Friday, August 31, 2018

अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई, यस्तो छ नियम

काठमाडौं । अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रले नै पाएको छ । सरकारले पर्यटक उद्दारको जिम्मा प्रहरीलाई दिने तयारी गरेपनि निजी क्षेत्रको चर्को दबाबपछि खोज तथा उद्दारको जिम्मा निजी क्षेत्रले नै पाउने भएको हो । गत साउन १५ गते पर्यटन मन्त्रालयले हिमालय क्षेत्रबाट हुने पर्यटकको उद्धारमा नेपाल प्रहरीलाई संलग्न गराउन गृहमन्त्रालय समक्ष प्रस्ताव गरेको थियो । ‘फेक रेस्क्यु’मा संलग्नहरूलाई संगठित अपराध तथा ठगी मुद्दामा कारवाही अघि बढाउन र उद्धारको जिम्मा प्रहरीलाई दिन भन्दै पर्यटनले गृहलाई फाइल पठाएको थियो । शुक्रबार ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनगमन सम्बन्धी कार्यवधि २०७५’ जारी गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागको अनुमति विना साहसिक पर्यटनको क्रियाकलाप गर्न गराउन नपाइने नियम ल्याएको छ । सरकारले पर्यटकको खोज, उद्धार र उपचारको जिम्मेवारी सम्बन्धित ट्राभल, ट्रेकिङ, एक्सपिडिसन तथा र्‍याफ्टिङ एजेन्सीलाई नै दिने भएको छ । रेस्क्युका नाममा हुने फर्जी उद्धार लगायतका विकृतिको अनुगमन र नियमन र नियन्त्रणको जिम्मा पर्यटन विभागलाई दिइएको हो । पर्यटन विभागले बनाएको कार्यविधिमा खोज तथा उद्धारका लागि सहयोगी व्यक्ति, सङ्घ–संस्था, एजेन्सी, वायु सेवा वा हेलिकप्टर कम्पनीहरुको सहयोगको लागि अनुरोध गर्दा उद्धार गर्नुपर्ने पर्यटकको नाम, राष्ट्रियता, राहदानी नम्बर, पहिचान हुन सक्ने अन्य कुनै परिचय खुल्ने कागजात, खोज तथा उद्धार गर्न जाने स्थान वा क्षेत्रको यकिन विवरण खुलाउनु पर्ने उल्लेख गरिएको छ । यस्तै खोज तथा उद्धार गर्नुपरेको अवस्थामा सम्बन्धित एजेन्सीले सोको सूचना पर्यटक प्रहरी तथा पर्यटन विभागलाई अनिवार्य रुपमा दिनुपर्ने, पर्यटक उद्धार गरिएको साधान, उद्धार लागत, उद्धार गरी उपचारका लागि लगिएको अस्पताल वा स्वास्थ्य संस्था र पर्यटकको अवस्थाको जानकारी यथाशीघ्र पर्यटक प्रहरी तथा पर्यटन विभागलाई दिनुपर्ने छ ।

No comments:

Post a Comment