Friday, May 20, 2016
४८ घण्टामै क्यान्सरबाट छुट्कारा, जानी राखौं, यी चामत्कारिक औषधिबारे
प्रायः सबैजसो रोगहरुभन्दा क्यान्सरलाई निकै घातक मानिन्छ । वैज्ञानिकहरुले क्यान्सरबाट बच्न विभिन्न किसिमका औषधिहरु बनाएको दावी पनि गर्दै आएका छन् । तर यो दुनियाका लागि ती औषधिहरु भने पर्याप्त छैन् । हालैमात्र क्यान्सरबाट पीडित बिरामीहरुमाथि २५ वर्षसम्म गरिएको एउटा अनुसन्धान प्रतिवेदन प्रकाशित भएको छ । क्यालिफोर्निया विश्वविद्यालयका मेडिकल फिजिक्स तथा साइकोलोजीका वरिष्ठ प्रोफेसर डा. हर्डिन बी जोन्सका अनुसार क्यान्सरलाई उपचार गर्ने क्रममा प्रयोग हुने कीमोथेरापीले क्यान्सर बिरामीहरुलाई मृत्युको मुखमा लैजान सक्ने दावी गरेका छन् । तर घातक मानिने क्यान्सर रोगबाट बच्न केही अनुसन्धानकर्ताहरुले प्राकृतिक उपाय निकालेका छन् जसले क्यान्सरबाट छुट्कारा दिलाउँन मद्दत गर्न सक्छ ।
हालैमात्र गरिएको अनुसन्धानले विभिन्न प्रकारका क्यान्सरबाट छुट्कारा दिलाउँन अंगुरको बियाँ निकै अचुक भएको प्रमाणित गरेको छ । अनुसन्धानको प्रतिवेदनमा उल्लेख भए अनुसार अंगुरको बियाँले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म नियन्त्रण गर्ने काम गर्दछ । अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार अंगुरको बियाँमा पाइने ‘जेएनके प्रोटीन’ले क्यान्सरलाई नियन्त्रण गर्न निकै सहायता प्रदान गर्र्दछ । एजेन्सीको सहयोगमा
Thursday, May 19, 2016
तेलखानी चलाउने विषय चाहीँ हावामै दिएछन् प्रधानमन्त्री ओलीले
काठमाण्डु, ७ जेठ– नेपाली प्राविधिकसहितको ६ सदस्यीय चिनियाँ टोलीले मोरङको बाहुनीमा पेट्रोल खानी अन्वेषण सुरु गरेका छ । तर, त्यहाँ तेल छ कि छैन अझै यकिन भइसकेकेका छैन । तीन वर्षभित्र अन्वेषणको काम पूरा हुने चिनियाँ टोलीले जनाएको छ ।
सकेसम्म छिटो प्रारम्भिक अध्ययन सकेर ब्यावसायिक उत्खनन्को सम्भाव्यता अध्ययन हुने चिनियाँ टोलीले जनाएको छ । यसअघि चिनियाँ टोलीले दैलेख, धनगढी, नेपालगन्ज, लुम्बिनी, चितवन, वीरगन्ज, मलंगवा, जनकपुर, राजविराज र मोरङमा खानी अन्वेषण सम्भाव्यता अध्ययन गरेको थियो । अन्वेषण पूर्ण नहुँदै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र नेपालको आफ्नै तेलखानी हुने अभिव्यक्ति दिए । नयाँ पत्रिकाबाट
कीर्ते मुद्दाका डाक्टर पोख्रेल धरौटीमा रिहा
पाँचथर, ७ जेठ – सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पक्राउ परेका डा. तारा पोख्रेल धरौटीमा रिहा भएका छन् । विसं २०५२ देखि २०५६ सालसम्म पाँचथर अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेका डा. पोख्रेललाई जिल्ला अदालत पाँचथरले २७ हजार धरौटी मागेर तारेखमा रिहा गरेको हो ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनलाई २७ हजार रुपैयाँ धरौटी माग गरेको थियो । मागअनुसारको धरौटी दाखिला गरेर पोख्रेल तारेखमा रिहा भएका हुन् । २० वर्ष पहिले दर्ता भई मुल्तवीमा रहेको मुद्दालाई अनुसन्धान गर्न भन्दै पाँचथर प्रहरीले जिल्ला अस्पतालका तत्कालीन डाक्टर पोख्रेललाई गत शुक्रबार पक्राउ गरेको थियो । डाक्टर पोखरेलले यसअघि नेपाल सरकारको स्वास्थ मन्त्रालयअन्तर्गत स्वास्थ सेवा विभागको बालरोग महाशाखा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुखसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
पाँचथर अस्पताल प्रमुखको जिम्मेवारीमा रहँदा सरकारी छाप दस्तखत कीर्ते गरेको भन्दै औषधि व्यवसायी वसन्त पाण्डेले पोख्रेलविरुद्ध मुद्दा दर्ता गराएका थिए । डाक्टर पोख्रेल पाँचथर अस्पतालको प्रमुख हुनुपूर्व पाण्डेले अनिरुद्र सहकारीमार्फत अस्पताल परिसरभित्रै औषधि पसल सञ्चालन गर्दै आएका थिए । अस्पताल परिसरमा निजी पसल राख्न नपाइने आवाज उठेपछि पोखरेलले पाण्डेलाई पसल हटाउन भने पनि उनले अटेर गरेपछि अस्पताल विकास समितिको निर्णयबाट सो पसल बन्द गराइएको थियो ।
औषधि पसल बन्द गराइएपछि पाण्डेले पुनः मन्त्रालयबाट अस्पताल परिसरमा पसल सञ्चालन गर्न दिनु भन्ने आशयको पत्र लेखाएर पुनः पसल सञ्चालन गर्न पहल गरेका थिए । अस्पताल विकास समितिले आफ्नो निर्णय सच्याउन नचाहेपछि पाण्डेले पाँचथर जिल्ला अस्पतालका तत्कालीन डाक्टर पोख्रेललाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गराए ।
अदालतले मुद्दाको सुनुवाइका क्रममा अस्पतालसँग प्रमाण मागेपछि डाक्टर पोख्रेलले अस्पताल विकास समितिको निर्णय र विभागबाट प्राप्त पत्र अदालतमा पेस गरेका थिए । सोही कागजातमा सरकारी छाप र दस्तखत कीर्ते गरेको भन्दै पाण्डेले पुनः अर्को मुद्दा दर्ता गरेका थिए ।
राजेन्द्र महतोले भने, ‘म प्रधानमन्त्री भएँ भने सबैलाई एक नम्बरी नागरिकता दिन्छु’
काठमाण्डु, ७ जेठ– भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र नेपालका प्रधान मन्त्री केपी शर्मा ओली माथि माथि मिलेका छन्, तलचाँहि मोर्चालाई घुमाउने काम मात्र भइरहेको छ भनिन्छ नि ? नेपालको इतिहासमा ओलीले जति भारतको विरोध सायदै अरु कसैले गरेको होला । त्यसैले यसो भन्नु मादीलाई पनि ओलीलाई जस्तै बदनाम गर्नु हो । यति चर्को भारत विरोधी ओलीजीलाई राजकिय भ्रमण गराउनु नपर्ने हैन र ? यो पाहुना जाँदा गरिने खातिरदारीको कुरामात्रै हो । राष्ट्रपतिको भारत भ्रमण अन्तिम अवस्थामा राकियो कसरी हेर्नुभएको छ ? यो कुटनीतिक कुरा हो । बाहिरबाट एउटा नागरिकले हेर्दा भने राम्रो लागेन । भूकम्प र नाकाबन्दीको मारमा परेर होला, यो आर्थिक वर्षको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कम हुन गयो, यस्तै भयो भने १० वर्षमा नेपाल कहाँ पुग्ला ? यो निकै दुःखद् कुरा हो । यो मुलुकको प्रधानमन्त्री हुनुभयो भने……? यस्तै हो भने मधेसीलाई प्रधानमन्त्री हुन त गाह्रो छ तर पनि म यो देशका सबै जनजाति, भाषाभाषी, समुदायका जनतालाई ‘एक नम्बरको नेपाली बनाउने छु । त्यसपछि समृद्धितर्फको यात्रा हुनेछ । त्यसका लागि सगरमाथा, लुम्बिनी जानकी मन्दिर, हिमाल, पहाड र तराईका सांस्कृतिक धरोहर प्रर्वद्धन गरेर जानुपर्छ । अनि किन त्यता ध्यान नदिनुभएको त ? पहिले जनताले अधिकार पाउनुपर्यो, त्यसपछि विकासका कुरा हुन्छन् । जनतालाई अधिकार सम्पन्न गराएमा मात्रै तीन घन्टामा तीनवटा हावापानी पाइने हाम्रो मुलकलाई २० बर्षभित्र समृद्ध बनाउन सक्नेछौँ नागरिक दैनिकमा प्रकाशित अन्तर्वार्ताबाट
कालीकोटमा भीषण पहिरो, तीनको मृत्यु, चार बेपत्ता
काठमाण्डु, ७ जेठ –कालीकोटको कोटवाडा गाविसस्थित लालिघाट बजारमा बिहीबार राति भीषण पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेका छन् ।
कर्णाली नदीको तिरमा रहेको लालिघाट बजारमा अविरल परेको वर्षातपछि गएको पहिराले बजारका १ सय भन्दा बढी पसल, घर टहरा पुरिएका छन् । पहिरोमा बेपत्ता भएका चार जनाको खोजी कार्य जारी छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनीहरुको खोजी जारी राखेको छ । पुरिएका घरका सामानहरु पनि निकाल्ने काम भइरहेको कालीकोट प्रहरीले जनाएको छ ।
लालिघाट बजारमा करिब १५० वटा घर छन् । ती मध्ये १ सय घर अहिले परिएका हुन् । कणाली राजमार्गबाट नजिक पर्ने लालिघाट अस्थायी प्रकृतिको बजार हो ।
घटनास्थलमा कालीकोटका प्रमुख जिल्ला अधिकारी प्रबिण श्रेष्ठ, नेपाल प्रहरीका डिएसपी किशनसिंह बुडाल, नेपाली सेनाका मेजर विजय थापा लगायत अधिकारीहरु पुगेका छन् ।
घटनास्थल पुग्न सदरमुकामदेखि एकघण्टाको गाडी यात्रासकेर आधा घण्टा पैदल हिड्नु पर्छ । भीषण पानी परेकोले उद्धारकर्मीलाई सदरमुकाम मान्माबाट घटनास्थल पुग्न समय लागेको बताइएको छ ।
मध्यनेपाल नगरपालिका शोकमा डुब्यो, मृतक ११ पुगे
काठमाण्डु, ७ जेठ– बिहीबार साँझ लमजुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुकोसंख्या ११ पुगेको छ । घाइते मध्येका २ को बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्यनेपाल नगरपालिका ५, जिता र तान्द्राङटक्सारको सीमा साल्मेडाँडामा बिहीबार साँझ बस दुर्घटना हुँदा एउटै गाउँका ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनाको उपचारका लागि बिहीबार राति पोखराको मणिपाल शिक्षण पुर्याउने क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मध्यनेपाल नगरपालिका–१ जिताकोटका १६ वर्षीय सागर खवास र मृतक सविना खवासकी ३ महिने छोरी माया खवास रहेका छन् । घटनामा घाइते ८ जना अवस्था पनि गम्भीर छ । मध्यनेपाल नगरपालिका अहिले शोकमा डुबेको छ ।
यसरी भारतले कृत्रिम लुम्बिनीको संरचना रचेर विश्वमा भ्रम फैलिरहेको छ
काठमाण्डु, ७ जेठ – विश्वमा शान्ति र अहिंसाका परिकल्पनाकार एवम् प्रतिपादक शाक्यमुनि गौतमबुद्धले नेपालमै बुद्धत्व प्राप्त गरेको विभिन्न विद्वानल बताएका छन् ।
त्कालीन कपिलवस्तु गणराज्यका राजा शुद्धोधनका सुपुत्रका रूपमा लुम्बिनीमा जन्मेका बुद्धको जन्मको विषयलाई लिएर विभिन्न भ्रम फैलाउन विदेशीले विभिन्न प्रयत्न गरिरहेका बेला बुद्धत्वसमेत नेपालमा नै प्राप्त भएको विद्वानले तर्क प्रस्तुत गरेका छन् ।
नेपालमा २५६०औँ बुद्धजयन्तीका सन्दर्भमा बिहीबारदेखि दुई दिनसम्म जारी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी विद्वान एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले शाक्यमुनि सिद्धार्थ गौतमले बुद्धत्वको भावना भएकै कारणले श्रीपेच, दरबार, परिवार र वैभव त्याग गरी थप ज्ञानको खोजीमा हिँडेको बताए ।
छिमेकी राष्ट्र भारतले कृत्रिम लुम्बिनीको संरचना रचेर पनि अन्तर्राष्ट्रियजगत्लाई भ्रम फैलाएको समाचार आइरहेको अवस्थामा बुद्धले नेपालमा नै बुद्धत्व प्राप्त गरेको खबरले नेपाल र नेपालीको गौरव र प्रतिष्ठाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा महत्व पाएको छ ।
बौद्ध धर्मावलम्बीले बुद्धको जन्मस्थान लुम्बिनी (नेपाल), उनले ज्ञान प्राप्त गरेको स्थान बोधगया, बुद्ध भएपछि पहिलोपटक ज्ञानको प्रवाह गरेको (धर्मचक्र प्रवर्तन) स्थान सारनाथ र मुक्ति प्राप्त (महापरिनिर्वाण) स्थान कुशीनगर (भारत) लाई पवित्र तीर्थस्थलका रूपमा इतिहासमा अङ्कित छ ।
राज्य निर्माणका लागि विभिन्न समयको कालखण्डमा विभिन्न शासकबाट भएका प्रयत्नका कारण अहिले लुम्बिनी बाहेकका तीनवटै क्षेत्र भारतमै पर्ने भएकाले पनि लुम्बिनी क्षेत्रलाई विवादमा ल्याउने प्रयास भारतबाट हुँदै आएको विभिन्न विद्वानको भनाइ छ ।
तत्कालीन समयमा लुम्बिनी, कपिलवस्तु, रामग्राम लगायतको इतिहासलाई बिर्सन हुँदैन । त्यस समयमा पनि त्यहाँ देखिएका विवाद र सिद्धार्थको कौतुहलताका कारण उनले ज्ञानको खोजी गर्ने क्रममा बोधगया पुगेर ६ वर्ष निरन्तर तपस्या तथा ध्यान गरी बुद्ध बनेका र त्यसपछि संसारलाई आफूले जानेको ज्ञानको प्रचार गरेका कारण विश्वमा मानव समुदायका दार्शनिकका रूपमा पहिचान बनाएको भिक्षु आनन्दले बताए । उनले बुद्धत्वको चरण पार नगरीकन बुद्ध बन्न नसकिने धारणा राखे ।
उनका अनुयायीले बौद्ध दर्शनलाई थप प्रचार–प्रसार गरी व्यापक बनाए । अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाल आउने बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा लुम्बिनीलाई विकास गर्न भने सकिएको छैन । त्यहाँको पूर्वाधार विकासमा विभिन्न योजना बनेको भए पनि सफलतापूर्वक कार्यान्वयन हुन नसक्नु नै अहिले ठूलो चुनौती बनेको लुम्बिनी फाउन्डेसनका अध्यक्ष सिद्धार्थ गौतमले बताए ।
लुम्बिनीको पूर्वाधार विकासका लागि लुम्बिनी विकास कोष तथा प्राज्ञिक उन्नयनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसमेत स्थापना गरिएको छ । त्यस क्षेत्रको विकासका लागि अन्य गैरसरकारी संस्थाको समेत चासो बढेको छ । समाजमा अहिंसाको मार्ग र शान्ति कायम गराउनका लागि विभिन्न नैतिक शिक्षामा जोड दिने बौद्ध दर्शनको अध्ययन, अनुसन्धान तथा खोजी त्यस धर्मका अनुयायीका लागि मात्र नभएर अन्य धर्मावलम्बीलाई समेत प्रेरणाको स्रोत बन्नेछ ।
अन्तर्राष्ट्रिय युवा भिक्षु महासङ्घका उपाध्यक्ष बौद्ध विद्वान् भिक्षु तपस्सी धम्मले सिद्धार्थले जन्म र बुद्धत्व नेपालमा नै प्राप्त गरेको बताउँदै संसारलाई सूक्ष्मरूपमा चिन्ने तथा हेर्नेजस्ता थप ज्ञान लिन बोधगया गएको विचार व्यक्त गरे ।
उनले नेपालमा बुद्ध जन्मेको हो भन्ने यथार्थले मात्र अब नपुग्ने, बुद्धत्व प्राप्त गरेको नेपालको स्थानको समेत खोजी, अनुसन्धान गर्नुपर्ने र प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।
लिटरमै २८ रुपैयाँसम्म नाफा राख्नुको मतलव त बोनस खान पो रहेछ
काठमाण्डु, ७ जेठ– नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् । निगमले सबै ऋण चुक्ता गरेसँगै गत आवमा बोनसका लागि भनेर छुट्टयाइको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुलेको छ ।
बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टयाउनु पर्छ । गत आवमा निगमको वासलातमा बोनस शीर्षकमा ९० करोड रुपैयाँ छुट्टयाएको छ । निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्ता गरिसकेपछि बोनस बाड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ ।
निगमको १५ दिनको नाफा ४० देखि ५० करोडसम्म हुन्छ । उसले मासिक ब्याज तीर्न छुट्टै शीर्षक छुट्टयाएको छ । ऋण चुक्ता गर्न प्रतिलिटर डिजेल, पेट्रोल, मट्टितेलमा ४ रुपैया नाफा राखेको छ । हवाई इन्धनमा २८ रुपैया र एलजिपी ग्यासमा ५८ रुपैयाँ नाफा राखेको छ । कारोबार दैनिकबाट
एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ..
खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो ।..एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । …एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।
युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ ।
औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।
नेपालमा युरेनियम पाईने ठाउँहरु
हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।
खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।
खानी विभागले ‘गामा रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।
मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।
जापानमा मृत्यु भएका भण्डारीको परिवारलाई १३ लाख सहयोग
गलकोटबाट जापान पुगेकाको साझा संस्था ‘गलकोट समाज जापान’ले जापानमा ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई राहत रकम प्रदान गरेको छ। गलकोट, हटिया–३ का स्व रविलाल भण्डारीकी श्रीमती मञ्जु भण्डारीलाई रु १३ लाख नौ हजार आर्थिक सहयोग प्रदान गरिएको हो।
समाजले गलकोटमा आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरको उद्घाटनका अवसरमा सो राहत रकम हस्तान्तरण गरिएको हो। स्व भण्डारीको जापान पुगेको छोटो समयमै केही महिनाअघि आकस्मिक निधन भएको थियो। बालबच्चाको पठनपाठन र पालनपोषणका लागि राहत रकम दिइएको समाजका अध्यक्ष हर्क थापाले बताए।
'जापानमा रहेका गलकोटेबाट रकम सङ्कलन गरी मृतकको परिवारलाई आर्थिक सहयोग गरेका हौँ' अध्यक्ष थापाले भने 'जापानमा दुःख, साह्रो पर्दा नेपालीको उद्धार र सहयोगमा समाजले काम गरिरहेको छ।'
हालसम्म त्यस्तो सहयोगमा रु एक करोड ५० लाखभन्दा बढी खर्च भइसकेको समाजले जनाएको छ। सोही अवसरमा समाजले गुल्मी बडगाउँका आगलागीपीडित परिवारलाई समेत रु एक लाख सहयोग प्रदान गरेको थियो। समाजले मङ्गलबारदेखि सुरु गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर आज सकिँदैछ। रासस
कार्गोवाहक विमान दुर्घटनामा सातको मृत्यु
अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा बुधबार राती भएको एक कार्गोवाहक विमान दुर्घटनामा परी कम्तीका सात व्यक्तिको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन्। हेलमान्ड प्रान्तको गरम्सेर जिल्लामा रहेको द्वयेर विमानस्थलबाट नौ यात्रु लिएर उडेर सो विमान केही समयपछि नै दुर्घटनाग्रस्त भएको एक अफगान अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन्।
अजरबैजानी एयरलाइन्ससँगआवद्ध यस विमानले द्वयेरमा रहेको सैन्य शिवीरलाई आवश्यक साम्राग्रीहरु आपूर्ति गर्दै आएको बताइएको छ। उक्त सैन्य शिवीर संयुक्त गठबन्धन सेनाबाट सञ्चालन हुदै आएको पनि सो स्रोतले जानकारी दिएको छ ।
चालक दलका सदस्य अजरबैजानी, युक्रेन र उज्बेकिस्तानमा रहेका जनाइएको छ। प्रारम्भिक समाचारअनुसार यस विमानमा सवार सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् ।
दुर्घटनाको विस्तृत विवरण र कारण भने हाल प्रष्ट भईनसकेको बताइएको छ । रासस /एपी
फरार तीन अभियुक्त पक्राउ
कर्तव्य ज्यान मुद्दामा छ वर्ष अगाडि सजाय पाएका फरार एक व्यक्तिलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीे टोलीले सप्तरीको लोहजारा–६ बस्ने हरिकृष्ण भीनवार यादवलाई पक्राउ गरेको हो।
पूर्व गाविस सचिवसमेत रहेका ४५ वर्षीय भीनवार यादवलाई २०६७ साल कात्तिक ९ गते सर्वोच्च अदालत काठमाडौँले ज्यान मारेको उद्योगमा छ महिना कैद सजाय सुनाएको थियो। प्रहरी निरीक्षक गौरव महतका अनुसार पक्राउ परेका यादवलाई आजै कारागारमा पठाइने छ।
यस्तै, कैदी भगाएको आरोपमा जिल्ला अदालतबाट ६१ वर्ष कैद पाएर पनि फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको त्रिकौल–८ बस्ने बिहारी गोदी मलाहा र पिप्रा पूर्व गाविस–५ बस्ने ५५ वर्षीय रामफुल मलाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सप्तरी जिल्ला अदालत राजविराजले कैदी भगाएको अभियोगमा दुवैजनालाई ६१ वर्षको कैद सजाय सुनाएको थियो। रासस
जिका भाइरसको जोखिम बढ्दो
जिका भाइरसको उच्च जोखिम यतिबेला जर्जिया र रसियाली क्षेत्रमा बढ्दो मात्रामा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले जनाएअनुसार आगामी गर्मी मौसममा यस भाइरसको जोखिम बढ्ने र त्यो क्षेत्रमा यसको उच्च जोखिम पनि देखिन सक्ने जनाएको छ।
साथै यसबाट युरोपेली क्षेत्र पनि सतर्क भएर बस्नुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ। उक्त संगठनले जनाएअनुसार यदि यसको नियन्त्रणका लागि भरपर्दा उपायहरु नअपनाउने हो भने यसको जोखिम व्यापक बन्दै जानेछ।
लाखुट्टेका कारण सर्ने यस घातक सङ्क्रमणले यसअघि पनि सयौं मानिसको ज्यान लिइसकेको छ। अहिले पनि यसको जोखिम पूरै कम नभएको र खतरापूर्ण अवस्था कायमै रहेको बताइएको छ। रासस/एपी
निजी अस्पतालमा काम गर्ने सरकारी डाक्टरलाई कारबाहीको माग
सरकारी तलब सुबिधा लिएर निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारबाही गर्न झापाको एक समूहले सरकारसँग माग गरेको छ। सचेत नागरिक समूह झापाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी सरकारको तलब–भत्तासहित अन्य सुबिधा लिने अनि निजी अस्पतालमा पूर्णकालीन रुपमा काम गर्ने चिकित्सकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो। सचेत नागरिक समूहले चिकित्सकलाई सरकारको तलब भत्ता लिएपछि सकारकै काम गर्न पनि अनुरोध गरेका छन्।
झापाका विभिन्न सरकारी अस्पतालमा पूर्णकालीन सेवामा रही राज्यकोषबाट तलब, भत्ता तथा सेवा सुबिधा लिइरहेका केही चिकित्सकहरू जिल्लाकै विभिन्न मेडिकल हल, औषधि पसल तथा निजी अस्पतालमा काम गरिरहेको पाइएको समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘नागरिकले तिरेको करबाट तलब सुविधा खाई कानुनविपरीत यसरी निजी मेडिकल हल, औषधि पसल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई तत्काल कारबाही गर्न हामी सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। साथै, सरकारी सेवासुविधा उपभोग गरिरहेका त्यस्ता चिकित्सकलाई काममा नलगाउन निजी मेडिकल हल, औषधि पसल र अस्पताललाई पनि सचेत गराइएको छ।
‘कानुन र हाम्रो आग्रहविपरीत सरकारी चिकित्सकले झापाका कुनै पनि निजी मेडिकल, औषधि पसल तथा अस्पतालमा काम गरेको पाइएमा सचेत नागरिक समूहबाट स्थानीयस्तरमै प्रहरी प्रशासन समक्ष कारबाहीका लागि जिम्मा लगाउने छौं,’ विज्ञप्तिमा उल्लेख छ। उक्त समूहले जिल्लाका विभिन्न मेडिकल हल, औषधि पसल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकले आफ्नो आम्दानी अनुसार राज्यलाई कर नतिरेको, कर कार्यालयमा पानमा दर्ता नगरी काम गरेको, फर्म दर्तासमेत नगरेको तथा औषधि पसलेहरुले चिकित्सकहरुको नाम पसलको भित्तामा टाँसेर काम गरेकोप्रति पनि आपत्ति जनाएको छ।
उक्त समूहले प्रशासनका साथै जिल्ला प्रहरी कार्यालय, अख्यितार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला जनस्वास्थ्य कार्यालय, मेची अञ्चल अस्पताल लगायतलाई बोदार्थ पठाएको छ। सरकारी तलब सुविधा लिई निजी क्षेत्रमा काम गर्नु नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र निजामती कर्मचारी ऐन विपरीत मानिन्छ। नेपाल स्वास्थ्य सेवा ऐन २०५३को दफा ५९ ले कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय एवं निजी प्राक्टिस गर्न नहुने भनी उपदफा १ मा सरकारी सुविधा उपभोग गर्ने स्वास्थ्यकर्मीले गर्न नहुने काम तोकेको छ।
दफा ५९को उपदफाको ‘क’ मा बैंक, कम्पनी स्थापना, रजिष्ट्रेसन वा सञ्चालनको काममा भाग लिन वा स्वास्थ्य क्लिनिक वा निजी अस्पताल वा नर्सिङ होम खोल्न, सञ्चालन गर्न वा त्यस्ता स्वास्थ्य क्लिनिक वा निजी अस्पतालमा काम गर्न नपाइने भनी स्पष्ट उल्लेख छ।
६८ वर्षीय बृद्ध लौरो टेकेर स्कुल
स्याङजाको फेदीखोला–१ खड्केटारीको एक विद्यायलमा ६८ वर्षीय एक वृद्ध कक्षा १० मा अध्ययन गर्दैछन्। खडेकेटारीमा रहेको कालाभैरव उच्च माविको कक्षा १० मा दुर्गाबहादुर विक पढिरहेका छन्। स्याङजाको फेदीखोला–३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका छन्।
‘सानो उमेर छँदा परिवारको आर्थिक स्थिति कमजोर थियो,’ विकले भने, ‘त्यसैकारण पढ्ने इच्छा पूरा गर्न बुढेसकालमा स्कुल जान थालेँ।’ ६ जना सन्तानका बाबु तथा ८ जनाका हजुरबुबा बनिसेकका विकले गरिबीका कारण पढ्न नपाएको भन्दै आखाँभरि अाँशु पारे।
शिरमा ढाकाटोपी, विद्यालय पोसाक, टाइमा फुलेका दाह्री पालेका विक एक हातमा छाता र अर्को हातले लौरो टेकेर विद्यालय जाने गरेका छन्। उनी आधा घण्टाको बाटो हिँडेर विद्यालय जान्छन्। ‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा त लाज लाग्यो,’ उनले भने, ‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ।’
श्रीमती बितेपछि एक्लै बस्दै आएका विकको स्कुल जान थालेपछि दिनचर्या फेरिएको छ। उनी विहान चाँडै उठ्छन्। कसैले काम गर्न बोलाएका छन् भने काम गर्न छन् र हतार–हतार घर फर्केर विद्यालय जाने गरेका छन्। पढ्नलाई अन्य साथीहरूले सहयोग गर्दै आएको उनले बताए।
२०२२ सालमा स्थापना भएको यो विद्यालयमा अहिले दुई सय बढी विद्यार्थी छन्। विकलाई अन्य विद्यार्थीहरूलाई भन्दा धेरै सिकाउनुपर्ने गरेको शिक्षकले बताए। अन्य विद्यार्थीले एकपटकमै बुझे पनि उनलाई दुईपटक पढाउनु परिरहेको प्राचार्य खगेन्द्र सुवेदीले बताए।
बुढेसकालमा विद्यार्थी बन्न आइपुगेका विकलाई साथीहरूले पनि उत्साह थपेका छन्। नजानेका कुरा साथीले सिकाउँछन्। उनको लेखन क्षमता अलि कम भएका कारण सिकाउने गरेको साथी शेरबहादुर थापाले बताए।
प्लस टु सम्मको अध्ययन गर्ने इच्छा राखेका विकलाई आर्थिक स्थितिका कारण पढ्न नपाउने हो कि भन्ने चिन्ता लागेको छ। विदाको दिन मेलापात जान्छन्, केही आम्दानी गर्छन्।
अस्पताल हिँडेका क्यान्सर र मुटु रोगीसँग नारायणी यातायात व्यवसायी संघले भाडा नलिने
क्यान्सर रोग लागेर उपचारका लागि भरतपुरमा रहेको बिपी मेरोरियल क्यान्सर अस्पतालमा जाने विरामीहरुसँग लागि देशकै ठूलो यातायात व्यवसायीहरुको संस्था नारायणी यातायात व्यवसायी संघले भाडा नलिने भएको छ।
विरामीहरुको ध्यानलाई सुविधामा राखेर यस्तो निर्णय गरिएको संघका अध्यक्ष बद्री चौलागाईंले सेतोपाटीलाई बताए।
अस्पतालले उपचारका लागि दिएको कार्ड देखाएपछि भाडा नलिन सबै काउन्टरहरुमा पत्राचार गरिएको उनले बताए। संघका १७ सय भन्दा बढी यात्रुवाहक साधन छन् । यसका साथै ट्रकहरुबाट पनि उनीहरुलाई सित्तैमा भरतपुरसम्म लगिदिने उनले बताए।
क्यान्सरको साथसाथै मुटु रोगीका विरामीहरुलाई पनि भाडा नलिने उनले बताए। विरामीहरु धेरै पटक अस्पताल जानुपर्ने भएकाले उनीहरुलाई केही राहत होस भनेर सो निर्णय गरिएको संघका पूर्वअध्यक्ष गोकर्ण पराजुलीले जानकारी दिए।
कसरी दुरुपयोग भइरहेको छ सांसदमार्फत् गएको पैसा?
आगामी बजेटमा सांसदलाई निर्वाचन क्षेत्रमा विकास कार्यक्रम सञ्चालन गर्न ५ करोड रुपैयाँ दिनुपर्ने र यसरी पैसा दिने चलन खारेज गर्नुपर्ने दुईथरि लबिङका बीचमा नयाँ बजेटको अन्तिम तयारी भइरहेको छ। तर यसअघिका दृष्टान्तले सांसदमार्फत् जाने पैसाको दुरुपयोग भएको देखाएको छ।
महालेखा परीक्षकको कार्यालयले पनि निवार्चन क्षेत्र विकास कार्यक्रम र निवार्चन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा नियम विपरित रकम खर्च भएको बताएको छ।
कार्यालयले राष्ट्रपतिलाई बुझाएको ०७२ सालको प्रतिवेदनमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट ३ अर्ब ११ करोड ३८ लाख निकासा तथा खर्च ं भएको उल्लेख गर्दै यसरी रकम खर्च गर्दा सांसदले नियम प्रक्रिया मिचेको पाइएको बताएको छ।
सूचनाको हकका क्षेत्रमा काम गर्ने संस्था फ्रिडम फोरमले विभिन्न जिल्लामा सांसदहरुले गरेको गरेका खर्चको विवरण जिल्ला विकास समितिमार्फत् संकलन गरेको थियो।
जिल्ला विकास समितिले फ्रिडम फोरमलाई पठाएको रिर्पोटमा उल्लेखित केही नमुना यस्ता छन्ः
नवलपरासीका–४ का सांसद वैजनाथ चौधरीले २०७१/०७२मा निर्वाचन क्षेत्र विकास कार्यक्रममा पाएको पैसा रामनगरमा महिला भवन बनाउन, दलित भवन बनाउन, परिवर्तन युवा क्लबको भवन, बौद्ध गुम्बा सम्भार, प्रगति माविको फर्निचर किन्न, सिर्जनशिल महिला समुहको भवन बनाउन, रामनगर ५ को परासी पत्र विस्तारित गर्न १ /१ लाख रुपैयाँ छुट्याए। महिला सिलाई कटाई तालिमका लागि १ लाख दिए।
लमजुङकी सांसद टुकाभद्र हमाल वेशीसहरमा मदनआश्रित स्मृति भवन बनाउन ४ लाख, राधाकृष्ण आमा समूह इच्छा आमा समूह, सत्यदेवी आमा समूह, महाबुजु आमा समूह र जनचेतना आमा समूहलाई एक/एक लाख रुपैयाँ दिइन्।
मुस्ताङका सांसद रोमी गौचन थकालीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसामध्ये लोमान्थाङ युवा क्लबलाई फर्निचर किन्न १ लाख, स्लोलाईन युवा क्लबको फर्निचर खरिद गर्न १ लाख, नसिङ युवा क्लबको साउण्ड सिस्टम खरिदका लागि १ लाख ८० हजार, जनप्रिय युवा क्लव फर्निचर खरिदका लागि १ लाख, चैले आमा समूहलाई थ्रेसर किन्नका लागि १ लाख ५० हजार, समर आमा समूहको भवन बनाउन १ लाख, नाउरीकोट आमा समूह भौतिक सामग्री खरिदका लागि १ लाख दिए।
पाल्पा १ का सांसद राधाकृष्ण कँडेलले आफूले पाएको रकममध्ये रामपुर एफएमको भवन बनाउन साढे १ लाख रुपैयाँ दिए।
पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेले १ करोड रुपैयाँमध्ये ६४ लाख रुपैयाँ विभिन्न विद्यालयलाई दिइयो भने ३६ लाख मोटर बाटोको लागि छुट्याइयो। अन्य कुनै पनि किसिमका पूर्वाधारका लागि बजेट छ्ट्याइएन।
बनमन्त्री अग्नी प्रसाद सापकोटाले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट पाएको रकममध्ये २ लाख रेडियो सिन्धु एफएमलाई दिए।
सिन्धुपाल्चोकका समानुपातिक सांसद ल्याहरक्याल लामाले चुरेटार युवा क्लबलाई १ लाख, जिल्ला सिराइटो संघलाई म्याट किन्न २ लाख, गोम्बुडाँडीमा चिहान घर बनाउन २ लाख दिए भने चितवन क्षेत्र नम्बर तीनको एक करोड बजेट सबै विभिन्न सिँचाई परियोजनाका लागि मात्र छुट्याइयो।
यी त केही प्रतिनिधि घटनामा मात्र हुन्। ‘सांसदहरुले पूर्वाधार कार्यक्रमको पैसा सिलाइकटाई र ब्युटिसियन तालिममा खर्च गरेको पनि पाइयो’, फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले भने ‘काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा त्यसरी धेरै रकम बाँडिएको छ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको कार्यविधिमा रकम खर्च हुने योजना बनाउँदा गाउँ परिषद्, इलाका परिषद् जिल्ला परिषद् स्वीकृत गरेका योजना हुनुपर्ने, पहिले सुरु भएर पैसा अपुग भएका योजनालाई दिनुपर्ने उल्लेख छ। ‘तर सांसदहरुले आफ्ना नातेदार, दलका भातृ संगठन र दल नजिकका गैरसरकारी संस्थालाई कनिका छरेजसरी पैसा बाँडेको देखियो’ दाहालले भने, ‘तोकिएका मापदण्डलाई मिचेर स्वेच्छाचारी बनी पैसा खर्च गरे।’
महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका केही उदाहरण यस्ता छन्ः
जिल्ला विकास समितिको कायांलय, सप्तरी र अघांखाँचीले साइकल खरिद, पाइप वितरण, तालिम, गोष्ठी जस्ता कायंमा ३० लाख रुपैयाँ खर्च गरेको छ । जिल्ला विकास समितिको कार्यालय, दाङले विभिन्न गैरसरकारी सँस्थाका भवन निमांण, भौतिक सुधार, लागत साझेदारी क्षेत्रमा १३ संस्थालाइं १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको पाइयो ।
२०७१ सालको प्रतिवेदनमा पनि महालेखाले निवाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि मिचेर तनहुँ र नवलपरासी जिल्लामा सांसदले रकम बाँडेको देखाएको छ।
त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि नियमावली २०५८ को नियम ८ (क) (२) (३)मा संविधान सभाका सदस्यले आफ्नो सिफारिशमा कार्यान्वयन गरिएको कार्यक्रमको कम्तिमा वर्षमा एक पटक अनुगमन गरी सोको प्रतिवेदन जिल्ला विकास समितिमा दिने र जिल्ला विकास समितिले सो कार्यक्रमको अनुगमन गरी सो को विवरण चौमासिक रुपमा मन्त्रालयमा पठाउने व्यवस्था छ। जिल्ला विकास समितिको कार्यालय झापा, मोरङ, धादिङ, सुर्खेत, मकवानपुर, बर्दिया, चितवन, बाँके र काठमाडौंमा सञ्चालित ४ सय ५० आयोजनामा ६ करोड २२ लाख ३३ हजार यस कार्यक्रमबाट खर्च गरेकोमा संविधानसभा सदस्यले ती योजनाको अनुगमन गरेको नपाईएको महालेखा परीक्षकको २०७१को प्रतिवेदनमा उल्लेख छ।
महालेखा परीक्षकको कार्यालयका प्रवक्ता बाबुराम गौतमले सांसदले पाएको रकमको २० प्रतिशत जति रकम दश लाखभन्दा साना आयोजनालाई दिएको, साइकल, चामल, औषधिजस्ता सामान नै किनेर बाँडेको, पार्टीका भातृ संगठनलाई दिएको, गैरसरकारी संस्थाका सामान किन्न, पार्टी नेताका नाममा चिन्तन प्रतिष्ठान, स्मृति भवन बनाउन दिएको देखिएको बताए। गौतमले सांसदहरुले ती योजनाको अनुगमन नगरेको र बिल भरपाई नबाएको पाइएको बताए।
‘अघिल्लो वर्ष त भवन नै नबनाई भवन बनाएको कागज गरेको पनि पाइएको थियो तर यो वर्षचाँही त्यस्तो भेटिएन’ गौतमले भने।
नेपालमा आर्थिक वर्ष २०५८/०५९ देखि निर्वाचन क्षेत्र विकास कार्यक्रम लागि केन्द्रीय बजेटबाट पैसा दिने चलन सुरु गरिएको हो। २०६५/०६६ को बजेटमा यो कार्यक्रम नसमेटिएपछि विपक्षीले विरोध गरेका थिए र पछि फेरि कार्यक्रम थपिएको थियो।
संविधान सभा सदस्यले ०७१/०७२को बजेटमा १५ लाख पु¥याइयो भने त्यही वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १ करोड रुपैयाँ प्रत्येक निर्वाचन क्षेत्रलाई दिइने भयो। गत वर्ष दुबै रकम बढाएर सांसदलाई २० लाख र पूर्वाधार कार्यक्रमलाई १ करोड ५० लाख रुपैयाँ दिन थालिएको हो।
बुद्ध जयन्तीको दिन प्राणि हिंसा गर्न नपाईने
आगामी जेठ ८ गते बुद्ध जयन्तिका दिन कुनैपनि किसिमको प्राणी हिंसा नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्लामा रहेका सम्पूर्ण मासु व्यवसायी, होटल व्यवसायी लगायत कसैले पनि हत्या हिंसा नगर्न कार्यालयले सूचना निकालेर आग्रह गरेको हो।
यदि उक्त दिन जिल्लामा प्राणि हिंसा गरेको पाईए प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत कार्यालयले सचेत गराएको छ।
लमजुङमा बस दुर्घटना, ८ जनाको मृत्यु
बिहिबार साँझ लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी शम्भुप्रसाद ढकालका अनुसार दमौलीबाट जिताकोट गइरहेको ना ६ ख ४१३६ नम्बरको बस लमजुङको मध्यनेपाल नगरपालिका – ५ तामाखानीमा दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको थियो।
ढकालका अनुसार बेशीसहर र भोर्लेटारबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ। ‘स्थानीयले ८ जनाको मृत्यु भएको बताएका छन्। मृतकको संख्या एकिन भइसकेको छैन’ ढकालले सेतोपाटीसँग भने। घाइतेलाई उपचारका लागि तनुहँ ल्याउने काम भइरहेको ढकालले जानकारी दिए। बसमा कति यात्रु थिए र दुर्घटनाको कारण भने खुल्न नसकेको ढकालले बताए।
दिल्लीबाट धनगढी आउँदै गरेको बसमा शब फेला
नयाँदिल्लीबाट धनगढीका लागि छुटेको ना५ख ६५०० नं को रात्रि बसको सिटमा एक नेपाली यात्रु आज मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त बसमा सवार बैतडी जिल्ला महारुद्र गाविस–४ का उदगीबहादुर चन्दलाई बसको सिटमा मृत फेला पारेको हो ।
दिल्लीको आनन्दबिहार बस बिसौनीबाट बुधबार साँझ बसमा चढेका चन्दको बस गुडिरहेकै अवस्थामा गएराति निधन भएको साथमै रहेका मृतका आफन्तलाई उद्धृत गर्दै प्रहरी निरीक्षक कर्ण कार्कीले बताए।
बसमा चढ्नुअघि मुम्बईबाट दिल्लीको बस बिसौनातर्फ आउने क्रममा बाटोमा बान्ता भई बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराई चन्द धनगढी आउने बसमा चढेको बताइएको छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । रासस
२ किलोमिटर लामो किर्तिमानी पिज्जा (फोटोफिचर)
नेपल्स – इटलीको नेपल्सलाई पिजाको जननी मानिन्छ । अहिले यही शहरका सेफहरुले विश्वकै सबैभन्दा ठूलो पिजा बनाउने प्रयास थालेका छन् । इटलीको समून्द्रनजिक उनीहरुले २ किलोमिटर लामो संसारकै लामो लामो पिजा बनाउने प्रयास थालेका छन् । यो प्रयास विश्व किर्तिमानका लागि हो ।
यसका लागि उनीहरुले २ हजार केजी पिठो, १६ सय केजी गोलभेडा, २ हजार केजी मोजारेल्ला, २ सय लिटर तेल र १५ सय लिटर पानीको प्रयोग गर्नेछन् । यस कामका लागि १ सय सेफहरु ११ घण्टासम्म खट्नेछन् र उनीहरुले १५ सय ९५ मिटर लामो पुरानो पिज्जाको किर्तिमान भंग गर्ने लक्ष्य राखेका छन् ।
यो हो विश्वकै उत्कृष्ट नोट
काठमाडौं – अमेरिकाको हरियो डलर विश्वमै चलेको पैसा हो । तर वनावटको हिसाबले हेर्ने हो भने न्युजिल्याण्डको पैसा विश्वकै राजा मानिन्छ ।
इन्टरनेशनल बैँक नोट सोसाइटीले न्युजिल्याण्डका ५ डलरको नोटलाई बौकनोट अफ दि इयर २०१५ को अवार्ड प्रदान गरेको छ । सुरक्षाका लागि नोटमा राखिएका स्टिकरदेखी डिजाईनसम्मलाई आधार मान्दै यस नोटलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
इन्टरनेशनल बैँक नोट सोसाइटी (आईबिएनएस) ले सुन्तला र खेरौ रंगको नोटलाई आर्कषक र उत्कृष्ट ठहर गरेको हो । यस नोटको अगाडीपट्टीको भागमा सगरमाथाका प्रथम आरोही सर इडमन्ड हिलारी र न्युजिल्याण्डको सर्वोच्च शिखर माउन्ट ककको तस्विर छ ।
नोटको पछाडीपट्टीको भागमा पहेलोँ आँखा भएको पेन्गुइन छ । यस पेन्गुइनले आँखा फेर्दै गरेको छ । यस अवार्डका लागि २० देशका ४० नोटहरु प्रतिस्पर्धामा थिए । अवार्डमा २०१५ मा जारी गरिएका बैँक नोटहरुले मात्रै सहभागिता जनाउन पाउने प्रावधान छ । सन् २०१५ मा विश्वभर १ सय ५० नयाँ बैँकनोट सार्वजनिक भएका थिए । त्यसमध्ये ४० वटाले प्रतिस्पर्धामा सहभागिता जनाउन पाए ।
न्युजिल्याण्डपछि स्विडेनको २० क्रोनोरको नोट, रुसको १ सय रुवेलको नोट, काजाकिस्तानको २० हजार टेन्जको नोट र स्कटल्याण्डको क्लाईडेसडेल बैँकको ५ रुपैयाँको नोट क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहे । विजेता बैँकनोटका विषयमा कुरा गर्दै न्युजिल्याण्डको रिजर्भ बैँकका सहायक प्रवक्ता जीअफ बासक्यान्ड भन्छन्–‘यस नोटमा संसारकै सुरक्षित फिचर्सहरु छ । त्यससँगै यसमा न्युजिल्याण्डको इतिहास, संस्कृत र सम्पदा झल्काइएको छ ।
विश्वका असी प्रतिशतभन्दा बढी सहरिया वासिन्दा दुषित हावामा सास फेर्न बाध्य
जेनेभा– विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदुषित हावामा सास फेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । यसका कारण जनस्वास्थ्यमा जटिलताहरु थपिँदै गएको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदुषित रहेको पाइएको हो ।
उक्त संगठनले गरेको सो अनुसन्धानपछि यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ ।
विश्वका गरिब देशका सहरहरुमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने गरेको तथ्य सो अनुसन्धानमा राखिएको उल्लेख छ ।
विश्वका निम्न तथा मध्य आय भएका देशका सहरमा वायु प्रदुषण मुख्य समस्याका रुपमा देखिएको छ । यस्तो अवस्थाका देशका ९८ प्रतिशत सहर कमसल हावामा बाँचिरहेका देखिन्छ ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य तथा वातावरणसम्बन्धी निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा ती सहरहरु देखिन्छन् । जसले गर्दा नागरिकले यस्तो जोखिमपूर्ण वातावरणमा बाँच्नुपर्ने अवस्थामा पुगेका छन् ।
विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य विभागका प्रमुख मारिया नेइराले भने– हाल संसारमा यस्तो वायु प्रदुषणको अवस्था निकै नै गम्भीर रुपमा बढिरहेको छ र यसले नागरिकको स्वास्थ्यजस्तो सम्वेदनशिल विषयलाई पनि थप सम्वेदनशिल अवस्थामा नै पु¥याइदिएको छ ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वस्थ र वातावरणसम्बन्धी मापदण्डबाट विश्वका यस्ता देशका सहरहरु तल झरिसकेका पनि सो अनुसन्धानबाट खुलेको छ ।
मारियाले भने– यस्तो अवस्था निकै नै खतरनाक हो र यसैगरी आगामी दिनमा पनि स्वास्थ्यमा सुधारको लागि सबैले ध्यान नदिने हो भने यसले फोक्सोको क्यान्सरजस्तो घातक रोगलाई आमन्त्रण गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ ।
उक्त अनुसन्धानले अहिले पनि यस्ता नगरका नागरिक दम, हृदयघात तथा अन्य स्वासप्रस्वाससम्बन्धी समस्याबाट पीडित भएका पनि देखाएको छ ।
यो अनुसन्धनले घरभित्रको भन्दा बाहिरको वातावरणलाई केन्द्रित गरेको छ । विशेषत बटुवा र सहरमा आफ्नो काम विशेषले हिँड्ने नागरिकमा यो अध्ययन केन्द्रित रहेको छ ।
विश्वका ६७ देशका करिब ७९५ वटा सहरमा यो अध्ययन केन्द्रित गरिएको छ । यो अध्ययन सन् २००८ देखि सन् २०१३ सम्ममा गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणको अवस्था धनी देशमा भन्दा बढी गरिब देशमा खतरनाक हुन पुगेको देखिएको पाइएको बताएको छ ।
सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरुको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।
तर पनि गरिब देशमा भने स्थिति झनभन्दा झन ह्रासोन्मुख हुदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरु मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरु पर्दछन् ।
वायुमण्डलमा देखिएको यो प्रदुषणका कारण विश्वमा अहिले पनि वर्षेनी कम्तीमा पनि तीस लाख मानिसको ज्यान जाने गरेको उक्त संगठनले जनाएको छ ।
स्याम्पलको रुपमा सहरहरुलाई लिँदा प्राय एक करोड ४० लाख जनसङ्ख्या भएको सहरलाई लिइएको उक्त अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनअनुसार अहिले पनि यसरी लिइएको स्याम्पलमा दक्षिण एसियामा सबैभन्दा बढी प्रदुषित सहर भारतको नयाँ दिल्ली हो ।
त्यसपछिका प्रदुषित सहरमा कायरो र बङ्गलादेशको राजधानी ढाका रहेको छ । यी दुई सहरको वायु प्रदुषणको अवस्थाले पनि तोकिएको हद नाघेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य तथा वातावरण विभागका संयोजक कार्लास दोराले भने– प्रदुषणका विभिन्न कारण छन् र त्यसमध्ये अत्यधिक मात्रामा सवारी साधनको प्रयोग एक हो ।
मध्यमबर्गीय राष्ट्रहरुमा सवारी साधन पनि प्रदुषित मापदण्डलाई पालना नगरिएका सवारी साधन चलाउने र यसले बढी मात्रामा प्रदुषण बढाएको पाइएको छ ।
बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरुमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउदा त्यसले झनठूलो मात्रामा प्रदुषण बढाएको पाइएको पनि उल्लेख छ ।
त्यस्तै घरलाई न्यानो पार्नका लागि प्रयोग गरिने कतिपय धुवाँजन्य इन्धनले गर्दा पनि प्रदुषण बढाउने काम गरेको सो अनुसन्धानका क्रममा देखिएको पनि सो प्रतिवदेनमा उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनले जतिसक्दो चाँडो त्यस्ता प्रदुषित वस्तुहरुलाई हटाउन, उर्जाका लागि विद्युतीय प्रविधि अपनाउन र दउरा या कोइलाको प्रयोगलाई निरुत्साहित गर्न तथा सवारी साधनको प्रदुषण मापदण्ड लागू गर्न पनि सुझाएको छ ।
त्यसैगरी सडक पेटिमा हरियाली कायम गर्न, बटुवालाई केन्द्रित गरी सडक पेटीहरु बनाइ त्यसमा विरुवा रोप्ने र हरियाली सडक बनाउने जस्ता कार्यक्रमहरु अपनाउन पनि सुझाएको छ ।
यसरी गरिने सुधारका कारण साइकलको प्रयोगको मात्रा बढ्ने र त्यसका कारण वायु प्रदुषणको अवस्थामा सुधार आउने उक्त अनुसन्धानमा जनाइएको छ ।
अमेरिकाको बि–५२ युद्ध विमान दुर्घटनाग्रस्त
गुआम – अमेरिकन बि–५२ बम्बर विमान गुआम एयरबेसबाट उडान भरेको केही बेरमा नै दुर्घटनाग्रस्त बनेको छ । स्थानीय समयअनुसार बिहान ८ बजेर ३० मिनेट जाँदा उक्त दुर्घटना भएको हो ।
अमेरिकी एयरफोर्सले दुर्घटनामा ७ जना चालकदलका सदस्य सकुशल रहेको बताएको छ ।
समाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा दुर्घटनाग्रत विमानबाट धुँवा उडिरहेको देख्न सकिन्छ । प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति बनाइराख्न उक्त प्लेन त्यस क्षेत्रमा खटाइएको थियो ।
गुआमका गर्भनरले उक्त घटना आतंकवादसँग असम्बन्धित रहेको स्पष्ट पारेका छन् ।
६० वर्षअघिदेखि प्रयोगमा ल्याएको यो विमान अझै पनि अमेरिकी सेनामा चर्चित छ । यसलाई भियतनामदेखि अफगानिस्तानसम्म प्रयोग गरिएको छ ।
सन् २००८ मा गुआमकै समुद्रमा बि–५२ बम्बर दुर्घटनाग्रस्त हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।
गर्मी मौसममा युवतीलाई ९ टिप्स
युवकभन्दा युवती फेसनमा चुजी हुन्छन् । त्यसैले त यसवतीका फेसन आइटम हप्ता–हप्तामा बदलिन्छ । टिनेजरदेखि ३५ वर्षसम्मका युवती फेसनमा बढी नै सोख राख्छन् ।
गर्मीको यो मौसममा युवतीका छनोटमा पर्छन्– छोटा, हल्का, खुकुला र पातलाकपडा । तर, यस्ता कपडा रहर गर्ने युवतीले तलदेखि माथिसम्मको ड्रेसअप म्याच गर्न जरुरी हुन्छ भने कपडा छान्दा रङमा पनि विशेष ध्यान दिनुपर्छ ।
युवतीहरुलाई गर्मीमा व्युटिफुल देखिने केी ड्रेसअप टिप्स यस्ता छन् :
१. उज्याला रङका कपडा छान्नुहोस् । सेतो, गुलाबी, निलो, सुन्तलाजस्तो रङ रोज्नु राम्रो हुन्छ । बुट्टेदार कपडा पनि गर्मीमा राम्रो हुन्छ, तर उज्याला रङमा फुलबुट्टा प्रिन्ट गरिएको रोज्नुहोस् ।
२. बुनेका विभिन्न खाले कपडा पनि बजारमा पाइन्छ । कटन, सिल्क र रेबनको रोज्नु उत्तम हुन्छ । हल्का हुने भएकाले यस्ता कपडाले शरीरमा सहज महसुस गराउँछ ।
३. जाली (नेट) र बुट्टेदार जाली (नेटभन्दा थोरै बाक्लो), सिफोन जर्जेट, (सिफोनभन्दा हल्का कडा) खालका कपडा अहिले फेसनमा छन् ।
४. गर्मीमा सजिलो र धेरै युवतीले रुचाउने जिन्स पाइन्ट हो । बजारमा विभिन्न किसिमका जिन्स पाइन्ट आएका छन् । ब्वायफ्रेन्ड जिन्स (कम्मरको माथिसम्म पुग्ने, ग्रन्च भएको, केही खुकुलो र छोटो), स्किनी जिन्स, डेनिम जिन्स, सर्टस (हाफ पाइन्ट) रोज्न सक्नुहुन्छ । गमीृका लागि स्कर्ट पनि राम्रो ड्रेशअप हो । स्कर्टमा म्याच गराउन कलरफुल सर्ट नै रोज्नुहोला ।
५.गाउन पनि गर्मीको उत्तम ड्रेसअप हो । गाउन रोज्दा ट्याक्स सबैभन्दा राम्रो हुन्छ । स्लिभलेस (बाहुला नभएको), अफ सोल्जर्स ड्रेस (कुमको भाग नभएको) फेसनमा छन् ।
६. वान पिस पनि गर्मीका लागि हल्का ड्रेसअप हो । यसले शीतलता पनि दिन्छ । वान पिसमा केही फेसनबेल र एक्स्ट्रा देखिन चाहनुहुन्छ भने टेलहेम डिजाइनको वान पिस (अगाडि छोटो) पछाढि लामो पुच्छरजस्तो निस्किएको लगाउनुहोस् ।
७. ड्रसअपअनुसार जुत्ता–स्यान्डल म्याच गराउनु आवश्यक हुन्छ । ओपन हिल्स, लोफर्स र हल्का स्यान्डलहरु लगाउँदा राम्रो हुन्छ ।
८. अफ सोल्जर्स टप्स अहिले फेसनमा चलेको टप्स हो । ड्रेसअपमा म्याच गर्न डेकोरेटिभ ब्याग, वर्ड प्रिन्ट (अक्षर प्रिन्ट गरिएको) बकेट ब्याग छान्न सक्नुहुन्छ । सिल्क स्कार्फ र चोकर्स लगाउँदा तपाई थप आकर्षक देखिनुहुन्छ ।
९. क्याप स्लिभ, पफ स्लिभ, हाफ स्लिभ ड्रेस पनि गर्मीका लागि फरक फेसनेबल ड्रेस हो । ड्रेसअपमा क्यापको कम्बिनेसनलmे एक्स्ट्रा लुक्स दिने भएकाले ह्याट पनि गर्मीको एक फेसनेबल आइटम हो ।
बेवास्ता नगरौँ रक्तचापलाई
काठमाडौँ – बढ्दो आधुनिकीकरणसँगै नेपालमा रक्तचापका बिरामी पनि बढ्न थालेका छन् ।
चिकित्सकले स्वस्थकर खानापान, शारीरिक व्यायाम र मानसिक तनाब नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्न सुझाव दिएका छन् । कुनै समयमा न्यून मात्रा देखिने ‘ब्लडप्रेसर’को समस्या आजभोलि धेरैको समस्या बन्ने गरेको छ ।
धेरैले रक्तचाप घटबढ हुँदा सामान्य रुपमा लिई चिकित्सककहाँ जान आवश्यक ठान्दैनन् तर समस्या बढ्दै जाँदा कहिले ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । तेत्तीस वर्षीय हरिभक्त शर्माले उच्च रक्तचापको समस्या भएर औषधि खान थालेको तीन वर्ष भयो । उहाँले चिकित्सकको सल्लाह अनुसार नियमित रुपमा औषधि सेवन गर्दै आएका छन् । उनलाई टाउको अचानक दुख्ने र चक्कर लाग्ने समस्या भएपछि चिकित्सकहाँ जाँदा रक्तचाप भएको थाहा भएको थियो ।
चालिस वर्षीय कपिल थापाले भने रक्तचाप उच्च देखिएको लामो समयसम्म आफँै निको होला भन्ने सोचेर औषधि खाएनन् । उनले भने – ‘‘लामो समय औषधि सेवन गरिन, आफैँ निको होला भन्ने लाग्यो तर पछि झन् बढ्दै गएपछि चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्दै आएको छु ।’’ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा मिलनप्रकाश श्रेष्ठ अहिले २० देखि ३० वर्षका युवामा रक्तचापको समस्या देखिन थालेको बताउँछन् । धेरैलाई नियमित औषधि खानुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।
उच्च रक्तचापको कारणमध्ये करिब दुईदेखि तीन प्रतिशतको मात्रै कारण प्रस्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण अझै पत्ता लागेको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेक्षणले २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाईदेखि २०१३ जुनसम्म ५० जिल्लाका २१० वडाका १५ देखि ६९ वर्षसम्मका चार हजार १४३ जनामा त्यस्तो सर्भेक्षण गरेको थियो ।
हरेक पाँच वर्षमा गरिने सर्भेक्षणमा उच्च रक्तचापको समस्या देखिएका कुल २५ प्रतिशतमा ३१ प्रतिशत पुरुष र २०।६ प्रतिशत महिला छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान र रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयाघात, मतिष्काघात र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउँछन् ।
मानिसहरु अरु समस्याका लागि औषधि खान डराउँदैनन् तर रक्तचापको औषधि भनेपछि हच्किने गरेको डा श्रेष्ठको अनुभव छ । उनले भने – ‘‘रक्तचापको खतराबारे आवश्यक ज्ञान नभएकाले नै मानिस यति साह्रो हच्केको हुन सक्छ, रक्तचाप त्यति धेरै उच्च नभएको तथा पहिलो पल्ट देखिएको रक्तचाप तथा शरीरका अङ्गमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर रक्तचाप घटाउन कोसिस गर्न सकिन्छ तर यी उपाय अपनाउँदा पनि रक्तचाप उच्च नै रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन ।’’
विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचापलाई ‘सुषुप्त हत्यारा’को संज्ञा दिएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन् –‘‘पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्क्रियता, नुनको अत्यधिक प्रयोग, ‘जङ्कफुड’ र ‘फास्टफुड’ खाने बानी, मानसिक तनाब, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।”
पछिल्ला सर्भेक्षणले पनि नेपालमा उच्च रक्तचापको बढ्दो अवस्थालाई पुष्टि गरेका छन् । नेपालमा गरिएका पछिल्ला सर्भेक्षणअनुसार युवामा हुने हृदयाघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्काघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनामा ९० प्रतिशत कारण उच्च रक्तचाप भएको पुष्टि भएको चिकित्सक अनिलको भनाइ छ ।
नेपाल हृदयाघात सचेतना केन्द्रले काठमाडाँै उपत्यकाका सहरी युवा तथा वयस्क माझ गरेको एक सर्भेक्षणले १८ देखि ४० वर्षसम्मका २८ प्रतिशत युवामा उच्च रक्तचापको समस्या रहेको देखाएको छ । सर्भेक्षणले त्यसभन्दा डरलाग्दो तथ्यका रूपमा सो उमेर समूहका ४४ प्रतिशतमा उच्च रक्तचापको जोखिम रहेको देखाएको छ । अनुसन्धानमा पाँच हजार ४४३ जनाको दुवै हातको पाँच÷पाँच मिनेटको अन्तरमा उच्च रक्तचाप जाँच गरिएको थियो ।
उच्च रक्तचापको समस्या भएपछि यो पूर्ण रुपमा निको नहुने तर यसलाई रोकाम गरी यसबाट हुने अन्य रोगको खतरालाई रोक्नु आवश्यक भएको डा अर्यालको भनाइ छ । उनले यस्ता पीडितले नियमित औषधि खानुपर्ने र हरेक एक वर्षमा रगतमा चिल्लो चिनीको मात्रा र उच्च रक्तचापको मात्रा जाँच गराउन आवश्यक रहेको बताए ।
किन बन्द हुन्छ महिलाको महिनावारी ?
काठमाडौँ–धेरै महिलालाई आफ्नो महिनावारी बन्द हुने अवस्थाका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको पाइन्छ ।महिनावारी भइरहेका महिलामा लगातार छ महिनादेखि एक वर्षसम्म महिनावारी नभएमा बन्द हुने अवस्थामा पुगेको मानिन्छ
साधारणतः ४५ वर्षदेखि ५५ वर्षभित्र बन्द हुने भए पनि धूमपान र कुपोषणका कारण सो समयभन्दा अगावै पनि महिनावारी बन्द हुन सक्छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा ज्योति अग्रवाल प्राकृतिक तथा शारीरिक, विभिन्न रोग तथा कृत्रिम कारणले महिनावारी बन्द हुने बताउँछिन् ।
उमेर पुगेका कारणले अण्डाशयको कार्यह्रास हुँदै जानु, प्रजनन प्रणालीमा गम्भीर सङ्क्रमण या अस्वाभाविक मासुको डल्ला बढ्नु र कुनै प्रकारको विकिरण वा डिम्ब विकास हुनमा बाधा परेमा पनि महिनावारी रोकिन सक्छ ।
कुनै शल्यक्रिया गरी पाठेघर र डिम्बाशय निकालेमा पनि महिनावारी बन्द हुन सक्छ । डा ज्योतिका अनुसार महिनावारी बन्द हुँदा शारीरिक र मानसिक लक्षण देखिने गर्दछन् ।
शारीरिक लक्षणमा अनुहार, घाँटी तातो हुने, राति पसिना आउने, निन्द्रा नलाग्ने, टाउको दुख्ने, यौनक्रियामा मन नलाग्ने, हातखुट्टाका जोर्नी दुख्ने, योनी सुक्खा हुने, सङ्क्रमण हुने, चिलाउने, पिसाब छिटोछिटो लाग्ने, रोक्न गाह्रो हुने, छाला सुक्खा हुने र शरीरमा केही हिँडेको जस्तो अनुभव हुनेजस्ता लक्षण देखा पर्दछन् ।
झर्कने वा चिड्चिडाहट हुने, दिक्क लाग्ने, मन स्थिर नहुने, मन उदास हुने, स्मरणशक्ति कम हुनाका साथै एकाग्रता गर्न नसक्ने (भुल्ने बानी) र चिन्ता लाग्नेजस्ता मानसिक लक्षण देखा पर्दछन् ।
यस्ता समस्या देखिएमा आराम लिने, धुम्रपान, मद्यपान नगर्ने, कफी, चिया, नुन र चिल्लो कम खाने, योगा, ध्यान गर्ने, चाख लाग्दा किताब पढ्ने, रमाइलो क्रियाकलापमा शारीरिक सक्रियतालाई निरन्तरता दिई राख्नुपर्ने चिकित्सकको सुझाव छ ।
महिनावारी बन्द भएपछि केही महिलामा हाड कमजोर हुने, पिसाब रोक्न नसकिने, पाठेघर बाहिर आउने वा आङ खस्ने, मुटु रोग देखा पर्ने, दृष्टि कमजोर हुँदै जाने, तौल बढ्ने र कसैकसैलाई स्तन क्यान्सर पनि हुनसक्छ ।
यस्ता समस्याबाट बच्न सागपात, माछा, मासु, दूध पोषण र क्याल्सियमयुक्त खानेकुरा खाने, धूमपान र मद्यपान नगर्ने, घाममा बस्ने, गरेमा हड्डी बलियो हुन्छ ।
तल्लो पेटको मांशपेसीलाई खुम्च्याउने खालको व्यायाम गर्ने, बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने, गह्रौँखालका सामान नउठाउने र महिनाको एकपटक स्तन आफैँले जाँच गर्ने गर्नुपर्छ । सकेसम्म वर्षको एकपटक स्तनको एक्स–रे (मेनोग्राम) गरी चिकित्सकलाई देखाउने गरेमा यी समस्याबाट बच्न सकिन्छ ।
मरेको व्यक्तिको यौनाङ्ग ज्यूँदो व्यक्तिमा यसरी भयो प्रत्यारोपण
लसएञ्जलस, ४ जेठ । अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको छ ।
अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको यौनाङ्गमा क्यान्सर लागेर झरेको बताइएको थियो ।
अर्का एकजना अमेरिकी नागरिकले मृत्युपछि दान गरेको उनको यौनाङ्ग म्यानिङमा प्रत्यारोपण गरिएको हो । आफ्नो यौनाङ्ग झरेपछि त्यसको दाताको खोजीमा उनी रहेका थिए ।
अमेरिकाको बोस्टनमा रहेको म्यासाचुसेट्स जनरल अस्पतालमा १५ घन्टा लगाएर सो यौनाङ्ग प्रत्यारोपणको शल्यक्रिया हालैमात्र सम्पन्न भएको सो अस्पतालले जनाएको छ ।
उक्त अस्पतालले भनेको छ– प्रत्यारोपण गरिएको सो अङ्ग तथा ती बिरामीको अवस्था राम्रो हुँदै गएको छ, रगत बगेको छैन र यसले पूरै रूपमा कामगर्ने देखिएको छ ।
संसारमा यो शल्यक्रिया तेस्रो भएको बताइएको छ । तर अमेरिकामा भने यो पहिलो भएको पनि समाचारमा उल्लेख गरिएको छ ।
यौनाङ्ग प्रत्यारोपण सफल भएपछि म्यानिङ्ले आफूलाई यौनाङ्ग दिने दाता र उनका परिवारलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
उनको अङ्गले केही समयपछि नै राम्रोसँग कामगर्ने चिकित्सकहरूले जनाएका छन् । -एएफपी
फेरि घट्यो लोडसेडिङ, भोलीदेखि लागु हुने
काठमाडौं, ६ जेठ । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ ।
यो भोलि (विहीबार)देखि लागु हुनेछ । प्राधिकरणले सूचना जारी गरी लोडसेडिङको नयाँ तालिका भोली नै सार्वजनिक गरिने जानकारी दिएको छ ।
नदीहरुमा पानीको वहाव बढ्दा विद्युत उत्पादन बढी हुनु, नाकाबन्दी खुलेसँगै ग्यास र तेलको आपूर्ति हुँदा विद्युत कम खपत भएपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो ।
हाल ११ घण्टा कायम रहेको लोडसेडिङ भोलिबाट १ घण्टा घटेर दैनिक १० घण्टा मात्रै हुनेछ ।
एकै दिनमा डेढसय भन्दा बढी सगरमाथाको चुचुरोमा
काठमाडौँ, ६ जेठ । सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन विहीबार मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
संयुक्त अरब इमिरेट (युएई)को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आरोहीको भीडले कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइसकेको छैन । अझै धेरै सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने क्रममा रहेको श्रेष्ठले बताए ।
प्रतिकूल मौसम भएपछि यसअघि मङ्गलबार र बुधबार गरी दुईदिन कुनै आरोहण हुन सकेको थिएन । सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण दुई दिन आरोहण रोकिएको थियो ।
वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि आरोहण सुरु भएको थियो । सगरमाथा आरोहणको छ दिनअर्थात् जेठ ३ गतेसम्म ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् ।
तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् । रासस
ठूलो परिमाणमा चितुवाको छाला र हड्डीसहित डडेल्धुराबाट २ जना पक्राउ
धनगढी, ६ जेठ । नेपाल सरकारद्धारा किनबेच तथा ओसारपोसारमा प्रतिबन्धित चितुवाको छालासहित २ जनालाई प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) को टोलीले पक्राउ गरेको छ ।
बुधवार राति टोलीले गोप्य सुराकीको आधारमा डडेल्धुराको अमरगढी नगरपालिकाबाटै चितुवाको चार थान छालासहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुरा गाङखेतका ३५ बर्षीय राम बहादुर थापा मगर र लेकगाउँ डडेल्धराकै २९ बर्षीय कमल रोक्का मगर रहेको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का टोली प्रमुख केशव जोशीले बताउनुभयो ।
बरामद गरिएको ४ थान चितुवाको छाला तथा १२ किलो हड्डीसहित पक्राउ गरिएका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, डडेल्धुरालाई बुझाइएको र अनुसन्धानपछि कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रमुख जोशीले जानकारी दिनुभयो ।
पछिल्लो समयमा (आरआइटी) को सक्रियता बढे सँगै अपराधका घटनाहरु बाहिर आउन थालेका छन् । क्षेत्रीय अनुसन्धान समूहले सुदूरपश्चिमका ९ वटै जिल्लामा अपराध तथा कानुनले दोषी प्रमाणित गरि फरार रहेकाहरुको खोजी गरि सार्वजनिक गर्ने कार्यलाई सक्रियताका अगाडी बढाइरहेको छ ।
दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्छौं: प्रधानमन्त्री
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन हुने दाबी गरेका छन् । पेट्रोल उत्खनन्को काम सुरु भइसकेको भन्दै उनले त्यसपछि छिमेकी देशको भर पर्नु नपर्ने बताए ।
प्रेस चौतारी नेपालको महाधिवेशन उदघाटन समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले भने, ‘दुई वर्षभित्र हामी आफै पेट्रोल उत्पादन गर्छौं । त्यसपछि उत्तरबाट चीनको तेलको प्रतिक्षा गरिरहनु पर्दैन । त्यसका लागि उत्खनन कार्य सुरु भइसकेको छ ।’
‘बुद्धिजिवीले हैरान बनाए’
आफूले नेपालमा विकासको कुरा गर्दा जनतामा आशा पलाएको तर पढेलेखेका बुद्धिजिवीहरु छटपटाएको उनले बताए । ओलीले प्रष्ट्याउँदै भने ‘बुद्धिजिवीहरु भन्नाले इनभर्टेड कमावाला बुद्धिजिवी । उनीहरुलाई घोडाले जोर लात्ती हानेजस्तो भएको छ ।’
यसअघि आफूले नेपालकै पानी जहाज हुने बताउँदा खिल्ली उडाइएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि पोखे ।
‘जुन देशमा समुद्र छैन त्यसले पनि पानी जहाज चलाउन पाउँछ भन्ने कुरा बुद्धिजिवीहरुले थाहा पाउनुपर्यो । जसको सिमानाले समुद्र छुँदैन, ति देशहरुले पनि पानी जहाज चलाएका छन् भन्ने कुरा ज्ञान हुनुपर्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘ति कुरा नबुझ्नेले कागजको जहाजमा झण्डा हालेर फेसबुकमा राखेका छन् । कसैले पहाडमा जहाज कुदेको चित्र बनाएका छन् । बुद्धिजिवीले मलाई हैरान बनाए । उनीहरुको बुद्धिलाई सलाम भने गर्नुपर्छ ।’
नेपाल सरकारले पानी जहाज किन्न भनेर २०२७ सालमै बैना दिइसकेको जानकारी उनले कार्यक्रममा दिए । ‘मैले त सबैभन्दा पहिले पानी जहाज किन्ने कुरा आफैले गरेको भन्ठानेको थिएँ, तर पत्रिका हरेपछि हिँजो भर्खर थाहा पाएँ । अलिकति पैसा तिर्न नसकेर पछि हटेको रहेछ त्यतिबेला,’ ओलीले भने, ‘हाम्रो ट्रक कलकत्ता जान हुन्छ भने हाम्रो रेल जान किन हुँदैन । मैले रेलको कुरा गर्दा बुद्धिजिवीहरु चटपटे जस्तो लागेको छ ।’
६.५ प्रतिशत आर्थिक वृद्धि पूरा गरेरै छाड्ने दृढता
प्रधानमन्त्री ओलीले ६ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिको हासिल गर्ने कुरा पूरा गरेरै छाड्ने दृढता पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘नवलपरासीमा फलामको खानी उत्खनन् भएको देखेर बुद्धिजिवीहरु छटपटाएका छन् । सबै बुद्धिजिवी होइन, इनभर्टेड कमावाला बुद्धिजिवी । एउटाको फलामको खानीबाट १० खर्ब रुपैयाँ आउँछ । यो एक बर्षको बजेटभन्दा धेरै हुन्छ । त्यसैले मैले ६.५ प्रतिशतको आर्थिक बृद्धिको कुरा गरेको छु । त्यो पूरा गरेर छाड्छु ।’
Wednesday, May 18, 2016
सहरमा बिछयाइँदैछ बियरको पाइपलाइन
यसो कल्पना गर्नुस् त, तपाइँको घरमा किचेनको धारा खोल्दा बियर र्झदछ । जतिबेला बियर पिउन मन लाग्छ, धारा खोल्यो, गिलासमा थाप्यो र टन्न पियो ।
धारामा पानी आउन पनि मुस्किल भैरहेको बेलामा बियरको धारा बग्ने कुराले रोमान्चित नहुने कुरै भएन । तर ढुक्क हुनुहोस् यस्तो बियरको धारा हाम्रोमा जडान हुनेवाला चाहीँ होइन है ।
बेल्जियमको ब्रग्स सहरमा दुइ माइल लामो बियर आपूर्ति गर्ने पाइपलाइन बिछ्याउने कार्य चलिरहेको छ । सिएनएनका अनुसार बियरको पाइपलाइन बिछ्याउने कार्य यो वर्षको अन्त्य सम्ममा सकिनेछ ।
उक्त पाइपलाइनमा ब्रग्स सहरको मध्यस्थित डे हालवेमा रहेको एक रक्सी कारखानामा उत्पादन गरिएको बियर निरन्तर ४ हजार लिटर प्रतिघण्टाको रफ्तारमा बगिरहनेछ । उक्त बियरलाई सहरको बाहिर रहेको यसको बोटलिंग प्लान्टमा लगेर बोतलबन्द गरिनेछ ।
सहरका धेरै मानिसहरु बियरको पाइपलाइन निर्माण हुने कुराबाट निकै उत्साहित बनेका र आफ्नो घरको नजिकबाट पाइपलाइन लग्न र मुख्य पाइपबाट आफ्नो घरमा पनि एउटा सानो पाइप जडान गरिदिन आग्रह गर्ने गरेका कम्पनीका अधिकारीहरुले बताएका छन् ।
तर मुख्य पाइपलाइनबाट घरघरमा पाइपहरु जडान गरी धाराबाटै रक्सी बगाउने योजना भने कम्पनीको छैन । उसले त उक्त पाइपलाइनबाट केवल आफ्नो बोटलिंग प्लान्टसम्म रक्सीको आपूर्ति गर्ने योजना बनाएको छ ।
बियरको उत्पादन गर्ने भट्टी र त्यसको बोटलिंग गर्ने प्लान्ट टाढा टाढा रहेको र ट्रकमा आपूर्ति गर्दा महंगो र असजिलो पनि भएको कारण पाइपलाइनबाटै बियर आपूर्ति गर्ने योजना कम्पनीले बनाएको छ ।
यो बियर पाइपलाइनको निर्माणमा ४५ लाख खर्च हुनेछ । व्यवसायी जेभिएर भेनेस्तेको परिवारले यो बियर पाइपलाइन निर्माणका लागि खर्च जुटाउन क्राउडफन्डिंग समेत सुरु गरेको थियो ।
जसबाट विभिन्न दानी मानिसहरुले अनलाइन मार्फत बियर पाइपलाइन परियोजनामा आर्थिक सहयोग गरे । सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने चाहीँ फिलिप ली लोप हुन् । उनले ११ हजार डलर सहयोग गरेका थिए । कम्पनीले सर्वाधिक राशी सहयोग गर्ने फिलिपलाई पुरस्कार स्वरुप जिवनभर सित्तैमा रक्सी खुवाउनेछ ।
विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो
वकिलको काम गर्ने विश्वकै पहिलो रोबोटले अन्ततः जागिर पाएको छ । अमेरिकाको एक र्फमले उक्त रोबोट वकिललाई नोकरीमा राखेको हो । यो वकिल रोबोटले अब कानूनी अनुसन्धानमा कम्पनीका अन्य विभिन्न टोलीहरुलाई सहयोग गर्नेछ ।
‘रोस’ नामको उक्त रोबोट वकिललाई आइबिएम कम्पनीले तयार गरेको हो । कग्निटिभ कम्प्युटिंग तथा प्राकृतिक भाषा प्रोसेसिंग क्षमता भएको यो रोबोटसँग कम्पनीका अन्य मानव वकिलहरुले अनुसन्धानसँग जोडिएका विभिन्नखाले जटिल प्रश्नहरु सोध्नेछन् र रोबोटले कानुनको अध्ययन गरेर तथा प्रमाण जुटाएर ती सवालहरुको निकै प्रासंगिक तथा प्रमाणित उत्तर दिनेछ ।
ब्याकरहस्टलर नामक ल र्फमले अब पुनर्संरचना, क्रेडिट राइट्स तथा ब्यांकरप्टी लगायतका क्षेत्र हेर्ने विभागमा प्रयोगको लागि रोेसलाई लाइसेन्स दिनेछ ।
रोसले कानुनी गतिविधिहरुमा चौबिसै घण्टा निगरानी राख्नुका साथै अदालतमा भएका नयाँ फैसलाहरुको बारेमा अन्य वकिलहरुलाई जानकारी गराउनेछ जसले कुनै खास मुद्दामा असर पुर्याउन सक्दछ । साथै यो रोबोट वकिलले अन्य मानव वकिलहरुसँग आफूले पनि निरन्तर सिकिरहनेछ ।
२५ घण्टामा मुखले कैँची चलाएर काटे ११८ जनाको कपाल !
भारतको उत्तर प्रदेशमा एकजना युवाले अनौठो रेकर्ड कायम गरेका छन् । मोहम्मद अन्सार नामका ती युवाले मुखले कैँची चलाएर २५ घण्टा २० मिनेटमा ११८ जनाको कपाल काटेर विश्वकिर्तिमान कायम गरेका हुन् ।
मुखले नै कैँची चलाएर कपाल देखि दाह्रीजँगा सम्म मज्जाले काटिदिने अन्सारले गत बुधबार राति यस्तो किर्तिमान राखेका हुन् । उनले २५ घण्टा २० मिनेटमा ११८ जनाको कपाल काट्न सफल भए, जो उनले सोँचेका पनि रहेनछन् ।
मुखले लगातार ११८ जनाको कपाल काटेपछि उनले मुखबाट कैँची छाडे र मानिसहरुले उनलाई फूलमाला लगाइदिएर बधाइ दिए ।
युएइमा हुने दुबइ फेस्टिबलका दौरान गिनिज रेकर्डधारी मानिसहरुसँगको भेटघाटपछि आफुलाई कपाल काटेर रेकर्ड राख्ने आइडिया पलाएको उनी बताउँछन् । र, भारतमै आएर उनले यस्तो किर्तिमानी काम गरेका छन् ।
आफ्नो किर्तिमानी कामलाई आधिकारिता दिन उनले गिनिज बुक अफ वल्र्ड रेकड्स कार्यालयमा आफ्नो निवेदन तथा कपाल कटाइको भिडियो लगायतका कागजात पठाएका छन् ।
कार्यालयमा कर्मचारीलाई सुत्नका लागि हाकिमले बनाइदिए १२ ओछ्यान
कुन चाहीँ मुर्ख हाकिमले कार्यालय समयमा कर्मचारीलाई सुत्ने मौका प्रदान गर्ला ? सायद कर्मचारीलाई कार्यालयमै दिउसै सुत्न दिने हाकिम पाउन मुस्किलै पर्ला । तर चीनका एक जना हाकिमले भने कर्मचारीलाई कार्यालयमै सुत्नका लागि बेड नै तयार गरिदिएका छन् ।
बेसन क्लाउड नामको एक क्लाउड कम्प्युटिंग र्फम खोलेका उनले जब आफ्नो कम्पनीमा पहिलो बिजनेस अर्डर प्राप्त भयो तब कार्यालयको शान्त कोठामा १२ वटा ओछ्यान तयार पारे ।
कम्पनीका मालिक दाइ सियांगका अनुसार प्राविधिक काम गर्दा मस्तिष्कलाई निकै धेरै मेहेनतको आवश्यकता पर्दछ । कर्मचारीहरुको लागि प्रेरणाको श्रोत खोज्ने समय दिनु पर्दछ । सोही कारण उनले आफ्ना कर्मचारीलाई दिउसै सुतेर आराम गर्नका लागि बेड नै तयार पारिदिएका छन् ।
हुनत चीनमा कार्यालयमा काम गर्ने कर्मचारीहरु आफ्नो कार्यालय समयकै दौरान सुत्नु सामान्य बन्दै गइरहेको छ । चीनमा जनसंख्या बढि भएको हुँदा अदक्ष तथा सस्तो दरका मजदूर यथेष्ट पाइन्छन् । तर चीनको प्रविधि क्षेत्रमा भने खासै धेरै जनशक्ति पाउन गाह्रो थियो । चीनमा प्रविधि क्षेत्र निकै फस्टाइरहेको छ र कम्पनीहरुले नयाँ नयाँ कर्मचारी भर्ना गरिरहेका छन् ।
टेक्नोलोजी कम्पनीका प्रोग्रामरहरु हरेक दिन कार्यालयमा अतिरिक्त समय काम गर्दछन् । त्यसैले उनीहरुलाई लन्चको समय तथा रातको ९ बजेपछि आफ्नो डेस्क तथा सोफा लगायतमा कार्यालयमै सुत्ने अनुमति हुन्छ । तर कार्यालयमा कर्मचारीलाई सुत्नका लागि बकाइदा ओछ्यानकै व्यवस्था गरिएको भने यो पहिलो पटक हो ।
महिलाका लागि नांगा पुरुष नोकर आपूर्ति गर्ने कम्पनी
बेलायतको एक कम्पनीले खास प्रकारका पुरुष नोकर उपलब्ध गराउने काम गर्दछ । खास तरहको यस अर्थमा की यस्ता पुरुष नोकरहरु अर्धनग्न हुन्छन् ।
सन् २००१ मा जलसेनाका पूर्व अधिकृत जेसन डिडकटले यो कम्पनी खोलेका थिए । बटलर्स इन दी बफ नामको यो कम्पनी विश्वकै पहिलो नांगा पुरुष नोकर आपूर्ति गर्ने कम्पनी हो ।
कुनै विश्वविद्यालयको डिग्री तपाइँको हातमा हुनसक्छ, तर यदि तपाइँसँग गठिलो तथा केटीलाई भुतुक्कै पार्ने जिउडाल छैन भने तपाइँ उक्त कम्पनीमा कामका लागि छनोट हुन सक्नुहुन्न । तपाइँको हिप मजबुत हुनुपर्छ ।
घरेलु कामदार वा नोकरको खोजीमा रहेका मालिक महिलाहरुका लागि यी भाडामा ल्याइएका पुरुषहरु आपूर्ति गरिन्छ । ती पुरुषहरुले आफ्नी मालिक्नीको बर्थडे पार्टी, कर्पोरेट इभेन्ट्स तथा अन्य विभिन्न बेलामा काम गर्नुपर्छ ।
पाहुनाको आदर सत्कार गर्नु, रक्सी टक्राउनु पनि यिनीहरुको काम हो । यिनीहरुको जिउको माथिल्लो भाग निर्वस्त्र हुने भएपनि यिनीहरु मालिकनीको सेवाका क्रममा पूर्ण निर्वस्त्र हुन भने पाउँदैनन् । साथै उनीहरु नाच्न पनि पाउँदैनन् । यिनीहरुको ट्याग नै हुन्छ : चार्मिंग, इनोसेन्ट एण्ड जस्ट अ लिटिल चिकी ।
मोटोपनबाट बच्ने हो ? स्न्याक्सलाई बहिस्कार गर्नुस्
तपाईं अफिसमा काम गर्दागर्दै थाक्नुभयो भने चिया, कफी, लगायत पेय पर्दाथ वा ‘स्न्याक्स’ खाइहाल्नु हुन्छ ? धेरै नै खाने बानी छ भने त्यसलाई हटाउँदा नै राम्रो हुन्छ ।
नयाँ अध्ययनले पत्ता लगाएको छ की यसरी धेरै स्न्याक्स खोनेहरु मोटोपनको शिकार हुने सम्भावना एकदमै धेरै हुन्छ ।
कतिपय कम्पनीले उत्पादकत्व बढाउन भन्दै आफ्ना कर्मचारीलाई निःशुल्क स्न्याक्स वितरण गर्ने गरेको पाइन्छ । शोधकर्ताहहरु भने यसो गर्दा कर्मचारीहरु मोटोपनको शिकार हुने र भविष्यमा यसले कम्पनी र कामदार दुबैलाई हानी पुग्ने निश्कर्षमा पुगेका छन् ।
निःशुल्क पेय पदार्थ र स्न्याक्स बाँड्दा कर्मचारीहरुलाई पटक-पटक खाने आकांक्षा उत्पन्न हुन्छ । यसैका कारण उनीहरु निष्फिक्री अत्याधिक स्न्याक्सको प्रयोग गर्न पुग्छन् ।
अध्ययनका क्रममा पेय पदार्थमा भन्दा स्न्याक्समा धेरैको रुची भएको पाइएको छ । अध्ययनकर्ता अमेरिकी सेन्ट जोसेफ युनिभर्सिटीका प्रोफेसर अर्नेष्ट बासकीन पेय पर्दाथमा भन्दा स्न्याक्समा धेरैको आकर्षण देखिनु आश्चर्यजनक भएको बताउँछन् । यसका कारण मान्छेमा खानपानको व्यवहारमा परिवर्तन आउने उनको भनाइ छ ।
अध्ययनका क्रममा पुरुष भन्दा महिला कर्मचारीले स्न्याक्सलाई बढी रुचाएको भेटिएको छ । यो सम्बन्धी शोध एपेटाइट पत्रिकामा प्रकाशन भएको छ ।
रक्सीले घटाउँछ ८ वर्ष आयू
रक्सीका लतमा फसेका मानिसहरु अन्य मानिसहरुको तुलनामा ८ वर्ष छिटै मर्ने गरेको देखिएको छ । एक नयाँ अध्ययनले यो तथ्य बाहिर ल्याएको हो ।
अध्ययनले रक्सीको लत लागेका मानिसहरुमा रक्सीले कसरी मानसिक तथा शारीरिक दुबै तबरले प्रभावित गर्दछ भन्ने देखाएको छ ।
जर्मनीको युनिभर्सिटी अफ बन अस्पतालका शोधकर्ता डाइटर स्कफका अनुसार रक्सीको लतले मानसिक र शारीरिक दुबै प्रकारका समस्या निम्त्याउँछ । बेलायतका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको अध्ययन गर्दा रक्सीको लतमा फसेका मानिसहरुको मृत्यु रक्सी सेवन नगर्ने अन्य बिरामीहरुको तुलनामा औषतमा ७.६ वर्ष अगाडि नै हुने गरेको पाइएको छ ।
स्कफ र बेलायतको रोयल डर्बी अस्पतालका प्राध्यापक रिचनहार्ड ह्यूनले यो नतिजामा पुग्नुभन्दा पहिले म्यानचेस्टरका सात अस्पतालहरुमा विरामीहरुको साढे १२ वर्ष अध्ययन गरे ।
ह्युनका अनुसार रक्सीको लतले ग्रस्त मानिसहरुको प्रारम्भिक अवस्थामा शारीरिक तथा मानसिक उपचार गरेर उनीहरुको आयु बढाउन सकिन्छ । तर रक्सीको लतले गम्भीर असर पूराइसकेपछि भने यसको उपचार जटिल बन्दछ ।
नांगो खुट्टाले दौडिँदा स्मरणशक्ति बढ्दछ
जुत्ता लगाएर दौडिनु भन्दा नांगो खुट्टाले दौडिनु स्मरणशक्ति बढाउने मामिलामा बढि प्रभावकारी हुने अनुसन्धानले देखाएको छ ।
अमेरिकाको नर्थ फ्लोरिडा विश्वविद्यालयका शोधकर्ता ट्रासे एलेवेका अनुसार नांगो खुट्टाले दौडिँदा स्मरण क्षमता १६ प्रतिशतले बढ्दछ ।
पर्सेप्सुअल एण्ड मोटर स्किल्स नामक पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार नांगो खुट्टाले दौडिँदा मानिसको मस्तिष्कको एकाग्रता बढ्ने हुनाले त्यसले स्मरण क्षमता बढाउनमा मद्दत पूराउँदछ ।
शोधकर्ता भन्छन् जुत्ता चप्पल नलगाई दौडिँदा हामीले गोडाको चालमा निकै ध्यान दिएका हुन्छौँ । कतै खाडलमा परिन्छ की वा ढेस पो लागिहाल्छ की भनेर मानिस निकै सचेत बनेको हुन्छ ।
यसबाट हाम्रो मस्तिष्कमा निकै ध्यान केन्द्रित हुन्छ । मस्तिष्कमा ध्यान केन्दि्रत गर्ने बानीले हामीलाई आफुले पढेका वा देखेका कुरालाई राम्ररी बुझ्ने र सम्झनामा राख्ने क्षमता प्रदान गर्दछ ।
आलुको सेवनले बढाउँछ उच्च रक्तचापको खतरा
के तपाइँलाई आलु चिप्स, फ्रेन्च फ्राइ तथा आलुकै अचार वा मनग्गे आलुको तरकारी खान मन पर्दछ ? यदि हो र तपाइँले उच्च परिमाणमा आलुको सेवन गरिरहनुभएको छ भने सावधान हुनुहोस् । किनकी तपाइँले उच्च रक्तचापको सामना गर्नुपर्ने हुन्छ ।
पछिल्लोपटक गरिएको एक अध्ययनले यस्तो तथ्य पत्ता लगाएको छ । विश्वमा सबैभन्दा धेरै खाइने आलुमा भरपूर मात्रामा पोटासियम पाइन्छ । शोधका क्रममा उसिनेका, बेकिंग गरेका वा तारेका आलुका परिकार हप्तामा ४ भन्दा बढि पटक खाने गर्नाले उच्च रक्तचापबाट पीडित हुने खतरा ११ प्रतिशतले बढेको पाइएको छ ।
शोधकर्ताहरुका अनुसारफ्रेन्च फ्राइइको धेरै सेवनले पुरुष तथा महिला दुबैमा उच्च रक्तचापको खतरा १७ प्रतिशतले बढाउन सक्दछ । यतिमात्र होइन आलुका ग्याइसेमिक इन्डेक्स अन्य तरकारीहरुकोे तुलनामा धेरै हुन्छ । त्यसैले धेरै आलुको सेवनले रगतमा चिनीको मात्रा पनि तिव्र रुपमा बढाउँदछ ।
अमेरिकाको ब्रिघम एण्ड वुमन्स अस्पतालका चिकित्सक तथा प्रमुख शोधकर्ता लिया बोर्गीका अनुसार शोधका क्रममा उसिनेको, तारेको तथा बेकिंग गरेको लगायतका आलुका परिकार हप्तामा कम्तिमा ४ पटक वा सो भन्दा बढि पटक सेवन गर्ने मानिसमा महिनामा एक पटक आलुका यस्ता परिकार खाने मानिसमा भन्दा उच्च रक्तचापबाट पीडित हुने खतरा बढि रहेको पाइयो ।
शोधकर्ताहरुका अनुसार उच्च रक्तचापको जोखिमबाट बच्नका लागि आलुको साटो स्टार्चको मात्रा नहुने तरकारीहरुको सेवन गर्नु उपयुक्त हुन्छ ।
सावधान ! इन्टरनेटमा बढ्दैछ सेक्सटर्सन
इन्टरनेटमा सेक्सटर्सनका घटनाहरु तिव्र रुपमा बढ्दै गएका छन् । कुनैपनि व्यक्तिका निर्वस्त्र तस्वीहरु विभिन्न माध्यमबाट चोरेर अनि तिनै आपत्तिजनक तस्वीरहरुको प्रयोग गरी ब्लाकमेलिंग गर्ने काम नै सेक्सटर्सन हो । एकपटक यस्ता सामाग्री प्राप्त गरिसकेपछि अपराधीहरुले सार्वजनिक गरिदिने धम्की दिँदै यस्तै खालका अन्य सामाग्री समेत माग्ने वा पैसा असूल्ने गर्दछन् ।
एकजना अमेरिकी थिंकट्यांकले यसबारेमा एउटा रिपोर्ट पेश गरेका छन् । उक्त अध्ययनमा कतिपय निकै अनौठा खालका तथ्यहरु पनि बाहिर आएका छन् ।
भलै यो अध्ययन अमेरिकामा गरिएको हो, तर यस्ता खालका घटनाहरुबाट बाँकी विश्वका सबैजसो देशका इन्टरनेट प्रयोगकर्ताहरु प्रभावित छन् ।
अमेरिकाको कानून कार्यान्वयन गर्ने निकायका अधिकारीहरुका अनुसार यस्ता घटनामा वृद्धि भैरहेको छ । सेक्सटर्सनका कति घटना सार्वजनिक भए भन्ने बारेमा कसैले पनि आधिकारिक तथ्यांक नराखेपनि बारम्बार आइरहने समाचारहरुले घटनामा वृद्धि भैरहेको बताउँछ ।
अमेरिकाको ब्रुकिंग इन्स्िटच्युटका शोधकर्ताले यस बारेमा एउटा शोध प्रकाशित गरेका छन् ।
सेक्सटर्सन वास्तविक शव्द भने होइन । तर माथि उल्लेखित प्रकारका अपराधको अभियोजनका क्रममा अभियोजकहरुले यस्तो खालको स्ल्यांग वर्ड प्रयोग गर्ने गरेका छन् ।
यो शव्दको कुनै परिभाषा नभएको हुनाले यस्ता खालका अपराधकर्ममा मुद्धा चलाउँदा अमेरिकामा समेत चाइल्ड पोनोग्राफी, एक्सटर्सन, स्टकिंग तथा ह्याकिंग लगायतका अपराधको रुपमा मुद्धा चलाउने गरिएको छ । पारिभाषिक हिसाबले सेक्सटर्सन कुनै अपराध नै होइन र कानूनी रुपमा यो शव्दको कुनै अस्तित्व छैन ।
सेक्सटर्सनमा अपराधीहरुले कुनेपनि इन्टरनेट प्रयोगकर्ताको आपत्तिजनक वा उत्तेजक तस्वीर वा भिडियो वेबक्याम, ह्याकिंग वा अन्य विभिन्न माध्यमबाट प्राप्त गर्दछन् । अनि सोसल मिडियाको प्रयोग गरी पीडितलाई ब्लाकमेल गर्ने वा फिरौती माग्ने गर्दछन् ।
शोधकर्ताले सेक्सटर्सनको परिभाषा भित्र पर्ने विभिन्न ७८ वटा घटनाको अध्ययन गरेको थियो । जसको सुनुवाई अमेरिकाको विभिन्न २९ राज्यका विभिन्न अदालतमा भैरहेको थियो र ३ वटा मामिला विदेशी न्यायाधिकारका थिए । त्यसैले शोधकर्ताहरुले इन्टरनेटको माध्यमबाट कसैलाई यौनिक रुपमा धम्क्याउने काम एक देशबाट अर्को देशमा समेत भैरहेको निष्कर्ष निकालेका छन् ।
७८ वटा त्यस्ता मामिलामा अपराधीबाट सिकार हुनेको संख्या ६ हजार ५ सय भन्दा बढि हुनसक्ने अनुमान उनीहरुको छ । समान खालका यस्ता अपराधमा दोषीलाई भएको सजाय समेत फरक फरक पाइएको शोधकर्ताको अध्ययनले देखाएको छ । कतिपय मुद्धा संघीइ अदालतमा त कतिपय प्रान्तिय अदालतमा चलेका थिए । अपराधीलाई १ देखि १२ वर्षसम्मको सजाय भएको पाइएको छ ।
सेक्सटर्सनको सिकार हुनेहरु मध्ये धेरैजसो कम उमेरका युवा युवती हुने गरेका छन् । अपराधीहरुमा धेरैजसो पुरुष हुने गरेको अध्ययनले देखाएकेा छ । जबकी वयस्क उमेरका पीडितहरुमा महिलाको संख्या बढि हुने गरेको छ । सेक्सटर्सनको सिकार भएका धेरैले लाजका कारण घटना बाहिर ल्याउन नसकेको पनि पाइएको छ ।
रिपोट अनुसार सेक्सटर्सन नियन्त्रणका लागि यो शव्दलाई परिभाषित गरी कानूनी रुपमा दण्डनीय बनाउनुपर्ने र यसैभित्र यौन दुव्र्यवहार, एक्सटर्सन वा फिरौती तथा चाइल्ड पोनोग्राफी जस्ता अपराधलाई पनि राख्नुपर्छ ।
स्मार्टफोन र ट्याबलेट ल्याउँदै नोकिया
फिनल्याण्डको चर्चित टेलिकम इक्विपमेन्ट कम्पनी नोकियालेे नयाँ स्मार्टफोन तथा ट्याबलेट सँगै विश्व बजारमा पुनः उत्रिने संकेत गरेको छ ।
नवगठित फिनिस कम्पनीले आफ्नो ब्राण्डको लाइसेन्सिंगका माध्यमबाट यस क्षेत्रमा पुनः उत्रिने तयारीमा रहेको जनाएको छ ।
कुनैबेला विश्वको नम्बर वान मोबाइल ह्याण्डसेट उत्पादक कम्पनी रहेको नोकियाले भनेको छ: एचएमडी ग्लोबल लिमिटेड कम्पनीलाई हामीले विश्वव्यापी लाइसेन्स दिनेछौँ जसले आगामी १० वर्षभित्रमा नोकिया ब्राण्डका मोबाइल फोन तथा ट्याबलेट बनाउनेछ ।
यस प्रक्रियामा एचएमडी ग्लोबल र उसको ताइबानी साझेदार कम्पनी फक्सकन टेक्नोलोजी समूहको एफआइएच मोबाइलले माइक्रोसफ्टको फिचर फोन कारोबार ३५ करोड डलरमा खरीद गर्नेछन् । माइक्रोसफ्टले सन् २०१४ मा नोकियाबाट फोन व्यवसाय खरीद गरेको थियो ।
विदेशबाट फर्किंदा के-के समानमा भन्सार लाग्दैन ? थाहा पाउनोस्
६ जेठ, काठमाडौं । तपाई विदेशबाट स्वदेश फर्कंदा आफूलाई मन परेका सामानहरु किनेर र्फकँदै हुनुहुन्छ ? थाहा पाइराख्नोस् त्रिभुवन विमानस्थलमा तपाईले के-के सामान विना भन्सार छिराउन पाउनुहुन्छ र के कस्ता सामानमा भन्सार तिर्नुपर्छ ?
विमानस्थलको आगमन कक्षमा तपाई एकैछिन उभिनुभयो भने विदेशबाट फर्किएका अधिकांश नेपालीले ठूला टेलिभिजन ल्याएको देख्नुहुन्छ । पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किँदा एलइडी टेलिभिजन ल्याउनु समान्य जस्तै भएको छ ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई ३२ इञ्चसम्म्को टेलिभिजनमा एक रुपैयाँ पनि भन्सार शुल्क लिने गरेको छैन । सरकारले टेलिभिजनमा मात्रै होइन, विदेशबाट फर्किंदा ल्याइने धेरै व्यक्तिगत प्रयोजनका मालसामानमा भन्सार छुटको व्यवस्था गरिएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढंगानाले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार व्यक्तिगत प्रयोजनका निजी गुन्टा र झिटी भारीका लागि यस्तो व्यवस्था गरिएको हुन्छ । यसरी दिइने भन्सार छुटको फाइदा उठाउनेको संख्या पनि ठूलो छ ।
नेपाल आउँदा ३२ इञ्चसम्मको टेलिभिजन ल्याउन कम्तिमा १ वर्ष विदेश बसेको हुनपर्ने व्यवस्था छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन ।
औषधि उपचारका लागि विदेश गएका नागरिकले आˆनै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ ।
विदेशबाट तोकिएको परिमाणमा सुन पनि ल्याउन पाइन्छ । सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदीको गरगहना पाँचसय ग्रामसम्म तथा ३० हजार नेपाली रुपैयाँ मूल्यसम्मको जहारत जडित गरगहनामा कुनै भन्सार शुल्क तिर्नु पर्दैन ।
त्यस्तै ५० ग्राम भन्दा बढी र ३ सय ५० ग्रामसम्म सुन र १ किलोग्रामसम्म चाँदी ल्याएमा भने तोकिएको समदर भन्सार शुल्क तिर्नुपर्छ । यो भन्दा बढी सुनचाँदीको भन्सारपास नहुने भएकाले धेरै सुन बोकेमा जफत हुनसक्छ । यी सुविधा पाउन पनि सामान ल्याउने व्यक्ति ६ महिना भन्दा बढी विदेशमा बसेको हुनुपर्ने प्रावधान छ ।
यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पनि भन्सार छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन ।
विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।
यस्तै चार किलोग्रामसम्म खाद्यान्न ल्याउन पनि कर लाग्दैन भने १.१५ लिटरसम्मका मदिरा बोक्नेले पनि भन्सार तिर्नुपर्दैन ।
समदरमा भन्सार तिरेर ल्याउन पाइने सामान
६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, रेपि|mजेरेटर, वासिङ मेशिन, पङ्खा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोएकिो भन्सार भने तिर्नुपर्छ ।
१५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ ।
घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।
व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आˆनो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ल्याउन सक्छन् । यो भन्दा बढी समाग्री ल्याएमा झिटी गुण्टा नमानिने भएकाले व्यवसायिक रुपमा भन्सार तिरेर पास गराउनुपर्ने भन्सार महानिर्देशिक ढंगानाले बताए ।
रामेछापका तामाङहरुको मिसनः आफ्नो घरभन्दा पहिला काठमाडौंको मन्दिर बनाउनु छ
६ जेठ, काठमाडौं । दिउँसोको हल्का वर्षापछि प्रशिद्ध दरबार स्क्वायर क्षेत्रमा व्यापारीहरु आराम गरिरहेका छन्, जो अधिकांश समय त्यहाँ आउने पर्यटकहरुलाई लोभ्याउन प्रयासरत रहन्छन् ।
विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी भइसक्यो । भूकम्पले क्षतिग्रस्त बनेको हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा एक स्कुले विद्यार्थी सेल्फी लिइरहेका थिए । मिस्त्रीहको एउटा समूह भने दरबारभित्रको एउटा मन्दिरको छानामा काम गरिरहेका थिए ।
‘म र मेरा साथीहरु रामेछापको दोरोम्बाबाट आएका हौं’, पञ्चकुमारी हनुमान मन्दिरलाई अन्तिम रुप दिने प्रयास गरिरहेका ४० वर्षीय हिराबहादुर तामाङले भने ।
भूकम्पले क्षतिग्रस्त भएको हनुमानढोका दरबार क्षेत्रमा अहिले पुनर्निर्माणको काम भइरहेको छ । र, भूकम्प अघिदेखि नै हिरा र उनको समूह आवद्ध रहेको ठेकेदारले त्यसको जिम्मा पाएका छन् ।
रामेछापमा तपाईँको घरलाई पनि भूकम्पले क्षति पुर्यायो ? हाम्रो पहिलो प्रश्न थियो हिरालाई । काम गरिरहेका उनी रोकिए र भने, तपाईँले यो मन्दिरको अवस्था देख्नुभएको छ नि होइन ? हो, यस्तै भएको छ मेरो घरको अवस्था, जुन मैले आफ्नै हातले बनाएको थिएँ ।’
तपाईँलाई लाग्दैन, आफ्नो भत्किएको घर बनाउन छाडेर मन्दिर बनाउनमा आफ्नो समय खेल फाल्दै हुनुहुन्छ ?
हिराबहादुरले जवाफ दिए, ‘होइन, म यहाँ आफ्नो काम गरिरहेको छु । काठमाडौंमा आफू र आफ्नो परिवार पाल्न कमाउनुपर्छ । त्यसका लागि यो काम गर्न जरुरी छ ।’
छोराछोरीलाई स्कुल पठाउन भन्दै हिरा र उनकी श्रीमती गाउँ छाडेर काठमाडौं पसेका थिए । त्यसैले उनी आफ्नो घर बनाउन रापेछाप जाने निर्णय लिएर छोराछोरीको पढाइ बर्बाद पार्न चाहँदैनन् । उनको जे सीप छ, त्यसका लागि गाउँमै बसेर राम्रो कमाइ हुँदैन ।
कुनै तालिम नलिए पनि काठ र ढुंगामाटोको काम गर्न सिपालु हिरा भन्छन्, वषर्ा लागेपछि गाउँमा घर बनाउने काम हुँदैन । वर्षामा कहिलेकाँही खाट र टेबल बनाउने काम मात्र आउँछ ।’
हिराको गाउँमा अन्न धेरै उत्पादन हुँदैन । मुख्य बाली भनेकै मकै, गहुँ र आलु हो, जुन वर्षाभरि खान पुग्दैन । त्यसैले त उनी काठमाडौंमा पाखुरी बजारिरहेका छन् ।
तर, यसको अर्थ यो होइन कि उनलाई आफ्नो गाउँ घरको कुनै मतलब छैन । सरकारले दिने भनेको राहत पाए घर बनाउन केही दिनका लागि गाउँ जाने उनको योजना छ ।
घरमा अहिले भत्किएको घर २ तले थियो । तर, अब बनाउँदा एक तलाको मात्र बनाउने उनको योजना छ । घर जाँदा नयाँ घर बनाउने सामाग्रीहरु लिएर जानुपर्छ, उनले भने, तर, मलाई लाग्दैन कि सरकारले दिने भनेको रकम यति छिट्टै पैसा पाइन्छ ।’ उनको भने जस्तै हुन्छ कि हुन्न त्यसका लागि केही समय पर्खनुपर्छ ।
हामी केही भन्नुअघि नै हिराको ब्रेक सकियो । र, उनले आफ्नो काम गर्नुछ । किनकि उनको परिवार र सिंगो देशले उनी र उनको साथीमाथि भरोसा गरेको छ ।
राजधानीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन
६ जेठ, काठमाडौं । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनका विषयमा फैलाइएका भ्रम चिर्ने लक्ष्यसहित काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ ।
राजधानीको सोल्टी होटलमा बौद्ध सम्मेलनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् ।
अन्तराष्ट्रिय बौद्ध गोष्ठी काठमाडौंमा ६ र ९ गते तथा बुद्धजयन्ती समारोह लुम्बिनीमा ८ गते आयोजना हुने बताइएको छ । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।
गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरुहरु, भिक्षु तथा भिक्षुणीहरु र बौद्ध दर्शनका ज्ञाता तथा विद्धानहरुको सहभागिता रहने पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए । गोष्ठीमा भाग लिन आउने पाहुनाहरु काठमाडौं आइपुगेका छन् ।
‘लुम्बिनी, नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र ६ नेपाली गरी २८ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । उक्त कार्यपत्रमा व्यापक छलफल हुने मन्त्री पोखरेलले बताए ।
लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा लुम्बिनी घोषणापत्र जारी गरिने भएको छ । उक्त घोषणापत्रको कार्यान्वयनका लागि अन्तराष्ट्रिय स्तरको संयन्त्र निर्माण गरिने मन्त्री पोखरेलले बताए ।
मन्त्री पोखरेलले गोष्ठीले भगवान बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
६९ जना सवार इजिप्ट एयरको विमान बेपत्ता
६ जेठ, काठमाडौं । इजिप्टको राष्ट्रिय ध्वजावाहक इजिप्ट एयरको यात्रुवाहक विमान पेरिसबाट कायरोतर्फ उड्ने क्रममा बिहिबार हराएको छ । बिमानमा ५९ जना यात्रु तथा १० जना चालक दलका सदस्य छन् ।
मेडिटेरानियन समुद्रभन्दा माथि पुगेपछि सो बिमानको र्याडरसँग सम्पर्क टुटेको बताइएको छ ।
‘इजिप्ट एयरका एक अधिकारीका अनुसार एमएस८०४ बिमान स्थानीय समयअनुसार ११ः०९ बजे उडेको थियो । पबमान ३७ फिट उचाईमा पुगेको बेला सम्पर्कबाहिर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Monday, May 16, 2016
इन्टरनेटमा नेपाल टेलिकमको नयाँ अफर
जेठ । नेपाल टेलिकमले मोबाइल इन्टरनेटका लागि नयाँ अफर ल्याएको छ ।
सोमबार सार्वजनिक सूचना जारी गरी टेलिकमले मे १७ का दिन मनाइने इन्टरनेसनल टेलिकमेनिकेसन डेको अवसर पारेर जिएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पोस्टपेड मोवाइलको लागि अनलिमिटेड इन्टरनेट डाटा अफर ल्याएको जनाएको छ ।
टेलिकमले ल्याएको यो सुविधाको लागि ग्राहकले करबाहेक ९० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । डाटा प्याकेज राति ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमिटेड हुनेछ ।
प्याकेजको लागि प्रयोगकर्ताले nightdata टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ। यो अफर जेठ ४ देखि जेठ १८ सम्म सात दिनको लागि मात्र हुनेछ ।
सोनाक्षीको स्वागतमा जर्नेल प्रकरण – नेपाली सेनाले बल्ल मुख खोल्यो
जेठ । सैनिक श्रीमती संघद्वारा शनिबार आयोजित नृत्य कार्यक्रम “अमरपंक्षी” सम्बन्धमा प्रकाशित एवं प्रशारित समाचारहरुप्रति नेपाली सेनाले ध्यानाकर्षण जनाएको छ ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागत गर्न जर्नेल खटिएको पत्रपत्रिकाको समाचारले सामाजिक सञ्जालबाट सेनाको कडा आलोचना भएपछि सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले सोमबार अपराह्न विज्ञप्ति जारी समाचारले सानो इश्युलाई ठूलो बनाएको भ्रममा नपर्न सबैमा आग्रह गरेको छ ।
यद्यपी सेनाले नेपाली सेनाको व्यवसायिक मर्यादा, संस्थागत हित र नेपाली सेना विवादमुक्त रहनुपर्छ भन्ने सकारात्मक मनशायसहित प्रकाशित एवं प्रशारित समाचारहरुप्रति आभार व्यक्त गरेको छ ।
यो विषयमा सेनालाई रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालय स्पष्टिकरण सोधिसकेको छ ।
यस्तो छ नेपाली सेनाको ध्यानाकर्षणः
१. मिति २०७३ जेठ १ गते सैनिक श्रीमती संघद्वारा आयोजित नृत्य कार्यक्रम “अमरपंक्षी” सम्बन्धमा प्रकाशित एवं प्रशारित समाचारहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।
२. नेपाली सेनाको व्यवसायिक मर्यादा, संस्थागत हित र नेपाली सेना विवादमुक्त रहनुपर्छ भन्ने सकारात्मक मनशायसहित प्रकाशित एवं प्रशारित समाचारहरु प्रति नेपाली सेना आभार व्यक्त गर्न चाहन्छ ।
३. विगतमा टुँडिखेलमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा समेत नेपाली सेनाले प्रत्यक्ष एवम् परोक्षरुपमा सहयोग पु¥याउँदै आएको छ । त्यसैगरि, सैनिक श्रीमती संघले पनि विगतमा नेपाली सेनाका बहालवाला, भूतपूर्व सैनिक तथा आश्रित परिवारहरु एवं प्राकृतिक प्रकोप लगायतका अवस्थाहरुमा सर्वसाधारणको सहयोगको लागि समेत योगदान पु¥याउँदै आएको र भविष्यमा समेत राहत सहयोग पु¥याउने उद्देश्यले सैनिक श्रीमती संघद्वारा आयोजना गरिएको “अमरपंक्षी” कार्यक्रममा उपस्थित कलाकारहरु र दर्शकहरुको सुविधा, सहजता र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरि नेपाली सेनाले अन्य सुरक्षा निकायहरुसँग समन्वय गरि सहयोग प्रदान गरेको हो । भविष्यमा पनि राहत कार्य एवं विभिन्न सामाजिक हितका लागि हुने यस किसिमका कार्यक्रममा नेपाली सेनाको सक्दो सहयोग रहनेछ ।
४. यस किसिमका कार्यक्रमहरुमा विगतमा समेत विदेशी कलाकारहरु सहभागी हुने गरेको र सो स्तरका कलाकारहरुको आवागमन हुदा सुरक्षा संवेदनशीलता, व्यवहारिकता र विमानस्थलको सुरक्षा चासोमा असर नपर्ने गरि सम्बन्धित सुरक्षा एवं अन्य निकायहरुसँग समन्वय गरि त्रिभुवन बिमानस्थलका उपयुक्त कक्षहरु प्रयोग गर्ने प्रचलन रहि आएको छ । महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा व्यवस्था अवलोकनको साथै विमानस्थलमा उपस्थित शुभेच्छुक एवं समर्थकहरुबाट असहज स्थिति पैदा नहोस् भन्नको लागि पनि अन्य सुरक्षा निकायको साथ साथै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षार्थ सोही स्थानमा तैनाथ नेपाली सेनाको ईन्जिनियर निर्देशनालयका अधिकृतहरु उपस्थित हुने प्रचलन छ । आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्था अनुगमनको लागि जाने सैनिक व्यक्तिहरुले सैनिक पोशाक प्रयोग गर्नु स्वभाविक नै हो ।
५. “अमरपंक्षी” कार्यक्रममा सहभागी हुन आएका कलाकारहरुको स्वागतको लागि भने सैनिक श्रीमती संघका पदाधिकारी तथा कार्यक्रम व्यवस्थापकका प्रतिनिधिहरु नै उपस्थित भएको स्पष्ट पार्न चाहन्छौं ।
६. साथै, यसबाट नेपाली सेनाबारे कुनैपनि भ्रममा नपर्नको लागि सबैमा नेपाली सेना हार्दिक अनुरोध गर्दछ ।
गठबन्धनको आन्दोलनमा सिंहदरबार घेर्न पुगेका विदेशी नागरिक पक्राउ
जेठ । सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो ।
सोही आधारमा ती नागरिकले नेपाल छाडेका थिए । सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो ।
आन्दोलनमा सहभागी विदेशीलाई कारबाही
सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा, ब्यानर र फेटासहित उपस्थित भएका विदेशीलाई सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएको जानकारी दिए। उनले भने– ‘आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुन विपरीत हो ।’
प्रवक्ता कोइरालाले एक किसिमको प्रवेशाज्ञामा आएर आन्दोलनमा सहभागिता जनाउनु गम्भीर भएको बताउँदै उनले उनीहरुलाई प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुन सक्ने बताए ।
उनले आन्दोलनमा सहभागी भएकाहरुको तस्बिरका आधारमा खोजी भइरहेको समेत जानकारी दिए । आन्दोलनमा केही दातृ निकायको समेत सहयोग रहेको आशङ्कामा छानबिन भइरहेको छ ।
संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै मधेसी, आदिवासी जनजाति सम्बद्ध केही दल आन्दोलनमा छन् । रासस
दोलालघाटको इन्द्रावति नदीमा तीन बालक वेपत्ता, दुईको शव भेटियो
जेठ । काभ्रेमा पौडी खेल्ने क्रममा डुबेर तीन बालक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वेपत्तामध्ये दुई बालकको शव फेला परेको छ ।
सोमबार अपराह्न दोलालघाटको इन्द्रावती नदीमा पौडी खेल्न गएका ११ वर्षीय सञ्जीव ठकुरी, १० वर्षीय मनोज पहरी र १३ वर्षीय नविन ठकुरी वेपत्ता भएका हुन् । ती मध्ये सञ्जीव र मनोजको शव फेला परेको प्रहरीले जनाएको छ ।
१३ वर्षीय नविन अझै वेपत्ता छन् । उनको खोजी भइरहेको छ ।
Subscribe to:
Comments (Atom)