Thursday, December 3, 2015
महिलाको पित्तथैलीबाट निकालियो १२ हजार पत्थरी
एकजना महिलाको पित्तथैलीबाट डाक्टरले झण्डै १२ हजारवटा पत्थरी निकालेर विश्व किर्तिमान कायम गरेका छन् । भारतको कोलकातास्थित देवदूत सेभायान अस्पतालमा ५१ वर्षकी मिनाती मण्डलको सरीरबाट ११ हजार ९५० वटा पित्तथैलीको पत्थरी निकालिएको हो ।
लामो समयदेखि पेट तथा छाति दुख्ने र पोल्ने समस्याबाट पीडित रहेकी मण्डल दुइ हप्ताअघि अस्पताल भर्ना भएकी थिइन् । अल्ट्रासाउण्डका क्रममा डाक्टरहरुले उनमा निकै जटिल पित्तथैलीको पत्थरी रहेको पत्ता लगाएका थिए ।
अस्ट्रासाउण्डका क्रममा पित्तथैलीमै ठूलै पत्थरी रहेको देखिएको भएपनि यतिधेरै पत्थरी होला भनेर आफुले नसोँचेको उपचारमा संलग्न डाक्टर मखल लाल शाहले बताए । पत्थरीको संख्या ५ हजार नाघेपछि आफु निकै अचम्ममा परेको उनको भनाइ छ । पित्तथैलीले यतिधेरै पत्थरी थाम्न सक्छ भन्ने कुरा आफुले कहिल्यै कल्पना पनि नगरेको उनी बताउँछन् ।
बिरामी महिलाको पित्तथैलीबाट पत्थरी हटाउनका लागि पूरै ५० मिनेट लागेको थियो । त्यसलाई बाहिर निकालेपछि डाक्टरले ४ जना सहयोगीलाई गन्न लगाएका थिए र उनीहरुले पूरै ४ घण्टा लगाएर गनेका थिए ।
यो किर्तिमानी पत्थरीको नमूनालाई संग्रहित गर्नका लागि डाक्टरहरुले लण्डनस्थित रोयल कलेज अफ प्याथोलोजीलाई पत्र पनि लेखिसकेका छन् ।
यो पत्थरीले गिनिज बुकमा नाम लेखाउने पक्का छ । यसअघि सन् १९८३ मा बेलायती डाक्टरहरुले एकजना जर्मन बिरामीको पित्तथैलीबाट ३११० वटा पत्थरी निकालेका थिए । यी भारतीय महिलाको पित्तबाट त त्यसको ३ गुणा धेरै पत्थरी निकालिएको छ ।
पित्तथैलीको शल्यक्रिया पछि ती महिला अहिले घर फर्किसकेकी छिन् र स्वास्थ्यलाभ लिइरहेकी छिन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment