Monday, May 3, 2021
ओलीले मास्क लगाएरै गरे देशवासीको नाममा सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । सोमबार सरकारी टेलिभिजनमार्फत भएको देशवासीको सम्बोधनमा उनले मास्क लगाएरै सम्बोधन गरे ।
जनतालाई मास्क लगाउनुपर्छ भन्ने सचेतना जगाउन उनले मास्क लगाएरै सम्बोधन गरेको बुझिएको छ । यसअघि सार्वजनिक भाषण र अन्तरवार्ताहरुमा ओलीले मास्क लगाएको देखिँदैनथ्यो ।
शैया लुकाउने अस्पताललाई कारवाही : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि अस्पतालले शय्या लुकाए कारवाही गर्ने बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताएका हुन् ।
‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ’ प्रधानमन्त्री ओलीले कोभिडका औषधिको कृतिम अभाव गर्नेलाई समेत कडा कारवाही गर्ने बताए ।
सेनालाई १००० शैय्याको अस्पताल बनाउन निर्देशन, ठूला अस्पताल अब कोभिड अस्पताल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताललाई कोभिड अस्पताल अस्पतालका रुपमा सञ्चालन गरिने बताएका छन् । यस्तै उनले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार शैय्याको शीघ्र कोभिड अस्पताल निर्माण गर्न निर्देशन दिइएको समेत जानकारी दिए ।
सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए ।
प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने ओलीले बताए । यस्तै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गरिने पनि ओलीले बताए ।
संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिए ।
उनले आम नागरिकलाई आह्वान गर्दै भने, ‘सकभर घरमै बसौं, घरबाहिर निस्कनै परे सही तरिकाले अनिवार्य रुपमा मास्क लगाऔँ ।’ उनले कोरोनाबाट जोखिम हात धुन, स्यानिटाइजरले हात सफा गर्न, भोजभतेर तथा पर्व घरमै मनाउन, भौतिक दुरी कामय गर्न, भीडभाडबाट टाढै रहन, हल्ला र अफवाहबाट भ्रमित नहुने पनि आम नागरिकलाई सुझाव दिए । चिकित्सक र विज्ञहरुको कोरोनासम्बन्धी सल्लाहलाई पालना गर्न भन्दै उनले धैर्य गर्न र संयमित हुन आग्रह गरे ।
कोरोनाविरुद्धको खोप लगाउनेमा नेपाल भारतपछि पहिलो : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताएका छन् । आफ्ना देशवासीलाई कोरोना विरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको सोमबार देशवासीको सम्बोधनको क्रममा बताए ।
उनले हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको भन्दै दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको बताए । अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेको बताउँदै उनले यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेको जानकारी दिए ।
निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीकाे घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए ।
उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए ।
ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए ।
कोरोना रोकथाम र नियन्त्रणमा सरकारले के–के गर्यो, के गर्दैछ ? (पूर्णपाठ)
काठमाडौं । सरकारले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा आफू संवेदनशील रहेको बताएको छ । नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीलाई सम्बोधन गर्दै बताएका छन् ।
उनले सोही कारण महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित रहेको बताए । सम्बोधनका क्रममा ओलीले हालसम्म सरकारले कोरोना नियन्त्रणका लागि गरेका कामबारे जानकारी दिँदै आगामी दिनमा गर्ने कामबारे पनि जानकारी दिए ।
जसअनुसार संक्रमणको साङ्लो चुँडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै ओलीले एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको बताए । यसलाई थप कडाई गरिने बताउँदै ओलीले प्रभावकारी ढंगले लागू गर्न पहिलेझै सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको पनि बताए ।
ओलीले वैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको बताउँदै २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको पनि बताए ।
यस्तै स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको र नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको बताए । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको पनि ओलीले बताए ।
स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने भन्दै ओलीले कोही सङ्क्रमित पाइएमा उनीहरुलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको बताए ।
ओलीले प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको बताए ।
सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको बताउँदै ओलीले अत्यावश्यक बाहेक अन्य कार्यालय, संघसंस्था बैशाख मसान्तसम्म बन्द रहने जानकारी दिए ।
यस्तै नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको र वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने बताए ।
प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने ओलीले बताए ।
सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको पनि उनले बताए ।
ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने पनि ओलीले बताए । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने पनि उनको भनाइ छ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने भन्दै ओलीले लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने जानकारी दिए । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको उनले बताए ।
कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवन रक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको पनि सम्बोधनका क्रममा बताए । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिने उनको भनाइ छ ।
स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने पनि उनले बताए । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने पनि ओलीले बताए ।
कोभिड–१९को सन्दर्भमा
सम्माननीय प्रधानमन्त्रीको देशवासीका नाममा सम्बोधन
२० बैशाख २०७८
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
– एकवर्ष अघि यसै समयतिर हामीहरू कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकारिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं ।
– यस सफलताको लागि महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मी सहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरुको भूमिका उल्लेखनीय रह्यो । त्यस असामान्य घडीमा सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।
– अहिले हामी कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गर्दैछौं । कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको छ । संक्रमणको दर र मृत्युदर गतवर्षको तुलनामा बढी छ । हिजोको २४ घन्टाको तथ्याङ्कलाई उदाहरणको रुपमा लिँदा, पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात ७ हजार २११ मा संक्रमण देखिएको छ ।
– हिजो साँझसम्म कूल संक्रमित संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । कूल संक्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०.९९ प्रतिशत छ । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड–संक्रमित रेकर्ड भएका छन् । बैशाख १९ गतेसम्मको कूल संक्रमितमा ३८.४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।
– यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्य लाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
– हालसम्म ३ हजार भन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरुका शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
दिदीबहिनी तथा दाजुभाइहरु,
– गतवर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पीसीआर परीक्षण ल्याव संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरमा गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पु¥याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको छ ।
– अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आप्mना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।
– मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैंm आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
– कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।
– त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड बिरुद्धको लडाईँलाई कार्य अघि बढाउन प्रदेश केन्द्रित हुनेगरी अहिले नेपाल सरकारका एक÷एक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।
– संक्रमणको साङ्लो चुँडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाई गरिंदैछ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ः
– यही २०७८ बैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ ।
– २०७८ बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ ।
– स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
– भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ । सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ ।
– स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने छ । कोही सङ्क्रमित पाइएमा उनीहरुलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ ।
– प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।
– सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको छ । अत्यावश्यक बाहेक अन्य कार्यालय, संघसंस्था बैशाख मसान्तसम्म बन्द रहनेछन् ।
– नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।
– वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ ।
– प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् ।
– सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ ।
– सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही हुनेछ ।
– ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।
– कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ ।
– स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।
– जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।
– सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ ।
– जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन् । अन्तर मन्त्रालय समन्वयमा काम गरिनेछ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
– महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आप्mनो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नगारिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले,
– सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔं,
– समय समयमा साबुनपानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं
– भोजभतेर तथा पर्व घरमै मनाउँ
– भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।
– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं
– चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं ।
– धैर्य गरौं, संयमता अपनाऔं ।
– सावधान होऔं तर आतङ्कित नहोऔं ।
– गतवर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचत्र्mयाईले क्रमशः महामारी फैलिन बल पु¥याएको तथ्यलाई हामी सबैले मनन गरौं । नभुलौं, महामारीले कसैलाई पनि छाड्दैन ।
– अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक÷सहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।
– राजनीतिक दलका नेता÷कार्यकर्ता, सामाजिक संघसंस्था एवम् प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।
सखुवाप्रसौनीमा १० बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा
वीरगञ्ज, २० बैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा १० बेडको आइसोलेसन वार्ड तयार पारिएको छ ।
आइसोलेसन वार्डमा सेवा दिनका निम्ती डा. कृष्ण साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली २४ सै घण्टा तयारी अवस्थामा रहेको सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजेश रौनियारले जानकारी दिए ।
गाउँपालिकाभित्र रहेको कोरोना संक्रमितहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्ने योजना पनि रहेको गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जैसवालले बताए । जिंक, क्याल्सियम, भिटामिन सी लगायतका औषधीहरु होमआइसोलसनमा बसेकाहरुलाई वितरण गर्ने कार्य भइरहेको अध्यक्ष जैसवालको भनाई छ ।
स्वास्थ्य शाखा संयोजक रौनियारका अनुसार होमआइसोलेसनमा बसेका संक्रमितहरुको सम्बन्धीत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुबाट नियमित स्वास्थ्य अनुगमन भइरहेको छ ।
संक्रमित भएका परिवारको कन्ट्याक्ट ट्रेसिंग गर्नका लागि ३ जना स्वास्थ्यकर्मीहरुको टोली समेत गठन गरिएको स्वास्थ्य संयोजक रौनियारले बताए ।
पर्सा प्रहरीद्वारा २ केजी ९ सय ग्राम चरेशसहित १ जना पक्राउ
वीरगञ्ज, २० बैशाख । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले २ केजी ९ सय ग्राम लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ निचुटा निवासी ३७ वर्षीय लक्ष्मी राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
सूचना परिचालन र प्रहरी कारवाहीको क्रममा लागुऔषध लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले कुर्मीको घरमा खानतलासी गर्दा कुर्मी सुत्ने कोठामा रहेको टिनको बाकसभि लागुऔषध चरेश लुकाएर राखेको पाइएको प्रहरीले जनाएको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास देशभर ४१ जिल्लामा निषेधाज्ञा जारी
वीरगञ्ज २० बैशाख । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ ।
दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
केही जिल्लामा आज रातिदेखि आदेश कार्यान्वयनमा जाँदै छ भने केही जिल्लामा मङ्गलबारबाट लागू हुनेछ । अधिकांश जिल्लामा आदेश कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ । प्राप्त विवरणअनुसार बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडीमा निषेधाज्ञा जारी गरिएको छ ।
देशमा संकटकाल लगाउने संकेत ! यस्तो छ संवैधानिक व्यवस्था
वैशाख । कोरोना भाइरसको पहिलो लहरभन्दा यो दोस्रो लहरले महामारी निम्त्याइरहँदा यसै अवस्थामा सरकारले संकटकाल लगाउन सक्ने संकेतहरु देखापरेको छ ।
कुनैपनि बेला संकटकालको कदम चालिने संकेतहरु देखिएको छ । नेकपा एमालेले नेतृत्व गरिरहेका प्रदेश सरकारहरु देखि केन्द्र सरकारमाथि संकट बढिरहँदा त्यसलाई टार्न पनि संकटकाल लाग्न सक्ने देखिएको छ । संकटकाल लगाएर कम्तिमा एक महिना सरकारले आफूमाथिको संकट टार्न सक्ने अवस्था रहन्छ ।
संकटकाल लगाउन परिस्थितिले पनि साथ दिएको छ । संविधानको धारा २७३ अनुसार संकटकालीन व्यवस्थाबारे उल्लेख छ । जस अनुसार ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह् आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विशृंखलता, प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ ।’
महामारीलाई देखाएर राष्ट्रपतिले संकटकालीन अवस्थाको आदेश जारी गर्न सक्नेछिन् । जुन दिशातर्फ देश बढिरहेको संकेतहरु मिलिरहेको छ ।
पछिल्लो समय महामारी भयावह बन्दैछ । देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरिएको छ । अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् । स्वास्थ्य मन्त्रालयले नै थेग्न नसक्ने भयावह अवस्थाबारे जानकारी दिदै आएको छ । यी जानकारीहरु त्यसै आएका होइनन् । उपप्रधानमन्त्री इश्वर पोखरेलले स्थिति भयावह बन्न नदिन निर्देशन दिइसकेका छन् ।
प्रदेश देखि केन्द्रसम्म सत्तासंघर्ष चर्कदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने बुझेर सक्रिय छन् । अविश्वासको प्रस्ताव आएमा एमालेभित्र फ्लोर क्रसको लहर नै चल्न सक्ने रिपोर्ट बालुवाटारमा पुगेको छ । यसलाई दृष्टिगत गरी एमालेका माधव नेपाल समूहका सांसदमाथि कारबाहीको तयारी समेत भएको छ ।
संकटकाल लगाएमा संघीय संसदबाट एक महिनाभित्र दुई तिहाईले पारित गर्नुपर्ने हुन्छ । संसदले पारित गरेमा तीन महिनासम्म संकटकाल लगाउन सकिने व्यवस्था छ । फेरि संकटकाल लगाएमा फेरि पारित गर्नुपर्ने हुन्छ । संकटकाल लगाएर एक महिना सत्ता संकट टार्न सकिने व्यवस्था भने रहन्छ ।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए।
मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण
गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।
गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना सङ्क्रमणबाट दुईको मृत्यु
जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।
मंगलबारबाट कास्कीभर पूरै लकडाउन (प्रशासनको विज्ञप्तिसहित)
कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्ने र मृत्यु पनि बढ्दै जान थालेपछि कास्कीमा पर्सीदेखि पूरै लकडाउन हुने भएको छ । कास्कीमा जारी खुकुलो निषेधाज्ञामा कडाइ गर्दै पूरै लकडाउन हुने भएको हो ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । नयाँ आदेश मंगलबारबाट लागु हुनेछ । बैशाख २१ गते विहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी आदेशमा खाद्यान्न, डेरी पसल, बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय छ । यी पसलहरु पनि सीमित समयका लागि मात्र खुल्नेछन् । औषधी पसल भने २४ घन्टा खोले पनि रोकतोक हुने छैन ।
यसअघि सार्वजनिक र निजी सवारी जोरबिजोर चलाउन पाइने निर्णय भए पनि अब अत्यावश्यकबाहेक सबै सवारी सञ्चालन बन्द हुने भएको हो । यसअघि रेस्टुरेन्टमा टेक अवे सेवा सञ्चालन गरिएकोमा त्यो पनि बन्द हुनेछ ।फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् । घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
निमार्ण सामग्री ढुवानी गर्ने सवारीले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न पाउने प्रजिअ गौतमले बताए । प्रशासनले उक्त अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।
२७ गते हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन सांसदलाई सूचना
२० वैशाख, काठमाडौं । संघीय संसद् सचिवालयले वैशाख २७ गते सोमबार दिउँसो १ बजे हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यहरुलाई अनुरोध गरेको छ ।
संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
उक्त सूचनामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान अनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन जानकारी गराइएको छ ।
चितवनमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु
२० वैशाख, चितवन । चितवनमा सोमबार एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज सीएमसी)मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज (सीएमएस) मा एकजनाको मृत्यु भएको हो ।
चितवनमा १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा ९ जना र सीएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराइरहेको कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न अस्पतालमा गरेर ६४ जना बिरामी आईसीयूमा उपचाररत छन् । तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना छन् ।
जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना संक्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड संक्रमितका लागि छुट्टाइएको छ ।
बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द
२० वैशाख, काठमाडौं । वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् ।
यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो ।
सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदमा आएका श्रमिकहरु पनि वैशाख मसान्तसम्म यतै रोकिने निश्चित भएको छ । हवाई उडान बन्द हुने भए पनि हालसम्म श्रम स्वीकृति दिने क्रम भने बन्द भएको छैन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बन्द गर्ने विषय छलफलकै क्रममा रहेको बताउँछन् । उनले मंगलबार अवस्थाको विश्लेषण गरेर श्रम स्वीकृति बन्द गर्ने वा जारी राख्ने निर्णय गरिने बताए ।
बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान
२० वैशाख, काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।
वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ ।
भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् ।
यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ
२० वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ ।
विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी नियन्त्रणको प्रयासमा नै असर गर्नसक्ने कतिपयको चिन्ता छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘अझै निषेधको आदेशको पालना नहुने र संक्रमणको अवस्था बढ्दै जाने हो भने गत वर्ष जस्तै पूरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ ।’ नागरिक आफैं सचेत नभएसम्म महामारी नियन्त्रणको सरकारी प्रयास सफल नहुने उनको बुझाइ छ ।
सीडीओ पराजुलीका अनुसार दुई दिनपछि फेरि एक साताका लागि थप हुने निषेधको आदेश जारी हुँदा थप कडाइका गर्ने तयारी छ । महामारी नियन्त्रणमा काठमाडौंमा भइरहेका प्रयास र हालको अवस्थाबारे काठमाडौंका सीडीओ पराजुलीसँग गरिएको संक्षिप्त कुराकानी :
कोभिड–१९ को महामारी नियन्त्रणका लागि निषेधको आदेश जारी भएको पाँच दिन भइसक्यो । सडकमा सवारी चाप धेरै घटेको देखिँदैन, कार्यान्वयन फितलो भएको हो ?
काठमाडौं, भक्तपुर र ललितपुरका हामी तीनजना प्रमुख जिल्ला अधिकारी बसेर १६ गतेदेखि २२ गतेसम्म लागि निषेधाज्ञा जारी गरेका थियौं । त्यसमा अत्यावश्यक सेवाहरु सञ्चालन गर्न दिइएको अवस्था छ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चारलगायत सञ्चालनमा कुनै बाधा गरिएको छ । ती क्षेत्रका सवारीसाधनहरु सञ्चालन भएकाले पनि केही भिड देखिएको हुनसक्छ ।
शनिबार हामी अनुगमनमा पनि निस्किएका थियौं । अन्य दिनको तुलनामा प्रायः सबै बन्द थियो । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको गाडी नचल्दा मुभमेन्ट एकदमै नियन्त्रित हुँदो रहेछ । तर, आइतबारदेखि कार्यालय खुल्दा फेरि चाप देखिएको छ । त्यसैले यसलाई सीमित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
हामीले अहिले अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालयहरुलाई सीमित गर्न भनेका छौं । सेवाग्राहीको चाप हुँदैन भनेपछि कर्मचारी र सवारीसाधनको संख्या पनि घटाउनुपर्यो । बैंक तथा वित्तीय संस्थामा पनि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्नुपर्ने भनेका छौं ।
अहिले अति नै आवश्यक पर्ने सवारीसाधन मात्रै सञ्चालन गर्न दिएर अन्यलाई थप कडाइ गर्ने अवस्थामा हामी पुगेका छौं ।
गत वर्ष लकडाउन हुँदा पूर्णतः ठप्प भएको धेरैलाई याद छ । त्यसैलाई आधार मानेर कतिपयले ‘यस्तो पनि निषेधाज्ञा हुन्छ र’ भनेर व्यंग्य गर्ने गरेका छन् । तपाईंलाई के लाग्छ ?
मैले अगाडि पनि भनिहालेँ, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरु पनि खुलेका छन् । त्यसकै कारणले गत वर्षको जस्तो पूर्णतः ठप्प हुन नसकेको हो । तर पछिल्लो समयको परिस्थिति हेर्दा यतिले मात्र पुग्ने स्थिति छैन ।
भोलि संक्रमण दर अझै बढ्दै गयो भने स्थितिलाई नियन्त्रणमा लिन थप कदम चाल्नुपर्ने हुन्छ । दुई/चार दिनको स्थिति हेर्दा केही नियन्त्रणमा आउँछ कि भन्ने छ । तर मत्थर हुने अवस्था छैन । स्थिति जटिल बन्दै गए, गत वर्ष लकडाउनमा जस्तो स्थितिमा पुग्नुपर्ने हुनसक्छ ।
निषेधाज्ञाको कार्यान्वयनमा प्रशासनले अनुरोध गर्ने हो । यो नागरिककै लागि हो । तर जसलाई परेको छैन, उहाँहरुले चाहिँ पास पाए हुन्थ्यो, हिँड्न पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ । यो बाध्यात्मक अवस्था हो भन्ने सबैले बुझ्नुपर्छ । रोग लागेका मान्छेका अनुभव र भोगाइ सुन्दा पनि सचेत हुनुपर्ने अवस्था छ । त्यसैले आवश्यकताविना घरबाट ननिस्किने, निस्किनै परे पनि सामाजिक दूरीको पालना गर्ने, मास्क तथा सेनिटाइजरको नियमित प्रयोग गर्ने गर्नुपर्छ ।
बैंक तथा सरकारी कार्यालय खुल्ने भनिएको छ, तर नागरिक जो सेवाग्राही पनि हुन्, उनीहरुलाई चाहिँ हिँडडुलमा रोक लगाइएको छ । यो अलि अमिल्दो भएन र ?
केही कार्यालयहरु खोल्नै पर्ने हुन्छ । जस्तै, जिल्ला प्रशासन, स्वास्थ्य, खानेपानी, बजार अनुगमन गर्ने वाणिज्यलगायत । यद्यपि, त्यहाँ काम गर्ने कर्मचारी र सवारीसाधनको संख्या सीमित गर्न भनेका छौं ।
मन्त्रिपरिषद् बैठक र कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को पनि त्यही निर्णय छ । यसलाई चाहिँ २२ गतेपछि दोस्रो चरणको निषेधाज्ञामा थप कडाइ गर्दै लानेछौं । हामी अझै सीमित गर्ने पक्षमा छौं ।
तपाईंहरुले निषेधाज्ञामा कडाइ गर्ने हरेक दिन बताउँदै आउनु भएको छ । रुपन्देहीमा निषेधाज्ञाको पालना नगर्नेलाई एक महिना जेल सजाय तोकिएको भन्ने पनि आएको छ । उपत्यकाको कडाइ पनि त्यस्तै खाले हुन्छ ?
रुपन्देहीको घटना मैले पनि समाचारमा पढेको हुँ । निषेधाज्ञा उल्लंघन गर्नेलाई धरौटी तोकियो, त्यो तिर्न नसकेर जेलमा गएको अवस्था हो । काठमाडौं उपत्यकामा पनि अहिले मास्क नलगाउनेलाई जरिवाना गराउनका लागि प्रहरीलाई चिट काटेर दिइसकिएको अवस्था छ ।
हामीले सबै पक्षलाई अहिलेसम्म अनुरोध गरिरहेका छौं । तर फेरि पनि कसैले आदेश उल्लंघन गर्छ, जबरजस्ती गर्छ भने त्यसलाई चाहिँ संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को अनुसार पक्राउ गरेर मुद्दा पनि चलाउनुपर्ने हुनसक्छ ।
जनस्वास्थ्यविज्ञहरुले निषेधाज्ञा महामारी रोकथामका लागि तयारीको समय भएको बताउँछन्, यो समयमा प्रशासनले चाहिँ के गरिरहेको छ ?
आइसोलेसन सेन्टर स्थापना गर्नुपर्यो भने कहाँ–कहाँ सम्भव होला भनेर शनिबार जिल्ला प्रशासन कार्यालयले निरीक्षण तथा अनुगमन गरेको छ । वीर अस्पतालको नयाँ भवन बनेको छ, त्यसलाई तत्काल सञ्चालन गर्न सकियो भने एक सय/दुई सयसम्म आइसोलेसन बनाउन सकिन्छ कि भनेर छलफल गरिरहेका छौं । भवनको खास क्षमता ५ सय क्षमता हो ।
अहिले राधा स्वामी सत्सङ्ग केन्द्रमा पनि अक्सिजन सपोर्टसहितको आइसोलेसन सेन्टर स्थापन गर्ने प्रयास गरिरहेका छौं । त्यस्तै, जनमैत्री अस्पतालको आइसोलेसन सेन्टर तत्काल चालू हुँदैछ ।
मनमोहन अस्पतालमा पनि बेडहरु सबै छ, तर अक्सिजन लगायत केही भौतिक पूर्वाधारको कमी छ । त्यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर प्रशासनसहित सम्बन्धित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिकालाई अनुरोध गरिरहेको अवस्था छ ।
कसैले आदेश उल्लंघन गर्छ, जबरजस्ती गर्छ भने त्यसलाई चाहिँ संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को अनुसार पक्राउ गरेर मुद्दा पनि चलाउनुपर्ने हुनसक्छ
अहिले काठमाडौंमा संक्रमणको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
पछिल्लो समय तीब्ररुपमा संक्रमण दर बढिरहेको छ । यसलाई व्यवस्थापन गर्नका लागि अस्पतालको शय्याहरु थप्नुपर्ने आवश्यकता छ । आइसोलेसन सेन्टरहरु थप गर्नुपर्छ । अक्सिजनसहितको आइसोलेसन सेन्टरहरुको आवश्यकता महसुस गरेका छौं ।
त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य सरोकारवाला निकायले पनि आवश्यक समन्वय र सहकार्य गरिरहेका छन् । अहिले धेरै जस्तो व्यक्तिहरु होम आइसोलेसनमा हुनुहुन्छ । तर धेरैलाई अक्सिजनसहितको आइसोलेसनको आवश्यकता छ, त्यसमा सहज स्थिति बनाउन प्रयास गरिरहेका छौं ।
अहिले नागरिकहरु कस्तो अवस्थामा उपत्यकाबाट बाहिर जान सक्छन् ?
सोमबारसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ सेवा रोकिएका छैनन् । काठमाडौं उपत्यका छिरिसकेपछि विदेश जाने व्यक्तिहरु विमनस्थलसम्म जान पाउनुहुन्छ । विभिन्न देशबाट आउनेहरु एयरपोर्टबाट बसपार्कमा जानुहुन्छ । ती त्यस्ता खाले नागरिकलाई सहजिकरण गरिरहेका छौं । अतिआवश्यक अवस्थामा बाहिर जाने हकमा सहजिकरण गरिरहेका छौं ।
बाहिर जाने नै संख्या बढी देखिन्छ । उपत्यका आउने क्रम कम छ । उपत्यका आउन अत्यावश्यक काम हुनुपर्छ, बिरामी, सरकारी कार्यालयका कर्मचारी, बिहेलगायतको हकमा मात्र दिइएको छ । बाहिर जाने विषयमा पनि अवस्था हेरेर मात्र पठाउने गरिएको छ ।
गत वर्षको लकडाउन धेरै मजदुरहरु काठमाडौंमा हातमुख जोर्न समस्या भएर हिँडेरै गाउँगाउँ गए । अब फेरि पनि निषेधाज्ञा थपिँदै जाँदा नागरिक समस्यामा पर्न सक्छन् । त्यसबारे प्रशासनले केही सोचेको छ ?
प्रशासनले निषेधाज्ञा लगाउनु अगावै दुई दिन घर जानलाई समय दिएको थियो । त्यसैले धेरै नागरिकहरु घर गइसक्नु भएको छ । तर निषेधाज्ञा थप लम्बिँदैन जाने अवस्था भयो वा थप कडाइ गर्दै जानुपर्ने स्थितिमा यहीँ रहनु भएका थप व्यक्तिहरु पनि प्रभावित बन्न सक्ने कुरामा सचेत छौं ।
हाम्रो पहिलो प्राथमिकता त सकेसम्म जोरजाम गरेर डेरामै बस्न अनुरोध गर्ने हुन्छ । किनभने, अहिले जो जहाँ छौं, त्यहीँ बस्दा हामी सुरक्षित हुन्छौं । तर अफ्ठ्यारै स्थिति छ भने घर जानलाई सहजीकरण पनि गरिदन्छौं ।
बिरामी उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द
२० वैशाख, काठमाडौं । सरकारले उद्योगमा अक्सिजन आपूर्तिमा रोक लगाएको छ ।
सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताएका छन् ।
उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिए ।
प्रदेश अस्पतालबाट कर्णालीमा देखिएको कोरोना संकट
आइतबार दिउँसो तीन बजेको थियो । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक जोडीको विरक्त चिच्याहट पर–परसम्म सुनिइरहेको थियो ।
पुरुषको विरक्त आवाज सुनिन्थ्यो– ‘लौन हजुर, बुढेसकालको सहारा रहेन, लास कोलियामा छ, ठाउँ ठेगान लाइदिनुपर्यो ।’
उनकै छेउमा रहेकी महिलाको विलौना थियो– ‘हे भगवान ! तैंले आज के दिन देखाइस्…, अब कसको सहारामा बाँचौ…?’
पछि थाहा भयो, उनीहरु आइतबार बिहान मात्रै मृत्यु भएका पञ्चपुरी–११ का ३३ वर्षीय युवकका आमा–बुवा रहेछन् । प्रदेश अस्पतालको आईसीयू वार्डको यो दृश्यले कोख खोसिँदाको पीडा मात्र बोलिरहेको थिएन, कर्णाली प्रदेशमा कोरोनाको संकट पनि प्रतिबिम्बित भइरहेको थियो ।
गम्भीर प्रकृतिका ३८ जना कोरोना संक्रमित राखिएको प्रदेश अस्पतालको आईसीयू वार्डमा आइतबार मात्रै तीनजना संक्रमितको मृत्यु भयो । पछिल्लो तीन दिन यता मात्रै सोही वार्डमा १५ जना संक्रमितले ज्यान गुमाए । तथ्यांकभन्दा डरलाग्दो दृश्य त अस्पतालको आईसीयू वार्ड र कोलियामा देखिन्थ्यो । अस्पतालको आईसीयू वार्डमा हरेक बेडमा एक/एकजना कुरुवा छन्, कोही अक्सिजनका सिलिण्डर गुडाइरहेका छन् त कोही संक्रमितलाई घोप्टो पारेर ढाडमा थपथपाइरहेका छन् ।
आईसीयू मनिटर र फ्यानको चर्को आवाज, अक्सिज सिलिण्डरको टाङटुङ्ग, हपक्क गर्मी, संक्रमित र कुरुवाको अत्यासलाग्दो चीत्कार…। उकुसमुकुस छ प्रदेश अस्पतालको आईसीयू वार्ड ।
अस्पतालको आईसीयू वार्डमा रहेका सबै शय्या भरिभराउ छन् । कोलियामा समेत बेड राखेर बिरामीको उपचार भइरहेको छ । कतिपय बिरामी अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य प्रदेश अस्पतालमा देख्न सकिन्छ ।
‘संक्रमितको संख्या ह्वातै बढेको छ, भित्र ठाउँ नभएपछि कोलियामै राखेर भएपनि उपचार गराइरहेका छौं, माथिको पुरानो भवन पुरै आईसीयू वार्ड बन्दै छ, त्यो सञ्चालनमा आएपछि सहज होला,’ आईसीयू इन्चार्ज सपना पहाडी विकले भनिन्, ‘यो हदसम्मको स्थिति आउला भन्ने त कल्पनै थिएन !’
२५ जना कोभिड बिरामी राख्ने क्षमता भएको उक्त अस्पतालमा ३८ जना गम्भीर प्रकृतिका संक्रमित छन् । सबै संक्रमितले नर्स र डाक्टरको सेवा पाउने अवस्था छैन । न्यून जनशक्ति, धेरै बिरामी हुँदा उपचारमा हम्मेहम्मे हुने गरेका इन्चार्ज पहाडी बताउँछिन् ।
Subscribe to:
Posts (Atom)