Tuesday, November 8, 2016

भारतमा प्रधानमन्त्री मोदीले किन अप्रत्याशित रुपमा लगाए पाँच सय र हजारका पुराना नोटमा प्रतिबन्ध ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति देखि एक हजार र पाँचसय दरका पुराना भारतीय नोट नचल्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा बिशेष सम्बोधन गर्दै पुराना हजार र पाँच सयका नोट बैंक वा हुलाक कार्यालयहरुमा जम्मा गर्न सकिने र डिसेम्बर ३० सम्ममा नोटहरु साटिसक्नु पर्ने बताएका छन् । प्रधानमन्त्री मोदीले नोट जम्मा गरेपछि हरेक दिन १० हजार र हरेक साता २० हजार रुपैया निकाल्न सकिने घोषणा पनि गरेका छन् । मोदीले नौ र १० नोभेम्बरमा केही एटीएम मसिनले काम नगर्नसक्ने र नौ नाभेम्बरमा बैंक पनि बन्द रहने घोषणा गरेका छन् । ११ नोभेम्बरसम्मका लागि सरकारले बिशेष ब्यवस्था गरेको पनि उनले उल्लेख गरेका छन् । सर्बसाधारणलाई औषधी पसलमा हजार वा पाँचसय रुपैयाँको नोट दिएर रसिद काटी औषधी किन्ने सुबिधा रहने र रेल्वे सेवामा पनि यही गर्न सकिने बताएका छन् । आउने दिनमा दुई हजार रुपैयाँ र पाँच सयको नयाँ नोट प्रचलनमा ल्याईने मोदीले बताएका छन् । सरकारले देशमा कालो धन नियन्त्रण गर्न यस्तो कदम उठाएको हो । यसबाट उत्पन्न हुनसक्ने समस्या र सर्बसाधारणलाई पर्ने असुबिधाप्रति संकेत गर्दै सरकारले जनताले देशका लागि केही कष्ट सामना गर्न पनि तयार हुने आशा गरेको छ । मोदी प्रधानमन्त्रीमा आउनु अघि कालो धन नियन्त्रण गर्ने मुद्धालाई जोडतोडका साथ उठाएका थिए । आफ्नो पुरानो प्रतिबद्धता पुरा गर्न उनले यो कदम उठाएको मानिएको छ । भारतीय सरकारको यस अप्रत्याशित कदमको कस्तो प्रभाव पर्छ भन्ने बारेमा संचार माध्यमहरुले फरक फरक आँकलन गरेका छन् । नेपालमा पनि भारतीय मुद्राको ठूलो कारोबार हुँदै आएकाले मोदी सरकारको नयाँ नीतिको प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्ने आँकलन गरिएको छ ।

No comments:

Post a Comment