Tuesday, March 7, 2017

मधेसी मोर्चा सप्तरीद्वारा आन्दोलनको घोषणा, एमाले समर्थकलाई सामाजिक बहिष्कार !

२४ फागुन, सप्तरी । मधेसी मोर्चा सप्तरीले ६ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । साथै, एमाले समर्थकलाई सामाजिक बहिष्कारको चेतावनी दिएको छ । मंगलबार सदरमुकाम राजविराजमा बसेको मोर्चाको बैठकले सोमबार प्रहरीको गोलीबाट मारिएका तीन जनालाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन र घाइतेहरुको उपचार व्यवस्था गर्न माग गरेको छ । सोमबारको घटनाको विरोधमा मोर्चाले सप्तरीमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । मोर्चाले सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरीका एसपीलाई निलम्बन गर्न समेत माग गरेको छ । सप्तरी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने सरकारसँग मोर्चाको माग छ । मोर्चाले एमालेका समर्थकहरुलाई जिल्लामा सामाजिक बहिष्कार गर्ने समेत निर्णय गरेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगप्रति आक्रोशित मधेसी मोर्चा सप्तरीले राष्ट्रिय मानवअधिकार आयोगप्रति पनि आक्रोश व्यक्त गरेको छ । नेकपा एमालेका कार्यकर्तालाई मोसो दलिएको घटनाको तत्कालै विज्ञप्ति निकालेको आयोगले तीन जनाको मृत्यु तथा ५० जनाभन्दा बढी गम्भीर घाइते भएको घटनाबारे केही प्रतिक्रिया नदिएको मोर्चाको आरोप छ । मोर्चाका कार्यकर्ताले मंगलबार नै आयोगको गाडीमा तोडफोड समेत गरेका थिए ।

No comments:

Post a Comment