Sunday, March 6, 2016

इरानका अर्बपतिलाई मृत्युदण्ड घोषणा

इरान, २३ फागुन । इरानी अर्बपति व्यवसायी बबाक जनजानीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजाय दिइएको न्याय अधिकारीहरुले बताएका छन् । उनी इरानका सबभन्दा धनीमध्ये एक हुन् । उनलाई तीन अर्ब डलर अपचलन गरेको आरोप लगाईएको छ । उनीमाथि राज्यको सम्पति अपचलन गरेर आफू धनी बनेको आरोप छ । बबाक जनजानीलाई सन २०१३ को डिसेम्बर महिनामा गिरफ्तार गरिएको थियो । उनका कम्पनीहरुमार्फत तेल व्यापारबाट आएको अरबौं डलर लुकाएको आरोप उनलाई लगाइएको थियो । उनले आरोप अस्वीकार गर्दै आएका छन् । प्रेस सम्मेलनमा जनजानीले धोखाधडी गरेको र आर्थिक अपराध गरेको न्यायालयका प्रवक्ताले बताए । प्रवक्ता घोलमहुसेन मोहसेनी इजेहीले भने– ‘बबाक जानजानी र अरु दुइजनामाथि गरिएको अनुसन्धानपछि अदालतले यी तिनजनाले पृथ्वीमा भ्रष्टाचार फैलाएको पाइएकाले यिनिहरुलाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।’ अरु दुइजनालाई पनि मृत्युदण्ड दिइएको छ र उनीहरुलाई अपचलन गरिएको रकम तिर्न भनिएको छ । इरानका सबभन्दा धनी मध्ये एक जनजानीलाई अमेरिका र युरोपले तेल नाकाबन्दी छल्न इरानलाई सघाएकोमा कालोसूचीमा राखेका थिए । उनले सन २०१० यता यूएइ, टर्की र मलेसियामा रहेका कम्पनीका सञ्जाल मार्फत दशौं लाख ब्यारल तेल सरकारका तर्फबाट विक्रि गर्न सघाएको स्वीकार गरेका थिए । गिरफ्तार हुनु अघि जनजानीले अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण सरकारलाई १.२ अर्ब डलर बुझाउन समस्या परिरहेको दावी गरेका थिए । उनलाई इरानी राष्ट्रपति हसन रुहानीले उनको सरकारलाई आर्थिक नाकाबन्दीको फाइदा उठाएर खासगरी पहुँचवाला व्यक्तिहरुले गर्दै आएको आर्थिक भ्रष्टाचार विरुद्ध लड्न निर्देशन दिएका थिए । सन २०१३ मा बीबीसीसँगको अन्तरवार्तामा जनजानीले उनको इरानमा रहेको राजनीतिक सम्पर्कलाई कम महत्व दिएका थिए र भनेका थिए म कुनै राजनीति गर्दिन केवल व्यवसाय गर्छु । जनजानीले आफ्नो सम्पति १३।५ अर्ब डलर रहेको बताएका थिए । (बीबीसीबाट)

No comments:

Post a Comment