Sunday, November 26, 2017
यी महिला, जसले १० हजार जनासँग सेक्स गरेकी छिन्
अष्ट्रेलियाकी एक महिला अहिले चर्चामा छिन् । ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो आफ्नो द सेक्रेट ट्याबु नामको किताबमा गरिएको खुलासाका कारण चर्चामा आएकी हुन् ।
पेशाले यौनकर्मी रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौनपेशामा रहँदा पछिल्लो १५ वर्षमा आफुले हासिल गरेका अनुभवलाई सँगालेकी छिन् ।
उनले यस किताबमा एक सफल यौनकर्मी बन्ने टिप्सहरु पनि प्रस्तुत गरेकी छिन् । किताबमा उनले आफुले अहिलेसम्म १० हजार मानिससँग सेक्स गरेको खुलासा गरेकी छिन् ।
आफुमाथि सामुहिक बलात्कार भएसँगै उनले यौन पेशा अँगाल्ने निर्णय गरेकी थिइन् । आफ्नो पहिलो किताबमा उनले आफ्नो जिवनका उतारचढावका बारेमा उल्लेख गरेकी छिन् ।
उनले यौनपेशा छाडेर व्यवसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौनपेशामा लागेको खुलासा गरेकी छिन् ।
ग्वाइनेथले अहिले चाहीँ यौनपेशा छाडिसकेकी छिन् । केवल जवान महिलाहरु मात्र यो पेशामा टिक्नसक्ने उनको अनुभव छ । अहिले उनी परिवारसँग छिन् र व्यवसाय पनि गर्छिन्।
एजेन्सी
मालिकको परेवालाई बचाउन बाँदरले गर्यो बलिदान !
तपाईंले बफादार कुकुरको बारेमा विभिन्न कहानीहरु सुन्नुभएकै छ होला । तर के तपाईंले कहिल्यै कुकुरजस्तै बफादार बाँदरको बारेमा सुन्नुभएको छ ?
सायद बाँदर यतिधेरै बफादार बनेको दुनियाँमा पहिलो घटना होला यो । भारतको कलकत्तामा एउटा बाँदरले आफ्नो मालिकको परेवाको ज्यान जोगाउनका लागि आफ्नै प्राणको आहुति दिएको छ ।
यो बाँदरले आफ्नो मालिकको घरमा घुसेका एक हुल चोर मान्छेसँग जमेर भिडन्त गर्यो र चोरहरुलाई चोर्नबाट रोक्न सफल भयो ।
कलकत्ताको काशीपूर इलाकामा एकजना मानिसले आफ्नो घरमा बाँदर र केही परेवा पालेका थिए ।
एकदिन परेवा चोर्नका लागि घरमा केही चोरहरु आए । घरमा चोर घुसेपछि बाँदरले चोरहरुमाथि जाईलाग्यो । चोरसँगको लडाइँमा चोरहरुको प्रहारबाट बाँदरको ज्यान गयो । तर उसले अन्तिम समयसम्म पनि चोरहरुलाई परेवा चोर्न दिएन ।
प्रहरीले ती घरमालिकको जाहेरीका आधारमा चोरहरुलाई पक्राउ गरेको छ । आफ्नो चोरी कार्यमा बाँदरले रोकावट गरेपछि बाँदरलाई मारिदिएको अभियुक्तहरुले पुलिससामु बयान दिएका छन् ।
एजेन्सीको सहयोगमा
कपडा गहना होइन, यहाँ दुलहाले दाइजोमा पाउँछन् २१ विषालु सर्प
विवाहमा महिलाको घरबाट पुरुषको घरमा विभिन्न उपहार दिइनछ । घरको सामानदेखि गर–गहनासम्म, आमाबुवाले आफ्नी छोरीलाई विभिन्न सामान दिने गर्दछन् । तर एउटा यस्तो समाज पनि छ जहाँ छोरीको विवाहमा घरको सर–सामान नभई सर्प दिइन्छ, त्यो पनि विषालु । हो । यो कुनै ठट्टा होइन । यो परम्परा शताब्दिदेखि चल्दै आएको छ ।
सर्प पूरा नदिए विवाह टुट्ने सम्भावनाः
भारतको मध्य प्रदेशको गौरिया समुदायमा यो परम्परा निकै वर्ष पहिलेदेखि चल्दै आएको छ । यहाँ बुवाले आफ्नी छोरीको विवाहका बेला २१ विषालु सर्प दिन्छन्, यदि कसैले यस्तो गर्न असफल भए त्यो विवाह टुट्ने पनि गर्दछ । यहाँ सर्पलाई दाईजोको रुपमा नै दिइन्छ ।
यसकारण उपहारमा दिइन्छन् सर्पः
गौरिया समूदायका मानिसहरु विषालु सर्प समात्ने काम गर्दछन् । यही नै उनीहरुको आयश्रोत हो । विषालु सर्प देखाएर उनीहरु मानिसहरुसँग पैसा माग्छन् । त्यसकारण बुवाले छोरीलाई विवाहका बेला विषालु सर्प उपहारस्वरुप दिने गर्दछन् ता कि ज्वाईंले ती सर्पको प्रदर्शन गरेर उनीहरुको छोरीलाई भरण पोषण गर्न सकून् । छोरीको विवाह निश्चित भएलगत्तै उपहारका लागि सर्प समात्न सुरु गरिन्छ ।
निकै विषालु हुन्छन् यी सर्पः
दिइने सर्पमा कुनै त निकै विषालु पनि हुन्छन् जसले एकपटक टोके मानिस बच्ने सम्भावना निकै कम हुन्छ । यस्ता विषालु सर्पलाई यी मानिसहरु धेरै वर्ष पहिलेदेखि नै समात्दै आइरहेका छन् ।
एउटा बाइकमा सवार थिए पाँच व्यक्ति, पुलिसले कारवाहीको साटो यसो पो गरे
नियम अनुसार बाइकमा दुई व्यक्तिमात्र सवारी गर्न सक्छन् । तेस्रो व्यक्ति बसेको अवस्थामा पुलिसले थुप्रैलाई कारवाही गरेको हामीले देखेका र भोगेका पनि छौं । तर एउटा बाइकमा पाँच व्यक्ति सवार भएको र ट्राफिक प्रहरीले देखेको अवस्थामा के होला ?
आन्ध्र प्रदेश पुलिसका अधिकारीले जे गरे त्यसले तपार्ईंको अनुहारमा मुस्कान ल्याइदिन्छ । बेंगलुरुका डिसिपी ट्राफिक अभिषेक गोयलले एक पुलिसको तस्बिर सेयर गरेका छन् जसले बाइकमा पाँच व्यक्ति बसाएका यात्रा गरिरहेका एक पुरुषलाई नमस्कार गरिरहेका थिए । उनका अनुसार ती पुलिसले बाइक चलाइरहेका व्यक्तिलाई नमस्कार गरेर अबदेखि ट्राफिक नियमको पालना गर्न अपिल गरे ।
अभिषेकले लेखे, ‘यी अधिकारी अरु के गर्न सक्थे । हामीसँग सधैं एक सुरक्षित तरिका हुन्छ । तपाईं पनि सुरक्षित तरिका अपनाउनुस् र सुरक्षित रहनुस् ।’ अभिषेकको यो ट्वीट हेर्दा हेर्दै भाइरल भयो । उनको यो ट्वीट अहिलेसम्म १७ हजारभन्दा धेरै मानिसले रिट्वीट गरेका छन् भने करिब ३१ सयले लाइक गरेका छन् ।
सुँघेर रङ्ग पत्ता लगाउने पोखराकी दीप्तिको चर्चा
काठमाडौँ । पोखराकी ११ वर्षीया दीप्ति रेग्मी यतिबेला चर्चाको विषय बनेकी छिन् । समाजिक सञ्जाल हुँदै उनीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत समाचार बनाइरहेको छ ।
शिशिनिकेतनमा कक्षा ५ मा अध्ययनरत दीप्ति सुँघेर रंग पत्ता लगाउन सक्छिन् । उनी यो अनौठो शक्ति भगवानबाट प्राप्त भएको बताउँछिन् ।
उनको यो अवस्थाबारे नेपालका डाक्टरले केही नबताए पनि यो अवस्था ‘साइनेस्थिया’ नामक सुँघ्नेसम्बन्धि विकारसँग मिल्दो जुल्दो रहेको डेली मेलमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
यस्तो अवस्थामा केही मानिसहरुको इन्द्रिय शक्ति अनौठो बन्ने गर्छ जसमा उनीहरु रंगलाई सुँघ्न, सुन्न र स्वाद लिन सक्छन् ।
यति बेला समाजिक सञ्जाल युट्युबमा चर्चित बनेको दीप्तिको एउटा भिडियोमा उनले आँखा बन्द गरेर रंगलाई नाकले सुँघेर पत्ता लगाएको देखाइएको छ । त्यस्तै उनले पत्रिकामा लेखिएका शब्दहरु छामेर पढ्न सकेको पनि देखाइएको छ ।
स्थानीय समाचारहरुलाई उद्धृत गर्दै डेली मेल लेख्छ, ‘उनले आफ्नो यो क्षमताको बारेमा गत वर्ष थाहा पाएकी थिइन् । त्यसपछि उनले आफ्नो सुँघ्ने शक्तिलाई अझ तिर्खान प्रशिक्षण शुरु गरिन् ।’
उनको उक्त भिडियो पुष्कर नेपाल नामक युवाले रेकर्ड गरेका हुन् । स्थानीय मिडियासँग कुरा गर्दै पुष्करले भने, ‘देख्लान् कि भनेर मैले उनको आँखामा लगाएको पट्टी चेक गरेको थिएँ । उनले सुँधेर रंग पत्ता लगाउने र छामेर अक्षर चिन्न सक्ने क्षमता देखेर म दंग परे ।’
‘यति सानो उमेरामा पनि उनी समाजप्रति जिम्मेवार रहेको पाए’ पुष्कर भन्छन्, ‘आफ्नो क्षमताको प्रयोग दृष्टिविहिनहरुलाई सहयोग गर्न प्रयोग गर्ने उनले बताइन् ।’
दीप्ति पढाईमा पनि उत्तिकै अब्बल छिन् । यता, उनको यो अनौठो क्षमता देखेर उनका आमाबाबुदेखि शिक्षकहरु सबै दंग छन् ।
यसअघि लण्डनका २९ डेभ इभान्सको यस्तै प्रकारको अनौठो अवस्था रहेको थियो । कसैले केही शब्द उच्चारण गर्दा उनले खानेकुराको स्वाद थाहा पाउने गरेका थिए ।
कसैले ‘इस्ट’ भने कर्नफ्लेक्स र ‘ब्रिस्टल’ भने उनको मुखमा सुंगुरको मासुको स्वाद आउँथ्यो । त्यस्तै नटिङह्यामका २२ वर्षीया क्याथरिन ज्याकसनले ‘रोरी’ नाम सुन्दा उनको मुखमा गाँजरको स्वाद आउने समाचार प्रकाशित भएका थिए ।
नोकरी छाड्ने भए अपनाउनुहोस् यस्ता शानदार तरिका
बीबीसी– बिहिवार एउटा अनौठो घटना भयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट अचानक डिलिट भयो र लगभग ११ मिनेपछि फेरि सुचारु भयो ।
ट्रम्पको ट्वीटर एकाउन्ट डिलिट भएलगत्तै सोसल मिडिया निकै हल्लीखल्ली भयो । कसैलाई लाग्यो सायद ट्रम्पको एकाउन्ट ह्याक भयो, कसैका लागि यो मानवीय भूल जस्तो लाग्यो ।
जे होस्, जव यो रहस्यमय घटनाको पर्दा उत्रियो, थाहा भयो कि यो काम ट्वीटरकै एक कर्मचारीबाटै भएकै हो ।
विहिवार ट्वीटरमा काम गर्ने ती कर्मचारीको अन्तिम दिन थियो, नोकरी छाड्ने आफ्नो यो तरिकाले उनले आफुलाई संसारभर समझनयोग्य बनाए ।
नोकरी छाड्नु हाम्रो करियरको एक ठूलो फैसला हुन्छ । कैयौ पटक पुरानो कार्यलयबाट तनाव भएर, तलवबाट असन्तुष्ट भएर वा अन्य स्टाफसँग कुरा नमिलेर नोकरी छाड्ने निर्णय गरिन्छ ।
नोकरीका कतिपय यस्ता पनि मौका हुन्छन्, खुसीले नै नोकरी छाडिन्छ, ताकि गरिरहेको भन्दा राम्रो अवसर अनेत्र भेटिन्छ ।
जे सुकै भएपनि नोकरी छाड्ने विषयमा आफ्ना हाकिम वा साहुलाई भन्नु निकै गा्रहो काम हुन्छ ।
सन १०१० मा स्टीवन स्लेटर नामका एक एयर स्टीवर्ड हवाई उडानका बेला आफ्ना यात्रीबाट यति तनाव झेलेको कि, उनले पिर्टसबर्गबाट न्यूयोर्क जाने फ्लाइटमै बिचमा नोकरी छाडे ।
फ्लाइटका बेला यात्रीलाई सम्झाए कि, धेरै समान बोकेर यात्रा नगर्नुस्, तर कतिपय यात्रुले उनको भनाई नजरअन्दाज गरे ।
त्यसपछि स्टीवनले फ्लाइटमै इन्टरकमबो माध्यमबाट घोषणा गरे, ‘उनी सवैलाई धेरै धेरै धन्यावाद, जसले मलाई पछिल्लो २० बर्षसम्म साथ दिए ।’
स्टीवनले वियर उठाए र नोकरीलाई गुडवाई भने । तर, पछि यसरी नोकरी छाडेको भनेर उनले आफ्नो कम्पनीलाई १० हजार डलरको जरिवाना तिर्नुपर्यो ।
१.५ करोड डलरको विश्वकै सबैभन्दा महंगो जुत्ता
बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महंगो जुत्ता सार्वजनिक गरेकी छिन् । हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ । यसको मूल्य १.५१ करोड डलर राखिएको छ ।
विङहम यस्तै महंगो डिजाइनहरुका लागि चर्चित छिन् । उनले विभिन्न सेलेब्रिटी, राजपरिवार र धनाढ्यहरुका लागि काम गर्ने गरेकी छिन् ।
यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन् । ‘रेड डाइमण्ड अबाया गाउन’ मा २ हजारभन्दा बढी हिरा जडित थियो भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो । यसको मूल्य १.५४ करोड डलर राखिएको थियो ।
विङहमको कोटर टु केक्स नामक बेकिङ कम्पनी पनि रहेको छ । उनले एक युएईको ग्राहकका लागि ६.४ करोड अमेरिकी डलर पर्ने केक बनाएकी थिइन् ।
विङहमको पछिल्लो सृजना फ्लोरिडाका कलाकार क्रिस क्यामबेलसँगको संयुक्त प्रयासमा निर्माण गरिएको हो । विङहमले जुत्ताको डिजाइन तयार पारेकी थिइन् भने क्यामबेलले त्यसको निर्माण गरेका थिए । यो जुत्ता तयार गर्न १ सय घण्टाभन्दा बढी समय लागेको बताइएको छ ।
जुत्तामा तीनवटा दुर्लभ गुलाबी हिरा र एउटा एक क्यारेटको निलो हिरा राखिएको छ । यिनीहरु एउटैको १२.८ लाख अमेरिकी डलर पर्दछ । यसको साथै जुत्तामा चार वटा तीन क्यारेटको हिरा र १ हजार प्वाइन्टर हिरा रहेको छ ।
यस जुत्ताको चेन र सोल सुनको छ । छालामा २४ क्यारेटको सुन स्प्रे गरिएको छ भने यो जुत्ता सिलाउन १८ क्यारेटको सुनको धागो प्रयोग गरिएको छ ।
यो जुत्ता दुबईका एक ग्राहकले जन्मदिनका लागि बनाउन अर्डर दिएको विङहमले बताइन् ।
गुल्मीमा ३ आँखा, २ मुख भएको अनौठो गाई हेर्नेको घूइँचो
गुल्मी– गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको हो ।
मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको मन्दिर समितिका सदस्यहरुले बताएका छन् ।
सो गाइलाई गुल्मीका बामीटक्सार, कुर्घा मुसिकोटलगायतका स्थानमा गाडीमै राखेर घुमाइएको छ । अनौठो प्रकारको यो गाई हेर्न आउनेहरुले ढोग्ने र भेटी चढाउने गरेको मन्दिर संरक्षण समितिका सदस्य सिताराम दाहालले जानकारी दिए ।
२०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै विभिन्न जिल्लाका सर्वसाधरणलाई देखाउदै आएको छ ।
यो गाई देख्दा मात्रै होइन, यसको विशेषता पनि अचम्मको रहेको छ । यो गाईले नव्याउँदै दुध दिने गरेको छ । जन्मेको ९ महिनादेखि गाईको कल्चौडो (फाँचो) बढेको र दैनिक आधा माना दुध दिने गरेको मन्दिरका सदस्य दाहालले जानकारी दिए ।
हिन्दू धर्म अनुसार गाइलाई लक्ष्मीमाता भनेर पुजा समेत गर्ने गरिन्छ । अझ यस्तो अनौठो प्रकारको गाईमा शक्तिस्वरुप भएको कतिपयको भनाई रहने गरेको छ ।
गैंडा हेर्न जिप सफारी
रत्ननगर । विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न आउने पर्यटकहरुको आकर्षक गन्तव्य चितवनको कुमरोज बन्न थालेको छ । सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ आएका पर्यटकहरु गैंडा देखेर रमाउने गरेका छन् ।
सामुदायिक वन घुम्दा गैंडा देखेरै फर्कने गरेकाले पनि यहाँ उनीहरु आकर्षित हुने गरेको बताउँछन्, कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपाल । उनका अनुसार हिजो शनिवार झण्डै ३०० जना पर्यटकले कुमरोज वन घुमे ।
“विदाको दिनमा धेरै नै बढी पर्यटक आउँछन्,” नेपालले भने – झण्डै ३०÷४० वटा जिपमा पर्यटकहरु आएर गैंडा हेर्छन् ।’
चितवनको सौराहाबाट उत्तर पूर्व ५ किलोमिटर दूरीमा पर्छ कुमरोज । चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर अन्तर्गत पर्ने सो ठाउँमा अहिले ५ देखि ७ वटा गैंडा छन् ।
बाघ, हात्ती, भालु, चित्तल, मयुरलगायत वन्यजन्तु र चराचुरुंगिको राम्रो बासस्थानका हिसाबले यो सामुदायिक वन महत्वपूर्ण मानिन्छ । अझै गैंडा हेर्न भनेर आउने पर्यटकको संख्या बढी छ । सौराहा आएका पर्यटकहरु यहाँ घुम्न पुग्छन् ।
पूर्वी चितवनको कुमरोजमा वन र दुर्लभ तथा संरक्षित वन्यजन्तुको संरक्षण हुन थालेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । सो सामुदायिक वन ६९७ हेक्टरमा फैलिएको छ ।
एकसिंगे गैंडा र बाघको बासस्थान बढेपछि वन अवलोकनका लागि पर्यटक बढी आउन थालेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीरा गुरुङले बताए । चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक जिप सफारी सञ्चालन गरिएको छ ।
हात्ती सफारीको सुविधा समेत कुमरोजमा छ । रात बिताउनका लागि २ वटा मचान समेत भएकाले मचानमा बसेर पर्यटकहरुले गैंडा तथा वन्यजन्तुहरु अवलोकन गर्न पाउँछन् ।
अघिल्लो वर्षमा ५० हजार भन्दा बढी भन्दा पर्यटकले कुमरोज घुमेकामा अहिले बढ्ने अनुमान गरिएको वनका कार्यालय सचिव नेपालले जानकारी दिए । उनका अनुसार वनमा पर्या–पर्यटनबाट नै ७० देखि ८० लाखको आम्दानी हुन्छ । उक्त आम्दानी स्थानीयवासीको आयआर्जन, संरक्षण तथा विकासमा लगाइँदै आइएको छ ।
गएको वर्षदेखि यहाँ जिप सफारी समेत शुरु भएपछि पर्यटकको थप आकर्षण बढेको छ । यहाँ आउने पर्यटकलाई जिप सफारीमा नेपालीलाई रु ५०, सार्क देशका लागि रु १०० र बाह्य मुलुकका पर्यटकलाई रु २०० लिने गरिएको छ ।
यस्तै, जिप प्रवेश गरेबापत रु ५०० लिने गरिएको छ । जिपमा करिव १८ किलोमिटर जंगल घुमेर पर्यटकहरु रमाउँछन् । पर्यटन र संरक्षणमा स्थानीय समुदायको समेत हातेमालो भएकाले संरक्षण प्रभावकारी भएको र पर्यटक आकर्षित हुन थालेको बताउनुहुन्छ समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका संयोजक ईश्वरी पाठक ।
पहिले गैंडाका लागि यहाँ कृत्रिम ताल बनाउनु परेकामा अहिले गैंडाहरु उक्त वनमा प्रशस्तै देखिन थालेको छ । पछिल्लो तथ्याँकमा चितवन निकुञ्जमा ६०५ गैंडा छन् । निकुञ्जका गैंडा घुम्दै सो क्षेत्रमा आइपुग्छन् ।
अहिले दैनिक एकसय भन्दा बढी विदेशी र स्वदेशी पर्यटकले कुमरोज वनमा पुगी जिप र हात्तीमा चढेर वन्यजन्तु समेत अवलोकन गर्दै आएका छन् ।
गाउँमा पनि पर्यटकको बसाइँ लम्ब्याउन यहाँ होमस्टे सञ्चालन समेत गरिएको नेपालले जानकारी दिए । स्थानीयवासी गोविन्द दराई अहिले यहाँ ५ वटा दराई तथा थारु होमस्टे खुलेको र अझै एकदर्जन बढी होमस्टे सञ्चालनको योजना रहेको बताउँछन् ।
बम फेला परेपछि स्थगित भएको हाङपाङमा पुनः मतदान सुरु
ताप्लेजुङ–ताप्लेजुङको हाङपाङमा बम फेलापरेपछि स्थगित भएको मतदान प्रक्रिया सुरु भएको छ ।
आज विहान मतदान सुरु भैसकेपछि आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङस्थित आठराई त्रिबेणी गाउपालिकाको सरस्वती मावि मतदान केन्द्रनजिकै बम फेला परेको होे ।
नेपाली सेनाको टोलीले बम डिस्पोज गरेपछि मतदान सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यलयका प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुासर सरस्वती मावि मतदान केन्द्र नजिकै बम फेलापरेपछि केहीबेर मतदान स्थगित भएपनि साढे ११ बजेबाट सुरु भएको छ । ताप्लेजुङ प्रहरीका अनुसार जिल्लाका अरु मतदान केन्द्रमा भने शान्तिपुर्ण मतदान भैरहेको छ ।
'वाम गठबन्धनका कारण काँग्रेस झन् बलियो'
चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले वाम गठबन्धनका कारण पनि काँग्रेस बलियो हुन मद्दत पुगेको बताएका छन् ।
नवलपुर जिल्लाको क्षेत्र नं १ मा चुनावी अभियानका क्रममा आज दलदलेमा पत्रकारसँग कुरा गर्दै उनले वामपन्थी शक्ति एक भएपछि देशमा साम्यवादी खतरा आउनसक्ने भन्दै गुट उपगुटमा रहेको काँग्रेस र लोकतन्त्रवादी शक्ति संगठित बनेको बताए । “काँग्रेसले अबको १० वर्षमा मुलुकलाई कस्तो बनाउने भन्ने खाका तय गरिसकेकाले अब देश सम्मृद्धितर्फ जानेछ”, उनले भने ।
पूर्वपश्चिम राजमार्ग हुँदै जाने नवलपुरबाट देशलाई उत्तर र दक्षिणी क्षेत्र जोड्ने सडक सञ्जालका लागि काम अघि बढिसकेको बताउँदै उनले नारायणी नदीलाई तटबन्धन गरेर पर्यटन मार्ग बनाइने, अन्तर्राष्ट्रियस्तरको रंगशाला नवलपुरमा निर्माण गरिने, नवलपुर क्षेत्रमा बढी दुर्घटना हुने भएकाले ट्रमा सेन्टर बनाइने लगायत योजना आफ्नो रहेको उहाँले जानकारी दिए ।
महामन्त्री डा कोइरालाले आफ्ना पिता विश्वेश्वरले आफू प्रधानमन्त्री हुँदा सबै नागरिकको हैसियत आफूसरह बनाउने भनेको स्मरण गर्दै उनले समाजवादी चिन्तन बोकेको काँग्रेसले सबै नेपालीको हैसियत उच्च बनाउने जिकिर गरे ।
खुलामञ्चको बसपार्क अस्तव्यस्त, दुर्घटनाको त्रास
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको बसपार्क व्यवस्थित गर्न नसक्दा यात्रुमा दिनहुँ दुर्घटना हुनसक्ने त्रास बढेको छ ।
बागबजारको पुरानो बसपार्कमा महानगरले नै काठमाडौँ भ्यू टावर बनाउन दिएपछि बस राख्ने स्थल खुलामञ्चमा सारिएको थियो ।
एक वर्षअघि बनाइएको बसपार्क गुणस्तरीय नभएका कारण कालोपत्रे उक्किएर खाल्डाखुल्डीमा परिणत भएको छ । बसपार्कभित्र यात्रुका लागि सवारी साधान कुरेर बस्ने सिँढी नहुँदा यत्रतत्र उभिन बाध्य हुनुपर्छ ।
हिउँदमा बेलुकी ५ः०० बजे नै अँध्यारो हुन्छ तर बसपार्कमा बत्तीको व्यवस्था नहुँदा बेलुकी मोटरसाइकल, कार, जिपलगायतका सवारी साधन बसपार्कबाट निस्कँदा र पस्दा सधैँ यात्रुलाई ठक्कर दिनसक्ने त्रास बढेको यात्रु केशवप्रसाद भण्डारी गुनासो गर्छन् ।
“बसपार्क निर्माण भई एक वर्षदेखि यहाँबाट यातायात सञ्चालन भए पनि अहिलेसम्म बत्तीको व्यवस्था छैन, बेलुकी सवारी साधन पर्खने क्रममा सवारीको एकोहोरो बत्तीले केही देख्न सकिन्न, सवारी साधनले हानेर दुर्घटनामा परिने डर छ, महानगरका जनप्रतिनिधिले जनताको करबाट मोवाइललगायतका सुविधानको उपभोग गर्दा पनि यो समस्याबारे जानकारी लिएका छैनन्”– उनी भन्छन् ।
बसपार्कमा वीर अस्पताल अगाडिबाट सवारी साधन निरन्तर गुडिरहँदा सवारी साधन कुर्ने यात्रु दुर्घटनामा पर्नसक्ने अवस्था छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दरबारमार्ग वृत्तका ट्राफिक प्रहरी यहाँ खटाए पनि मोटरसाइकल, कार, जिपलगायत सवारी साधनलाई बसपार्क भित्र प्रवेशमा रोक नलगाइएको सम्बद्ध यात्रुको भनाइ छ ।
महाशाखाका प्रवक्ता उमेश रञ्जीतकार मोटरसाइकल, कार र जिपलगायत निजी सवारी साधनमा आफ्ना मानिस पु¥याउन र लिन जाने निहुँमा बसपार्क छिर्ने गरेको स्वीकार्छन् । सार्वजनिकबाहेकका खाली सवारी साधान पनि रत्नपार्क घुमेर जानुभन्दा छिटो हुने भएकाले बसपार्कबाटै छिरेर निस्कने गरेका छन् ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की खुलामञ्चको बसपार्क अस्थायी प्रकृतिको भएकाले व्यवस्थित हुन नसकेको बताउँछन् । “पहिले बसपार्क रहेको स्थानमा काठमाडौँ भ्यू टावर निर्माण भइसकेपछि त्यसको तल्लो तलामा बसपार्क सर्छ तर यो अस्थायी भएकाले पनि बत्तीलगायत मर्मत सम्भारमा ध्यान नगएको हो”– उनी भन्छन् ।
भ्यू टावर निर्माणमा वर्षौं लाग्ने भएकाले यहाँबाट उपत्यकाका सबै स्थानमा जाने र आउने सवारी साधनका लागि बसपार्क व्यवस्थित बनाइनुपर्ने यात्रुको माग छ तर तीन महिनादेखि वीरअस्पताल अगाडिको फुटेको ढल मर्मत नभएको प्रवक्ता कार्की बताउँछन् । अस्पतालले ढल नबनाउँदा बसपार्क क्षेत्र ढलमय बनेको उनको गुनासो छ ।
सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ ।
झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
मतदान गर्ने विषयमा विवादपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी मोहन पोखरेलले पुष्टि गरे ।
यसैवीच जिल्लाको बलेफिस्थित कालीदेवी माविमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
त्यहाँपनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको छ ।
सिराहामा गोली चल्यो, दुई प्रहरी घाइते
सिराहा । सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् ।
आज दिउँसो अज्ञात समुहले चलाएको गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।
गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ ।
प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको छ ।
सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।
घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला धरान लगिएको छ ।
सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भइसकेका छन । विस्फोटको कसैले जिम्मा नलिएपनि तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका थिए ।
यस्ता नम्बरबाट फोन आउँदा नउठाउन टेलिकमको आग्रह
काठमाडौं–नेपाल टेलिकमले अपरिचित नम्बरबाट आएको फोन नउठाउन नागरिकलाई आग्रह गरेको छ । टेलिकमले अपरिचित, कलरआइडी नभएका, ०१२३४५६र १२३४५६ जस्ता नम्बबाट आएको कल नउठाउन अनुरोध गरेको छ ।
टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले यस्ता नम्बरबाट आएको कलबाट ठगीने क्रम बढ्नै गएको भन्दै नागरिकको हितको लागि जानकारी गराइएको बताइन् ।
विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने र बैकमा पैसा पठाउन लगाउने अनि ठग्ने गरेको टेलिकमले जनाएको छ ।
यो नम्बर बाट कल गरेर चिठ्ठा परेको जानकारी गराउने र उल्टै ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमानै ग्राहकलाई एसएमएस बाट जानकारी गराउन थालिएको छ ।
प्रवक्ता बैद्यले यस्ता कल कुन रुटबाट आएको भन्ने विषयमा अनुसन्धान भईरहेको बताइन् ।
स्टार हस्पिटलमा क्यान्सरको उपचार सुरु
ललितपुर–सानेपास्थित स्टार हस्पिटलले क्यान्सर उपचार सेवा सुरु गरेको छ ।
हस्पिटलले काठमाण्डौ क्यान्सर सेन्टर संगको सहकार्यमा स्टार काठमाण्डौ क्यान्सर सेन्टरको सुरुवात गरेको हो ।
सो सेन्टरको आईतबार विशेष समारोहकाबीच महिला बालबालिका तथा समाजकल्याणमन्त्री बिक्रम बहादुर थापाले उद्घाटन गरे ।
क्यान्सरका बिरामीलाई घरायसी वातावरणमा उच्च स्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्य अनुरुप क्यान्सर उपचार सेवा सुरु गरेको अस्पतालका अध्यक्ष ईन्जिनियर बसन्त चन्द्र मरहठ्ठाले जानकारी दिए ।
सेन्टर उद्घाटन समारोहमा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक डाक्टर शैल रुपाखेती र काठमाडाैं क्यान्सर सेन्टरका तर्फबाट सेन्टरका मेडिकल इाईरेक्टर डाक्टर सिमित सापकोटाले सेवा संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बोलिन् प्रकाश पत्नी सिर्जना : म अध्यक्षसँगको सल्लाहमा पार्टीको काममा छु, अरु हल्ला गलत हुन्
काठमाडौं–माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि लाजिम्पाट फर्केकी प्रकाश पत्नी सिर्जना त्रिपाठी चुनावी काममा जुटेकी छन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै प्रकाश पत्नी सिर्जनापनि पार्टी काममा जुटेकी हुन् ।
पार्टी कामका लागि लाजिम्पाट छाडेर सिर्जना पोखरा गएपछि उनलाई घरबाट बाहिर पठाइएको गलत समाचार बाहिर आएको थियो । उक्त समाचारपछि थप मर्माहत बनेकी प्रकाश पत्नी सिर्जनाले रातोपाटीसँगको कुराकानीमा छोरा प्रसिद्धलाई ससुरा प्रचण्डसँगै छाडेर आफू चुनावी काममा पोखरा गएको बताएकी हुन् ।
प्रकाश पत्नी सिर्जनाले अध्यक्ष तथा ससुरा प्रचण्डको सल्लाह अनुसार चुनावका लागि पार्टीको काममा पोखरा गएको बताइन् । प्रचण्डका परिवारका अन्य सदस्यजस्तै सिर्जनापनि शुक्रवार पार्टी कामका लागि काठमाडौं बाहिर गएकी थिइन् ।
‘हामी सवै शोकको घडीमा छौँ । यति हुँदाहुँदै पनि अध्यक्षले चुनावसम्म परिवारका सवै सदस्य पार्टी काममा फर्कन आग्रह गर्नुभयो । त्यसै अनुसार उहाँ आफै चितवन जानुभयो । छोरी र ज्वाईँहरु पनि चुनावी काममा खट्नु भयो । हामी बुहारी पनि आ—आफ्नो क्षेत्रमा चुनावी कामा जुटन आयौँ’ प्रकाश पत्नी सिर्जनाले रातोपाटीसँगको कुराकानीमा भनिन्, ‘हामी राजनीतिक परिवारका सदस्य हौँ । परिवारमा शोकमा परेका बेला पनि देश, जनता र पार्टीप्रति आफ्ना भूमिका पुरा गर्नुपर्ने हुन्छ । यसैका लागि म अध्यक्षसँगको सल्लाह अनुसार पोखरा आएकी हुँ । अरु बाहिर आएका सवै कुरा गलत हुन् । यस्तो शोकको घडीमा यस्ता गलत कुराको मिडियाबाजी नगर्न म सवै संचारकर्मीसँग आग्रह गर्दछु ।’
सिर्जनाले पारिवारिक समस्या भन्दा शोक ठूलो भएको भन्दै यस्तो बेला कसैले पनि पारिवारिक समस्या अगाडि सार्न नहुने बताइन् । सिर्जनाले भनिन््, ‘शोकबाट परिवार उठेपछि पारिवारिक समस्या हल हुन्छन् भन्ने मेरो विश्वास छ । यसका लागि अध्यक्ष प्रचण्ड, सासु सीता, दिदी रेणुसहित अन्य सदस्यले आआफ्नो भूमिका पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’
विहिवार प्रचण्ड निवास लाजिम्पाटमा स्वर्गीय प्रकाशको स्मृतिमा श्रद्धान्जलीसभा गरेपछि प्रचण्डसहित परिवारका सवै सदस्य पार्टी काममा फर्केका छन् । शुक्रवार चितवन पुगेर प्रचण्डले केही चुनावी कार्यक्रममा भाग लिएका थिए ।
लाजिम्पाटमा अध्यक्षको सल्लाह अनुसार परिवारका सवै सदस्य चुनावी क्षेत्रमा खटिने योजना बनेपछि सिर्जना शुक्रवार पोखरा गएकी हुन् । सिर्जना पोखरा गएपनि उनका छोरा प्रसिद्ध भने प्रचण्डसँगै चितवनमा छन् ।
हृदयघातका कारण प्रकाश अचानक अस्पताल भर्ना भएको थाहा पाएपछि सिर्जना सवै भन्दा पहिला अस्पताल पुगेकी थिइन् । अस्पतालमा निधनको खवर पाएपछि उनी बेहोस नै भएकी थिइन् । पछि उनी त्यहाँबाट आर्यघाट पुगिन् र साँझ लाजिम्पाट गएकी थिइन् ।
प्रकाशको मंसिर ३ गते आकस्मिक हृदयघातका कारण असामयिक निधन भएको थियो । उक्त निधनले प्रचण्डको परिवार शोकमा डुवेको छ । यति हुँदाहुँदै पनि देश, जनता र पार्टीप्रतिको जिम्मेवारी लिदै परिवारका सदस्य आसन्न प्रतिनीधिसभा र प्रदेशसभाको चुनावी काममा खटेका छन् ।
सिर्जनासँग औपचारिक सम्बन्ध विच्छेद नगरी प्रकाशले अर्को विवाह गरेपछि सिर्जना पोखरा बस्दै आएकी थिइन् । उनको पार्टी संगठन कास्कीमै छ । स्थानीय तहको चुनावमा पनि उनले कास्कीमै गएर पार्टीको काम गरेकी थिइन् । उनी माओवादी केन्द्र कास्कीको जिल्लास्तरीय नेतृ पनि हुन् ।
प्रकाशको असामयिक निधनपछि सिर्जना निकै ठूलो शोकमा छिन् । प्रकाशले अर्को विवाह गरेपछि पनि सिर्जनाले प्रचण्ड परिवारलाई अप्ठ्यारो हुने केही काम गरेकी थिइनन् र केही दवाव पनि दिएकी थिइनन् । बरु, उपयुक्त समयमा न्याय पाउने उनको आशा थियो ।
उनले छोरा प्रसिद्धको बुबाको नाममा जन्मदर्ताको सानो माग राखेकी थिइन् । ढिलो चाडो न्याय पाउने सिर्जनाको विश्वास थियो । तर, पति प्रकाशको अचानक निधनले उनी शोकमा छिन् ।
Tuesday, November 21, 2017
चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन
५ मंसिर, चितवन । भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।
चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।
पाख्रि नले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।
२००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माअोवादीका पूर्व सभासदसमेत हुन् । २०६४ सालकाे संविधानसभा निर्वाचनमा उनी माअोवादीबाट समानुपातिक सभासद बनेका थिए ।पछिल्लो समय पाख्रिन माअोवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए ।
नेकपा (चाैम)बाट राजनीतिक यात्रा सुरू गरेका पाख्रिनले माअोवादी जनयुद्द सुरू भएयता सांस्कृतिक समूहमा रहेर काम गरेका थिए । उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।
उनका श्रीमति, २ छोरा र २ छोरी छन् ।
प्रचण्डलाई भोट माग्दै ओलीले भने- १०/१५ हजारले नजिते लाज हुन्छ
५ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेवार एवं माओवादी अध्यक्ष प्रचण्ड कम्तिमा १०/१५ हजार मतान्तरले जित्नु पर्ने बताएका छन् ।
भरतपुरमा आयोजित चुनावी सभामा वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै ओलीले विगतलाई बिर्सिन र सानो चित्त नबनाउन आग्रह गरे । उनले भने, ‘१० १५ हजार भोटले पुष्पकमल दाहाल प्रचण्ड नजित्ने हो भने एमालेलाई लाज हुन्छ कि हुँदैन ?
उनले अघि भने, ‘पूर्वप्रधानमन्त्री पुष्पकमललाई म अगि्रम भन्न चाहन्छु, तपाईले जितिसक्नु भएको छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड चितवनको विकासको जिम्मा लिन्छु भनेर आएको भन्दै उनले भोट बताए । ‘अब ठाउँ बनाउने अभिभारा लिन्छु भनेर दुई पटक देश चलाइसक्नु भएका प्रचण्ड आउनु भएको छ’ प्रचण्ड र आफ्नो तर्फबाट प्रतिवद्धता जनाउँछु भन्दै उनले भने, ‘अब चितवनको विकास भयो भयो, अब कसैले रोक्न सक्दैन ।’
यो चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र ग्रेटर चितवन बनाउने उनले बताए ।
कांग्रेसको समर्थन पाएका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेप्रति लक्षित गर्दै ओलीले भने, ‘एउटा बाटोको ठेक्का लिएर डोजर चलाएइको जस्तो हो देश चलाउने कुरा ?’
प्रहरी भन्छ- शीर्षनेताको विदेश भ्रमणमा मानव तस्करीको रहस्य खुल्यो
५ मंसिर, काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्षनेताहरु विदेश भ्रमणमा जाँदा मानवतस्करी हुने गरेको रहस्य प्रहरीले पत्तो लगाएको दाबी गरेको छ । यद्यपि प्रहरीले कुन दलका कुन नेता विदेश भ्रमणमा जाँदा त्यसरी मानव तस्करी भयो भन्नेचाहिँ खुलाइसकेको छैन ।
महानगरीय अपराध महाशाखाले राजधानीबाट एउटा गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरु डीभी चिठ्ठा पर्नेहरुका लागि नक्कली सर्टिफिकेट बनाउने धन्दामा सक्रिय रहनुका साथै शीर्षनेताहरु विदेश जाँदा मानिसलाई अमेरिका लगायतका देशमा पठाउने धन्दामा पनि संलग्न रहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका गिरोहका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दै महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘यसै समूहले विभिन्न राजनीतिक दलका शीर्षनेताहरु विदेश जाने समयमा आफ्ना केही व्यक्तिलाई डेलिगेट्स बनाई सँगै अमेरिका र अन्य देशहरुमा पठाउने र पठाएपश्चात लुकाई राखी प्रतिव्यक्ति १० लाखसम्म रकम असुल्ने गरेको समेत खुल्न आएकोले यसतर्फ समेत अनुसन्धान जारी राखिएको छ ।’
को को समातिए ?
अपराध महाशाखाका अनुसार नक्कली कागजात बनाउने लगायतका धन्दामा पक्राउ पर्नेहरुमा सिन्धुली तीन पाटनका रुद्र मोक्तान, ताप्लेजुङ खेवाङका भुवानीप्रसाद भट्टराई, कालीकोट तिलागुफाका विशालजंग शाही र सुरेशबहादुर शाही छन् ।
त्यसैगरी धरान ११ का विद्यार्थी अभय पोखरेल, स्कुयर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौं चण्डोलका अनिल श्रेष्ठ, मनमैजुका सन्तोष तिवारी र काभ्रेपलाञ्चोक महाभारतका देवराज तामाङ छन् ।
रुद्रबहादुरलाई डीभी परेपछि….
प्रहरीका अनुसार रुद्रबहादुर मोक्तानलाई २०१७ को अमेरिकन डीभी चिठ्ठा पर्यो । तर, उनीसँग १२ कक्ष पास गरेको प्रमाणपत्र थिएन । त्यसपछि रुद्रले देवराज तामाङलाई आफ्नो समस्या सुनाए ।

देवराजले सेक्युअर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौं चण्डोलका अनिल श्रेष्ठलाई रुद्रबहादुरको सर्टिफिकेट बनाउन ४५ हजार रुपैयाँ दिए ।
त्यसपछि अनिल श्रेष्ठले १५ हजार कमिसन आफूले राखेर सत्य विनायक कम्युनिकेशनका सञ्चालक विशालजंग शाहीलाई रुद्रबहादुरको सर्टिफिकेट बनाइदिन ३० हजार रुपैयाँ दिए ।
र, विशालजंग शाहीले १२ हजार रुपैयाँ तिरेर सुरेश शाहीलाई रुद्रबहादुरको सर्टिफिकेट बनाउन लगाए ।
अन्ततः सुरेश शाहीले कृष्ण अछामीसँग ५५ सयमा सर्टिफिकेट बनाई रुद्रबहादुर तमाङलाई बुझाए । अछामी हाल फरार छन् ।
प्रहरीले सुरेश शाहीको साइबरबाट प्लट टुको माइग्रेसन र एसएलसीको सर्टिफिकेटका साथै बीएडका मार्कसीट ३ थान र नागरिकता ६ थान बरामद गरेको छ ।
प्रहरीले सुरेश शाहीको साइबरबाट प्लट टुको माइग्रेसन र एसएलसीको सर्टिफिकेटका साथै बीएडका मार्कसीट ३ थान र नागरिकता ६ थान बरामद गरेको छ ।
अर्कोलाई पनि डीभी पर्यो !
सिन्धुलीका रुद्रबहादुरलाई जस्तै ताप्लेजुङका भुवानीप्रसाद भट्टराईलाई पनि डीभी पर्यो । उनीसँग पनि १२ पासको प्रमाणपत्र थिएन । भट्टराईले काठमाडौं मनमैजुका सन्तोष तिवारीसँग आफ्नो समस्या राखे ।
सन्तोष तिवारीले धरानका अभय पोखरेलसँग भट्टराईको भेट गराए । तीन जनावीच ९० हजार रुपैयाँमा १२ कक्षा पास गरेको सर्टिफिकेट किनबेच गर्ने सहमति भयो ।
धरानका पोखरेल ०६९ साल मंसिर १३ गते सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।
पक्राउ परेका व्यक्तिहरुलाई छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसरमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।
कोरिया जान नक्कली बैंक स्टेटमेन्ट
यसैवीच अघिल्लो महिना भिजिट भिसामा कोरिया जानका लागि नक्कली बैंक स्टेटमेन्ट बनाउने केही युवाहरुलाई प्रहरीले समातेको थियो । दोलखा मिर्गे-२ का विजयकुमार तामाङ लगायत ८ व्यक्तिहरु कोरियामा बैदेशिक रोजगारीका लागि भिजिट भिसामा जान लागेका थिए । टुरिष्ट भएर कोरिया जान उनीहरुले आफ्नो बैंक खातामा टन्न पैसा रहेको बैंक स्टेटमेन्ट कोरियन दूताबासलाई देखाउन अनिवार्य थियो ।
ती व्यक्तिहरुले नक्कली बैंक स्टेटमेन्ट बनाएर दूताबासमा पेश गरेपछि उनीहरुलाई समातिएको प्रहरीले जनाएको छ ।
त्यसरी दूताबासमा नक्कली कागजात पेश गरेर ठगी गरेको आरोपमा पक्राउ पर्नेहरुमा बाबु भण्डारी, दिवाकरबाबु भट्टराई, महेश पाण्डे, पदमराज पाठक र मनोज चौधरीसमेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ठगी मुद्दामा कारवाही गरिएको अपराध महाशाखाले जनाएको छ ।
Monday, November 20, 2017
हवाई मैदानमा मुक्त कमैयाले धमाधम पक्की घर निर्माण गर्दै
४ मंसिर, धनगढी । धनगढीस्थित पुरानो हवाई मैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैयाले जग्गाधनी प्रमाणपत्र नपाउँदै त्यहाँ पक्की घर निर्माण गर्न थालेका छन् । नगर विकास समितिले आफूहरुलाई पाँच/पाँच धुर जग्गा दिने भनेकाले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्तकमैयाले बताएका छन् ।
समितिले आफू बसेको जग्गाको कित्ताकाट गरिसकेकाले पक्की घर निर्माण गरिएको पूर्व कमैया होरीलाल चौधरीले बताए ।
‘चुनाइ गर्ने सीप सिकेर दक्ष भएका दश जनाको समूहले पालैपालो मुक्तकमैया परिवारको घर चुनाइ गर्ने गरेका छन्, अर्का पूर्व कमैया सीताराम चौधरीले भने-सिमेन्टको गाह्रो र इट्टाको चुनाइ आफै गर्नुपर्दा निर्माण लागत केही कम परेको छ ।’
धनगढीको पुरानो हवाई मैदानमा बसेका ५३ मुक्तकमैया परिवार मध्ये १५ परिवारले पक्की घर निर्माण गरिरहेका छन् । अरु परिवारले पनि पक्की घर निर्माणको तयारी थालेका छन् ।
धनगढी नगर विकास समितिले हवाई मैदानमा बसेकालाई सोही ठाउँमा जग्गा दिने निर्णय गरेको भए पनि मुक्तकमैयाले अहिलेसम्म जग्गाधनीको प्रमाणपत्र भने पाएका छैनन् ।
जिल्ला भूमिसुधार अधिकारी एवं मुक्तकमैया पुनःस्थापन जिल्ला समितिका सदस्य सचिव लोकराज जोशीले कैलाली जिल्लामा कूल आठ हजार ९१० मुक्तकमैया परिवार रहेकोमा आठ हजार २०३ परिवारको पुनःस्थापना गरिसकिएको छ ।
नौ सय ७४ परिवारको अझैसम्म पुनःस्थापना हुन बाँकीे छ । मुक्तिपछिका दिनमा पूर्व कमैया घर चुनाइ गर्ने, सिँलाइकटाइ गर्ने, बंगुर तथा कुखुरापालन गर्ने, काठको काम गर्ने, रिक्सा चलाउने काम गरी जीविका चलाउँदै आएका छन् ।
किन हुन्छ न्यून रक्तचाप ? यस्तो छ समाधान
हामीकहाँ उच्च रक्तचापलाई मात्र समस्या मानिन्छ । चर्चा पनि उच्च रक्तचापकै हुन्छ । उच्च रक्तचापमा के खाने, के गर्ने, के नगर्ने भन्ने जस्ता कुरा हुन्छ । तर, न्युन रक्तचापको बारेमा खासै चर्चा हुँदैन । जबकी उच्च रक्तचाप जति खतरापूर्ण हुन्छ, उत्तिनै न्युन रक्तचाप पनि ।
त्यसो त न्युन रक्तचाप झेल्नेहरुको संख्या पनि उत्तिनै छ ।
जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, त्यसलाई न्यून रक्तचाप वा लो ब्लडप्रेसर भनिन्छ । न्यून रक्तचापले अनेक शारीरिक समस्या देखापर्छन् ।
मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । तर, माथिको ९० भन्दा कम भयो भने त्यसलाई न्यून रक्तचाप वा हाइपरटेन्सन भनिन्छ ।
न्यून रक्तचापलाई अक्सर मानिसहरु गम्भिरतापुर्वक लिँदैनन् । जबकि न्यून रक्तचाप हुँदा शरीरमा रगतको दवाव कम भएर आवश्यक अंगहरुसम्म पुरा रगत पुग्न सक्दैन । यस्तोमा मुटु, किड्नी, फोक्सो र दिमाग आंशिकरुपमा वा पूर्णरुपमा काम गर्न छोड्न पनि सक्छ ।
अब थाहा पाउनुस न्यून रक्तचापको कारण, लक्षण र उपचार
न्यून रक्तचापका लक्षण
-चक्कर लाग्नु
-आँखा अगाडि अँध्यारो छाउनु
-केही छिनलाई बेहोश हुनु
-हातगोडा चिसा हुनु
यस प्रकारका बिरामीको चेकअप गर्दा रक्तचापमा निकै अन्तराल हुन्छ । बिरामी सुत्दा, बस्दा र उठ्दा भने उसको रक्तचापमा निकै फेरबदल हुन्छ ।
न्यून रक्तचापका पछाडि ती सबै कारण जिम्मेवार छन् जसबाट मुटुमा रगतको सञ्चार कम हुन्छ ।
१. मुटु रोगका कारणः
रक्तचाप कम हुनु मुटुको गम्भीर रोगसँग जोडिएको हुन्छ । मुटुको बिमारीले यसको मांशपेसी कमजोर हुन्छ, जसले गर्दा मुटुले पर्याप्त रगत पम्प गर्न सक्दैन र बीपी कम हुन्छ । मुटु रोगी तथा एनीमियाका बिरामीले न्यून रक्तचापमा सावधान रहनुपर्छ ।
२. अर्थोस्टेटिक हाइपरटेन्सन टाइपः
यसमा बिरामीलाई उभिँदा रिंगटा लाग्न थाल्छ, किनकी उसकोउ रक्तचाप एकाएक २० प्वाइन्टले तल आउँछ । यो नर्भस सिस्टममा आधारित हुन्छ । तर, कहिलेकाहीँ औषधिको साइड इफेक्टले वा एलर्जीले पनि हुन सक्छ ।
यसका अलावा शरीरको भित्री अंगहरुबाट रगत बग्ने वा रगतको कमीले खानामा पौष्टिकताको कमि वा अनियमितताले, फोक्सोको आक्रमणले, मुटुको भल्भ खराब हुनुले रत्तःचाप न्यून हुन सक्छ । अचानक दुखद खबर सुन्दा, वा भयावह दृष्य देख्दा पनि बीपी कम हुन सक्छ ।
उपचार के हो ?
– न्यून रक्तचापको आशंका हुनेवित्तिकै सुतेर र उठेर दुवै तरिकाले बीपी परिक्षण गराउनुपर्छ ।
– तुरुन्तै डाक्टरलाई भेट्नुस । यदि कुनै औषधिले न्यून रक्तचाप भएको छ भने डाक्टरको सल्लाह लिएर औषधिको मात्रा घटाउनुस वा पुरै बन्द गर्नुपर्छ ।
– पोषक तत्वबाट भरपूर आहार लिनुस । फरक-फरक प्रकारका फल, तरकारी, अन्न, लो फ्याट मासु वा माछालाई भोजनमा समावेश गर्नुपर्छ ।
– भोजनको मात्रा अलि कम गर्नुस र खानामा आलु, चामल र ब्रेडजस्ता बढि कार्बोहाइड्रेटबाला खाद्यपदार्थको प्रयोग कम गर्नुपर्छ ।
– धुम्रपानबाट टाढा रहनुस । सक्रिय जीवन बाँच्नुस । बढि पसीना आउने कामबाट बच्नुस, घाममा बढि नघुम्नुस र पर्याप्त मात्रामा नून सेवन गर्नुपर्छ ।
– अत्यधिक तनावबाट जोगिनुपर्छ ।
न्यून रक्तचाप हुँदा के गर्ने ?
– तुरुन्तै बस्ने र सुत्ने । मुठ्ठी कस्नुस, खुट्टा हल्लाउने
– नून वा नून-चीनीबाला पानी वा चिया पिउने
– रोगीलाई खुट्टामुनि दुई तकिया राखेर सुताउने
– पहिलेदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेको छ भने त्यसलाई तुरुन्त छोड्ने ।
सिमरा बम बिस्फोटः शंकास्पद दुई जना पक्राउ
४ मंसिर, सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा वम विस्फोट भएको घटनाबारे अनुसन्धान गर्न प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धान गर्न आएका बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले अनुसन्धानका लागि शंकास्पद दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । तर, पक्राउ परेकाहरुलाई प्रहरीले अनुसन्धानपछि मात्रै सार्वजनिक गर्ने भन्दै गोप्य राखेको छ ।
एकाबिहानै भएको बिष्फोटबाट बारा ४ (क) का उम्मेदवार कार्की चढ्ने बा.१४ च ६३३० नम्वरको गाडीमा क्षती पुगेको छ । बम विष्फोट भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
घटनाबारे जानकारी दिदै प्रहरी प्रमुख राजकुमार वैदवारले अपराधिक घटनामा संलग्नहरुको नजिक पुगेको भन्दै उनीहरुलाई कानुनी कठघरामा ल्याउने बताए ।
प्रचण्ड चितवनको सभामा सहभागी हुने, सम्बोधन नगर्ने
४ मंसिर, काठमाडौं । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि चितवनमा अायोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका छन् ।
तर, उनले सम्बोधन नगर्ने भएका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।
प्रचण्डको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ ।
सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।
पुत्रशोकमा रहेका प्रचण्डलाई ओली र देउवाले भेटे
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
दुबै नेता सोमबार दिउँसो केही समयको अन्तरमा प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । नेताद्धयले स्वर्गीय प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र पत्नी सीता दाहाललाई भेटेर समवेदना व्यक्त गरेका छन् ।
यो भेटमा सीता पनि सहभागी थिइन् । छोराको निधनपछि उनी देखिएकी थिइनन् ।
Sunday, November 19, 2017
भारत पुगेको दशौँ गैँडाको उद्धार
४ मंसिर, चितवन । साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज बिहान यहाँको सामुदायिक वनमा छाडिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली सामुदायिक वनमा छाडिएको हो ।
यसअघि गैँडा उद्धारका लागि चार हात्तीसहित प्राविधिक टोली र सुरक्षाकर्मी खटिने भए पनि अहिले ६ वटा हात्ती पठाइएको थियो । विगतमा जस्तै प्राविधिक टोली र सुरक्षाकर्मी नेपालबाट खटिएका थिए । भारतीय पक्षबाट पनि सुरक्षाकर्मी र कर्मचारी परिचालन भएको कँडेलले जानकारी दिए ।
प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती
३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।
माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे ।
प्रकाश दाहालका छोरा (सिर्जनाबाट) प्रसिद्ध माओवादी नेता डिलाराम आचार्यसँग
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए ।
हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् ।
तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।
माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका छन् ।
माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे ।
आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।
प्रचण्डको निर्देशन- निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्नू
३ मंसिर, काठमाडौं । प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् ।
निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएको पार्टी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरलाई बताइन् ।
‘विभिन्न जिल्लामा चुनावी कार्यक्रमरु रोकिएका खबरहरु आएका छन्,’ भुसालले अनलाइनखबरसँग भनिन्- ‘अध्यक्ष कामरेड प्रचण्डले निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम नरोक्न निर्देशन दिनुभएको छ ।’
प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेर राजधानी फर्किएका छन् ।
अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा दाहालको शव श्रद्धाञ्जलीका लागि राखिएको छ । दाहाललाई श्रद्धाञ्जली दिन माओवादी कार्यालयमा मानिसहरुको खचाखच उपस्थिति देखिएको छ ।
पशुपतिमा अपरान्ह ४ बजे दाहालको अन्त्येष्टि गरिने माओवादीले जानकारी दिएको छ ।
प्रकाशको ४ बजे पशुपतिमा अन्त्यष्टि गरिने
३ मंसिर, काठमाडौं । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।
दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति अार्यघाटमा अन्त्यष्टि गरिने माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ ।
झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् ।
अन्य अाफन्तहरू र राजनीतिक दलका नेताहरू समेत प्रकाशको निधन भएपछि काठमाडाैं केन्द्रित भएका छन् ।
नर्भिक अस्पताल पुगे प्रचण्ड
३ मंसिर, काठमाडौं । पुत्र शाेकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पतला पुगेका छन् ।
पुत्र प्रकाश दाहालको निधन भएपछि प्रचण्ड झापाबाट लाजिम्पाटस्थित निवास गएर नर्भिक अस्पताल पुगेका हुन् ।
प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल पुगेका हुन् । प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा थिए ।
पुत्र प्रकाशको निधन भएको खबर पाए लगत्तै प्रचण्ड चुनावी कार्यक्रम छोडेर फर्किएका हुन् । प्रचण्ड अस्पताल पुगेसँगै प्रकाशको निधन बारे पत्रकार सम्मेलनको तयारी गरिएको छ ।
नर्भिक अस्पतालमा अाफन्त र बिभिन्न राजनीतिक दलका नेताहरू समेत पुगिसकेका छन् ।
पत्रकार सम्मेलनपछि प्रकाशको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि माअोवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।
पुत्रशोकमा रहेका प्रचण्डलाई राष्ट्रपतिले भेटिन्
३ मंसिर, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेकी छन् । प्रचण्डलाई भेट्न राष्ट्रपति आफैं लाजिम्पाट पुगेकी थिइन् ।
झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका थिए । उनी अस्पताल नगई निवास पुगेका थिए, जहाँ राष्ट्रपतिले भेटेर समवेदना व्यक्त गरेकी छन् ।
दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।
साथीको नजरमा प्रकाश दाहालः पढेनन्, तर प्रविधिमा सधैं अब्बल
आइतबार बिहानै अनलाइनखबरमा प्रकाश दाहालको निधनको खबर सुन्दाखेरि सुरुमा त पत्याउनै सकिनँ । त्यसपछि मेरो दिमागमा उनीसँग बिताएका पुराना दिनहरु एकाएक ‘फ्ल्यास ब्याक’ का रुपमा आउन थाले । र, ‘पुराना दिन अब सम्झनामा मात्र हुने भए’ भनेर फेसबुकमा स्टाटस लेखें ।
मैले फेसबुकमा पोष्ट गरेको माथिको तस्वीर शान्ति प्रक्रियामा आइसकेपछि काठमाडौंमा खिचिएको हो, जसमा मभन्दा एकाध वर्षले दाजु प्रकाश दाहालले मलाई बोकेका छन् ।
दिल्लीका ती दिनहरु
प्रकाश दाहालसँग मेरो भेट ०६० सालतिर भारतको नयाँ दिल्लीमा भूमिगत बसाइका बेलामा भएको हो । म त्यसबेला डा. बाबुराम भट्टराईसँग थिएँ, उनी प्रचण्डसँग हेडक्वार्टरमा थिए ।
भारतमा हुँदा हामी दुईजना बेलाबेलामा सँगै फिल्म हेर्न हलमा जान्थ्यौं । नोयडामा हाम्रो बसाई नजिक–नजिकै थियो ।
कहिलेकाहिँ हामी नेपालीको ठेला अगाडि ममः खान भेला हुन्थ्यौं । सुरक्षाका कारण लुकेर मम खाने गथ्र्यौं । र, पैसा पनि आफू–आफू नै तिथ्र्यौं ।
प्रकाशबारे बाहिर जेजस्ता प्रचारहरु भएका छन्, भित्रीरुपमा उनी निकै मज्जाका रमाइला मान्छे थिए । साथीहरुसँग पनि राम्रोसँग घुलमिल हुने र रामाइलो गर्ने उनको बानी थियो ।
पढेनन्, तर प्रविधिमा सधैं अब्बल थिए
प्रकाशले औपचारिक रुपमा कलेजको अध्ययन गरेनन् । गर्न पाएनन् । बुबाआमा नै राजनीतिमा लागेर भूमिगत भएपछि चितवनको घरमा बस्ने अवस्था रहेन । कहिले काठमाडौं, कहिले दिल्ली त कहिले कहाँ गइरहनुपर्ने भएकाले एकै ठाउँ बसेर स्कुल कलेज जाने वातावरण नै पाएनन् उनले ।
तर, प्रकाश दाहाल प्राविधिक क्षेत्रमा भने अति नै रुचि राख्थे र जानकारी पनि राख्थे । सुरुमा पार्टीको हेक्वार्टरमा उनले कम्युटरसम्बन्धी काममा प्रचण्डलाई ठूलो साथ दिए । मैले पनि प्रकाशबाटै कम्युटर चलाउन सिकेको हुँ ।
मलाई हतियार चलाउन पनि प्रकाशले नै सिकाए हुन् । नयाँ नयाँ अत्याधुनिक हतियारहरु देखेपछि त्यो सिकिहाल्नुपर्ने उनको स्वभाव थियो । हरेक प्राविधिक विषयहरु उनी जान्न चाहन्थे र चाँडै सिकिहाल्थे ।
भूमिगत कालमा माओवादी नेताहरुले स्याटेलाइट फोन बोक्ने गरेका थिए । प्रकाशले नै मलाई त्यो फोन चलाउन सिकाएका हुन् ।
शान्ति प्रक्रियामा आएपछि र अहिलेसम्म आइपुग्दा प्रकाशले प्राविधिक ज्ञानमा आफ्नो रुची र दक्षता दुबै देखाए । प्रचण्डले कुनै कार्यक्रममा गरेको भाषण लाइभ गर्नलाई होस् या सामाजिक सञ्जालमार्फत् तत्काल मिडियासम्म त्यस्ता समाग्रीहरु पुर्याउन होस्, प्रकाश निकै स्मार्ट थिए ।
उनले गर्ने फेसबुक लाइभ धेरै पत्रकारहरुको सूचनाको स्रोत बन्ने गरेको थियो । यस्ता कुराहरु प्रकाशलाई अरुले सिकाउनै पर्दैनथ्यो, उनी आफैं सिक्थे ।
मेरो विचारमा प्रकाशको निधनले अब माओवादी अध्यक्ष प्रचण्डलाई, अनि माओवादी पार्टीलाई निकै ठूलो क्षति पुगेको छ । यो क्षति अपुरणनीय छ जस्तो लाग्छ । प्रकाशको अनुपस्थिति अब निकै खड्किनेछ ।
बाबुराम र प्रचण्डलाई मिलाउने चाहना
माओवादीभित्र प्रचण्ड र बाबुरामवीचको अन्तरविरोध अहिलेमात्रै नभएर भूमिगत कालमा पनि बढ्ने गथ्र्यो । दुई नेतावीच अन्तरविरोध हुँदा प्रचण्ड र बाबुरामलाई मिलाउने भूमिकामा हामी दुबैजनाले सल्लाह गर्ने गर्थौं । हुन त हामी ठूला नेता हैनौं, तर हामी दुबैलाई मिलाउनुपर्छ भन्ने धारणा राख्थौं र मिलापको वातावरण बनाउने भनेर सल्लाह गथ्र्यौं ।
पछिल्लो समय बाबुराम र प्रचण्डवीचको अन्तरविरोध चुलिँदै गएपछि स्वाभाविकरुपमा हामीवीचमा पनि केही दुरी अवश्यै बढ्यो । तर, फेसबुकमा, च्याटमा हामीवीच कुरा हुँदा हामीले फेरि पनि दुईजनालाई मिलाउनुपर्छ है बन्ने गरेका थियौं ।
बाबुराम र प्रचण्ड एकै ठाउँमा रहनुपर्छ भन्ने हामी दुबैजनाको समान बुझाइ थियो ।
‘सोझा थिए, अरुले फसाए’
शान्ति प्रक्रियामा आएपछि बाहिरीरुपमा प्रकाश कतिपय विवादमा तानिए । तर, मैले उनलाई भित्रबाट चिन्दाखेरि उनी खराब मानिस थिएनन् । उनको मन सफा थियो । बरु उनी सोझा थिए ।
त्यही सोझोपनका कारण उनलाई बरबर बस्नेहरु बिगारेका मात्रै हुन् । तर, प्रकाश इमान्दार थिए भन्ने लाग्छ ।
प्रकाशको वैबाहिक जीवनमा उतार–चढाव आउनु दुःखद पक्ष थियो, तर खै कसरी त्यस्तो हुन गयो ? मेरो विचारमा उनी त्यस्ता खराब व्यक्ति थिएनन् । मलाई उनको मनपेट राम्रोसँग थाहा थियो ।
पछिल्लो समयमा प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रकाश दाहालले निकै परिपक्व भूमिका खेलेको मैले महसुस गरेको छु । मलाई के लाग्थ्यो भने उनी निकै परिपक्व र पाको देखिन थालेका थिए ।
मेरा बुबा (तत्कालीन सभासद भक्तिप्रसाद पाण्डे) को निधन हुनुअघि उहाँको उपचारका बेलामा प्रकाश दाहालले हृदयदेखि नै सहयोग पुर्याएका थिए, म उनको त्यो गुण कहिल्यै भुल्न सक्दिनँ ।
अल विदा प्रकाश ।
(पाण्डे डा. बाबुराम भट्टराईका स्वकीय सचिव हुन् ।)
प्रचण्डपरिवारलाई समवेदना दिन चुनावी कार्यक्रम रोकेर नेताहरु काठमाडौंमा केन्द्रित
३ मंसिर, काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको खबर पाएलगत्तै बिभिन्न राजनीतिक दलका नेताहरु चुनावी कार्यक्रम स्थगित गरेर नर्भिक अस्पतालमा भेला हुन थालेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड पनि झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् । उनी लाजिम्पाटस्थित निवासमा गएका थिए । निवासबाट उनी श्रीमती सीतासहित नर्भिक अस्पताल पुग्दैछन् ।
प्रकाश दाहालकी पत्नी विना मगर पनि बिहानै कञ्चनपुरको चुनावी कार्यक्रम रोकेर काठमाडौं फर्किएकी छन् । उनी रुँदै अस्पताल भवनभित्र छिरेकी छिन् ।
प्रकाशका छोरालाई भने अस्पतालमा नलगी गाडीमै राखिएको छ ।
प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठी बिहानै अस्पताल पुगेकी थिइन् । उनी प्रकाशको निधनपछि भाव विह्वल बनेकी छिन् ।
प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली भने काठमाडौं आएका छैनन् । आइतबार काँकडभिट्टा र मोरङको कार्यक्रम सकेर ओली
सोमबार काठमाडौं आउने उनका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रकाशको निधनको खबर सुनेलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौंतिर लागेका छन् ।
शीर्ष नेताहरुमध्ये सबैभन्दा पहिले एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल परिसरमा देखिएका थिए । एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल आएका थिए ।
कांग्रेसको तर्फबाट नर्भिक अस्पतालमा पुग्ने प्रकाशमान सिंह पहिलो नेता हुन् । बानेश्वरको थापागाउँमा आइतबार बिहान आयोजित घरदैलो कार्यक्रमलाई बीचमै रोकेर प्रकाशमान नर्भिक अस्पताल पुगेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । सुरक्षाकर्मीहरुमार्फत् सिंहले दाहालको निधनको खबर पाएका थिए ।
माओवादीका अधिकांश नेताहरु नर्भिक अस्पतालमा छन् । वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, पनि आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर काठमाडौं आएका छन् ।
नयाँ शक्ति नेपालका खिमलाल देवकोटा पनि नर्भिक अस्पताल पुगेका छन् ।
अहिले नर्भिक अस्पताल परिसरमा दाहालका आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेताहरुको भिडभाड छ ।
प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’
३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ ।
तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।
पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्. । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए ।
सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो ।
खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु केही पनि चलाएनन् । उनले राति ११ बजेतिर उनले झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलबाट देखिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, अाइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो ।
छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार-हतार सन्तु दराई (परवाना) लाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा पुर्याउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । र, त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ अबको केही बेरमा उनको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी गरिरहेको छ ।
Subscribe to:
Posts (Atom)