Thursday, December 3, 2015

नेपाल प्रवेश गर्न खोज्दा दाउदका सहयोगी सीमा क्षेत्रबाट पक्राउ

१७ मंसिर, काठमाडौं । अन्डरवर्ल्ड डन दाउद इब्राहिमका एक सहयोगी नेपाल-भारत सीमा क्षेत्रमा पक्राउ परेका छन् । उनीहरुमाथि भारतीय जनता पार्टीका दुई नेतालाई गुजरातको भारुचमा गोली हानी मारेको आरोप छ । दाउदका निकट सहयोगी जाभेद चिक्नाका भाइ अबिद पटेललाई नेपालतर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । भाजपाका दुई नेताहरुको हत्या गर्ने षडयन्त्रमा संलग्न रहेको पाइएपछि सुरक्षा एजेन्सीहरुले उनका गतिविधिमा निगरानी गर्दै आएका थिए । गुप्तचरहरुले उनी बिहारबाट नेपाल छिर्न लागेको सूचना दिएका थिए । केन्द्रीय सुरक्षा निकायहरुले नेपाल प्रहरीको सहयोग लिएर पक्राउ गरेको दाबी गरेका छन् । ‘नेपाली सुरक्षा निकायलाई विश्वासमा लिएर दुबै पक्षको संयुक्त अपरेशनमार्फत नेपाली भूमिमा प्रवेश गरेलगत्तै पक्राउ गरिएको हो,’ स्रोतले भन्यो । अबिदलाई गुजरात प्रहरीसमक्ष बुझाइनेछ र गुजरात प्रहरीले दुई नेताको हत्याका विषयमा सोधपुछ गर्नेछन् । दुई अज्ञात बन्दुकधारीले भारुच जिल्लाका पूर्व पार्टी अध्यक्ष शिरिष बंगाली र भाजपाको युवा संगठन प्राग्नेस मिस्त्रीको गत २ नोभेम्बरमा गोली हानी हत्या गरेका थिए । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले दाउदका कुनै पनि सदस्य नेपाली भूमिमा पक्राउ परेको आफूलाई जानकारी नभएको बताए ।

No comments:

Post a Comment