Friday, April 29, 2016

चार सय वर्षपछि पानीविहीन हुँदै रानीपोखरी, माछा जोगाउन मुस्किल

१७ वैशाख, काठमाडौं । काठमाडौंको मुटुमा रहेको रानीपोखरी पानीविहीन भएको कहिल्यै देख्नुभएको छ ? पक्का पनि तपाईंलाई आफ्ना बाबुबाजेले समेत यस्तो विषयमा कुनै इतिहास सुनाएका छैनन् होला । अब तपाईंले केहीदिनमै रानीपोखरी पानीविहीन भएको आफ्नै आँखाले देख्न पाउनुहुनेछ । भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निर्माणका लागि रानीपोखरीको पानी सुकाउने काम सुरु भएको छ । यो पानी तान्ने क्रम सकिनासाथ रानीपोखरी पानीविहीन हुनेछ । रानीपोखरीको पानी मोटरमार्फत तानेर ढलमा मिसाउन सुरु गरिएको छ । तर, पोखरी खाली गर्ने क्रमसँगै रानी पोखरीका माछा के गर्ने भन्ने अन्योल देखिएको छ । रानीपोखरीलाई पूरै खाली गराएर सफा गरेको अहिलेका कुनै पुस्तालाई जानकारी छैन । विं.सं १६७० मा राजा प्रताप मल्लले निर्माण गराएको रानीपोखरी ४ सय वर्षअघिदेखि नै सफा गरिएको जानकारी पुरातत्वविदहरुसँग पनि छैन । पानी तानिसकेपछि रानीपोखरीमा हिलो निकाल्ने काम सुरु हुनेछ । अहिलेसम्म रानीपोखरीको गहिराइबारे विभिन्न मतभिन्नताहरु छन् । स्थानीयहरु रानीपोखरी एक बाँस बराबर गहिरो रहेको दावी गर्छन् भने सरकारी अधिकारीहरु ७ फिटसम्म गहिरो हुनसक्ने बताउँछन् । अब पोेखरीको सबै हिलो निकालेर मात्रै त्यसमा नयाँ पानी भरिनेछ । त्यही क्रममा पोखरीको वास्तविक गहिराइ कति छ भन्ने अन्योल पनि हट्ने महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अनलाइनखबरसँग बताए । रानीपोखरी पुनर्निर्माणका लागि ६ करो २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ । निर्माणको जिम्मा वर्ल्डवाइड कँडेल केएनकेजी जेभी कम्पनीले लिएका छन् । महानगरपालिकाका अनुसार आगामी असोजसम्म रानीपोखरीको पुनर्निर्माण सकिएर यसले पुनर्जीवन पाउनेछ ।

No comments:

Post a Comment