Thursday, December 3, 2015
केएल ग्रुपको गोदामबाट पाँच ट्रक तेल बरामद
काठमाडौं: आफूखुशी मूल्य बढाएर उपभोक्ता ठग्ने केएल ग्रुपको गोदाममा बिहीबार छापामा मारेर प्रहरीले पाँच ट्रक तेल बरामद गरेको छ।
 
जडिबुटीस्थित स्वस्तिक आयल उद्योगको धारा ब्रान्ड तोरीको तेलमा आफूखुशी मूल्य कायम गरी बिक्री गरेको पाइएपछि महानगरी प्रहरी परिसर काठमाडौंले छापा मारी गोदामसमेत सिलवन्दी गरेको छ।परिसरका प्रवक्ता विश्वराज पोखरेलले उद्योगबाट म्यानेजर अमन जैनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए। 
 
उनका अनुसार दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको अवस्थामा उद्योगीले एक सय ५० पर्ने धारा ब्रान्डको तेललाई प्रतिलिटर दुई सयदेखि तीन सय २० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ।
 
'बजारमा अभाव गराएर रातारात मूल्य वृद्धि गरी उपभोक्ता ठगी गरेकाले कालोबजारी ऐन अन्तर्गत थप कारबाही अघि बढाउछौं', प्रवक्ता पोखरेलले भने। उनका अनुसार तेलको प्याकेटमा दुई सय रुपैयाँदेखि तीन सय २० रुपैयाँसम्मको स्टिकर टाँसेर बजार पठाउन लागिएको छ।
 
प्रहरीका अनुसार अहिले गोदाममा भएको सबै तेल बरामद गरिएको छ। थप तेल लुकाइएको हुन सक्ने भएकाले यसबारे भोलिबाट विशेष अनुसन्धान अघि बढाइनेछ। 
 
जनतालाई ठग्दै राताराता कृत्रिम अभाव सिर्जना गरी असहज अवस्थालाई थप जटिल बनाउन लागेकाले केएल दुगड ब्रदर्शमाथि कालोबजारी ऐनअन्र्तगत कारबाही हुने प्रहरीले बताएको छ। प्रहरीले उपत्यकामा रहेका खाने तेलको अन्य उद्योग र गोदाममा पनि छापा मार्ने तयारी गरेको छ।
Subscribe to:
Post Comments (Atom)
 
 
No comments:
Post a Comment