Monday, August 29, 2016
यी पाँच घरेलु तरिकाले खुइलिसकेको तालुमा पुनः कपाल उमार्नुहोस्
धेरैजसो मानिसहरु कपाल झर्ने समस्याबाट ग्रस्त हुन्छन् । थुप्रै औषधी र तरिका अपनाएर पनि उनीहरुले आफ्नो खुइलिसकेको तालुमा कपाल फिर्ता ल्याउन सक्दैनन् । वातावरणीय प्रभाव, उमेर, अत्यधिक तनाव, अत्यधिक धुम्रपान, हर्मोनमा असन्तुलन, पोषकतत्वमा कमी, वंशानुगत कारण, केही औषधीहरु कपाल झर्ने विभिन्न कारण हुन् ।
तपाईंको टाउकोमा लगभग १ लाख कपाल हुन्छन् । एक दिनमा ५० देखि १०० वटा कपाल झर्नु भनेको साधारण हो तर एक पटकमा यो भन्दा बढी तपाईंको कपाल झर्छ भने तपाईंले आफ्नो कपालबारे चिन्ता लिने बेला भएको छ । आज हामी तपाईंलाई यही समस्यालाई समाधान गर्ने तरिकाबारे जानकारी दिँदै छौं ।
१. तेलको मसाजः
कपाल झर्ने समस्याबाट राहत पाउने सबैभन्दा पहिलो उपाय तेलको मसाज हो । उपयुक्त कपालमा हाल्ने तेलको प्रयोग गरेर तपाईंले आफ्नो टाउकाको छालामा मसाज गर्नुहोस् । राम्रोसँग गरिएको मसाजले कपालको जरामा रक्त संचारमा मद्दत पुर्याउँछ भने यसले जरालाई बलियो पनि बनाउँछ । यसले तनावलाई पनि कम गर्ने गर्दछ ।
यसका लागि तपाईंले नरिवल, बदाम (आलमोन्ड), जैतुन, अमला र क्यास्टोरको तेल प्रयोग गर्न सक्नुहुन्छ ।
तरिकाः
माथि उल्लेखित कुनै पनि तेलको प्रयोग गरेर औंलाको टुप्पोको सहायताले कपालमा हल्कासँग मालिस गर्नुहोस् ।
यो तरिका कम्तिमा पनि हप्ताको एकपटक गर्नुहोस् ।
अमलाः
प्राकृतिक रुपमा छिटो कपाल उमार्न चाहनुहुन्छ भने अमलाको प्रयोग गर्नुहोस् । भिटामिन सि, एन्टी इन्फ्लामेटरी, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल जस्ता गुणले भरिपूर्ण अमलाले तपाईंको कपाल उमार्न मद्दत गर्दछ ।
तरिकाः
अमलालाई कोरेसोमा कोर्नुहोस् र त्यसमा कागतीको रस मिसाउनुहोस् ।
यो मिश्रणले टाउकाको छालामा राम्रोसँग मसाज गर्नुहोस् । आफ्नो कपाललाई सावर क्यापले छोप्नुहोस् र रातभरी छोड्नुहोस् ।
बिहान उठेर स्याम्पुको प्रयोग गरेर नुहाउनुहोस् ।
३. मेथीः
कपाल झर्न रोक्नका लागि मेथी निकै लाभदायक मानिन्छ । मेथीको गेडामा हर्मोन एन्टिसिडेन्ट्स पाइने हुँदा यसले कपाल बढ्न मद्दत गर्दछ भने कपालको जरालाई पुन उमार्न मद्दत गर्दछ । यसमा प्रोटिन र निकोटिनीक एसिड हुने हुँदा कपाल बढ्न मद्दत गर्दछ ।
तरिकाः
एक कप मेथीलाई रातभरी पानीमा भिजाउनुहोस् ।
बिहान यसलाई पेष्ट बनाउनका लागि पिस्नुहोस् ।
यसलाई आफ्नो कपालमा लगाउनुहोस् र सावर क्यापले छोप्नुहोस् । करिब ४० मिनेटपछि यसलाई पखाल्नुहोस् ।
यसले एक महिनासम्म प्रत्येक बिहान प्रयोग गर्नुहोस् ।
४. प्याजको रसः
प्याजमा उच्च मात्रामा सल्फर पाइने भएकाले कपाल झर्ने समस्या रोक्दछ । प्याजको रसले कपालको जरामा रक्त संचार गर्न मद्दत गर्नुका साथै नयाँ कपाल उमार्न मद्दत गर्दछ ।
सन् २००२ मा जर्नल अफ डर्माटोलोजीमा प्रकाशित एक रिपोर्ट अनुसार ७५ प्रतिशत मानिसहरुले प्याजको रस प्रयोग गरेर आफ्नो कपाल पुनः उमार्न सफल भएका थिए ।
तरिकाः
प्याजलाई कोरेसोमा कोरेर त्यसबाट रस निकाल्नुहोस् । यो रसलाई सिधै टाउकोमा लगाउनुहोस् । यसलाई करिब ३० मिनेटसम्म छोड्नुहोस् र स्याम्पुले नुहाउनुहोस् ।
तीन चिया चम्चा प्याजको रस, दुई चिया चम्चा एलोभेराको जेल र एक चिया चम्चा जैतुनको तेलको मिश्रण बनाउनुहोस् । यसलाई पखाल्नु र स्याम्पुले नुहाउनु पहिले आफ्नो टाउकोमा हालेर करिब ३० मिनेट छोड्नुहोस् ।
यी दुई मध्ये कुनै पनि तरिका हप्ताको दुई वा तीनपटक थुप्रै हप्तासम्म दोहोराउनुहोस् ।
५. एलोभेराः
एलोभेरामा पाइने इन्जाइमले स्वास्थ कपाल उमार्न मद्दत गर्दछ । यसमा हुने अल्कलाइजिङ गुणले कपालको जरालाई पुनः उमार्न मद्दत गर्दछ ।
यसको नियमित प्रयोगले टाउको चिलाउने समस्या पनि हट्छ भने कपाललाई बलियो र चम्किलो बनाउँछ । यसले चायाँबाट पनि राहत प्रदान गर्दछ । यसका लागि एलोभेरा जेल र जुसले काम गर्नेछ ।
तरिकाः
एलोभेरा जेल वा जुस आफ्नो टाउकोको छालामा लगाउनुहोस् ।
यसलाई केही घण्टा यत्तिकै छोड्नुहोस् र मनतातो पानीले पखाल्नुहोस् ।
यो प्रक्रियालाई हप्तामा तीनदेखि चारपटकसम्म दोहोराउनुहोस् ।
कपाल झर्नबाट रोक्नका लागि तपाईंले बिहान खाली पेटमा एकचम्चा एलोभेराको जुस पनि पिउन सक्नुहुन्छ ।
Sunday, August 28, 2016
जिप दुर्घटनामा एकको मृत्यु
१३ भदौ, हेटौँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडाैंतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरोजिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हृने यात्रु बारा जिल्ला बस्ने मुकुन्द साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त दुर्घटनामा परेका दुई जना सक्त घाइतेको प्रहरीले उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको अवस्था अहिले गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थल अमलेखगन्ज मकवानपुर जिल्लाको सिमानासँग जोडिएकाले ती घाइतेलाई हेटौँडातर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।
अब चालकको लापर्वाहीले यात्रुको मृत्यु भएमा लाइसेन्स खारेज
१२ भदौ, काठमाडौं । लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ ।
सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको बताए । उनले सवारी दर्घुटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताए ।
थप व्यवस्था के-के ?
·
यात्रुबाहक सवारीले बढी यात्रु बोकेमा चालकका अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने
·
यात्रुबाहकले मालसामान र मालबाहकले यात्रु बोकेमा चालकको अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने
·
पर्यटक सवारीले गैरपर्यटक यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि ६ महिनाका लागि निलम्बन गर्ने
·
निजी सवारीले भाडाको यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि निलम्बन गर्ने
·
सार्वजनिक सवारीले रुट इजाजत नलिएको बाटोमा सवारी चलाएमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि निलम्बन गर्ने
·
लामो रुटमा दुई चालक अनिवार्य । नभए सवारी साधनको बाटो इजाजत पत्र खारेज र दर्ता इजाजत पत्र छ महिना निलम्बन ।
संसदको रोष्टममा उभिएर मन्त्री लेखकले भनेका छन्, ‘यो कार्यान्वयन गर्न आश्वयक छ । ठीक ढंगले कार्यान्वयन गर्न सके सडक दुर्घटना न्यूनिकरण हुनसक्छ ।’
अस्थायी रुट परमिट जिल्लाबाटै
मन्त्री लेखकले अस्थायी रुट परमिट दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताए । कच्ची बाटोको रुट परमिट लिन विभाग र केन्द्रमा आउनु पर्ने व्यवस्था रहेको पाइएको भन्दै उनले अधिकार प्रत्यायोजन गरिएको बताए ।
यसले सिण्डिकेट अन्त्यमा सहयोग पुग्ने मन्त्री लेखकले दाबी गरे । रुट परमिट विना चलेको गाडी रोकिँदा यात्रुलाई केही समस्या देखिएको उनले बताए ।
सरकार सिण्डिकेट चाहन्छ कि व्यवथित यातायात व्यवस्था भन्ने सांसदहरुको प्रश्नमा मन्त्री लेखकले भने, ‘सरकार व्यवथित यातायात व्यवस्था चाहन्छ, यसका लागि सदनको साथ चाहिन्छ ।’
छतमा मानिस राख्न नहुने मागबारे जवाफ दिँदै उनले यदि यात्रुलाई असुविधा हुँदैन भने लामो दुरीको बसमा केरियर नै हटाइदिउँ भन्ने आफूलाई लागेको उनले बताए ।
अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु, ६ घाइते
१२ भदौ, सन्धिखर्क । अर्घाखाँचीको हंसपुर-५ रतनमारेमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका छजना मध्ये चार जनाको अवस्था गम्भीर छ ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्यूठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप दिउँसो सवा तीन बजेतिर रतनमारे बजार नजिकै पोष्टापाटको भीरबाट करिब सात सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा अधिकांश हंसपुर गाविसका छन् । हंसपुर गाविस-४ का ३५ वर्षीय मिनबहादुर केसी, हंसपुर-१ का ३६ वर्षीय देवबहादुर थापामगर, हंसपुर-५ का ४५ वर्षीय हुमबहादुर घर्तीमगर, हंसपुर-२ का ४५ वर्षीय रामबहादुर घर्तीमगर र धारापानी-६ अर्घाखाँचीकी ३६ वर्षीया कमला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ किमडाँडाका नारायणबहादुर राना, सन्धिखर्क नगरपालिका-२ बस्ने ३२ वर्षीया सीता नेपाली, गुल्मीको पुर्कोटदह-८ का ५९ वर्षीय भेषबहादुर थापामगर, पुर्कोटदह-४ गुल्मीकै ३७ वर्षीय जिवबहादुर कुँवर, गुल्मी भनभने-१ का ५९ वर्षीय बुद्धिबहादुर परियार र प्यूठान बांगेमरोठ ८ का ६८ वर्षीय शोभा सिंह रोकामगरको पनि दुर्घटनामा मृत्यु भएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले जानकारी दिए ।
कमला पौडेल र जिबबहादुर कुँवरको उपचारको क्रममा जिल्ला अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।
घाइते प्यूठान बाँदिकोटका जिबलाल पोख्रेल, सन्धिखर्क नगरपालीका-१ अर्घाखाँचीका अर्जुन खनाल, खन-७ अर्घाखाँचीका सुरज खनाल र पुर्कोटदह-४ गुल्मीका यमलाल कुँवरको सन्धिखर्क जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
धारापानी-६ की मुना पौडेल र धारापानी-६ कै कविता पौडेलको भने जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।
गाडी चालक प्रहरी हिरासतमा रहेका छन् ।
जीपमा तीनजना बच्चासहित १९ जना यात्रु चढेका थिए । उकालोमा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।
घटनास्थल अर्घाखाँची सदरमुकाम सन्धिखर्कदेखि झन्डै ३० किलोमिटर पश्चिममा पर्दछ ।
प्रेम गर्ने मान्छेका लागि म करिअर छाड्न सक्छुः कट्रिना कैफ
नायिका कट्रिना कैफको करिअर अहिले सन्तुलीत रुपमा अगाडि बढेको छ । यी नायिका बलिउड करिअरमा सफल मानिन्छिन् । नायक रणवीर कपुरसँगको प्रेममा परेपछि कैफको करिअर ओरालो लागेको थियो । तर, अहिले यी दुई अलग भैसकेका छन् ।
रणवीरको प्रेममा लामो समय परेकी कट्रिना आफूलाई माया गर्ने मान्छे पाएको खण्डमा बलिउड करिअर नै छाडिदिने बताउँछिन् । कट्रिनाले भनिन्-‘पक्कै पनि कोही पुरुषले आफूलाई वास्तविक प्रेम गर्छ भन्ने लाग्छ भने, म बलिउड करिअर छाड्न तयार छु ।’
उनले भनिन्-‘यदि मेरो मनले मलाई घरमै बसेर बच्चा हुर्काउनु भन्छ भने म बलिउड करिअर छाड्न तयार छु । हरेक महिला जस्तै मलाई पनि आमा बन्ने रहर छ । हरेक महिलाले यो कुरालाई पछ्याउछन् भन्ने मलाई लाग्छ ।’
भारतीय अभिनेत्री सोनम कपुर कुपोषण विरुद्ध लड्दै
काठमाडौ । भारतीय अभिनेत्री सोनम कपुर अब कुपोषण विरुद्ध अभियानमा सहभागी हुने भएकी छन् ।
फाइट हंगर फाउण्डेन नामक एनजिओले उनलाई सद्भावना दूत बनाएसँगै उनले कुपशोषण विरुद्ध सक्रिय हुन लागेकी हुन् । यो गैरसरकारी संस्था हाल भारतको राजस्थान, महाराष्ट्र तथा मध्य प्रदेशमा सकि्रय छ । उक्त ठाउमा विज्ञहरुको टोलीले कुपोषित बालबालिकाको उपचारका साथ यसको राकथामबारे काम गर्नेछन् ।
यस सन्दर्भमा सोनमले भनिन्, ‘कुपोषणका कारण भारतमा वर्षेर्नी एक लाख भन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ । यो मेरो सोच भन्दा बाहिर छ कि यी बालबालिकालाई उचित पोषण तथा स्वच्छ पिउने पानी किन पुग्न सकिरहेको छैन ।’
उनले यस दौरान फाइट हंगरले सञ्चालन गर्दै आएका परियोजनास्थलहरुको अवलोकन गरेकी थिइन् ।
अवलोकनका क्रममा उनले थुप्रै कुपोषित बालबालिका तथा उनीहरुका आमासँग भेट गरिन् । ‘निरजा’ फिल्मकी अभिनेत्रीको आशा छ कि भारत कुपोषण रहित बन्नेछ । उनले भनिन्,’ म सबैमा आग्रह गर्न चाहन्छु कि अगाडी आउ र कुपोषणको विरुद्ध लडिरहेका मानिसहरुको सहयोग गरौ’ ।
जनचेतनाको कमीले पाठेघर क्यान्सर रोगी बढ्दै
काठमाडौं । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यसलाई समयमै सजगता अपनाउने हो भने यो क्यान्सरबाट बच्च सकिने चिकित्सक बताउँछन् ।
ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को सङ्क्रमणले हुने यो क्यान्सरबारे अझ पनि धेरै महिला अनभिज्ञ भएको क्यान्सर केयर फाउन्डेसनकी महासचिव डा. सरीता घिमिरेको अनुभव छ । उनी भन्छिन्, ‘नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरले पीडित महिलाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो निकै डरलाग्दो कुरा हो । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको सङ्ख्या बढ्दो क्रममा छ ।’
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि प्रजापति भन्छिन्, ‘यो सङ्क्रमणलाई प्री क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ/दश वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । सङ्क्रमण भए/नभएको प्याप स्मेयर टेस्ट (गर्भाशय स्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ ।’
यो पाठेघरका कोशिका सामान्य अवस्थामा रहे, नरहेको पत्ता लगाउने सरल र छरितो विधि पनि हो । यो परीक्षण सस्तो पनि छ र यो जाँच गर्दा महिलालाई दुख्दैन । यो ५ देखि १५ मिनेटमा गर्न सकिन्छ । प्यापस्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै, यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन । यो परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन ।
डा. प्रजापति यो परीक्षण २३ वर्षभन्दा माथिका वा बिहे भई तीनवर्ष पूरा भएका महिलाले गर्नुपर्ने सल्लाह दिनुहुन्छ । यो परीक्षणले भविष्यमा हुने ठूलो धनजनको क्षति हुनबाट बचाउँछ । यो परीक्षण पहिला ६ महिनाको फरकमा तीनपटक गर्नुपर्छ । यो तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ । यसमा पनि नेगेटिभ देखिएमा ३ वर्षपछि परीक्षण गराउनुपर्छ । यसमा पनि नेगेटिभ देखिएमा ५ वर्षपछि परीक्षण गर्नुपर्छ । यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुँदैन । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने चिकित्सकको भनाइ छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको पनि आविष्कार भइसकेको छ । यो खोप ९ देखि १३ वर्षका बालिकालाई लगाइन्छ तर नेपालमा यो खोप महँगो पर्ने भएकाले नेपालमा खासै प्रयोगमा आउन सकेको छैन । तर पनि सरकारले कास्की र चितवनबाट यो खोप लगाउने कार्य सुरु गरिसकेको छ ।
डा. प्रजापति यदि पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क सुरु भएपछि यसले असर देखाउन सुरु गर्ने र योनीबाट सेतो पानी बग्ने र चिलाउने जस्ता प्रारम्भिक लक्षण देखापर्ने बताउँछिन्।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति अग्रवाल यस्ता लक्षण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनुपर्ने बताउँछिन् । यो परीक्षणले सङ्क्रमण क्यान्सर हुनुअगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिने उनको भनाइ छ । धेरै जनासँग असुरक्षित यौन सम्बन्ध राखेमा, पुरुषले धेरैजनासँंग असुरक्षित यौन सम्बन्ध राखेमा, सानै उमेरमा विवाह भएमा, सानै उमेरमा यौन सम्बन्ध राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धूमपान गरेमा (महिला वा पुरुष), पाठेघरको मुखको क्यान्सरको खतरा बढ्ने डा. अग्रवालको भनाइ छ ।
लामो समयसम्म (५ वर्षभन्दा बढी) हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पनि यसको सम्भावना हुन्छ । हार्माेनयुक्त परिवार नियोजनका साधन ३/४ वर्षको बीचमा केही समय रोकेर पुनः प्रयोग गर्नु राम्रो हुन्छ ।
हार्माेनले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने भएकाले बीच-बीचमा साधन परिवर्तन गर्नुपर्छ । यदि यौनसम्पर्क गर्दा रगत देखिएमा, महिनावारी नभए पनि रगत देखिएमा, योनीबाट सेतो गन्हाउने पानी आउने, सानो पेट दुखिरहने, ढाड दुख्ने, थकाइ बढी लाग्ने, लामो समयसम्म खोकी निको नहुने, स्वर परिवर्तन हुने, दिसा वा पिसाबको तालिका फरक हुने, तौल घट्दै जाने जस्ता लक्षण देखिएपछि पाठेघरको मुखको क्यान्सर भएको हुनसक्ने भएकाले यदि यीमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्ने डा. प्रजापतिको सल्लाह छ ।
मासु खान छोड्नुस् अल्जाइमरबाट बच्नुस्
काठमाडौ । खानामा बढी चिल्लो र मासुको परिकार धेरै प्रयोग गर्ने मानिसमा प्राणघातक रोग अल्जाइमरको खतरा उच्च रहने तथ्य एक अध्ययनबाट पत्ता लागेको छ । त्यसको विपरित परम्परागत खानाको सेवन गर्ने भारत, जापान तथा नाइजेरिया लगायतका देशहरुमा अल्जाइमरको जोखिम कम हुने गरेको छ ।
विश्वव्यापी रुपमा, झण्डै ४२ हजार भन्दा बढी मानिस अहिले डिमेन्सिया-पागलपनका शिकार छन् । डिमेन्सिया रोग अल्जाइमर रोगको सामान्य प्रकार हो । यो रोग अहिले विश्वव्यापी रुपमा फैलँदो छ ।
अल्जाइमर रोगको जोखिम बढाउने प्रमुख कारकमा आहार पर्दछ, जुन पश्चिमाहरुको चिनारीको रुपमा रहेको मासु, मिठाई तथा उच्च चिल्लो मिसिएको दूधको परिकारसित सम्बन्धित छ ।
उदाहरणको लागि जापानले आफ्ना पोषणयुक्त पारम्परिक जापानीज खानालाई पश्चिमी देशहरुको जस्तो खानामा परिणत गर्यो, सन् १९८५ मा अल्जाइमर रोग एक प्रतिशतबाट बढेर सन् २००८ मा सात प्रतिशतमा पुगेको थियो । जसमा २०-२५ वर्षसम्म पोषणको स्तर न्युन रहेको थियो ।
पर्यावरण तथा अकलोकनका आधारमा आएका यी प्रमाणले के देखाउँछ भने फलफुल, तरकारी, अन्न, बोसो रहित डेरीबाट उत्पादित खाना लगायत माछाले अल्जाइमरको जोखिम कम गर्न सहयोग गर्दछ ।
यो अनुसन्धानलाई समिक्षा गर्न नयाँ पर्यावरणीय अध्ययन गरिएको थियो । जसमा ब्राजिल, चीन, क्युवा, इजिप्ट, चाइल, भारत, मंगोलिया, कोरिया, श्रीलंका, अमेरिका लगायतका दश देशका मानिसमा देखिएको अल्जाइमरको समस्याबारे अनुसन्धान गरिएको थियो । जसमा अल्जाइमर रोग भएका मानिसको ५, १० र १५ वर्ष अघिको आहारको स्तरबारे अध्ययन गरिएको थियो ।
अध्ययनले आहारमा आधारित रहेर निश्चित देश तथा क्षेत्रले अलजाइमरको क्षेत्रमा विकास गरिरहेको जोखिमबारे छलफल गरेकेा थियो ।
विशेषगरी, मासुको खपत ज्यादा गर्ने अमेरिकी नागरिकमध्य प्रत्येकमा अल्जाइमरको विकास हुने सम्भावना चार प्रतिशत रहने गरेको छ ।
‘मासुको उपभोग कम गर्नाले अल्जाइमरको जोखिम कम हुनुका साथै विभिन्न प्रकारका क्यान्सर, टाइप २ मधुमेह, स्ट्रोक तथा मृगौला रोगको जोखिम कम हुने गर्छ’ अध्ययनका लेखक विलियम बी ग्राण्टले भने । उनको यो अनुसन्धान जर्नल अफ द अमेरिकन कलेज अफ न्युटिसनमा प्रकाशित छ ।
‘पर्यावरण तथा अवोकनका आधारमा गरिएको अध्ययनले मासुको खपत हुने पश्चिमा खानाले अन्य गम्भीर समस्या लगायत अल्जाइमरको जोखिम बढाउने गर्छ’, ग्राण्टले भने ।
यद्यपी पारम्परिक भु-मध्य आहार पश्चिमी आहार भन्दा करिब आधा कम जोखिमसित सम्बन्धित छ, त्यसैगरी भारत, जापान, नाइजेरिया लगायत देशहरु जहाँ मासुको खपत कम हुन्छ, अल्जाइमरको जोखिम अझ ५० प्रतिशतले कम हुने गर्छ’, उनले भने ।
विशेषगरी पाँच बर्षदेखि लगातार जनावर तथा मासुको परिकार खानेमा अल्जाइमर रोगको जोखिम रहने गरेको पाइएको छ ।
Subscribe to:
Comments (Atom)