Sunday, March 20, 2016
भ्रष्टाचारमा लगाम लगाउन शून्य रुपैयाँको नोट: सर्पपनि मर्ने लौरो पनि नभाँचिने
हाम्रो समाज भ्रष्टाचारले ग्रस्त छ । अझ सरकारी कामकाजमा घुस लिनुदिनु पुस्तौनी रोगजस्तै बनेको छ ।
अड्डा अदालत, मालपोत जस्ता सरकारी कार्यालयमा सेवाग्राहीले कर्मचारीलाई गच्छे अनुसारको धेरथोर घुस नदिइकन काम नै बन्दैन भन्ने मान्यता स्थापित भैसकेको छ । कर्मचारीको हातमा सय । हजारका नोट नथमाइकन समयमा काम फत्ते हुनै गाह्रो पर्छ । हाम्रो देशमा मात्र होइन कर्मचारी तन्त्रमा घुस्याहा प्रवृत्तिको बिगबिगी छिमेकी देश भारतमा पनि उस्तै छ ।
सरकारी निकायमा बढिरहेको घुसखोरी र भ्रष्टाचारलाई रोक्नका लागि भारतमा अनौठो जुक्ति अपनाइएको छ । यसबाट सर्प पनि मर्नेछ अनि लौरो पनि भाँचिनेछैन ।
हो, यहीँ जुक्तिका साथ भारतमा शुन्य रुपैयाँको नोट प्रकाशित गरिएको छ । अमेरिकामा भौतिक शास्त्रको प्राध्यापक गरिरहेका भारतीय नागरिक प्राध्यापक सतिन्दर मोहन भगतले भारतका सरकारी अधिकारीहरुले आफुसँग घुस मागेपछि यस्तो जुक्ति निकालेका हुन् । सरकारी अधिकारीहरुले घुस मागेपछि आक्रोसित भएका भगतले त्यस्ता घुस्याहालाई सबक सिकाउनका लागि शुन्य रुपैयाँको नोटको अवधारणा ल्याएका हुन् ।
भ्रष्टाचार विरोधी संस्था फिफ्थ पिलरले घुस माग्ने सरकारी कर्मचारीलाई यहीँ शुन्य रुपैयाँको बिटो थमाउने अभियान चलाएको छ । यो उपाय निकै प्रभावकारी भएको र विस्तारै सर्वसाधारणले पनि घुस्याहा कर्मचारीलाई शून्य रुपैयाँ घुस दिन सुरु गरिसकेको संस्थाको भनाइ छ ।
यो शून्य रुपैयाँको नोट भारतीय केन्द्रीय बैंकले जारी गर्ने ५० रुपैयाँको नोट जस्तै देखिन्छ । ठ्याक्कै पचास भारु जस्तै देखिने नोट पाएपछि सुरुमा त घुस्याहा कर्मचारीले गोजीमा हालिहाल्छन् ।
तर जब गोजीबाट निकालेर हेर्नेछन् तब उनीहरुको सातोपुत्लो जानेछ । साँच्ची भ्रष्टाचारमाथि लगाम लगाउने यो निकै राम्रो उपाय होइन त ? अब हाम्रो देशमा पनि यस्तै गर्नुपर्यो । कि कसो ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment