Tuesday, March 14, 2017

मृगौलाको पत्थरीबाट कसरी बच्ने ? डाक्टर कार्कीका टिप्स

– डा. कुशल कार्की अपरेशन गरेपछि होस या ओ.पि.डी.बाट फर्केपछि, बिरामीले एउटा प्रश्नअवश्य सोधेका हुन्छन्, डाक्टर साब मैले के खानु हुन्छ, के खानु हुन्न ? यसै प्रश्नसँग जोडिएको छ कुनै पनि रोगबाट बच्न सकिने या फेरि त्यो रोग लाग्नबाट बच्ने उपायहरु्र । मृगौलाको पत्थरीको नराम्रो पक्ष के छ भने, मृगौलाबाट सबै पत्थरी निकाले पनि अर्को १० वर्षमा ५० प्रतिशत मानिसलाई फेरि यो पनि पत्थरी हुन सक्छ । के हामी साँच्चै नै यस बिरामीबाट बच्न गम्भीर छौं त ? सिद्धान्ततया भन्ने हो भनेः रोगको उपचार गर्नु भन्दा, रोग लाग्ननदिनु नै बेस हो । तर बिरामीलाई यो रोग हुन नदिन बिरामी तथा चिकित्सक दुबै जिम्मेवार हुन्छन् । अहिले के छ स्थिति ? चिकित्सकको हकमाः – चिकित्सकको मुख्यध्यान बिरामीको शल्यकृया र कसरी बिरामीलाई सकुशल घर पठाउन सकिन्छ भन्नेमा जान्छ । – कतिपय चिकित्सकले यस पाटोलाई खासै प्राथमिकता नदिएको जस्तो लाग्छ । बिरामीको हकमाः – धेरै बिरामीलाई त पत्थरी निकाली सके पछि पनि फेरी पत्थरी हुन्छ भन्ने ज्ञान हुदैन । – कति बिरामीले सही सल्लाह पाउदैनन् । – सल्लाह पाएपनि धेरैले यसलाई खासै महत्व दिदैनन् । – अरु थपखर्च गर्न त्यतिको उत्साहीत हुन्न् । खास गर्नुपर्ने चै के हो ? – मृगौला या मुत्रनलीबाट कुनै पनिढुङ्गा निकाले पछि त्यसको बैज्ञानिक परिक्षण गर्नुपर्छ । बैज्ञानिक परिक्षणका ३ तरिका छन् जसमध्ये [chemical analysis – wet chemistry] विधिजसको खासै महत्व छैन) जुन नेपालमा हुन्छ । बिरामीको मृगौंलाबाट पत्थर निकालेपछि २४ घण्टाको पिसाब जम्मा पारेर त्यसको परिक्षण गर्नुपर्छ । कम्तीमा २ चोटी । त्यसपछि मात्र के खानु हुन्छ र के खानु हुन्नभन्ने सबालको जवाफ दिन सकिन्छ । साच्चै नै भन्नुपर्दा यी कामहरु झन्झटिलो र खर्चिलो पनि छन् । त्यसैले यी काम गर्न न त बिरामीहरुसँग धैर्य र पैसा नै बाँकी हुन्छ अनि चिकित्सकसंग आवश्यक समय नै । खानेकुरा र पत्थरीको सम्बन्ध माथि भनिएको जाँचहरु पछि ढुङ्गाको जात र ढुङ्गा बन्ने कारण पत्ता लगाएपछि मात्र यस सम्बन्धी जानकारी दिन सकिन्छ । हाम्रो क्षेत्रमा पाईने पत्थरहरुमा – Oxalate stone (ओक्जालेट पत्थरी) – Struvite stone (इस्त्रुभाइत पत्थरी) – Uric acid stone (युरिक एसिड पत्थरी) १) Oxalate stone (ओक्जालेट पत्थरी) धेरै जस्तो बिरामीहरुलाई हुने पत्थर हो यो । ओक्जालेट हुने खानेकुरामा रातो मासु, बदाम, चकलेट, रुबर्ब, चुकदर, गेडागुडी, पालकआदीमा हुन्छ । तर यी खानेकुराहरु खानै नहुने भन्ने हैन । यी खानेकुराहरु कम खानुपर्छ र यी खानेकुरा खादा क्यालसियम भएको खानेकुरा सँग खानुपर्छ जसले गर्दा मृगौलामयी तत्वहरुको मात्रा कम हुन्छ । कुनै कारणले Vitamin C को सेवन गरेको छ भने यसलाई रोकेको बेश हुन्छ । २) Struvite stone (इस्त्रुभाइत पत्थरी) यो ढुंगा विशेषगरी महिलाहरुमा हुने गर्छ । पिसाबको संक्रमणसंग यसको सम्वन्ध हुन्छ । एचयतभगक जातको किरले हुने पिसाबको संक्रमण पटक–पटक हुँदा यस्तो किसिमको ढुंगा हुनसक्छ । यस्तो ढुंगा फेरीफेरी हुन सक्छ । त्यसैले उपचार गर्दा यो ढुंगा पुरै निकाल्नुपर्छ र पिसाबको संक्रमण हुनबाट बच्नुपर्छ । ३) Uric acid stone (युरिक एसिड पत्थरी) यस्तो जातको पत्थर भएमा शरीरमा युरिक एसिड बढाउने खालका खाना कम हुनुपर्छ । यी खानेकुरामा रातोमासु (रागाको, खसीको, बुङगुर, सुङगुर आदी) पर्दछन् । यस्तै गेडागुडी मदिरा, गुलियो र चिल्लोका मात्रापनि कम गर्नुपर्छ । कहिलेकाँही uric acid कम गर्ने औषधि पनि खानुपर्छ, चिकित्सकको सल्लाह अनुसार । पिसाबको Acidity (अम्लीय)को महत्वः कुनै पत्थरहरु Acidic बातावरणमा बन्दछन् जस्तै (Oxalate, Uric Acid system आदी) र कुनै चाहि Akaline क्षारीय वातावरणमा बन्दछन । त्यसैले ढुङ्गाको जात पत्तालगाई खानपिनमा परिवर्तन गर्नु पर्छ । जस्तै Acidic वातावरणमा बन्ने ढुङ्गा भएमा पिसाब alkaline बनाउने खानेकुरा या औषधी खानुपर्छ तर क्षारियमा बन्ने ढुंगाभएमा अम्लीय बनाउनुपर्छ । खासमा बिरामीहरु ले कति पानी खानुपर्छ ? सबै चिकित्सकहरुले पत्थरी भएका बिरामीले धेरै पानी खाने सल्लाह दिन्छन् तर धेरै जस्तो बिरामीलाई पानी कति खानुपर्छ भन्ने ज्ञान हुन्न । त्यसैले कति पानी चाही ‘धेरै पानी’ हो त ? पानी कति खाने भन्ने कुरा बिरामी बस्ने वातावरण, उसको पेशा अनि दैनिक क्रियाकलापमा भर पर्छ । गर्मी ठाउँमा काम गर्ने किसान अनि Air Condition वातानुकूलनेमा बसेर काम गर्ने अधिकारीले खानुपर्ने पानीको मात्रा एउटै हुँदैन । सामान्यतया गर्मी मौसममा ३–४ लीटर अनी जाडोमा २–३ लिटर पानी (झोल पदार्थ) पिउनुपर्छ । यसलाई नाप्ने अर्को उपाय भनेको पिसाब हो । बिरामीले पिसाब पानी जस्तो संग्लो अनि गन्दरहित नआएसम्म पानी खानुपर्छ । अनि धेरै पानी पिउदैमा धेरै राम्रो हुन्छ भन्ने पनि छैन । कसै कसैलाई ८–१० लिटर पानी पिउने गरेको पाइन्छ जुन आवश्यक छैन । अत्याधिक कसरत, व्ययाम अथवा खेलकुदको बेला निस्किने पसिनाले गर्दा पिसाब कम आउने अनि बाक्लो पिसाब बन्छ । यस्तो बेलामा ढुङ्गा हुने सम्भावना बन्छ । त्यसैले व्ययाम गर्ने बेला प्रशस्त पानी खानुपर्छ । खानेकुराहरु कसरी बार्ने र किन ? सामान्यतया चिकित्सकहरुले सबै ढुंगाको बारेमा बिरामीहरुलाई एकैनासे सल्लाह दिने गर्छन तर यो सही तरिका हैन । कस्ता बिरामीले नुन कम खाने ? बिरामीहरुमा देखिने विभिन्न ढुङ्गाहरुमा calcium पनि मिसिएर आएको हुन्छ । यस्ता बिरामीहरु नुन धेरै खाएमा calcium को मात्रा मृगौलामा बढी देखिन्छ । त्यसैले यी ढुङ्गाहरु दोहोरिएर देखा पर्ने या यसको आकार बड्ने हुन्छ । सही मात्रामा calcium जन्य खानेकुरा खानुपर्छ । यसले ढुंगा बढ्नुको साटो यसबाट बच्न मद्दत गर्छ्र त्यसैले ढुंगा भएका बिरामीले दुध खान छाड्नु पर्दैन सही मात्रामा calcium जन्य खानेकुरा खानु पर्छ । त्यसैले ढुंगा बढ्नुको साटो यसबाट बच्न मद्दत गर्छ । त्यसैले ढुंगा भएका बिरामीले दुध खान छाड्नु पर्दैन् । Citrus fruit– कागतीपानीको फाइदा के छ त ? यस्ता फलफुलमा Citrate (सिट्रेट) नामको तत्व हुन्छ जसले मृगौला ढुुङ्गा बन्ने प्रक्रियालाई रोक्छ । त्यसैले एकपल्ट पत्थरी भइसकेको बिरामीले फेरी पत्थर बन्न नसकोस भन्नलाई यी फलहरु खानु अत्यन्त जरुरी हुन्छ । कागती सुन्तला, जुनार, भोगटे आदि फलफूलहरु ढुंगाहुने बिरामीले खानुपर्छ । क्याल्सियम भएको खाना नखाने या कम गर्नु हुन्न् धेरै जातका पत्थरीहरुमा क्यालसियम हुन्छ त्यसकारण चिकित्सक या बिरामीले क्यालसियम भएका खानेकुरा नखाने गर्दछन् । वास्तवमा क्याल्सियम अरु ढुङ्गा बन्ने तत्वसँग मिलेर ढुङ्गा बन्ने प्रकृया रोक्छ । त्यस कारण क्याल्सियम भएका खानेकुरा खानुपर्छ । मधुमेह अत्याधिक मोटोपन, कोलेस्टोरलका बिरामी सतर्क हुनुपर्छः पश्चिमा मुलुकहरुको जीवनशैली र खानपानको अनुशरण गर्नाले हाम्रो समाजमा पनि यस्ता रोगहरु बढिरहेका छन् । यी बिरामीहरुले अरु खराबी त गर्छन नै, यसको साथसाथै मृगौलाको पथ्थरी हुने सम्भावना पनि बढिरहेको हुन्छ । त्यसैले मोटोपनलाई सही ठाउमा राख्ने अनि स्वस्थ खानपिन अपनाउनु अत्यन्त जरुरी छ । खानेकुरा बाहेक अरु के के कुरामा ध्यान दिने ? बिरामीलाई एकपल्ट मृगौलाको पत्थरी भएपछी उसलाई जिन्दगीभरी यो रोग बल्झने सम्भावना हुन्छ । त्यसैले उसले सधै आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ । दैनिक ब्यायामको साथै पिसाबको संक्रमणबाट बच्नु जरुरी छ । यो तथ्य महिलाहरुमा झन धेरै लागुहुन्छ । घरेलु उपायहरुमा अन्य तरिकाः हाम्रो समाजमा अझै पनि मृगौलाको पत्थरीको उपचार गर्न गहतको दाल, मकैको जुँगा, नीमको पात, अदुवा तथा विभिन्न जरिबुट्टीको सेवन गर्ने चलन छ । यस्तो उपचार पद्धतिले ढुंगा झरेको तथा पगालेको कुनै बैज्ञानिक आधार छैन् तर बिरामीहरु यसमा अल्झिएर चिकित्सक कहाँ ढिला पुगेको चाही प्रशस्त उदाहरणहरु छन् । (डाक्टर कार्की किस्ट मेडिकल कलेज तथा सुमेर अस्पतालमा कार्यरत छन् ।)

No comments:

Post a Comment