Wednesday, June 10, 2015

सेनाले रुसबाट ल्यायो २ वटा एमआई-17 हेलिकोप्टर

२६ जेठ, काठमाडौं । नेपाली सेनाले रुसबाट खरिद गरेको २ वटा एमआई सेभेन्टिन हेलिकोप्टर मंगलबार काठमाडौं आइपुगेका छन् ।
०७० कार्तिक १४ गते मन्त्रिपरिषदको निर्णयले नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाको लागि २ वटा हेलिकप्टर खरिद गर्न अनुमति दिएको थियो । त्यसलगत्तै नेपाली सेनालाई आवश्यक उक्त प्रकृतिको हेलिकप्टर रुसमा मात्र उत्पादन हुने भएकाले नेपालस्थित रुसी राजदुतावास मार्फत खरिद प्रक्रिया अगाडि बढाइएको थियो । नेपाली सेनाले रुसको सरकारी स्वामित्वमा रहेको उक्त हेलिकप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एकमात्र कम्पनी ज्वाइन्ट स्टक कम्पनिसँग ०७० पुस ४ गते खरिद सम्झौता गरेको थियो । एमआई सेभेन्टिन हेलिकोप्टर विकट भौगोलिक अवस्था र प्रतिकूल मौसममा समेत उडान गर्न सक्ने तथा बढी भार वहन क्षमताका हुन्छन् । रुसबाट खरिद गरिएका यी दुई हेलिकप्टरले ०६३ सालदेखि अवरुद्ध महत्वपूर्ण सैनिक सामग्रीको आपूर्तिले निरन्तरता पाउने सेनाले जनाएको छ । साथै नेपाली सेनाको हवाई क्षमता अभिबृद्धि हुने र कुनै पनि प्राकृतिक विपदमा खोज, उद्धार तथा राहत पुर्‍याउने कार्यमा समेत प्रयोग गरी बढी जनधनको क्षतिबाट जोगाउन सकिने सेनाले विश्वास लिएको छ ।

No comments:

Post a Comment