Sunday, March 6, 2016

म्याग्दीमा झुसिलकिराको प्रकोप, २० बढी भेडाबाख्रा मरे

म्याग्दी, फागुन २४ । म्याग्दीको राहुघाट क्षेत्रमा झुसिलकिराको प्रकोप फैलिएको छ । एक महिनादेखि फैलिएको झुसिलकिराका कारण पशुचौपाया र मानिस प्रभावित भएका छन् । जङ्गलमा चरनका लागि गएका भेडाबाख्राले घाँससँगै झुसिलकिरा खाँदा भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताए । उनका अनुसार चिमखोलामा मात्रै पछिल्लो एक हप्तायता २० वटाभन्दा बढी भेडाबाख्रा मरिसकेका छन् । घाँससँगै झुसिलकिरा खाँदा पाचन प्रक्रियामा असर पुग्ने र ढाडिएर भेडाबाख्रा मर्ने क्रम बढेको पुनले बताए । विशेषगरी उत्तिसका रुख भएको जङ्गलमा झुसिलकिरा फैलिएको छ । मानिस पनि काउसो बिझ्ने हुँदा जङ्गलमा घाँस दाउरा गर्न जान सकेका छैनन् । चिमखोलाका साथै छिमेकी कुइनेमङ्गले, दग्नाम र पाखापानी गाविसको जङ्गलमा पनि झुसिलकिराको प्रकोप फैलिएको छ । झुसिलकिराले स–साना बोटबिरुवाका डाँठ खाएर सखाप बनाएको छ । जङ्गलभरि झुसिलकिरा फैलिएको चिमखोलाका गाविस सचिव जीतबहादुर सुनारले बताए । केही ठाउँका बासिन्दाले झुसिलकिराको प्रकोप नियन्त्रण गर्न जङ्गलमा डढेलो लगाएका छन् । जसले गर्दा वन्यजन्तु, पक्षीको वासस्थानका साथै घरपालुवा जनावरलाई चरनको अभाव भएको छ । झुसिलकिराको प्रकोपले सो क्षेत्रका सयौँ हेक्टर जङ्गल सखाप पारेको छ । म्याग्दीका जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले झुसिलकिराको प्रकोपका बारेमा आफूलाई जानकारी नभएको र सम्बन्धित इलाका वन कार्यालयसँग बुझ्ने प्रतिक्रिया दिए ।

No comments:

Post a Comment