Friday, December 4, 2015
नेपालकै पहिलो चियाबगान खतरामा
ठेक्का रद्द गर्न स्थानीयको माग
इलाम: 'हामी त लापरबाही गर्नेलाई भेटे चिथोर्ने अवस्थामा पुगेका छौं।' इलाम सदरमुकामवरपरको चियाबगान मासिने खतरा बढेपछि चिन्तित स्थानीय पत्रकार धर्म गौतमको भनाइ हो यो।
विगतमा नेपाल चिया विकास निगमले व्यवस्थापन गरेको उक्त चियाबगानको व्यवस्थापन अहिले निजी कम्पनी त्रिवेणी संघाई समूहले लिएपछि इलामको पहिचान बनेको बगान मासिने खतरामा पुगेको अनुभव स्थानीयले गरेका छन् । उक्त चियाबगान मुलुककै पहिलो चियाबगान हो।
स्थानीय विज्ञका अनुसार संघाई समूहले चिया बगानको संरक्षणको काम गरेकै छैन । संघाई समूहले भने चिया बगानको संरक्षणको काममा स्थानीय नै अवरोध बन्ने गरेको दाबी गरेको छ।एक सय ३५ एकड जमिनमा फैलिएको उक्त चियाबगान कुरूप बन्दै गएको यहाँका स्थानीय बताउँछन्।
गौतम भन्छन्, 'यो बगान आम्दानीको स्रोतमात्र हैन, इतिहास पनि हो, हाम्रो गर्वको कुरा हो। सरकारले ठेक्का रद्द गरेर आफैंले व्यवस्थापन गर्नुपर्छ।' बगानलाई पर्यटकीय हिसाबले प्लान गरेको चियाबारी बनाउनुपर्ने उनको भनाइ छ।
५० वर्षका लागि सरकारसँग लिजमा लिएको बगानले कम आम्दानी दिन थालेपछि ठेकेदार त्रिवेणी संघाई समूहले बेवास्ता गरेको स्थानीयले बताएका छन् ।
नयाँ बिरुवा लगाएर नयाँ बगान बनाउनुपर्ने मागलाई ठेकेदार समूहले बेवास्ता गरेको पूर्वकर्मचारी राम खत्री बताउँछन्। उनी भन्छन्, 'संरक्षण छैन, आएको मुना टिपेर खाने अवस्थामा पुगेको छ।'
इलामको आकर्षण बनेको चियाबगान मासिन लागेकोमा चिन्तित विष्णु दाहालले भनिन्, ‘इलामले देखाउने एउटै ठाउँ यही हो । हाम्रो त जुनी बित्यो, नातिहरूको भविष्य के होला।'
लामो समय चिया क्षेत्रमा काम गरेका इशुशंकर श्रेष्ठले भने, ‘रस खाने काम भयो, संरक्षण पटक्कै भएन।' यसले बगानको आयु घटाएको उनको भनाइ छ।
कृषि मन्त्रालयको नेपाल चिया तथा कफी विकास बोर्डको मूल्यांकनमा पनि अहिलेको व्यवस्थापनले चिया बगानबाट आर्थिक फाइदा लिनेमात्र काम गरेको छ।
बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले भने, 'संरक्षणका लागि प्रयास गरेको देखिँदैन।'संघाई समूहका सुवास संघाईले भने चियाबगानको संरक्षणमा स्थानीयले साथ नदिएको तर्क गरे।
संघाईका अनुसार स्थानीयले चियाबारी अतिक्रमण गरेकोले पनि संरक्षणको काम गर्न गाह्रो भएको छ। ५० वर्षका लागि सरकारसँग लिजमा लिएको बगानले कम आम्दानी दिन थालेपछि ठेकेदार त्रिवेणी संघाई समूहले बेवास्ता गरेको स्थानीयले बताएका छन्।
जिल्ला प्रशासन कार्यालयनजिक रहेको बगान उन्यु, कालोझारलगायतले छोपेको छ। बगानसँगै १९३५ मा स्थापना भएको कारखाना पनि छ। कारखाना पुराना मेसिन कन्याम पुर्याइएको छ। यो विराटनगरको जुटमिल र जुद्ध म्याच फ्याक्ट्रीभन्दा पनि पुरानो कारखाना हो।
नेपालमा १९२० देखि चिया रोप्न थालिएको इतिहास छ । सरकारले इलाम, कन्याम, टोक्ला, बारदशी, बर्ने, चिलिमकोट र सोक्तिम चियाबगान २०५७ मा त्रिवेणी संघाई समूहलाई भाडामा दिएपछि कम उत्पादन दिने कन्याम, इलामसहितका बगानलाई बेवास्ता गरिएको चिया विकास निगमका पूर्वकर्मचारी राम खत्रीले बताए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment