Thursday, December 3, 2015

सिन्धुलीमा हात्ती आतंक

सिन्धुली: सिन्धुलीको कमलाखोंच क्षेत्रमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ। जंगलबाट आएका चारवटा हात्तीले बस्तिमा पसेर धनमालको नष्ट गर्दै आतंक मच्चाउन थालेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक बिपिन ओझाका अनुसार कमलाखोंचको दुधौली नगरपालिका-११ स्थित देशी माझी, रामबहादुर माझी लगायतको घर भत्काएर क्षती पुर्‍याएको छ। 'जंगलबाट आएको हात्तिले रातको समयमा घर भत्काउँने धानको भकारी भत्काउने, धान खाने फलफुल तथा अन्यखेतीमा समेत क्षेती पुर्‍याएको छ,' प्रहरी निरिक्षक ओझाले भने।तिन दिनदेखी हात्तिले गाउँमा पसेर ३० मुरीबढी धान नष्ट गर्नुका साथै चारवटा घरगोठ भत्काए क्षेती पुर्‍याइ सकेको छ। 'हात्तिले देशी माझी र रामबहादुर माझीको चार वटा घर गोठमा भत्काई दिएको छ । गाउँमा रातपरेपछि छिर्ने हात्तिले अन्य सर्वसाधरणमा समेत त्रास फैलिएको छ,' ओझाले भने। तीन दिनदेखि हात्तीले आतंक मच्चाएको खबर आएपछि दुधौली प्रहरी चौकीबाट गस्तीटोली रातभर हात्ति लखेट्न खटेको छ। स्थानीय र प्रहरी रातभर हात्ति लखेट्न नसुती बस्ने गरेका छन्। उता हात्तिले घर भत्काइदिएपछि छोराछोरी र आफैलाई पनि मार्छकी भन्ने डरले तिन दिनदेखी घर छाडेर सुरक्षित स्थानमा बसेको रामबहादुर माझीले बताए। गाउँका अन्य सर्वसाधरण पनि घर छाडेर रातभर एकै ठाउँमा जम्मा हुने, आगो बाल्ने गरेर रात विताउँन थालेको स्थानीयले जनाएका छन्।मानवीय र चौपाय क्षेती नभएपनि रातभर सर्वसाधरण त्रसिद भएर बस्ने गरेका छन्। धनुषाको चुरे क्षेत्रबाट आउने जंगली हात्तिले कमलाखोंच क्षेत्रमा वर्षेनी जसो मानविय र धनमालको क्षेती पुर्‍याउने गरेको छ।यस अघिपनि त्यस क्षेत्रमा हात्तिले दुई जनको ज्यान लिनुको साथै दर्जनौं घर क्षति पुर्‍याएको थियो।

No comments:

Post a Comment