Thursday, March 9, 2017

जाजरकोटमा बस दुर्घटना, ११ को मृत्यु, ३९ घाइते

२६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको छ । दुर्घटनास्थलबाट ११ जनाको शव निकालिएको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले अनलाइनखबरलाई जानकारी दिए । शाहका अनुसार बस दुर्घटनामा घाइते भएका ३९ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ । दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ । घटनास्थलमा प्रहरीले मृतकका शवहरु संकलन भइरहेको छ । जाजरकोट पत्रकार महासंघका सचिव दिपेन्द्र शर्माका अनुसार दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाबाट बस पासागाड खोलामा खसेको छ । बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको शर्माले बताए । घटनामा धेरैजना हताहती भएको र उनीहरुको सनाखत नभएको शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

No comments:

Post a Comment