Monday, May 3, 2021
प्रदेश अस्पतालबाट कर्णालीमा देखिएको कोरोना संकट
आइतबार दिउँसो तीन बजेको थियो । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक जोडीको विरक्त चिच्याहट पर–परसम्म सुनिइरहेको थियो ।
पुरुषको विरक्त आवाज सुनिन्थ्यो– ‘लौन हजुर, बुढेसकालको सहारा रहेन, लास कोलियामा छ, ठाउँ ठेगान लाइदिनुपर्यो ।’
उनकै छेउमा रहेकी महिलाको विलौना थियो– ‘हे भगवान ! तैंले आज के दिन देखाइस्…, अब कसको सहारामा बाँचौ…?’
पछि थाहा भयो, उनीहरु आइतबार बिहान मात्रै मृत्यु भएका पञ्चपुरी–११ का ३३ वर्षीय युवकका आमा–बुवा रहेछन् । प्रदेश अस्पतालको आईसीयू वार्डको यो दृश्यले कोख खोसिँदाको पीडा मात्र बोलिरहेको थिएन, कर्णाली प्रदेशमा कोरोनाको संकट पनि प्रतिबिम्बित भइरहेको थियो ।
गम्भीर प्रकृतिका ३८ जना कोरोना संक्रमित राखिएको प्रदेश अस्पतालको आईसीयू वार्डमा आइतबार मात्रै तीनजना संक्रमितको मृत्यु भयो । पछिल्लो तीन दिन यता मात्रै सोही वार्डमा १५ जना संक्रमितले ज्यान गुमाए । तथ्यांकभन्दा डरलाग्दो दृश्य त अस्पतालको आईसीयू वार्ड र कोलियामा देखिन्थ्यो । अस्पतालको आईसीयू वार्डमा हरेक बेडमा एक/एकजना कुरुवा छन्, कोही अक्सिजनका सिलिण्डर गुडाइरहेका छन् त कोही संक्रमितलाई घोप्टो पारेर ढाडमा थपथपाइरहेका छन् ।
आईसीयू मनिटर र फ्यानको चर्को आवाज, अक्सिज सिलिण्डरको टाङटुङ्ग, हपक्क गर्मी, संक्रमित र कुरुवाको अत्यासलाग्दो चीत्कार…। उकुसमुकुस छ प्रदेश अस्पतालको आईसीयू वार्ड ।
अस्पतालको आईसीयू वार्डमा रहेका सबै शय्या भरिभराउ छन् । कोलियामा समेत बेड राखेर बिरामीको उपचार भइरहेको छ । कतिपय बिरामी अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य प्रदेश अस्पतालमा देख्न सकिन्छ ।
‘संक्रमितको संख्या ह्वातै बढेको छ, भित्र ठाउँ नभएपछि कोलियामै राखेर भएपनि उपचार गराइरहेका छौं, माथिको पुरानो भवन पुरै आईसीयू वार्ड बन्दै छ, त्यो सञ्चालनमा आएपछि सहज होला,’ आईसीयू इन्चार्ज सपना पहाडी विकले भनिन्, ‘यो हदसम्मको स्थिति आउला भन्ने त कल्पनै थिएन !’
२५ जना कोभिड बिरामी राख्ने क्षमता भएको उक्त अस्पतालमा ३८ जना गम्भीर प्रकृतिका संक्रमित छन् । सबै संक्रमितले नर्स र डाक्टरको सेवा पाउने अवस्था छैन । न्यून जनशक्ति, धेरै बिरामी हुँदा उपचारमा हम्मेहम्मे हुने गरेका इन्चार्ज पहाडी बताउँछिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment