Monday, August 21, 2017

चितवनमा डेंगुको संक्रमणः कसरी फैलन्छ, के छ उपचार ?

चितवनमा डेंगुको रोगी भेटिएको छ । चिकित्सकहरुले यसको जोखिमप्रतिसर्तक रहन भनेका छन् । किनभने डेंगुको अहिलेसम्म औषधी बनाइएको छैन । यो रोग लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्छ । खासगरी एडिज प्रजातिको लाखुट्टे जोखिपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाईबाट बच्नु नै हो । किनभने यसको टोकाई एवं संक्रमण निकै घातक हुनसक्छ । एडिस लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डा खुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन । कसरी थाहा पाउने डेंगु लागेको ? – डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । – एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । – ज्वरो आउँछ । तर, आम ज्वरोभन्दा यो फरक हुन्छ । किनभने डेंगुको ज्वरो निकै तिब्र हुन्छ । – कमजोरी अनुभव हुन्छ । साथै चक्कर लाग्छ । कतिपय चक्कर लागेर बेहोस समेत हुन्छ । – जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । – पखला लाग्छ । – टाउको तथा कम्मर दुख्छ । – गंभिर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ । कसरी सर्तक रहने ? १. घरको आसपास एवं टोल छेउछाउ पानी जम्मा हुन नदिने । २. नीमको पात बालेर त्यसको धूँवा घरमा फैलाउने । ३. पानी राखिएको भाँडा बर्तन खुला नराख्ने । ४. भान्सा र वाथरुमलाई सुख्खा राख्ने । ५. झ्याल ढोकामा जाली लगाउने । ६. शरीर पुरा ढाक्ने पहिरन लगाउने । ७. सुतेको समयमा मच्छरदानी प्रयोग गर्ने । ८. घर आसपासमा लामखुट्टे मार्ने औषधी छर्ने । के छ उपचार ? डरलाग्दो त के भने, यसको अहिलेसम्म औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । उल्लेखित लक्षण देखिनसाथ अस्पताल जानुपर्छ । चिकित्सकको सम्पर्कमा रहनुपर्छ । डेंगु भएपछि शरीरमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सहि दिनचर्या आवश्यक हुन्छ । १. सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खानेकुरा सेवन गर्नु हुँदैन । मसलेदार चटपटे खाना बन्द गर्नुपर्छ । २. अनार, गहुँको जमराको रस पिउनुपर्छ । ३. ताजा मौसमी फल सेवन गर्नुपर्छ । ४. नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । ५ भिटामिन सियुक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । ६. मेवाको पातको रस बनाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

कानको दुखाई एवं संक्रमणः किन हुन्छ, के छ उपचार ?

कतिपयले भोगेका होलान् यात्राको क्रममा कान दुख्छ । हवाई यात्रामा त यो संभावना अधिक हुन्छ । त्यसैले यात्राअघि नै कानमा कपास राख्न दिइन्छ । यी क्षणिक समस्या हुन् । कतिपय समस्या दिर्घकालिन हुन्छ, खासगरी कानको संक्रमण । कानको संक्रमण बच्चामा बढी हुन्छ । यो निकै कष्टकर पनि हुन्छ । कहिले कहिं त कानकै पीडाको कारण ज्वरो आउनेसम्म हुन्छ । किन दुख्छ कान ? – कान दुख्ने कारणमध्ये एक चिसो पनि हो । चिसो लागेपछि कान दुख्छ । चिसो मौसममा यात्रा गर्दा कानमा हावा पसेर दुख्न थाल्छ । – नुहाएको बेला वा पानीझरीमा कानबाट पानी भित्र पस्दा पनि कान दुख्छ । – कहिंले कहिं कानमा किरा पनि पस्छ । – कानमा कानेगुजी जम्म हुन्छ यसले कान चिलाउने, सुनाइ कम हुने जस्ता समस्या हुन्छ । – कानमा व्याक्टेरियल इन्फेक्सन पनि हुन्छ । – कान कोट्याउने क्रममा कानभित्र घाउ बन्छ र संक्रमित हुन्छ । – ग्याष्ट्रिक, कफ आदिको खराबीको कारण पनि कान दुख्छ । – चर्को ज्वरोमा वा लगातारको ज्वरो आएपछि पनि कान दुख्न थाल्छ । – कानमा फोहोर जम्मा भएर त्यही संक्रमित हुनसक्छ । – दाँतको पीडाले समेत कान दुख्छ । बच्चाको कान किन दुख्छ ? – स्तनपान गरेको समय शिशुको कानमा दुध पस्छ र कान दुख्न थाल्छ । साथै बच्चालाई नुहाएको समयमा पनि कानमा पानी पसेर दुख्न सक्छ । – कानमा पीडा भएपछि बच्चाले पटक पटक कानमा हात पुर्‍याउने गर्छ र जोडले रुने गर्छन् । – आमाले एकदमै चिसो खानेकुरा सेवन गरेको अवस्थामा पनि बच्चाको कानमा दुखाई हुनसक्छ । – सानो बच्चाहरुले अन्जानमा कानमा कागजको टुक्रा, माटो, चकको टुक्रा आदि हाल्छन् र कान दुख्न थाल्छ । के छ घरेलु उपचार विधी ? – कान दुखेपछि चिकित्सिकको परामर्शमा उचित उपचार गर्नु ठीक हो । यद्यपी कतिपय अवस्थामा घरमै पनि यसको उपचार गर्न सकिन्छ । यद्यपी त्यसमा सावधानी भने अपनाउनु पर्छ । – सरस्र्युको तेल तताएर केहि थोपा कानमा हाल्दा कानको दुखाई कम हुन्छ । – सरस्र्युको १० ग्राम तेलमा ३ ग्राम हिंग मिसाएर तताउने । त्यसको केहि थोपा कानमा हाल्ने । – सूर्यमुखी फूलको तेल, महको मिश्रण बनाएर पनि कानमा राख्न सकिन्छ । – घिउकुमारीको रसलाई हल्का तताएर कानमा राख्नुपर्छ, दुखाई कम हुन्छ । – चन्दनको तेलको केहि थोपा कानमा हाल्नुपर्छ, कानको दुखाई कम हुन्छ । – कानको दुखाई क मगर्न हाइड्रोजन पेराअक्साईडको केहि थोपा कानमा राख्नुपर्छ । यो दिनमा तीन पटक गर्नुपर्छ । यद्यपी यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ । – नुनलाई तातो बनाउने र कपडामा राम्ररी लपेट्ने । अब उक्त नुनले कान सेक्नुपर्छ, दुखाईमा राहत मिल्छ । – कानको संक्रमण हटाउनका लागि प्याज एकदमै लाभदायक हुन्छ । यसका लागि प्याजलाई स-सानो टुक्रा गर्ने र तताउने । त्यो सेलाएपछि रस बनाउने । राम्ररी कपडामा छानेर उक्त रसको केहि थोपा कानमा हाल्नुपर्छ । सावधानी १. कान दुख्ने वा संक्रमण्को समस्या छ भने कतै यात्रा गर्नुअघि कानमा कपास राख्नुपर्छ । २. नुहाउँनुअघि कानमा राम्ररी कपास राख्नुपर्छ । ३. पानीमा भिज्नु हुँदैन । ४. जे पायो त्यसले कान कोट्याउनु हुँदैन । ५. कानमा जथाभावी औषधी हाल्नु हुँदैन । ६. चिसो मौसममा कानलाई न्यानो राख्नुपर्छ । कानको व्यायाम र खाना कानको व्यायामको लागि चुईगम राम्रो माध्याम हुनसक्छ । चुइगम चपाउँदा कानको व्यायाम हुन्छ । त्यस्तै कानमा संक्रमण छ भने भिटामिन सियुक्त खानेकुरा सेवन गर्नुपर्छ । यसले कानको संक्रमण कम हुन्छ । आलु, ब्रोकाउली, स्टबेरी, रातो खुर्सानी, कागति, किवी, गोलभेडा भिटामिन सिको स्रोत हुन् ।

सावधान ! यसरी कुरुप बनाउान सक्छ मेकअपले

हामी राम्रो देखिनका लागि वा आकर्षक बन्नका लागि मेकअप गर्छौ । तर, त्यही मेकअपले हाम्रो प्राकृतिक सौन्दर्य नष्ट गरिरहेको हुन्छ । मेकअप, अहिले अनियवार्य जस्तै भएको छ । घर बाहिर निस्कनुअघि मेकअप गर्नैपर्ने । फेसवासले अनुहार धुनुपर्ने, क्रिम लगाउनुपर्ने, लिपस्टिक लगाउनै पर्ने । आफ्नो प्रकृतिक रुपमाथि थरीथरीको व्युटी प्रोडक्टले लिपपोत गरिन्छ । अहिले बजारमा अनेकथरीका सौन्दर्य प्रसाधन उपलब्ध छन् । विभिन्न ब्रान्डका यी प्रसाधनको प्रयोजन अनेक छन् । कुनै अनुहारलाई चम्किलो बनाउन त कुनै चाहुरिपना छोप्न । कुनै ओंठलाई रसिलो बनाउन त, कुनै चिम्सा आँखालाई ठूलो बनाउन । मेकअपको हानी प्राकृतिक ढंगबाट आफुलाई सुन्दर बनाउन मिहेनत गर्नुपर्छ । समय पनि लाग्छ । साथै आत्मा अनुशासन पालना गर्नुपर्छ । त्यही कारण हामी छिटो, छरितो र सजिलो बाटो रोज्छौ । अनुहारको चाहुरिपन हटाउन मसाज गर्ने, पर्याप्त तरल पदार्थ पिउने भन्दा पनि त्यसलाई क्रिमले छोप्ने गरिन्छ । अनुहार चम्काउनका लागि व्यायाम गर्ने, पेट सफा राख्ने, रगत सफा गर्ने नभई क्रिम दल्ने गरिन्छ । यसले क्षणिक सुन्दरता दिएपनि दीर्घकालिन रुपमा प्राकृतिक सौन्दर्य नष्ट गर्छ । त्यसबाहेक अरु थुपै हानी गर्छ, मेकअपले । १. प्राकृतिक सौन्दर्य नष्ट गर्छ लामो समयसम्म सौन्दर्य प्रसाधन प्रयोग गर्दा त्यसको हानिकारक रसायनको प्रभाव पर्छ । यसले छालाको प्राकृतिक सौन्दर्य नष्ट गर्छ । प्राकृतिक नरमपन, चमक नष्ट गर्छ । २. छालाको समस्या फेयरनेस क्रिम, सन क्रिम जस्ता केमिकलमा आधारित ब्युटी प्रोडक्टले छालाको रोग निम्त्याउँछ । छालाको एजर्ली हुने, रुखो हुने, चिलाउने, घाउ हुने जस्ता समस्या देखापर्छ । किनभने हामीले प्रयोग गर्ने यी सौन्दर्य प्रसाधनमध्ये कति त एकदमै कमसल र हानिकारक पनि हुन्छ । ३. चक्कर लाग्ने लामो समयसम्म व्युटी प्रोडक्ट प्रयोग गर्दा टाउको दुख्ने समस्या हुन्छ । साथै धेरै मेकअप गर्नेहरुलाई चक्कर लाग्ने, चाडै थकाई लाग्ने समस्या देखिन्छ । ४. जिर्ण र रुखो बनाउँछ थरीथरीका मेकअप गर्दा त्यसको प्रत्यक्ष असर छालामा पर्छ । रसायनयुक्त त्यस्ता व्युटी प्रोडक्टको प्रयोगले छाला रुखो हुन्छ । जिर्ण हुन्छ । र, चाडै बुढो देखिन थाल्छ । ५. केसको समस्या अहिले विभिन्न थरीका हेयर प्रोडक्ट पनि बजारमा उपलब्ध छ । हेयरस्टाइलका लागि स्याम्पु, कन्डिसनर, रंग प्रयोग गरिन्छ । यस किसिमको प्रसाधन धेरै र जथाभावी प्रयोग गर्दा त्यसले केसलाई नोक्सान गर्छ । ६. आँखामा समस्या सौन्दर्य प्रसाधनको प्रयोगले आँखाको संक्रमण हुनसक्छ । आँखा चिलाउने, पोल्ने समस्या देखिन्छ । कसरी पाउने प्राकृतिक सौन्दर्य ? वास्तवमा अधिकांश सौन्दर्य प्रसाधनमा रसायन हुन्छ, जसले क्षणिक रुपमा अनुहार राम्रो देखाएपनि दिर्घकालिन असर गर्छ । त्यसैले लिपपोत गरेर अनुहार राम्रो देखाउनुभन्दा पनि प्राकृतिक रुपले त्यसलाई मुलायम, चम्किलो र स्वस्थ्य बनाउनु राम्रो हो । यसका निम्ति स्वस्थ्य दिनचर्या पालना गनुपर्छ । निश्चित समय सुत्ने, ताजा फलफूल सेवन गर्ने, पर्याप्त पानी पिउने, सरसफाईमा ध्यान दिने, व्यायाम गर्ने, ध्यान गर्ने जस्ता विधीले अनुहारमा प्राकृतिक चमक आउँछ ।

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु

५ भदौ, काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच हरेक वर्ष सञ्चालन हुने संयुक्त सैन्य अभ्यास सोमबारदेखि सुरु भएको छ । Balance Nail 17-5530 नामक सैन्य अभ्यास नेपाली सेनाको श्री महावीर रेञ्जर रेजिमेन्ट छाउनीमा सञ्चालन भएको हो । अभ्यासमा विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानून, मानव अधिकार जस्ता विषयहरुमा छलफल तथा अन्तक्रिर्या हुनेछ । सभ्यासमा सहभागी हुन अमेरिकी सैनिक साउन ३२ गते नै नेपाल आइसकेका थिए । यस्तो संयुक्त तालिम तथा अभ्यासबाट नेपाली र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र बिशेष अनुभवका साथै दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । अभ्यास असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।

अर्घाखाँचीमा १२ हजार मतदाता थपिए

५ भदौ, अर्घाखाँची । अर्घाखाँचीमा करिब १२ हजार नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचन पछि जिल्ला निवार्चन कार्यालय अर्घाखाँचीले संकलन गरेको मतदाता मात्रै ११ हजार ९६७ जना रहेको जिल्ला निवार्चन कार्यालयका कम्प्युटर अपरेटर नारायणप्रसाद बन्जाडेले जानकारी दिए । साउन १६ गतेदेखि भदौ ३ गतेसम्म गरिएको नामावली संकलनमा सबैभन्दा धेरै सितगंगाबाट २ हजार ५३६ जनाले नाम दर्ता गराएका छन् । यस्तै भुमिकास्थान नगरपालिकामा ८४६, छत्रदेव गाउँपालिकामा एक हजार १९२, पाणिनी गाउँपालिकामा ८८०, मालारानी गाउँपालिकामा ८०४ जना, जिल्ला निवार्चन कार्यालयमै आएर २२ सय ३० जनाले नाम दर्ता गराएका छन् । अहिलेको मतदाता नामावली संकलनमा १९५ जनाको नामावली दोहोरिएको छ । दोहोरिएका नाम हटाउन निवार्चन कार्यालयले जानकारी गराइसकेको छ । जिल्लाभरमा एक लाख ३२ हजार मतदाता रहेकोमा अव करिव १२ हजार नयाँ मतदाता थपिएका हुन् ।

परीक्षा मिति सरे पनि अस्थायी शिक्षकको आन्दोलन जारी

५ भदौ, काठमाडौं । सरकारले परीक्षा एक सातापछि सारे पनि अस्थायी शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । आन्दोलनरत अस्थायी शिक्षकहरुले भद्रकालीमा धर्ना र आमरण अनसन जारी राखेका हुन् । भदौ ३ गते पूर्वनिर्धारित परीक्षा सार्नुपर्ने उनीहरुकै मागअनुसार शिक्षक सेवा आयोगले एक साता पछि सार्दैै परीक्षा मिति भदौ १० गते तोकेको थियो । तर, अस्थायी शिक्षकहरुले आफूहरुसँग सल्लाह नगरी परीक्षाको मिति तोकिएको भन्दै विरोध जनाएका छन् । सरकारसँग वार्ता गर्न अस्थायी शिक्षकको तर्फबाट गठित वार्ता टोली संयोजक मधुकर खड्काले भने, ‘शिक्षक सेवा आयोगले बाढी पहिरोको कारण देखाउँदै परीक्षा सार्‍यो । हामीसँग सल्लाह नै नगरी तोकिएको परीक्षा मिति हामीलाई मान्य छैन ।’ अस्थायी शिक्षकहरुको माग अनुसार सरकारले शिक्षा ऐनमा नवौं संशोधन गरिसकेको छ । आन्दोलनरत अस्थायी शिक्षकहरुको मागअनुसार ऐन संशोधन गरी परीक्षामा विफल भएपनि आर्थिक सुविधा दिने र ६० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने व्यवस्था थपिएको छ । अब आफूहरुको सल्लाहमा परीक्षाको नयाँ मिति तोकिनुपर्ने उनीहरुको माग छ । ‘ऐन संशोधनपछि सबै प्रक्रिया नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्दथ्यो तर त्यसो हुन नभएकाले आन्दोलन जारी राख्नुपर्‍यो,’ खड्काले भने, ‘१० गतेको परीक्षामा भाग लिने की नलिने भनेर छलफल गर्दैछौं ।’ आफ्ना माग सम्बोधन गर्न माग गर्दै अस्थायी शिक्षकहरुले गत साउन १८ गतेखि भद्रकालीमा आमरण अनसन जारी राखेका छन् । अनशनरत शिक्षकको स्वास्थ्य नाजुक हुँदै गएको छ । आन्दोलनरत अस्थायी शिक्षकका माग सम्बोधन गर्ने उद्देश्यले परीक्षा दिने वा सुविधासहित विदाई हुने विकल्प सरकारले अघि सारेको छ । सुरुमा परीक्षामा सहभागी हुनेहरुले फेल भए हृयाण्डसेकको सुविधा नपाउने व्यवस्था गरिएको थियो । तर, पछि फेरि फेल हुनेहरुले पनि सुविधा पाउनुपर्ने माग शिक्षकहरुले राखेपछि त्यसैअनुसारको व्यवस्था गरियो । सुविधा लिएर सेवाबाट विदा लिने भन्दै परीक्षा फारम नभरेकाहरु पनि अहिले नयाँ व्यवस्थापछि पुनः परीक्षा फारम भर्न पाउनुपर्ने माग गर्दै आएका छन् । त्यसैले परीक्षा सारेर नयाँ ढंगबाट जानुपर्ने प्रमुख माग अस्थायी शिक्षकहरुको छ । विगत १७ वर्षदेखि सेवारत अस्थायी शिक्षकहरु करीब २६ हजार छन् ।

३३ किलो सुन तस्करीका मुख्य आरोपीलाई नेपाल ल्याइयो

५ भदौ, काठमाडौं । ३३ किलो सुन तस्करीका मुख्य आरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ । पन्तलाई दुबई पुलिसले पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थलाई रेडकर्नर नोटिस जारी गरेको थियो । तर, पन्थले प्रहरी सामू आत्मसर्पण गरेनन् । उनी भागेर नेपाल आउने क्रममा विमानस्थलमा पक्राउ परेका थिए । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाकी एसपी किरण बज्राचार्यका अनुसार पन्त ७० दिन दुबई प्रहरीको हिरासतमा रहे । त्यहाँका कानुन अनुसार कारबाही गरेपछि दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई सोमबार नेपाल ल्याएको हो । पन्थले दुवईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दाबी छ । सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि अनलाइनखबर 8 प्रतिक्रिया

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् । चौथो पटक प्रधानमन्त्री भएपछि देउवा पहिलोचोटि विदेश भ्रमणका रुपमा बुधबार भारतको पाँच दिने राजकीय भ्रमणमा जाँदैछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । मन्त्रिपरिषद बैठकले कोशी, लक्ष्मणपुर लगायतका बाँधबाट भएका क्षति र नोक्सानीबारे भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । ‘कोशी बाँध बनाउँदा स्थानीय जनतालाई दिने भनेको ५० करोड भारत सरकारले दिएको छैन’ सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने, यसबारे कुरा हुन्छ ।’ भारतीय पक्षसँग पञ्चेश्वर जलविद्युत आयोजना, १९५० का सन्धी र सुपुदर्गी सन्धीका साथै नेपाल-भारत रेलवे बारेमा समेत छलफल हुने मन्त्री बस्नेतले बताए । भूकम्प पुनर्निर्माण प्राधिकरणलाई भारतले दिएको सहयोग नआएकाले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भारतीय पक्षसँग यसबारेमा समेत छलफल गर्ने सरकारको निर्णय छ ।

लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल

५ भदौ, काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको हो । लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी गर्न थालेका छन् । १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई यस्तो सुविधा दिने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई-सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी गर्दैछ । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ । कार्यालयबाटै मिटर रिडिङको तयारी बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर, तथा रेमिट्यान्स कम्पनी गरी अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको छ । यसलाई अझै बिस्तार गर्ने प्राधिकरणले जनाएको छ । अनलाइन सेवा सुचारु गरेको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘प्राधिकरणको शाखा कार्यालयमा लाइन लागेर महसुल तिर्नपर्ने बाध्यता अब हट्छ ।’ साथै उनले अब मिटर रिडिङका लागि मिटर रिडरलाई घर-घरमा जानैपर्ने बाध्यतालाई हटाउन लागेको जानकारी दिएका छन् । सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था पनि गर्ने मन्त्री शाहीको भनाइ छ ।

टि्वटरले सर्वसाधारणको एकाउन्ट पनि भेरिफाइड गर्ने, यस्ता छन् शर्त

टि्वटरका प्रयोगकर्ताहरुले सर्वसाधारणको एकाउन्ट भेरिफाई गर्ने प्रणाली अपनाउन सो कम्पनिलाई लामो समयदेखि दवाव दिँदै आएका थिए । अहिलेसम्म टि्वटरले एकाउन्ट भेरिफाई गर्ने सुविधा सेलिबि्रटी, स्पोर्ट्सपर्सन, पत्रकार र आफूले इच्छाएका व्यक्तिलाई मात्र दिएको छ । भेरिफाइड अकाउन्टको जनाउ दिन एकाउन्टको निलो पृष्ठभूमिमा सेतो टिक लगाइन्छ । अब यो सेतो टिक सम्पूर्ण प्रयोगकर्ताहरुले हासिल गर्न सक्नेछन् । एउटा मामुली र्फम भरेर उनीहरुले आफ्नो एकाउन्टको भेरिफिकेसनका लागि आवेदन गर्नुपर्ने छ । ‘तर, सबै आवेदकहरु सफल हुँदैनन् । जसले प्रमाण पुर्‍याउन सक्छ उसैको एकाउन्ट भेरिफाइड हुन्छ,’ टि्वटरमा प्रकाशित गरिएको एक ब्लगमा भनिएको छ । यसअघि पनि टि्वटरले एकाउन्ट भेरिफाइका लागि आवेदन गर्न प्रयोगकर्ताहरुलाई खुला गरेको थियो, तर थेगिनसक्नु गरी आवेदन आएपछि त्यो फिचर बन्द गरेको थियो । कसरी आवेदन गर्ने ? प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण कम्पनीमा पठाउनुपर्छ । बढिभन्दा बढि सूचना भएका टि्वटर एकाउन्ट भेरिफाइड हुने सम्भावना बढि हुन्छ । एउटा अनलाइन र्फमबाट प्रक्रिया सुरु हुन्छ । यसमा एकाउन्टसँग जोडिएको फोन नम्बर, इमेल एड्रेस, बायोग्राफी, प्रोफाइल फोटो र हेडर फोटो, बर्थ डे, एउटा वेवसाइट उल्लेख गर्नुपर्छ । यतिले मात्र पुग्दैन । कम्पनीले तपाईंको एकाउन्ट के कारणले भेरिफाई गर्न चाहनुहुन्छ भनेर सोध्नेछ । त्यसको चित्तबुझ्दो जवाफ दिनु आवश्यक पर्छ । टि्वटरले भनेको छ, ‘आवेदन गर्दा तपाईंले आफ्नो पहिचान पुष्टी गराउनका निम्ति सरकारद्वारा जारी परिचय पत्र -जस्तै, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स) को प्रमाणित कपि समावेश गर्नुपर्ने छ ।’ यो पनि भनिएको छ कि इच्छुक प्रयोगकर्ताले आफ्नो प्रोफाइल र हेडरमा सही नाम र फोटो राखुन् । भेरिफाइड हुन खोजिरहेको कुनै कर्पोरेट एकाउन्ट कम्पनी सम्वद्ध इमेल एड्रेससँग जोडिएको हुनुपर्छ । टि्वटरले कति संख्यामा प्रयोगकर्ताहरुलाई भेरिफाईड गर्ने भन्ने प्रष्ट पारेको छैन । अस्वीकृत हुनेहरुले एक महिनापछि पुन आवेदन दिन सक्छन् ।

तीजको अवसरमा टेलिकमले दियो सय रुपैयाँमा १ जिबी डाटा

5 साउन, काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ । युट्युब डाटा प्याकेज लिनका लागि YT1GB वा YT500MB लेखेर १४१५ मा क्ःक् पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि PACK150 वा PACK250 लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । यी सबै अफर आगामी भदौ ५ देखि भदौ १९ सम्म खरिद गर्न सकिने छ । त्यसैगरी यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने छ ।