Friday, June 5, 2015
भगवान बुद्धको मामाघरमा यस्ता मूल्यवान बस्तु भेटिए, जसको मूल्य नै छैन्
प्राचीन कोलिय गणराज्यको राजधानी तथा शान्तिका दूत गौतम बुद्धको मावली रामग्राम पण्डितपुरमा उत्खनन गर्दै आएको पुरातत्व विभागको टोली फर्केको छ ।
तीन साता लामो उत्खननको काम गरेर उनीहरु काठमाडौँ फर्किएका हुन् । पण्डितपुरलाई कोलिया गणराज्यको राजधानी घोषणा गर्नका लागि ९० प्रतिशत प्रमाणका रुपमा पुरातात्विक वस्तु फेला परिसकेको भन्दै टोलीले उत्खननको प्रतिवेदन सरकारमा पेस गर्ने जनाएको छ ।
उनीहरुले एक हप्ताअघि उत्खनन गरी प्राप्त पुरातात्विक सामग्री सार्वजनिक गरेको थियो । चार वर्षदेखि उत्खनन गर्दै आएको पुरातत्व विभागले अहिले थप खोज अनुसन्धानका लागि उत्खनन गरेर प्राप्त प्रमाण र वस्तु देखाउन सङ्ग्रहालय बनाउन सुझाव दिएका छन् । २०५६ सालमा अनुमान गरिएको पुरातात्विक क्षेत्र चौथो पटकको उत्खननले कोलिय गणराज्यको राजधानी प्रमाणित गरेको छ ।
नवलपरासीको बन्जरिया–१ पण्डितपुरमा रहेको तत्कालीन राजा रामले बसालेको अन्तोनगर र बाह्य नगरको क्षेत्र पत्ता लगाउन र प्राचीन वस्तुको खोज गर्ने उद्देश्यले विभागले निरन्तर उत्खनन गर्दै आएको छ । गत वर्ष पुरातत्वविद डा तारानन्द मिश्र र भाष्कर ज्ञवालीसहितको उत्खनन टोलीले इसापूर्व ७०० वर्ष पुराना पोष्टहोल, मौर्यकालीन इनार, इट, ग्रेवर, मडवाल, रिगंवेललगायतका सामग्री फेला परेपछि उत्खनन टोलीले बुद्धको मावली र कोलिय गणराज्यको राजधानी पण्डितपुर भएको धेरै प्रमाण फेला परेको जानकारी गराएको थियो ।
थप आधार खोज्न र अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाइ पुष्टिका लागि पुनःउत्खनन सुरु गरिएको टोली प्रमुख ज्ञवालीले बताउनुभयो । “चौथो पटकको उत्खननले धेरै प्रमाण फेला परेको छ”, उहाँले भन्नुभयो, “बुद्धकला भन्दा दुई सय पुरानो, बुद्धकालीन, मौर्यकालीन, कुषाणकालीन, वस्तु फेला परेका छन् ।” उत्खननको दुई दिनमा टिसी, डिस, माटाका भाडा, लोरो, इङ्कपट, माटोको कचौरा, पानी राख्ने भाँडो, माटोको ठूलो भाडो, माटोकै कराही फेला परेका छन् ।
उत्खननमा ज्ञवालीसहित फोटोग्राफर राजकुमार बञ्जारा, प्राविधिक अनिल शाक्य र विगत आठ वर्षदेखि रामग्राम स्तुपलगायतका क्षेत्रमा उत्खनन कार्यमा सक्रिय रहेका स्थानीय नारद यादवसहितको टोलीले रामग्रामको बाह्य नगरमा उत्खनन गरिरहेको छ ।
साठी बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण गर्नुपर्ने ज्ञवालीले जनाउनुभयो । “स्थानीयले समेत पुरातात्विक क्षेत्रको संरक्षण र प्रचारप्रसारमा जोड दिनुपर्छ”, ज्ञवालीले भन्नुभयो ।
सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्नुपर्ने र कतिपय पुरातात्विक क्षेत्रको पुर्जा वितरण भइसकेको हुँदा नापजाँच गरी अधिग्रहणसमेत गर्न आवश्यक देखिएको क्षेत्र नं ४ का सभासद् बैजनाथ चौधरीले बताउनुभयो ।
प्राचीन शाक्य गणराज्यको सीमा उत्तरमा चुरे पर्वत, पश्चिम–दक्षिण राप्ती नदी, पूर्व रोहिणी नदीसम्म थियो । त्यसैगरी कोलिय गणराज्यको सीमा पनि उत्तरमा चुरे पर्वत, पूर्व गण्डक नदी, पश्चिम रोहिणी नदी र दक्षिणमा पिपलीवन शराबस्तीको सीमासम्म फैलिएको थियो ।
पछि मगध समराज्यभित्र तत्कालीन मगध समराज्यका सम्राट चन्द्रगुप्त मौर्यको अधिनस्त भएको थियो । मौर्य बंशकै राजा चक्रवर्ती अशोक सम्राटले भ्रमणका क्रममा बुद्धको जन्मस्थल लुम्बिनीमा अशोक स्तम्भको स्थापना र कोलिय राजाले बनाएको रामग्राम स्तुपमा भिक्षुका लागि विहारसमेत निर्माण गरेका थिए । कोलिय गणराज्यको राजधानी पण्डितपुरमा रहेको छ भने रामग्रामले बुद्धको अस्तु(खरानी) राखेको स्थान रामग्राम स्तुपमा रहेको छ । हाल रामग्राम नगरपालिका–७ उजैनी र देउरवामा अवस्थित छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment