Thursday, December 3, 2015
पेट्रोलियमसहित दुई बस नियन्त्रणमा
रौतहट— पर्साको ठोरी र काकडभिट्टाको पानीटंकी नाकाबाट पेट्रोलियम तस्करी गरेर नेपाली बजारमा भित्र्याउने क्रम बाक्लिन थालेको छ। ठोरी नाकाबाट दैनिक सय वटा सवारी साधनमा १ लाख ५० हजार लिटर र पानीटंकी नाकाबाट करिब ६० वटा भन्दा बढी लामो दुरीका रात्रि बसहरुमा डिजेल, पेट्रोल र ग्यास लोड गरेर राजधानीसम्म पुर्याउने काम भइरहेको छ।
बिहीबार बिहान काकडभिट्टाबाट यात्रु राख्ने सिटभरि, डिकी र बसको हुडमा समेत पेट्रोलियम पदार्थ राखिएका ग्यालन लैजादै गरेको अवस्थामा रौतहटको चन्द्रनिगाहपुर बजारमा प्रहरीले दुईवटा यात्रुवाहक बस नियन्त्रणमा लिएको छ ।
काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.४ख ८११९ नम्बरको अग्नि यातायात र ना.३ख. ७५२६ नम्बरको तमस ट्राभल्समा पेट्रोलियम लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । २५ जना व्यापारीहरु मिलेर १ लाख नौ हजारमा अग्नि बस रिजर्भ नै गरेर ५ हजार लिटर पेट्रोल र डिजल राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यस्तै तमस बसमा १६ जना मिलेर ४० हजारमा रिजर्भ गरेर ३ हजार लिटर इन्धन लोड गरेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बसमा यात्रा गरिरहकेका काँकडभिट्टाकै तुलसी चापागाईंले आफूले दूरसञ्चार छाउनी शाखालाई बिक्री गर्न चार सय लिटर लैजाँदै गरेको बताए । 'बंगालीहरुले भारतबाट नेपाली बजारमा ल्याइदिन्छन्,' चापागाइँले भने, 'हामीले पानीटंकी नाकाबाट उनीहरुसँग १ सय ७० मा किनेर काठमाडौँ दुरसञ्चार शाखालाई प्रतिलिटर २ सय ४० मा बेच्ने गरेका छौँ ।'
अर्को बस तमस डिलक्सका चालक टीका भण्डारीले चन्द्रनिगाहपुरमा बिहानैदेखि रोकिँदा समस्यामा परेको बताए । काकडभिट्टाबाट गए राति छुटेका ६० वटा बसहरुमा तेलको ग्यालन भए पनि आफूलाई मात्र रोकिएकामा चालक भण्डारीले गुनासो गरे । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक मनोज यादवले यात्रु ओसार्ने सवारी साधनमा इन्धन बोक्न नपाउने हुनाले नियन्त्रणमा लिएर इन्धनबारे अनुसन्धान भइरहेको बताए ।
तस्करी हुने नाका
मधेसी मोर्चाका कार्यकर्ताहरुले मुख्य नाका अवरुद्ध पारेर धर्ना दिए पनि खुला नाकाहरुबाट कपडा, इन्धन लगायतका अत्यावश्यक बस्तुको तस्करी भइरहेको छ । मोर्चाका कार्यकर्ताले वीरगन्ज मुख्य नाका ठप्प पारेर धर्नामा बसेपछि तस्करहरुले आन्दोलनको फाइदा उठाउँदै पर्साको भिस्वा, जानकीटोला, अलौ, भकुवा लगायतका खुला नाकाहरुबाट तस्करी गरिरहेका छन् । त्यस्तै बाराको मटिअर्वा, सिम्रौनगढ, कर्चोबा, बेल्दारी, कबही र रौतहटको ब्रहम्पुरी, बन्जरहा, महादेवपटि, औरैया, बंकुल, रामपुरखाप, नरकटीया लगायतका खुला नाकाहरुबाट चिनी, दाल, तेल, कपडा लगायतका अत्यावश्यक वस्तुको तस्करी भइरहेको छ ।
मधेस आन्दोलनका क्रममा गाउँगाउँका प्रहरी चौकीमाथि आक्रमण गर्ने र कतिपय स्थानमा प्रहरीले राम्ररी सीमाक्षेत्रको गस्ती गर्न नसकेका कारण तस्करी भइरहेको व्यापार संघ रौतहटका अध्यक्ष कन्थमणि प्रसाद जयसवालले बताए । बन्दका कारण राम्रा व्यापारीले आफ्नो व्यवसाय गर्न सकेको छैनन् तर तस्करहरु खुलेआम राजमार्गमा समान पुर्याएर काठमाडौँसम्म तस्करी गरिरहेको उनले आरोप लगाए ।
ठोरीमा उच्चस्तरीय टोली
पर्साको ठोरी नाका भएर करोडौको तस्करी भइरहेको समाचार नागरिकन्युजमा भिडियाे सहित सम्प्रेषण भएपछि मध्यमाञ्चल प्रशासकसहित उच्च स्तरीय सुरक्षा प्रमुखहरु ठोरी नाकामै पुगेर वास्तविकता अवलोकन गरेका छन्।
मध्यमाञ्चल क्षेत्रीय प्रशासक महेश दाहाल, सशस्त्र प्रहरी रुद्र वाहिनी पथलैयाका डिआजी रामशरण पौडेल र राष्ट्रिय अनुसन्धानका मध्यमाञ्चल प्रमुख (डिआजी) अलिअसगर हुसेन लगायत सुरक्षा प्रमुखहरुले नाकाको अवलोकन गरेका छन् । अवलोकनको क्रममा क्षेत्रीय प्रशासक दाहालले भारतीयहरुले सीमापारिबाट तेल ल्याएर नेपालमा बेच्ने गरेको बताए । तराई–मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीले देशमा इन्धन अभाव भएपछि विभिन्न संघसंस्थाका पदाधिकारी, सर्वसाधारणहरु पुगी उनीहरुबाट इन्धन खरिद गरिरहेको बताए ।
'कालोबजारी गर्नेलाई पूर्णरुपमा नियन्त्रण गर्छौं,' क्षेत्रीय प्रशासक दाहालले भने, 'खुला बोर्डर भएकाले भारतीय क्षेत्रबाट आइरहेको माल सामान व्यवस्थापन गर्छौं।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment