Monday, December 7, 2015
बलिउड नायिकाको सर्जरीमा नेपाली युवतीको छाला
काठमाडौं: शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले बलिउड नायिकाको प्लास्टिक सर्जरीका लागि गोरो छाला भएका नेपाली युवती प्रयोग हुने गरेको दाबी गरेकी छन्।
महिला हिंसासम्बन्धी सोह्रदिने कार्यक्रम चलिरहेका बेला सोमबार राजधानीमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो खुलासा गरेकी हुन्।सुनिताका अनुसार कम उमेरका नेपाली युवतीको छाला गोरो र मुलायम हुने भएकाले भारतीय दलालको पहिलो रोजाइमा उनीहरू पर्ने गरेका छन्।
भारतीय पत्रकारले बेचबिखनविरुद्ध कार्यरत नेपालका अधिकारकर्मीसँग किशोरीहरूको बेचबिखन तथा प्लास्टिक सर्जरीका बारेमा जिज्ञासा राखेपछि यो कुराको खुलासा भएको उनको भनाइ छ।
'बलिउडका नायिकाहरूको प्लास्टिक सर्जरीका लागि नेपाली युवतीहरूलाई भारतमा बेचिने गरेको जानकारी हामीलाई भारतीय पत्रकारले दिएका छन्', सुनिताले भनिन्, ‘उनीहरूले दिएको जानकारीका आधारमा हामीले यसबारेमा गम्भीरतापूर्वक खोजी गरिरहेका छौं, यसको पुष्टि हुन बाँकी छ।'
यो खुलासासँगै मानव बेचबिखनको शैली बदलिएकाले यसबारेमा गम्भीर भएर सोच्न बाध्य बनाएको छ। अंग प्रत्यारोपणका लागि मानव बेचबिखन हुँदै आएका घटना प्रशस्त रहेकाले विभिन्न प्रलोभनमा पारी दलालहरूले प्लास्टिक सर्जरीका लागि पनि नेपाली युवतीलाई भारत पुर्याउनसक्ने सम्भावना धेरै रहेको देखिएको छ।
दनुवारका अनुसार पछिल्लो समय बेचबिखनको शैली बदलिएकाले यस्ता कार्य नियन्त्रण गर्न चुनौती बन्दै गएको छ। भूकम्पका कारण युवतीहरू झनै जोखिममा रहेका र नेपालका १४ वटा जिल्लामा गरिएको सर्वेक्षणका आधारमा सात सयभन्दा धेरै युवती प्रमुख जोखिममा देखिएका छन्।
कार्यक्रममा दिइएको जानकारीअनुसार पर्यटक भिसामा श्रम तथा सेक्स बजारमा नेपाली युवती बेचिने गरेका छन्। भारतका साथै अन्य मुलुकका डान्सबार, रेस्टुराँ तथा यौनबजारमा उनीहरूलाई पठाउने गरिएको छ।
म्यारिज ब्युरो खोलेर कोरिया पठाउने दलालको समेत बिगबिगी देखिएको छ। पछिल्लो समय ठमेललाई मानव तस्करीको ट्रान्जिट बनाउने गरेको देखिएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment