Sunday, June 7, 2015

मनकामना केबलकार पुनःसञ्चालन

चितवन-गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भए पनि आजदेखि सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताए। मनकामना केबलकार बन्द भएपछि स्थानीयवासी पनि प्रभावित भएका थिए। भूकम्पको धक्का कम हुँदै गएपछि केबलकार गत वैशाख २७ गतेदेखि सञ्चालनमा ल्याइए पनि वैशाख २९ गते पुनः परकम्पको ठूलो धक्का आएपछि बन्द भएको थियो। झन्डै डेढ महिनादेखि बन्द केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न नपाइए पनि बाहिरबाट दर्शनका लागि भक्तजन केबलकारमा भीड लागेका छन्। भूकम्पले मन्दिर एक फि दक्षिण पश्चिम कोल्टिएपछि खट बाँध्न नमिल्दा मचान बनाएर खट बाँध्ने काम अन्तिम चरणमा पुगेको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए। मन्दिर भत्काउनका लागि करिब एक महिना लाग्ने बताइएको छ। सोमबार गजुर पूजा गरेर गजुर निकाली मन्दिर भत्काउने कार्य सुरु गरिने पुजारी इन्सान थापा मगरले जानकारी दिए। मन्दिर भत्काएपछि भित्र टिनले बारेर देवीको पूजा गरिने बताइएको छ। मनकामना दर्शन प्रालि, स्थानीय व्यवसायीलगायतले भने बाहिर पूजा गर्न पुजारीसँग आग्रह गर्दै आएका छन्। रासस

No comments:

Post a Comment