Sunday, June 7, 2015

विपत्तिका बेला किन विदेशिँदै छन् युवा ?

काठमाडौं । देश महाविपत्तिमा छट्पटाईराहेका बेला ‘मुलुक समृद्धिका संवाहक’ युवाहरु भने स्वदेशमा संभावना नदेखेर रोजगारीका लागि विदेश गइरहेका छन् । जबकी, भूकम्पका कारण क्षतीग्रस्त यहाँका भौतिक संरचना पुनर्निमाण र नवनिर्माणका लागि स्वदेशमै जनशक्तिको व्यापक खाँचो छ । तर पनि देश र देशको नेतृत्वप्रति युवाजगत निराश छ । किनकि, युवाशक्तिलाई स्वदेशमै परिचालन गर्ने ठोस नीति नै छैन, राज्यसँग । उल्टो– युवालाई रोजगारीका लागि विदेश खेद्न सकृय छ, र प्राप्त रेमिटेन्समा नै मख्ख छ, सरकार । यो देशमा सबैभन्दा ठूलो समूह युवाकै छ । उनीहरुसँग सीप छ, काम गर्न सक्ने क्षमता र योग्यता पनि छ । तर, स्वदेशमा काम गर्ने वातावरण नै नभएको देखेपछि उनीहरुले विकल्पका रुपमा विदेशलाई रोजेका छन् । विश्वका धेरै वटा देशमा नेपाली युवाले पसिना पोखेका छन्, र ती देशहरुलाई सुन्दर र समृद्ध बनाएका छन् । तर, उनीहरु आफ्नै देशमा कुनै संभावना देख्दैनन् । अहिले मुलुक भूकम्पकाकारण जटिल अवस्थामा गुज्रिरहेका बेलामा त झनै देशका लागि युवाशक्तिको खाँचो छ । तर पनि युवालाई स्वदेशमै राख्ने कुनै पनि नीति छैन, सरकारसँग । युवामन्त्री पुरुषोत्तम पौडेलन नै भन्छन्, यस्तो अवस्थामा जसरी युवाहरु रोजगारीका लागि विदेश गइरहेका छन्, यो निकै दुखद दृश्य हो । उनीहरुलाई स्वदेशमै राख्न हामीले केही गर्न सकेनौं । विपद्का बेला युवालाई स्वदेशमै राख्न आफूहरुले युवापरिचालन कार्यविधि बनाए पनि मन्त्रिपरिषद्बाट पास हुन अल्याङटल्याङ भएकाले अप्ठेरो परेको वताउँछन्, युवामन्त्रि पौडेल । युवालाई महाविपत्तिका बेला स्वयमसेवकका रुपमा परिचालन गर्ने भनेर युवा मन्त्रालयले भनेपनि त्यो खासै प्रभावकारी हुन नसकेको सत्यलाई युवा मन्त्री पौडेल स्विकार गर्छन् । युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न आफूहरु लागि परिरहेको भन्दै अहिले देशमा पुनर्निमाण र नव निर्माण गर्ने बेला आएकाले कुनै पनि युवालाई निराश भएर विदेश पलायन नहुन आग्रह गर्छन्, मन्त्री पौडेल । भूकम्पअघि दैनिक १५ सयभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेश जाने गरेकामा अहिले दैनिक करिब १ हजारको दरमा गइरहेका छन् । र, रोजगारीका लागि विदेश जाने युवाको संख्या बढ्दो क्रममा छ । कतिपय देशले अहिले नेपाली युवालाई निशुल्क उनीहरुको देशमा आउँन आग्रह गरिरहेका छन् । नेपाली युवाहरु पनि यसप्रति आकर्षित छन् । स्देशमै युवाको बढी खाँचो भएका बेला विभिन्न देशले निशुल्क विदेश लैजाने कुरालाई सकारात्मक र नकारात्मक दुवै नजरबाट हेर्नु पर्ने वताउँछन्, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता, बुद्धिबहादुर खड्का । अहिले देश भूकम्काकारण महाविपत्तिमा छ । भूकम्पले भत्काएका धेरै भौतिक संरचनाहरुको पुनर्निर्माण गर्नु छ । जसका लागि स्वदेशमै युवाशक्तिको खाँचो छ । मुलुक समृद्धिका संवाहक युवालाई विदेश पठाएर होइन, स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नेतर्फ राज्यको ध्यान आकर्षण हुनु पर्दछ । तब मात्रै, बन्नेछ भूकम्पपछिको नयाँ नेपाल, सुन्दर नेपाल, समृद्ध नेपाल ।

No comments:

Post a Comment