Thursday, August 4, 2016
त्रिशूलीका तुइन विस्थापनको काम सुरु
२१ साउन, चितवन। चितवनमा त्रिशूली नदी माथिका जोखिमयुक्त तुइन विस्थापनको काम सुरु भएको छ ।
चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले केही ढिलाइ भएपनि यो वर्षदेखि भने तुइन विस्थापन गरी झोलुङ्गेपुल निर्माणको काम थालिएको जानकारी दिए ।
अघिल्लो सरकारका पालामा घोषणा गरिएको लोकप्रिय कार्यक्रम मध्यको तुइन विस्थापनको काम एक वर्ष ढिला गरी सुरु भएको हो । जिल्ला प्राविधिक कार्यालय चितवनले तुइन हटाएर झोलुङ्गे पुल निर्माणको काम थालेको पोखरेलले बताए ।
अघिल्लो वर्ष बजेट नआएकाले काम सुरु नभएको तर यस वर्षको सुरुआतबाटै काम थालिएको जिल्ला प्राविधिक कार्यालय चितवनका प्रमुख सञ्जीव श्रेष्ठले जानकारी दिए । उनका अनुसार चितवनबाट तनहुँ तथा गोरखा जोड्ने तीनवटा तुइन छन् । त्यसको विकल्पमा झोलुङ्गे पुल निर्माण गरिनेछ । छोटो दूरीमा रहेको एउटा पुल निर्माण गर्न उपभोक्ता समितिलाई जिम्मासमेत दिइसकेको जनाइएको छ ।
“अर्काे पुलका लागि सर्भे र डिजाइन सकिएकाले टेन्डरको तयारी छ भने तेस्रो ठाउँ लामो भएकाले झोलुङ्गेपुल महाशाखाले सर्भे गरेर डिजाइनसमेत सकेको छ,” श्रेष्ठले भने, “आगामी दुई वर्षमा तीनै ठाउँका तुइन विस्थापित हुनेछन् ।” चितवनको कविलास बगेन्डीमा तनहुँ जोड्ने १५० मिटर लामो तुइन छ ।
यस्तै, कविलासकै सिमलतालबाट तनहुँ जोड्ने अर्काे त्योभन्दा लामो तुइन छ । अर्काे दारेचोक गाविसबाट गोरखा जोड्ने ९६ मिटरको तुइन छ । यो दारेचोक र कविलास बगेन्डीमा जिल्लाबाट नै पुल निर्माण हुन लागेको हो । कविलासको पुलको लागत रु ९९ लाखको छ भने दारेचोकको लागत रु २९ लाखको छ । सिमलतालको पुलभने लामो हुने भएकाले केन्द्रबाटै बनाउन लागिएको हो ।
दारेचोकको (९६ मिटर) छोटो भएकाले यहाँ तुइन हटाएर झोलुङ्गेपुल निर्माणका लागि कामसमेत सुरु भएकाले पहिलो चार महिनामा सामग्री खरिद गर्न लाग्नेछ । चार महिनापछि भने फिल्डमै काम थालिने श्रेष्ठले बताए ।
पुल निर्माणमा कम्तीमा डेढ वर्षदेखि २ वर्षसम्म लाग्ने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । यहाँका तुइनमा अहिले पनि जोखिम मोलेरै बालबालिका तथा स्थानीयवासी नदी तर्ने गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment