Wednesday, December 2, 2015
मोर्चासँग वार्ता छाडेर कमल थापा किन गए दिल्ली ?
१६ मंसिर, काठमाडौं । मधेसी मोर्चासँगको वार्ता छोडेर उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा सोमबार दिल्लीतिर लागे । वार्तालाई निर्णायक बनाउने तयारी भइरहेका बेला सरकारी वार्ता समितिका संयोजक नै भारततिर लाग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
साथै व्यक्तिगत भ्रमण भन्दै दिल्ली भएपछि थापाले उपप्रधानमन्त्रीको हैसियतमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् ।
अनौपचारिक भ्रमणका रुपमा आध्यात्मिक गुरु रविशंकरलाई भेट्न भन्दै उपप्रधानमन्त्री थापा दिल्ली हुँदै बैंङलोर गएका थिए । तर, मंगलबार दिल्ली आएका उनी राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
संयोग के परेको छ भने हिन्दुराष्ट्रको माग गर्दै आएका खुमबहादुर खड्का पनि अहिले बैङलोरमै छन् । स्वास्थोपचारपछि उनी बहिनीका घरमा आराम गरिरहेका छन् ।
बुधबार उपप्रधानमन्त्री थापाले दिल्लीमा आफ्ना समकक्षी सुस्मा स्वराजलाई भेटेका छन् र अब उनी भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने प्रयासमा छन् ।
भारतको अडान कायमै
परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय समकक्षी सुष्मा स्वराजले पुरानै भनाइ दोहोर्याएकी छिन् । भारतीय समकक्षीसँगको भेटमा परराष्ट्रमन्त्री थापाले पारवहन अवरोधका कारण नेपाल गम्भीर समस्यामा रहेको भन्दै यसलाई हटाउन आग्रह गरेका छन् ।
जवाफमा स्वराजले भारतको तर्फबाट कुनै अवरोध नरहेको दावी गरिन् । ‘नेपालको राजनीतिक समस्या समाधान हुनासाथ आपूर्ति सुचारु हुने’ आश्वासन उनले थापालाई दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताएका छन् ।
दिल्लीमा लाइन मिलाउने प्रयास
काठमाडौंमा वार्तालाई निर्णायक बनाउन पहल भइरहेका बेला भारतको विश्वास आर्जन गर्नका लागि थापालाई दिल्ली पठाइएको सूत्रहरुको दाबी छ ।
स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर नै दिल्ली गएका हुन् । र, उनले दिल्लीमा त्यसअनुसार भेटवार्ता गरिरहेका छन् । मोदीसँगको भेटका लागि थापाले रवीशंकरको च्यानलसमेत प्रयोग गरिरहेका छन् । गृहमन्त्री राजनाथ सिंह र भारतीय जनता पार्टीका नेता राम माधवलाई पनि भेट्नेछन् ।
एमाले नेतृत्वमा मधेस समस्या समाधानका लागि मधेसी मोर्चासँग मात्र वार्ता गरेर हुँदैन भन्ने छ । र, भारतसँग पनि लाइन मिलाउने प्रयास सुरू भएको देखिन्छ ।
स्रोतका अनुसार उपप्रधानमन्त्री थापाको यो भ्रमणप्रति प्रधानमन्त्री ओलीसमेत निकै आशावादी छन् । त्यसको असर मधेसी मोर्चासँगको वार्तामा समेत देखिएको छ ।
यता काठमाडौंमा बुधबार निर्णायक वार्ता हुने भनिएपछि दलहरुको तयारी छैन । प्रमुख तीनदलले आफ्नो प्रतिवद्धताअनुसार मधेसी मोर्चाको मागबारे औपचारिक धारणा नै बनाएनन् । उच्च स्रोतले अनलाइनखबरलाई भन्यो- ‘वार्तामा केही हुने छाँट छैन, उपप्रधानमन्त्रीको दिल्ली भ्रमणप्रति धेरै आश गरेको देखिन्छ ।’
थापा दिल्ली जानुअघि भारतीय जनता पार्टीका नेता विजय जोली सुटुक्क नेपाल आएका थिए । उनले कांग्रेस र एमालेका नेताहरुलाई भेटेर दिल्लीको सन्देश सुनाए ।
जोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले आफू भारतविरोधी नभएको सन्देश पठाएका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment