
भैरहवा, जेष्ठ २४ - केही दिनदेखि बढेको गर्मी र तातो हावाका कारण रुपन्देहीलगायत तराईको जनजीवन प्रभावित भएको छ । शनिबार भैरहवाकाे तापक्रम यसवर्षकै बढी ४३.३ पुग्याे ।
शनिबार रुपन्देहीमा यस वर्षकै सबैभन्दा बढी तापमान मापन गरिएको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा रहेको मौसम शाखाका अनुसार विगत केही दिनयताको तापक्रम ४० डिग्री माथि रहेको छ ।
शाखाका प्रमुख राजेश झाका अनुसार शनिबारको तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस मापन भयो । एक साताअघि ४१ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
गत वर्ष जेठ ७ गते सबैभन्दा बढी भैरहवाको तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन गरेको थियो । यसभन्दा अघिल्ला वर्र्षमा २०५५ सालमा भैरहवामा सबैभन्दा बढी ४४ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यो वर्ष जेठ महिना सुरु भएसँगै भैरहवाको तापक्रम सरदर ४०-४१ डिग्रीको हाराहारीमा रहँदै आएको शाखाले जनाएको छ ।
गर्मी अत्यधिक बढेपछि बजारमा चहलपहल निकै घटेको छ । गर्मीका कारण अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । सहर तथा चोकमा दिउँसो चहलपहल घटेको छ । गर्मीले विशेष गरी मजदुरी गरी खाने वर्ग बढी समस्यामा परेको छ ।
बढ्दो गर्मीकै कारण विभिन्न रोगका सङ्क्रमण बढेपछि अस्पतालमा बिरामीको भीड लागेको छ । झाडापखाला, आउँ, ज्वरो, टाइफाइड तथा कमलपित्तका बिरामीको सङ्ख्या बढेको सरकारी तथा निजी अस्पतालले जनाएका छन् ।
दैनिक एक सयको हाराहारीमा बिरामी आउने जिल्ला भीम अस्पताल भैरहवामा अहिले डेढ सय बिरामी आउने गरेको अस्पतालको सूचना शाखाले जनाएको छ ।
बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि गर्मीका कारण बिरामीको चाप बढेपछि एउटै शय्यामा दुई-तीन जना राखेर उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । अस्पताल आउने बिरामीमध्ये आधाभन्दा धेरै बालबालिका तथा वृद्धवृद्धा रहेको अस्पतालका सूचना अधिकृत रेग्मीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment