Tuesday, June 9, 2015

भूकम्पबाट उदयपुरका १२ हजार घरमा क्षति

२७ जेठ, उदयपुर ।जिल्ला प्रशासन कार्यालय उदयपुरले भूकम्पले पुर्‍याएको क्षतिको अन्तिम विवरण सार्वजनिक गरेको छ । जिल्लाका ४० गाविस र तीन वटा नगरपालिकामा भूकम्पबाट १२ हजार एक सय ४० घरमा क्षति पुर्‍याएको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिए । ती घरमध्ये ९५ घर र ५५ विद्यालय तथा सरकारी कार्यालय पूर्णरुपमा क्षति भएका छन् । यस्तै, चार सय ९८ घर तथा सरकारी कार्यालयमा मध्यम क्षति र अन्यमा आंशिक क्षति पुगेको प्रजिअ घिमिरेले बताए । यस्तै, भूकम्पबाट यस जिल्लामा एक जनाको मृत्यु भयो भने अन्य ४० जना घाइते भए । अहिलेसम्म जिल्लाभर झन्डै २७ लाख नगद राहतस्वरुप वितरण गरिएको छ । जिल्लामा भूकम्पबाट पूर्ण पीडित बनेकामध्ये एक सय चार घर परिवारलाई पूर्ण राहत र दुर्इ सय ५४ घरपरिवारलाई आंशिक राहत वितरण गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै, राहतस्वरुप एक सय ८७ बोरा चामल,दुर्इ सय ७६ वटा त्रिपाल एक सय ८६ वटा कम्बललगायत च्युरा, भुजिया, तेल तथा चाउचाउ वितरण भएको छ । भूकम्पबाट पूर्ण पीडित बनेकालाई पाँच हजार नगद र त्रिपाल तथा चामललगायतका सामग्री वितरण गरिएको थियो भने मध्यम क्षति भएकालाई तीन हजार नगद र त्रिपाल वितरण गरिएको थियो । जिल्लामा राहत वितरण कार्य सम्पन्न भएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment