Friday, November 4, 2016
प्रणव मुखर्जी नेपालमै भएका बेला भारतीय दूतावास घेराउ! विप्लव माओवादीका ८ जना पक्राउ
काठमाडौं, १९ कात्तिक । भारतीय राष्ट्रपति नेपाल भ्रमणमा रहेका बेला भारतीय राजदूतावास घेराउको प्रयास भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले शुक्रबार मध्यान्ह राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकाबाट जुलुससहित लैनचौरस्थित भारतीय दूतावास घेराउनको प्रयास गरेको हो ।
शान्तिवाटिकाबाट जुलुस अगाडि बढ्दा बीचमै प्रहरीले हस्तक्षेप गरेको छ । जुलुसबाट केन्द्रीय नेतासहितका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विप्लव माओवादीका उपत्यका इन्चार्ज सन्तोष बुढामगरले जानकारी दिए । ‘केन्द्रीय सदस्य अनिल शर्मा समेत ८ जनालाई प्रहरीले भ्यानमा हालेर लगेको छ,’ उनले भने ।
उनका अनुसार भारतको जम्मु कश्मिरमा मारिएका भारतीय सेनाका कार्यरत नेपाली नागरिक विमल तामाङको विषयमा भारतीय राजदूतावास घेराउ गर्दै विप्लव माओवादीले ज्ञापन बुझाउने कार्यक्रम थियो ।
गत कात्तिक १५ गतेका दिन जम्मुकश्मिरको राजौरी—बालकोट—मेंढर नजिकको लाइन अफ कन्ट्रोलमा भारतीय सेनामा कार्यरत नेपालका विमल तामाङको भारत पाकिस्तानबीचको फायरिङका क्रममा मृत्यु भएको थियो ।
विदेशी भूमिमा भारतीय विस्तारवादको सुरक्षा गर्ने क्रममा भएको विमलको मृत्युले सबै स्वाभीमानी नेपालीलाई दुःखित तुल्याएको भन्दै विप्लव माओवादीले विरोधमा ज्ञापनपत्र बुझाउन लागेको थियो ।
प्रहरीले घेराउ कार्यक्रम विथालेपछि शान्तिवाटिकाबाट नाराबाजी गर्दै विप्लव माओवादी नेता कार्यकर्ता इन्द्रचोकतर्फ गएका थिए । इन्द्रचोक हुँदै नाराबाजीसहित क्षेत्रपाटी पुगेर कोणसभा गरिएको उपत्यका इन्चार्ज बुढामगरले बताए ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालमै भएका बेला भारतीय राजदूत घेराउ तथा दूतावास परिसरमा प्रदर्शन हुँदा नराम्रो सन्देश जानसक्ने भन्दै सरकारले प्रहरी लगाएर राजदूतावास पुग्नुअगावै विप्लव माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिइएको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment