Tuesday, June 2, 2015
राहत वितरणमा अर्थमन्त्री एक्लैको रजाईं
काठमाडौं । भूकम्पका कारण देश महाविपत्तिमा परेका बेला अर्थमन्त्री रामशरण महतले राहत वितरणमा एक्लै हालिमुहाली गरिरहेका छन् । मन्त्री महातलाई मनलाग्दी ढंगमा राहत रकम निकासा गरेको र राहतमा अनुदार भएको जनआरोप छ । घटनाक्रम र तथ्यले उनले राहतमा राईदाई गरेको कुरालाई थप प्रष्ट्याउँछ ।
राहत रकम निकासा गर्दा भूकम्पका कारण सबैभन्दा धेरै जनधनको क्षतीको भएको जिल्ला सिन्धुपाल्चोकलाई भन्दा आफ्नो गृहजिल्ला नुवाकोटलाई मन्त्री महतले प्राथमिकतामा राखेका छन् ।
गृहमन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार राहत रकमका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषले गृहमन्त्रालयलाई करिब ८ अर्ब रुपैयाँ दिएको थियो । त्यसमध्ये ७ अर्ब ८५ कारोड रुपैयाँ भूकम्प प्रभावित ५४ जिल्लामा निकासा भइसकेको छ । र, सोमबार राहतका लागि गृहले कोषसँग थप पाँच करोड मागेको छ ।
गृहमन्त्रालयबाट निकासा भएको रकम सबैभन्दा धेरै अर्थमन्त्री महतको गृहजिल्ला नुवाकोट पुगेको छ । भूकम्पका कारण भएको क्षतीका हिसाबमा नुवाकोट तेस्रो नम्बरमा पर्दछ । जहाँ अहिलेसम्म ५४ करोडभन्दा बढी रुपैयाँ निकासा भइसकेको छ भने भूकम्पले सबैभन्दा धेरै क्षती गरेको सिन्धुपाल्चोकमा भने अहिलेसम्म करिब ५४ करोड रुपैयाँ मात्रै निकासा तथ्याङ्क छ । भूकम्पका कारण दोस्रो नम्बरमा धेरै मानिसको मृत्यु भएको जिल्ला काठमाडौंका लागि भने अहिलेसम्म करिब ३१ करोड मात्रै निकास भएको छ ।
त्यस्तै, धादिङका लागि सरकारले ३६ करोड ९७ लाख, रसुवाका लागि २ किस्ता गरी २३ करोड ८ लाख, गोरखाका लागि २८ करोड ७० लाख, भक्तपुरका लागि १४ करोड ६७ लाख, काभ्रेपलाञ्चोकका लागि ३२ करोड ८७ लाख, ललितपुरका लागि ११ करोड ११ लाख र दोलखाका लागि ३५ करोड रुपैयाँ निकासा भई खर्चसमेत भइसकेको छ ।
यसरी भूकम्पका कारण प्रभावित विभिन्न ५४ वटा जिल्लामा प्रधानमन्त्री वैदीप्रकोप उद्दार तथा राहत कोषमा संकलित रकम पठाइएको छ । र, रकम निकासा गर्दा पहूँचवालाकै हाबी भएको देखिएको छ । मुलतः अर्थमन्त्री महतको दबाबमा उनको गृहजिल्ला नुवाकोटमा सबैभन्दा धेरै रकम निकास भएको छ ।
आफ्नो गृहजिल्लामा सबैभन्दा धेरै रकम निकासा गर्ने मात्रै होइन, मन्त्री महतलाई राहतमा अनुदार भएको आरोप पनि लागिरहेको छ । अश्थाई वसोवासका लागि भूकम्पपीडित नागरिकलाई कति रकम दिने भन्ने विषयमा पनि अर्थमन्त्री महत कठोर ढंगमा प्रस्तुत भएका थिए । सात्ताघटक दलका मन्त्रीहरु र नेपाली कांग्रेसकैतर्फबाट मन्त्री भएकाहरुले नागरिकलाई १५ हजारभन्दा बढी रकम दिन आवश्यक रहेको प्रस्ताव राख्दा मन्त्री महतले मानेका थिएनन् ।
यससँगै भूकम्पकाकारण घरबारबिहीन भएका नागरिकलाई अश्थाई पुनर्वासका लागि जस्तापाता दिने कि रकम भन्ने पनि निकै विवाद भएको थियो । विवादकैबीच अन्नतः १५ हजार रुपैयाँ दिने निर्णय भए पनि अझैसम्म नागरिकसम्म उक्त रकम पुग्न सकेको छैन ।
यससँगै, नुवाकोटमा राहतका लागि लगिएको जस्तापाता बिकृ गर्ने प्रयास भएको भनिएको घटनाले पनि अर्थमन्त्री महतलाई बदनाम गराएको छ । इन्भेष्टमेन्ट बैंकले नुवाकोटको कविलासको एक विद्यालयका लागि लगेको जस्तातापाता केही थान मात्रै बाँडेर बाँकी जस्ता काठमाडौं फिर्ता ल्याउँदै गर्दा त्यहाँका स्थानीयले जस्ता बोकको गाडीलाई नियन्त्रणमा लिएका थिए । उक्त गाडीमा नेपाली कांग्रेस नुवाकोटका सचिव एवम् अर्थमन्त्री महतका स्वकीय सचिव रमेश महतका बुबाले जस्तापाता लोड गरेको सवारी चालक राजिक भण्डारीले वताएका छन् ।
स्थानीय अगुवाहरुले राहतका लागि आएको जस्तापाता बिक्रि गर्न लागेको भन्दै अर्थमन्त्री महतलगायत नेपाली कांग्रेसविरुद्ध नाराबाजी गरेका थिए ।
अर्थमन्त्री महतका स्वकीय सचिव समेत रहेका रमेशले विवादमा मुछिएपछि काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नकर्तामाथि नै हातपात गरेका थिए ।
यसरी जस्तापाता विवाद चुलिएपछि महतले सोमबार पत्रकार सम्मेलन गरी आफूमाथि लागेको आरोप निराधार भएको र छानविन गर्न सहज होस् भन्दै अर्थमन्त्रीको स्वकीय सचिवबाट राजिनामा घोषणा गरेका छन् ।
देशमा महाविपत्ति परेका बेला सरकारका मन्त्रीहरु नै आफन्त र आफ्नो ठाउँमा मात्रै केन्द्रित हुनु दुर्भाग्यपूर्ण कुरा हो । यी सबै घटनाक्रम र तथ्यले हाम्रा राजनीतिक दलका नेता र सरकारका मन्त्रीहरु आमनागरिकप्रति कति जिम्मेवार रहेछन् भन्ने कुरालाई प्रष्ट पार्दछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment