उपलब्ध गराएको थियो । स्थानीयवासीलाई भवन जडान र निर्माण तालिम पनि दिइएको थियो । २६ घर परिवारका पीडितहरुले आलोपालोसँग घर बनाएका थिए । 
‘गोपीराङमा जस्तै अन्यत्र पनि पीडितले मिलेर घर बनाएर चाँडै पुननिर्माण हुन्छ’, राष्ट्रिय स्वयम सेवक कार्यक्रमका संयोजक खतिवडाले भने ।
कान्तिपुर दैनिकमा गोपीराङका भूकम्प पीडित चेपाङहरुको अवस्थाका बारेमा समाचार प्रकाशित भएपछि राष्ट्रिय स्वयमसेवक कार्यक्रमले घर वनाउन सहयोग गरेको हो । 
मनहरी खोलाको किनारामा रहेको उक्त वस्तीमा चेपाङहरुको ३५ घरधुरी छ । बस्तीमा भएका ९ बाहेक सबै घर भूकम्पको बेला भत्किएको थियो ।

No comments:

Post a Comment