Wednesday, June 10, 2015
यस्तो छ भूकम्प आउनु अघि नैं सूचना दिने यन्त्र
काठमाडौं, २५ जेठ (ओएनएस) : उच्च माध्यामिक शिक्षा परिषदका पूर्व सदस्य सचिव भीमलाल गुरुङलाई भूकम्पको कुनै डर छैन । कारण काठमाडौंको बुद्धनगरस्थित उनको निवासमा भूकम्प आउनु अगाडी नैं सचेत गराउने यन्त्र जडान गरिएको छ ।
जसले भूकम्प आउनु भन्दा १० सेकेण्ड अगाडी नैं संकेत दिन्छ । गएको बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि उनले उनले घरमा भूकम्प सूचक यन्त्र जोडेका हुन् ।
‘भूकम्प आउनु अघि नैं सूचना दिने यन्त्र बनिसकेको छ भन्ने त पहिले नैं थाहा थियो । तर ठक्कर नखाईकन नचेत्ने बानी परेका कारण मैंले पनि यहि जेठ १८ गते भूकम्प सूचक यन्त्र (क्वेक अलार्म) जोडेको हुँ ।’ गुरुङले भने ।
जिल्ला शिक्षा अधिकारी भएर देशका अधिकाँश भूभाग पुगेका गुरुङले विनाशकारी भूकम्पपछि मात्रै आफ्नो घरमा पूर्वसूचना दिने यन्त्र राख्नु पर्छ भन्ने सम्झिए । भूकम्पपछि जनजीवन सामान्य बन्दै गएपछि उनी पुगे यसको आधिकारिक डिलर इएसटीएस प्राइभेट लिमिटेड धोबिघाट ।
उनले आफूलाई मात्रै नभएर एकै पटक ७ वटा यन्त्र मगाए र साथीभाई तथा आफन्तकोमा जडान गरिदिए । तर यन्त्रले कस्तो आवाज निकाल्छ उनले सुन्न पाएका छैनन् ।
‘मोबाइल आकारको सानो यन्त्र घरको भित्तामा जोडेको छु । भूकम्प आएपछि यसले चराको जस्तै आवाज निकाल्छ भन्छन् ।’ गुरुङले भने, ‘५ रेक्टर स्केलभन्दा माथिको भूकम्प आउँदा मात्रै संकेत गर्छ भन्ने सुनेको हो । तर यो मेसिन जोडेपछि अहिलेसम्म नजिकै केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प आएको छैन ।’
क्वेक अलार्म अर्थक्वेक डिटेक्टर नाम दिइएको यो यन्त्रलाई नेपालमा ललितपुरको धोबिघाटमा रहेको इएसटीएस प्राइभेट लिमिटेडले बजारिकरण गरेको छ । एउटा यनत्रको मुल्य ४ हजार ५ सय रुपैंयाँ पर्ने व्यवस्थापक बिमल ढुङ्गेलले बताए । ४ हजार ५ सय रुपैंयाँमा यन्त्र उपलब्ध गराइए पनि जडान शुल्क तथा व्याट्रिका लाथि थप रकम लाग्ने व्यवस्थापक ढुङ्गेलको भनाइ छ ।
उनले भने, ‘बिगत एक दशकदेखि हामीले भूकम्प सूचक यन्त्रको बजारिकरण गरिरहेका छौं । कुटनीतिक नियोग, राजदुतसहित त्यसमा कार्यरत विदेशी कर्मचारीको निवास, गैर सरकारी संघ संस्थाको कार्यालय तथा सर्वसाधारणले समेत प्रयोग गरिरहेका छन् ।’ नेपालमा भूकम्प सम्बन्धी पूर्वसूचना दिने यन्त्रको बिक्री वितरण तथा प्रयोग भएको एक दशक नाघिसकेको छ ।
‘यस यन्त्रले युएसजएिसद्धारा मान्यता पाएको छ ।’ ढुङ्गेलले भने, ‘बैशाख १२ को भूकम्पपछि गैरसरकारी निकाय, व्यापारिक संस्थान तथा सर्वसाधारणबाट माग बढिरहेको छ । हामीले सोमबारसम्ममा झण्डै ७ सयवटा बिक्री भैसकेका छन् ।’
के हो भूकम्प सूचक यन्त्र ?
भूकम्प सूचक यन्त्र मोबाइल आकारको हुन्छ । यसलाई घरको भित्ता वा पिलरमा टाँसेर राखिन्छ । यसमा पेन्डुलम जडान गरिएको हुन्छ जसले भूकम्प आएको संकेत गर्छ । झ्याल ढोकामा भने राख्नु हुँदैन । किनभने झ्यालढोका खोलि रहनुपर्छ र हल्लिएपछि यस यन्त्रले संकेत गरिहाल्छ ।
यसलाई घरका साथै कार्यालय तथा विद्यालयका कक्षाकोठामा समेत प्रयोग गर्न सकिन्छ । तपाईले आफु सुत्ने कोठामा खाट वा बिस्तरा नजिकै यस यन्त्रलाई राख्न सक्नुहुन्छ ।
किनभने संकेत पाउने बित्तिकै आफू सुरक्षित स्थानमा जान र परिवारका अरु सदस्यलाई पनि जोगाउन समय पाइन्छ । यस यन्त्रलाई बालबालिकाले सजिलै भेट्ने ठाउँमा पनि राख्नु हुँदैन ।
यस यन्त्र सञ्चालनका लागि ९ भोल्ट क्षमताको व्याट्रि आवश्यक पर्छ । व्याट्रिलाई यन्त्रको माथिल्लो भागमा जडान गरिन्छ । हरेक महिना यसले कति ठूलो आवाज निकाल्छ परीक्षण गर्नुपर्छ । व्याट्रिको आयु अनुसार २/३ वर्षमा परिवर्तन गरिराख्नु पर्छ ।
४ रेक्टर स्केलभन्दा माथिको भूकम्पको मात्रै यसले संकेत गर्छ । ५० माइलभन्दा टाढा केन्द्रबिन्दु बनाएर आएको भूकम्पलाई यस यन्त्रले संकेत गर्दैन ।
भूकम्पमा २ प्रकारका तरङ्ग निस्कन्छन् । एउटा पी तरङ्ग जसले कम्पन उत्पन्न गराउँछ तर क्षति हुँदैन । अर्को एस तरङ्ग जुन खतरनाक हुन्छ र क्षति गराउँछ । यी दुई तरङ्ग केहि समयको फरकमा मात्रै आउँछन् । पहिलो तरङ्ग पी तरङ्गलाई पहिल्याएर एस तरङ्ग आउनु अघि पूर्वसूचना प्रदान गर्ने यन्त्र हो भूकम्प सूचक यन्त्र (क्वेक अलार्म) ।
यस यन्त्रले ५० माइल अर्थात झण्डै ८० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएमा झण्डै १० सेकेण्ड अगाडी संकेत गर्छ । त्यस्तै २५ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएमा झण्डै ५ सेकेण्ड अगाडी संकेत गर्छ । त्यस्तै यन्त्रको आसपासमैं केन्द्रबिन्दु बनाएर भूकम्प गएमा तत्काल संकेत गर्छ ।
भूकम्प आउँदा पहिले शरीरको कुनै एक अङ्गले अनुभुती गर्छ । त्यसले स्नायूप्रणाली मार्फत मस्तिष्कमा खबर गर्छ । मस्तिष्कले अनुभुती गरेपछि त्यसको प्रतिक्रिया शरीरका सबैजसो अङ्गहरुमा पुग्छ ।
तव मात्रै शरीरले प्रतिक्रिया जनाएर सुरक्षित स्थानमा जाने की, मेच टेबुल वा खाटमुनि लुक्ने हो । भूकम्प आएको थाहा पाउने बित्तिकै मस्तिष्कले सोच्न सक्दैन । तर पूर्वसूचना पाएपछि मस्तिष्कले कसरी सुरक्षित हुने भन्ने विषयमा सोच्न समय लाग्दैन र उ सुरक्षित हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment