Thursday, December 3, 2015
पोल्ट्री उत्पादन र मूल्य घट्यो
नाकाबन्दीको असर 
चितवन: नवलपरासीको गैंडाकोटस्थित पाण्डे पोल्ट्रीफार्मका सञ्चालक दिपक पाण्डेले कुनै समय पाँच हजारसम्म ब्रोइलर कुखुरा पालेका थिए। अहिले उनको खोरमा एक हजार पाँच सयमात्र ब्रोइलर छन्। 
 
तराई आन्दोलनको बहानामा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि बजारमा दाना अभाव भएपछि उनले कुखुराको संख्या घटाएका हुन्। नाकाबन्दी अघिको तुलनामा अहिले जिउँदो कुखुराको मूल्यसमेत कम भएकोले धेरै खोरमा धेरै चल्ला राख्न नसकेको पाण्डे बताउँछन्। 
 
दाना नपाएर धेरै साना किसानले कुखुरा पाल्न छाडिसकेको जानकारी दिँदै उनी भन्छन्, 'कुखुराको तयारी मासु र जिउँदो कुखुराको मूल्य चार महिनाअघिको तुलनामा अहिले घटेको छ। कुखुरालाई खुवाउने दाना अभाव छ । यस्तोमा धेरै कुखुरा पाल्नसक्ने अवस्था छैन।'
 
चितवनको ज्यामिरेस्थित अन्नपूर्ण पोल्ट्रीफार्म जिल्लाका ठूला पेल्ट्रीफार्ममध्येको एक मानिन्छ । यो फार्ममा अहिले अन्डा उत्पादनका लागि पालिएका ५० हजारभन्दा बढी लेयर्स कुखुरा छन्। 
 
फार्म सञ्चालक अर्जुन अर्याल आफ्नो फार्ममा रहेका कुखुराका लागि दैनिक ५० क्विन्टल दाना आवश्यक पर्ने बताउँछन्। तर, अहिले बजारमा दानाको अभाव छ । कुखुरालाई जसरी पनि दाना खुवाउनुपर्ने भएकोले कालोबजारीबाट दाना ल्याएर समस्या टार्नु परेको छ।
 
दाना खुवाउन नसकेर धेरै लेयर्स कुखुरापालक किसानले माउ कुखुरा नै बिक्री गरेका छन्।वैशाखमा गएको विनाशकारी भूकम्पले थला परेको नेपालको पोल्ट्री व्यवसाय राम्रोसँग तंग्रिन नपाउँदै तराई बन्द र नाकाबन्दीले पुनः संकटमा परेको छ। 
 
नाकाबन्दीका कारण कच्चापदार्थ अभावमा दाना उत्पादन घटेपछि त्यसको प्रत्यक्ष असर अन्डा, चल्ला र मासु उत्पादनमा परेको छ। भारतबाट कच्चापदार्थ आयात हुन नसक्दा कुखुराको दाना उत्पादनमा ३० प्रतिशत गिरावट आएको सम्वद्ध व्यवसायी बताउँछन्। 
 
दाना अभावमा कुखुरा हुर्काउन नसक्दा मासु र अन्डा उत्पादनसमेत एक तिहाइले घटेको छ।कुखुरापालक किसानले दाना अभावको कारण चल्ला खरिद गर्न छाडेपछि ह्याचरी उद्योगहरुले चल्ला उत्पादनमा कटौती गर्न थालेका छन्। 
 
२० वर्षयता सबैभन्दा संकटपूर्ण परिस्थितिबाट नेपालको कुखुरापालन व्यवसाय गुज्रिरहेको सम्बद्ध व्यवसायीले बताएका छन।नेपाल कुखुराव्यवसायी मञ्चका अनुसार, नेपालमा दैनिक दुई हजार सात सय मेट्रिक टन दाना उत्पादन हुँदै आएकोमा अहिले दैनिक एक हजार आठ सय मेट्रिक टनमात्र दाना उत्पादन भइरहेको छ।
 
 दैनिक एक हजार मेट्रिक टन दाना उत्पादन हुने चितवन जिल्लामा अहिले दैनिक सात सय मेट्रिक टनको हाराहारीमात्र दाना उत्पादन भएको छ । आन्दोलन र नाकाबन्दीको कारण कच्चापदार्थको मूल्यवृद्धि भएपछि उत्पादित दानाको समेत मूल्यवृद्धि हुन पुगेको छ। कुखुराको दाना बनाउन प्रयोग हुने मकै र भटमासको पिनाको मूल्यवृद्धिले दानाको मूल्य पनि बढाउनु परेको लोकप्रिय दाना उद्योगका सञ्चालक दुर्गाप्रसाद भण्डारी बताउँछन्।
 
कुखुराको दाना बनाउन प्रयोग हुने कच्चापदार्थ मकै, ढुटो र भटमासको पिना ६० प्रतिशत भारतबाट आयात हुने गरेको मञ्चका पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराई बताउँछन्।
 
घट्यो उत्पादन
इन्धन अभावले अन्डा, चल्ला र कुखुरा देशका अन्य भागसँगै तराई क्षेत्रमा पुर्याउन अवरोध भएपछि व्यवसायीले अन्डा, चल्ला र मासुको मूल्य घटाएका छन् । नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी प्रतिगोटा १२ रुपैयाँ उपभोक्ता मूल्य रहेको अन्डा अहिले प्रतिगोटा १० रुपैयाँमा झरेको बताउँछन्।
 
 भूकम्पका बेला अन्डा १२ रुपैयाँबाट प्रतिगोटा आठ रुपैयाँमा झरेको थियो। नेपालमा अहिले दैनिक १८ लाख गोटा अन्डा उत्पादन हुन्छ।
मासुका लागि पालिने ब्रोइलर र अन्डाका लागि पालिने लेयर्स कुखुराका चल्ला उत्पादन गर्ने देशभरका एक सय ३० वटा ह्याचरी उद्योगमध्ये ७५ वटा चितवमा छन्।
 
देशभरका ह्याचरीले हरेक साता २५ लाख ब्रोइलर र एक लाख २५ हजार लेयर्स चल्ला उत्पादन गर्छन्। नेपाल ह्याचरी संघका अध्यक्ष ऋषिराम पौडेल उत्पादनसँगै मूल्य घटाउँदा पनि दाना अभावले चल्लाको बिक्री निकै घटेको उनले बताए।
 
परनिर्भरता कायमै
देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर मानिए पनि औषधि र कच्चापदार्थका लागि भारतको भर पर्नुपर्ने अवस्था छ।
 
देशभरमा पोल्ट्रीको ठूलो हिस्सा ओगटेको चितवन जिल्लालाई पोल्ट्रीको राजधानी मानिन्छ। नेपालमा पोल्ट्री क्षेत्रमा भएको ६० अर्ब रुपैयाँभन्दा बढीको लगानीमध्ये अधिकांश लगानी चितवनमा भएको छ। 
 
जिल्लामा रहेका पाँच दर्जन ह्याचरीले दैनिक चार लाख ब्रोइलर र लेयर्स चल्ला उत्पादन गरिरहेका छन्। पोल्ट्रीसँग सम्बन्धित औषधि उद्योग, दाना उत्पादक कारखाना र अण्डा राख्ने क्रेट बनाउने उद्योग अधिकांश चितवनमा छन्।
Subscribe to:
Post Comments (Atom)
 
 
No comments:
Post a Comment